विकासन्युज

कुमारी बैंकका ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा छुट

काठमाडौं । कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौता बमोजिम बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन-एबीपीएम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्मको छुट हुने बैंकले जनाएको छ । विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

कर्णालीले दियो विराटनगरलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं ।  प्रियांक पञ्चाल र विलियम बोसिस्टोको ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किंग्सलाई १६१ रनको बलियो लक्ष्य दिएको छ ।   कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुक्रबार भइरहेको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको हो । ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै, अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे । गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए । बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।  

गैरकानुनी सम्पत्ति मुद्दा: विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी  मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा शुक्रबार पुनरावेदनको निवेदन दर्ता गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भएको फैसला उपर पुनरावदेन दिएको हो ।  आयोगले रानाभाटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो ३ करोड १५ लाख ८१ हजार ६६ दशमलब ८० कायम गरी मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाइ दिएकाले उल्लेखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

कार्यवाहक सभापति खड्काले गरे वार्ता आह्वान, ठोस प्रस्तावविना वार्तामा नवस्ने इतर पक्षको अडान

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरूलाई वार्ताका लागि बोलाए पनि उक्त समूहले वार्ताको औचित्य नभएको जनाएको छ । शुक्रबार सभापति शेरबहादुर देउवासँग भएको छलफलपछि खड्काले वार्ताको पहल गरेका गरिरहेका छन् । तर हस्ताक्षर अभियान चलाइरहेका नेताहरूले अब वार्ताका लागि वार्ता नगर्ने जनाएका हुन् । हस्ताक्षर अभियानका नेतामध्येका गुरुराज घिमिरेले उनीहरूलाई शनिबार बिहान साढे ८ बजे वार्ताका लागि बोलाएको बताएका छन् । तर उक्त समूहका अर्का नेता जगदीश्वर नरसिंह केसीले वार्ताको औचित्य समाप्त भएको दाबी गरेका छन् । केसीले विकासन्युजसँग भने, ‘संस्थापन पक्षको मनसाय नै गलत छ । ऊ महाधिवेशन नै गर्न चाहँदैन । महाधिवेशन नगर्ने, समय घर्काउँदै जाने र अन्तिममा आम निर्वाचन आयो, अहिले सकिँदैन भनेर टार्ने खेलमा संस्थापन पक्ष छ ।’ नियमित महाधिवेशन माघको पहिलो हप्ता गर्ने र विशेष महाधिवेशनको प्रस्ताव यथास्थितिमा राख्ने सहमति १० घण्टा पनि टिक्न नदिएको संस्थापन पक्षसँग विश्वास गर्ने वातावरण समेत नरहेको अर्का एक नेताले दाबी गरे ।  कांग्रेसमा अहिले १५ औं महाधिवेशनको सवालमा किचलो बढेको छ । संस्थापन पक्ष आगामी वैशाखमा १५ औं महाधिवेशन गर्ने तयारीमा छ । महामन्त्री गगन थापा समूह भने विशेष महाधिवेशनको पक्षमा रहेको छ । पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार उक्त समूहले विशेष महाधिवेशनको माग गरेको छ । यो पनि पढौं- हल्ला धेरै र प्रक्रिया शून्यको ‘विशेष महाधिवेशन’

१५ वर्ष पूरानो सपना पूरा : २० करोड लगानीमा आईआईएमएस कलेजको आफ्नै भवन सञ्चालनमा

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित आईआईएमएस कलेज अब नयाँ रूप–रंग र सुविधासहित अत्याधुनिक भवनमा प्रवेश गरेको छ । जुन भवनको नाम ‘आइआइएमएस २.०’ राखिएको छ ।  नक्सालस्थित भगवती मन्दिर नजिकै साढे १० रोपनी जग्गामा २० करोडभन्दा बढी लगानीमा संरचना निर्माण गरिएको छ । सोही भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरियो ।  नयाँ कलेजको उद्घाटन टेलर्स युनिभर्सिटी मलेसियाका उपकुलपति प्रोफेसर ब्यारी विनले गरेका थिए । कार्यक्रममा बोल्दै उनले आजको दिन अन्तराष्ट्रिय शिक्षामा एक महत्त्वपूर्ण माइलस्टोन स्थापित भएको दिन रहेको बताए ।  उनले भने, आईआईएमएससँगको सहकार्यले नेपालका भावी विश्व नागरिकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको छ ।’ विनले यो संरचना कलेजको पहिलो ठूलो सपना– आफ्नै क्याम्पस—साकार भएको क्षण भएको बताए ।  उनले टेलर्स युनिभर्सिटी र आइआइएमएस बीचको सहकार्यले अन्तर्राष्ट्रिय शिक्षामा नयाँ माइलस्टोन स्थापित गरेको जानकारी दिए । ‘आईआईएमएससँगको सहकार्यले नेपालका भावी विश्व नागरिकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिवद्धतालाई मजबुत बनाएको छ,’ उनले भने, ‘हामी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउन तयार छौं ।’ उपकुलपति प्रोफेसर ब्यारी विन र सवीन्द्र महर्जन आईआईएमसी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सवीन्द्र महर्जनले जग्गा लिजमै लिएर पनि आफ्नै भवन निर्माण गर्नुले पहिलो सपना पुरा भएको बताए । सवीन्द्र महर्जन उनी भन्छन्, ‘आईआईएमएस२.० केवल एउटा भवन होइन, यो नेपालको भविष्यप्रति गरिएको प्रतिवद्धता हो, हामी नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौं, जहाँ विद्यार्थीहरूले विदेश नै न जान विश्वस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।’ पहिले साँघुरो भवनमा रहेको कलेज अब फराकिलो ठाउँमा रहेकाले विद्यार्थीलाई प्रोजेक्टमा छलफल गर्न सहज हुने अपेक्षा कलेजले गरेको छ ।  नयाँ भवन निर्माणसँगै नयाँ ठाउँमा सरेको कलेजले पहिलो सपना सफल रहेको प्रतिक्रिया दिएको छ । कस्तो छ संरचना ? १५ वर्षदेखि शैक्षिक  सेवा दिँदै आएको आईआईएमएसले नक्सालमा उद्घाटन गरेको भवनलाई आइआईएमएस २.० राखेको छ । विश्वविद्यालयको मान्यताअनुसार यो नाम राखिएको कलेजले जनाएको छ ।   कलेजमा इनोभेसन र एभरेष्ट दुईवटा ब्लक छन् ।  दुई भवनको २० वटा कक्षा कोठा गरी करिब ३० वटा कोठा छन् । सबै कोठा अत्याधुनिक छन् भने तीनवटा कम्प्युटर ल्याब, बीएचएमको लागि दुईवटा किचन र एउटा बेकरी छ । कलेजमा कम्प्युटर ल्याब प्रयोगशाला, आधुनिक पूर्वाधार विद्यार्थी केन्द्रित छन् । कलेजमा विद्यार्थीलाई पढाउन कोठामात्र बनाएको छैन, उनीहरू खेल्नको लागि सहज होस भनेर फराकिलो ठाउँ पनि राखिएको छ । त्यहाँ बास्केटबल, फुटसल पनि निर्माण गरिने योजना कलेजले बनाइएको छ । विद्यार्थीलाई आफ्नो प्रोजेक्टमा छलफल गर्नको लागि ओपन स्पेस छोडिएको छ ।  कलेजले हाल स्नातक तहको कार्यक्रममात्र सञ्चालन गरिरहेको छ । स्नातकोत्तरको कार्यक्रम सञ्चालन गर्ने तयारी पनि कलेज लागेको छ ।  नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै उपलब्ध गराउने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको हो । मलेसियाको शीर्षस्थानमा रहेको टेली युनिभर्सिटीसँग सहकार्य गर्दै काठमाडौंबाटै अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको छ । यो कलेजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईटी कोर्स, व्यवसाय, व्यवस्थापन कोर्ष र हस्पिटालिटीसम्बन्धी तालिम दिँदै आएको छ । स्कुल अफ बिजनेस एण्ड हस्पिटालिटी एकेडेमिक प्रमुख बृहतसिंह बोस्वा आईआईएमएसले आफ्नै भवन बनाएर बस्ने सपना धेरै पहिले देखेको अहिले आएर बल्ल पुरा भएको बताउँछन् ।  बृहतसिंह बोस्वा ‘विद्यार्थीलाई अन्तराष्ट्रिय विश्वविद्यालय कस्तो हुन्छ भनेर अनुभव दिने सपना हो । त्यही सपनाको पहिलो चरण आज सुरु भयो,’ बोस्वाले भने । कलेजमा  करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । 

मधेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट हेर्दाहेर्दैमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसम्बन्धी विवादमा दायर रिटको सुनुवाइ सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।  उक्त मुद्दामा न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको  छ । शुक्रवार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वाेच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।  उनका अनुसार अब यो मुद्दाको अर्को सुनुवाइ सोमबारका लागि तोकिएको छ । मधेस प्रदेश सरकार गठन प्रक्रियामाथि उठेका प्रश्नहरू सम्बन्धी तीनवटा छुट्टाछुट्टै रिट परेकोमा ती सबै रिटहरूलाई एकैसाथ सुनुवाइ भइरहेको अदालतले जनाएको छ ।

शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’, सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी

काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ ।  उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो सँगै यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ । यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि कोशेढुंगा भएको कम्पनीले जनाएको छ । एसएएफएद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ । यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन र वित्तीय अनुशासन प्रतिको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गर्ने कम्पनीले जनाएको छ ।

डोंगफेङ डिलर कन्फरेन्समा एमएडब्लू वृद्धिले पायो दुई अवार्ड

काठमाडौं । डोंगफेङ डिलर कन्फरेन्स २०२५ मा एमएडब्लू वृद्धि मोटर्सले २०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स र २०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स गरी दुई महत्त्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ।  नेपालमा ईभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो।  ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदूषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको छ। एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १ हजार २५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ । यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ । कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ ।  एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो । एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन् ।  समूहका अध्यक्ष  विष्णुकुमार अग्रवालले अवार्ड पाउँदा खुसी व्यक्त गरे । उनले आगामी दिनमा अझै धेरै वातावरणमैत्री गाडी भित्र्याउने प्रतिबद्धतासमेत जनाए ।