विकासन्युज

नेपालबाट १० चिकित्सक सहभागी भएको लिभर ट्रान्सप्लान्टेशन सोसाइटीको सम्मेलन सम्पन्न

काठमाडौं । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । यो सम्मेलन नोभेम्बर २० देखि २३ सम्म नयाँ दिल्लीको एअरसिटीस्थित होटल पुलम्यानमा आयोजना गरिएको थियो । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नवनिर्वाचित अध्यक्ष डा. अभिदिप चौधरीको विशेष निमन्त्रणामा नेपालसहित विभिन्न देशका विशेषज्ञहरू दिल्लीमा सहभागी भएका छन् । उक्त सम्मेलनमा नेपालबाट डा. दिलिप शर्मा, डा. एकानन्द सिंह, डा. सागर पौडेल, डा. रामबाबु साह, डा. सञ्जय यादव ,पुकार चन्द्र श्रेष्ठ, डा. पुकार थापा ,डा. कर्ण राजवंशी लगायतका सहभागी भएका थिए । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नव निर्वाचित अध्यक्ष डा. अभिदिप उनले भने, 'यहाँ प्रत्येक सफल प्रत्यारोपण कडा प्रोटोकल, पारदर्शी डोनर मूल्यांकन प्रणाली र बहुविषयक चिकित्सक टोलीको निरन्तर प्रतिबद्धताको परिणाम हो । भारतलाई विशेष बनाउने कुरा केवल प्रत्यारोपणको संख्या होइन, प्रक्रियालाई मार्गदर्शन गर्ने हाम्रो मूल्य र अनुशासन हो ।' उनले प्रत्यारोपण सेवा विस्तारमा नैतिकता र मानव–केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । डा. चौधरीका अनुसार भारतमा कलेजो प्रत्यारोपण सेवा तीव्र रूपमा विकसित हुँदै गएको छ । नियमित अनुसन्धान, उच्चस्तरीय तालिम, र चिकित्सकबीचको सहकार्यका कारण प्रत्यारोपणको सफलता दर विश्वकै उत्कृष्टमा गणना हुन्छ । उनले थपे, 'हामीले विकास गरेको संरचना केवल प्राविधिक उपलब्धिभन्दा धेरै माथि छ । दानकर्ताको सम्मान, पारदर्शिता, र उपचार प्रक्रियामा परिवारहरूको सक्रिय सहभागिता नै हाम्रो प्रणालीको बलियो आधार हो ।' अन्त्यमा डा. चौधरीले भारत दक्षिण एसियामा प्रत्यारोपण सेवाको नेतृत्व गर्दै आएको र नेपालजस्ता छिमेकी मुलुकहरूलाई प्राविधिक सहयोग, विशेषज्ञ तालिम र अनुभव साझेदारीमार्फत अझ सुदृढ बनाउन तत्पर रहेको बताए । उनका अनुसार क्षेत्रीय सहकार्यले कलेजो प्रत्यारोपण सेवालाई अझ सुरक्षित, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।  

नेकपा एमालेको ११औं महाधिवेशनको मूल नारा तय

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनका लागि मूल नारा तय गरेको छ । बुधबार च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले तयारी योजनासहित विभिन्न निर्णय गर्दै महाधिवेशनको नारा सार्वजनिक गरेको हो । बैठकले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन अघि बढाउने निर्णय गरेको सचिवालयले जनाएको छ । एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने तय गरिएको छ । महाधिवेशन काठमाडौंमै गर्ने भनिए पनि उद्घाटनस्थल भने तय नभएको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए ।

नेपालमा पहिलो पटक ‘युनिरक डब्लुडि–५८१’ सार्वजनिक

काठमाडौं । नेपालमा निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक एक्सप्लोर अर्थ मूवर्स प्रालिले अत्याधुनिक र उच्च क्षमतायुक्त युनिरक डब्लुडि–५८१ ड्रिलिङ रिग पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधिमा आधारित मेसिनरीमार्फत देशको पूर्वाधार विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित यो उपकरण भित्र्याएको हो । कम्पनीका अनुसार युनिरक डब्लुडि–५८१ निर्माण, खानी तथा ढुंगाखानी क्षेत्रमा प्रयोगका लागि विशेष रूपमा तयार गरिएको छ । यसमा उच्च क्षमताको इन्जिन, उन्नत नियन्त्रण प्रणाली, र उत्कृष्ट इन्धन बचत क्षमता जस्ता विशेषताहरू छन्, जसले कठिन भू–भागमा पनि सक्षम रूपमा काम गर्न मद्दत गर्छ । उपकरण सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधिले भने, 'हामी पहिलो पटक नेपालमा युनिरक डब्लुडि–५८१ प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो नवीनतम प्रविधियुक्त उपकरणले नेपालका निर्माण तथा खानी उपकरण क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेछ । यसको उत्कृष्ट प्रदर्शन, इन्धन बचत क्षमता र भरपर्दोपनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।' यस ड्रिलिङ रिगमा उन्नत हाइडे्रोलिक प्रणाली, सटीक काम सुनिश्चित गर्ने आधुनिक नियन्त्रण प्यानल, तथा सुरक्षाका उच्च मानक जडान गरिएको कम्पनीले जनाएको छ। नेपालको भौगोलिक विविधता र कठिन कार्यस्थललाई ध्यानमा राखी डिजाइन गरिएको भएकाले यो उपकरण अत्यन्त उपयुक्त मानिन्छ । युनिरक डब्लुडि–५८१ सार्वजनिक गरिएसँगै एक्सप्लोर अर्थ मूवर्स प्रालिले नेपालमा दिगो, आधुनिक र प्रविधिमैत्री मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । कम्पनीका अनुसार यस्तो प्रविधिले देशको पूर्वाधार निर्माणमा गति थप्ने विश्वास लिइएको छ ।

सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । बुधवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।  मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ । महासंघकाअनुसार चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंककाअनुसार बुधबार मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्ने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहेने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ ।  राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।   

डा. शेखर राजभण्डारीको परिवारबाट बागलुङमा आश्रम निर्माणमा १० लाख सहयोग

काठमाडौं । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारी तथा उनका दाजु–दिदीहरूले स्वर्गीय आमा विद्या लक्ष्मी राजभण्डारीको सम्झनामा बागलुङमा निर्माण हुन लागेको मानव सेवा आश्रमका लागि दश लाख रुपैयाँको सहयोग प्रदान गरेका छन् । उपलब्ध गराइएको सहयोग समाजसेवामा योगदान पुर्‍याउने प्रेरणादायी उदाहरणका रूपमा रहेको समाजका अगुवाहरूले बताएका छन् । यस सहयोगले स्थानीयस्तरमै मात्र नभई समग्र समाजमा मानव सेवा र करुणाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । डा. राजभण्डारीको यस योगदानले परोपकार र सामाजिक उत्तरदायित्वमा आम नागरिकलाई अगाडि बढ्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।  

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला बुधवार (आज) अपरान्ह १ बजे राष्ट्रिय सभागृहमा हुँदैछ । आजको भेलामा कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम नराखिएको बताइएको छ ।  तर विशेष महाधिवेशनका पक्षधरहरूबीच छलफल, धारणा र रणनीति साझा गर्ने उद्देश्यले केही नेता तथा विश्लेषकहरूलाई भने बोलाइएको नेताहरूले बताएका छन् । असोज २९ गते कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।  तर हस्ताक्षर सनाखत लगायतका आन्तरिक प्रक्रिया अघि नबढेको र नियमित महाधिवेशनको कार्यतालिका पनि सार्वजानिक नहुँदा प्रतिनिधिहरू असन्तुष्ट भएका छन् ।  फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्ने–नगर्ने विषयमा पार्टीभित्रै मतभेद देखिएको छ । यही परिस्थितिमा विशेष महाधिवेशन अझै पनि अपरिहार्य रहेको भन्दै आजको भेलामार्फत केन्द्रीय समितिमाथि दबाब बढाउने तयारी प्रतिनिधिहरूको रहेको छ ।  हस्ताक्षर अभियानमा सक्रिय नेता जगदीशनरसिंह केसीका अनुसार पूर्वसभामुख तारानाथ रानाभाट, नेता नरहरि आचार्य, महेश आचार्य, बलदेव शर्मा लगायतले भेलामा सम्बोधन गर्नेछन् । यस्तै राजनीतिक विश्लेषकहरू हरि शर्मा, कृष्ण खनाल र अरुण सुवेदीलाई पनि कार्यक्रमका वक्ता सूचीमा राखिएको छ । यो पनि पढ्नूहोस् : हल्ला धेरै र प्रक्रिया शून्यको ‘विशेष महाधिवेशन’

मंसिर २६ र २७ गते धादिङको खनियाबासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामिण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । शिविर मङ्सिर २६ गते बिहान ९ बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुने छ भने मङ्सिर २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त रोग (डेन्टल) विशेषज्ञ तथा हड्डी–जोर्नी रोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गरिने छ। शिविर संचालनमा  धादिङ समाज अमेरिकाले सहकार्य गर्नेछ भने मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्राविधिक सहयोग पुर्‍याउने जनाइएको छ। शिविर सफल बनाउन खनियाबास गाउँपालिका, डेपिन धादिङ तथा स्थानीय स्वयंसेवी समूहहरू सहयोगी संस्थाको रूपमा रहने छन् । स्वास्थ्य शिविरबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खनालले ग्रामीण बस्तीका नागरिकलाई घर नजिक विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। त्यस्तै, यस स्वास्थ्य शिविरले धादिङको खनियाबास आसपासका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै महासचिव बाबुकाजी भण्डारीले यो पहल ग्रामीण स्वास्थ्य पहुँच विस्तारका लागि महत्त्वपूर्ण कदम रहेको टिप्पणी गरे।