विकासन्युज

विभाजन भएको ४ वर्षपछि गैरआवासीय नेपाली संघको एकता घोषणा

काठमाडौं । विगत केही वर्षदेखि छुट्टाछुट्टै समूहमा विभाजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बृहत् एकता भएसँगै आगामी ६ महिनाभित्र १२औँ महाधिवेशन गरिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार भएको एकताबारे जानकारी दिन एनआरएनएको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकताले सकारात्मक सन्देश दिएको बताए । अध्यक्ष डा. केसीले अब विवाद छोडेर नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा एनआरएनए फुटेर होइन जुटेर अगाडि बढ्ने उनको भनाइ थियो । अर्का अध्यक्ष श्रेष्ठले एनआरएनएबीचको बृहत् एकता घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको उल्लेख गरे । सहमतिअनुसार सन् २०२३ अक्टोबरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमिति र सन् २०२५ मे मा शेष घले संयोजकत्वमा गठित एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई स्वीकार गरिने भएको छ । एनआरएनएको १२औँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले छ महिनाभित्र सम्पन्न गर्ने र उक्त मितिभित्र १२औँ महाधिवेशन सम्पन्न गर्दा सन् २०२५ मे मा आयोजित एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने जनाइएको छ । एनआरएनएको १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि १२औँ महाधिवेशनमा उम्मेदवार नहुने व्यक्ति सम्मिलित समिति गठन गर्ने, सदस्यता दर्तामा पारदर्शिता र निष्पक्षताका लागि महासचिव गौरीराज जोशी र बाबुराम लामालाई प्रणाली व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार दिने बताइएको छ । सहमतिअनुसार सङ्घको १०औँ र ११औँ महाधिवेशनका सन्दर्भमा विभिन्न परिस्थितिका कारण कुल आचार्य, रविना थापा, डा. बद्री केसी, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा गठित कार्यसमितिहरूलाई पूर्वकार्यसमितिको रूपमा अभिलेखीकरण गरिने सहमति भएको छ । आगामी महाधिवेशनका अवसरमा ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेस गर्ने, ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष श्रेष्ठलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्ने जनाइएको छ । एनआरएनको आधिकारिकतालगायत विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने वा आपसी सहमतिका माध्यमबाट समाधान गर्ने सहमतिसमेत भएको छ । सङ्घको दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तेस्रो पक्षबाट लेखापरीक्षण गराउने जनाइएको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा एनआरएनए स्थापना भएको थियो ।    

जनप्रतिनिधि सहित ८ जना जुवाडे पक्राउ, ७१ हजार नगद बरामद

चितवन । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।      पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।      उनीहरुको साथबाट ७१ हजार २१० रुपैयाँ नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उनले बताए । उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो ।     

बझाङमा गयो ४.४ रेक्टर स्केलको भूकम्प

बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । छिमेकी जिल्ला बझाङको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् । भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपदबाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

२०२५ मा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, ‘डेभिल्स मेटल’ अझै किन बढ्दैछ?

काठमाडौं । चाँदीलाई ‘डेभिल्स मेटल’ पनि भनिन्छ । यसको मूल्यमा हुने उतारचढावका कारण यसलाई डेभिल्स मेटल भनिएको हो । चाँदी यो वर्ष नयाँ उच्च बिन्दुमा पुगेको छ र आपूर्ति अभाव हुँदाहुँदै पनि यसको मूल्य अझै बढ्ने विशेषज्ञहरूको अनुमान छ । यो धातुको मूल्यवृद्धि सुनसँगै कदम मिलाएर चलिरहेको छ । यस वर्ष सुनको मूल्य पनि उत्कर्षमा पुगेको छ र प्रतिऔंश ४ हजार डलर नाघेको छ । अक्टोबर मध्यतिर चाँदीको मूल्य प्रतिट्रोय औंश ५४.४७ डलर पुगेको थियो, जुन गत वर्षको तुलनामा ७१ प्रतिशत वृद्धि हो । यसको आपूर्ति निकै कम छ । इन्भेस्कोक ईएमईए ईटीएफ फिक्स्ड इनकम तथा कमोडिटी प्रमुख पल सिम्स भन्छन्, ‘कतिपयलाई माग पु¥याउन समुन्द्री कार्गोको सट्टा विमानमार्फत चाँदी ढुवानी गर्नुपरेको थियो ।’ उनका अनुसार मूल्यमा आएको चर्कोवृद्धि पछि केही गिरावट आए पनि ‘यस पटक दीर्घकालीन रूपमा चाँदीलाई उच्च मूल्यमा राख्ने फरक गतिशीलता देखिएको छ र सम्भवतः अझै बढ्न सक्छ ।’ पछिल्ला ५० वर्षमा चाँदीको मूल्य अत्यधिक उकालो लागेको यो तेस्रो पटक मात्र हो । यसअघि जनवरी १९८० मा हन्ट दाजुभाईहरूले विश्वको एक–तिहाइ चाँदी किनेपछि मूल्य उक्लिएको थियो । २०११ मा अमेरिकाको ऋण सीमा संकटका बेला पनि चाँदी–सुन सुरक्षित लगानीका रूपमा किनिँदा मूल्य आकाशिएको थियो । सिम्स भन्छन्, ‘चाँदीको बजार सुनको तुलनामा करिब दशौं भाग मात्र हुन्छ, त्यसैले छोटो अवधिको खरिद–बिक्रीमा भएको दवाबले धेरै लगानीकर्तालाई आश्चर्यमा पारेको थियो ।’ सन् २०२५ को चाँदी वृद्धिः कम आपूर्ति + उच्च माग यसपटक मूल्य वृद्धि भारतको अत्यधिक माग, औद्योगिक आवश्यकता र भन्सार शुल्कका कारण बढेको हो । ‘मुक्ति दिवसपछि सुनको मूल्य उक्लियो, तर चाँदी केही झर्‍यो । त्यसपछि गोल्ड–सिल्भर अनुपात १०० भन्दा माथि गयो,’ सिम्स भन्छन् । यो अनुपातले एक औंश सुन किन्न कति औंश चाँदी चाहिन्छ भन्ने देखाउँछ । अनुपात धेरै उच्च भएमा चाँदी अत्यन्तै सस्तो (अन्डरभ्यालु) भएको अर्थ लाग्छ।  रोना ओ’कनल भन्छिन्, ‘वित्तीय तथा औद्योगिक जोखिम व्यवस्थापकहरू कुनै धातु विदेश पठाउन चाहँदैनथे किनकि फर्किँदा मूल्य ३५ प्रतिशतसम्म महँगो पर्न सक्थ्यो भन्ने डर थियो ।’ मनसुन र बाली कटाइ सकिएपछि भारतमा चाँदीको माग उकालो लाग्छ । ओ’कनलका शब्दमा, ‘भारतका किसानहरू बैंकहरूलाई धेरै मन पराउँदैनन्, त्यसैले सुन र पछिल्लो समय चाँदी नै उनीहरूको पहिलो रोजाइ हो।’ भारत विश्वकै सबैभन्दा ठूलो चाँदी उपभोक्ता हो— वार्षिक करिब ४ हजार मेट्रिक टन, मुख्यतः गहना, भाँडाकुडा र सजावटी सामानका लागि । दिपावली (पाँचदिने दीपावली पर्व) को समय परेकाले पनि माग झनै बढेको थियो । आपूर्ति सङ्कट यस वर्ष भारतमा चाँदीले सुनभन्दा धेरै चम्कियो किनकि यो सस्तो र कृषि निर्भर ५५ प्रतिशत जनसंख्या भएका देशमा सजिलो लगानी विकल्प हो । अक्टोबर १७ मा भारतमा चाँदीको मूल्य प्रति किलो १ लाख ७० हजार ४१५ भारतीय रुपैयाँ पुगेको थियो— वर्षको सुरुदेखि ८५ प्रतिशत वृद्धि । तर भारतको ८० प्रतिशत चाँदी आयातमा निर्भर छ । यूएई र चीनले माग बढ्दै जाँदा आपूर्ति गरिरहेका छन्, तर ब्रिटेन भारतको ऐतिहासिक प्रमुख आपूर्तिकर्ता हो । तर लण्डनका सुरक्षित भण्डारण वर्षौंदेखि खाली हुँदै गएका छन् । जुन २०२२ मा ३१ हजार २३ मेट्रिक टन चाँदी थियो जबकि मार्च २०२५ सम्म झरेर २२ हजार १२६ मेट्रिक टन मात्र बाँकी—करिब एक–तिहाइले कमी । ओ’कनल भन्छिन्, ‘भण्डारणमा के भइरहेको छ, धेरैलाई थाहा छैन । लण्डनमा त प्रायः कुनै उपलब्ध चाँदी नै बाँकी थिएन ।’ अक्टोबरमा कसैले चाँदी उधारो लिन निकै भिडन्त भयो—‘लिज दर’ अत्यन्तै महँगो भयो । ‘एक समयमा एक रातका लागि चाँदी उधारो लिन वार्षिक दर २०० प्रतिशत बराबर पथ्र्यो—धेरै व्यापारीहरू तनावमा थिए,’ ओ’कनल बताउँछिन् । दीर्घकालीन अभावः ईभी, एआई र सौर्य ऊर्जा सिल्भर इन्सिच्युटको वल्र्ड सिल्भर सर्भे २०२५ ले देखाउँछ कि पछिल्लो दशकदेखि चाँदी खानी उत्पादन घट्दो क्रममा छ विशेषगरी मध्य र दक्षिण अमेरिका क्षेत्रमा । ओ’कनलका अनुसार गत १२ महिनामा अतिरिक्त आपूर्ति हुनुपर्नेमा उल्टिएर अभाव बनेको छ । विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोग, कृत्रिम बौद्धिकता (एआई) र फोटोभोल्टाइक (सौर्य प्यानल) ले चाँदी अभाव भएको हो । सिम्सका अनुसार सामान्य ईभीमा २५ ग्राम चाँदी हुन्छ, ठूला ईभीमा ५० ग्रामसम्म । तर यदि ‘सोलिड–स्टेट सिल्भर ब्याट्री’ आए, एउटा ईभीलाई १ किलो वा अझ बढी चाँदी चाहिन सक्छ । चाँदीको ताप प्रशोधन क्षमता र विद्युत् सञ्चार क्षमता अन्य धातुभन्दा धेरै उच्च छ । ईभी, एआई र नवीकरणीय ऊर्जाको माग बढेसँगै चाँदीको मूल्य दीर्घकालीन रूपमा अझै चम्किने देखिन्छ । सिम्स भन्छन्, ‘चाँदी बहुमूल्य र औद्योगिक धातु दुवैको गुण भएका कारण यसको उपयोगिता बढ्दैछ, ब्याट्री, सौर्य प्यानल, प्रविधि सबैतिर यसको माग बढिरहेकै छ ।’ (सीएनबीसीबाट अनूदित तथा सम्पादित)

बुटवलमा ‘हायात प्लेस’ होटेल सञ्चालनमा, स्थानीय स्तरमा रोजगारीको अवसर

काठमाडौं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलका रूपमा रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन गरिएको छ । पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने लक्ष्यअनुसार हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो । यस होटेलमा हायात प्लेसको मौलिक डिजाइन, आरामदायी वातावरण, निःशुल्क वाइफाइ तथा २४ घण्टा उपलब्ध खाद्य सेवा जस्ता सुविधाहरू व्यवस्था गरिएको छ, जसले व्यापारिक तथा फुर्सदका यात्रुहरूको दुवै आवश्यकता पूरा गर्छ । हायातको ‘पाहुनाको सत्कारमा कुनै कमी नराख्ने’ मूलमन्त्रलाई आत्मसात् गर्दै हायात प्लेस बुटवलले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सेवाहरूको संयोजनमार्फत आधुनिक तथा व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । होटेलमा किंग र ट्विन कोठासहित फरेस्ट भ्यू तथा हिल भ्यूका विकल्पहरू उपलब्ध छन् । ३०० देखि ७७५ वर्गफिटसम्मका फराकिला गेष्ट–रुम र सुइटहरू रहेको यस होटलको मुख्य आकर्षण १,५६० वर्गफिट क्षेत्रफलमा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्छ । साथै, १५० जनासम्म अटाउने ग्रान्ड बलरुमसहित विविध कार्यक्रम तथा मिटिङका लागि आवश्यक संरचना पनि उपलब्ध गराइएको छ । 'हामी पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव दिन प्रतिबद्ध छौँ,' हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले बताए । उनका अनुसार विशेष रूपमा डिजाइन गरिएका कोठा, विविध खानपानका विकल्पहरू तथा फराकिला कार्यक्रम स्थलहरूले हायात प्लेस बुटवललाई बिजनेस तथा लेजर दुवै खाले यात्रुहरूको लागि आदर्श गन्तव्यका रूपमा स्थापित गर्छ । उनले काम, विश्राम वा विशेष अवसरका लागि आउने हरेक पाहुनालाई स्वागतयोग्य वातावरण तथा व्यक्तिगत सेवा प्रदान गर्ने प्रयास गर्ने बताए । होटेलले प्रदान गर्ने सुविधाहरूमा १०९ फराकिला गेष्ट–रुम, काम, विश्राम र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका ‘कोजी कर्नर’ सोफा–स्लिपर बेड, तातो तथा चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट, दिनरात जुनसुकै बेला खाना पाउन सकिने ‘द मार्केट’, प्रिमियम बियर, वाइन, कफी तथा ककटेल पाइने ‘जिङ बार’ प्रमुख छन् । साथै, पाहुनाले बिर्सिएका आवश्यक सामग्री किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम, निःशुल्क वाइफाइ, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा किड्स प्ले एरियाजस्ता पारिवारिक सुविधा पनि उपलब्ध गराइएको छ । होटेलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले सम्हालेका छन् । नगरले दैनिक सञ्चालन, कर्मचारी व्यवस्थापन तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्छन् । त्यस्तै, ब्यानर्जीले बुटवल क्षेत्रमा आउने यात्रु तथा मिटिङ आयोजकहरूलाई आवश्यक सेल्स सहयोग तथा सेवा प्रदान गर्ने जिम्मेवारी सम्हाल्नेछन् । यस्तो नेतृत्व र अवस्थित संरचनाले हायात प्लेस बुटवललाई प्रदेशमा एक प्रमुख आतिथ्य गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले आइतबार थप ४० अर्ब रूपैयाँ उठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार थप ४० अर्ब रूपैयाँ उठाउने भएको । बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । राष्ट्र बैंकले ३५ दिनका लागि आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते तोकिएको छ । यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । 

घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान

काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे फाउण्डेसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो । फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भएपनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ । ती चुनौती समाभान गर्दै फेस्टले ती कमी–कमजोरीलाई सम्बोधन गर्ने जनाइएको छ ।  प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्‍याउन सक्ने अपेक्षा राखिएको छ । चार दिनसम्म चल्ने फेस्टबाट झन्डै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।  यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजित पक्षले व्यक्त गरेको छ । आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च हो । आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षणहरू समावेश गरेको छ ।पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी भएको जनाएको छ।  हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर थियो । दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ । घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ । तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ । नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ ।  फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिएको छ । इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ ।  

मल्कवाङमा पहिलोपटक बस पुग्यो, जिपभन्दा सस्तो भाडामा यात्रा

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।      बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् ।      वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उनले बताए ।      सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता थियो ।      बसका लागि प्रतिव्यक्ति भाडादर सात सय ५० रुपैयाँ कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिए । 'बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्', उनले भने ।      असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताए । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ ।      यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष ३० लाख रुपैयाँ विनियोजन भएको छ ।      भडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।      प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर पाँच करोड रुपैयाँ स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राखे । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उनले जानकारी दिए । रासस