विकासन्युज

आइएमई खल्तीले सार्वजनिक गर्यो ‘खल्ती ट्रान्स्फर लिग’ अफर

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर ‘खल्ती ट्रान्स्फर लिग’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उत्साह थप्दै कम्पनीले मङ्सिर २ गतेदेखि २९ गतेसम्म चल्ने १ महिनाको अवधिको यस अफरलाई क्रिकेट खेल जस्तै रमाइलो बनाएको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत खल्तीका सेवाग्राहीहरूले विभिन्न फन्ड ट्रान्स्फर कारोबार मार्फत ‘रन’ कमाउन सक्नेछन् । खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुने व्यवस्था गरिएको छ । कमाएको रनहरू जम्मा गरेर सहभागीहरूले दैनिक, साप्ताहिक र बम्पर पुरष्कार जित्ने अवसर पाउनेछन् । ६ रनमा दैनिक एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १, र १०० रनमा बम्पर पुरष्कार स्वरूप बजाज पल्सर एन१६० डुअल एबिएस जित्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले यस अफर मार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय कारोबारमा सहभागी हुने रमाइलो र आकर्षक अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।

शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा, बजारमा नयाँ तरङ्ग पैदा

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा 'सेयर लोन' योजना सार्वजनिक गरेको हो ।  सेयर धितो राखेर कर्जा प्रवाह गरिने यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।  ग्राहकहरूको आवश्यकता, बजारको चाल तथा समयको मागलाई ध्यानमा राख्दै बैंकले अर्थतन्त्रको महत्वपूर्ण पिलर मानिने सेयर बजारलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कर्जा योजना ल्याएको जनाएको छ । यस अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।  प्रतिस्पर्धी ब्याजदर, छिटो तथा पारदर्शी सेवा र लचिलो भुक्तानी योजनासहितको सुविधाले सुसज्जित यो कर्जालाई अझ प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीमा आधारित ‘कर्जा सहायता केन्द्र’ स्थापना गरी ग्राहकका सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै समाधान गर्ने व्यवस्था मिलाएको छ ।  बैंकले यो योजनाले सेयर बजारमा सक्रिय लगानीकर्तालाई थप सहजता प्रदान गर्ने र वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न

काठमाडौं । क्रिप्टो बजारमा पछिल्लो केही दिनयता गिरावट जारी छ । बिटकोइनसहित धेरै ठूला क्रिप्टोकरन्सीहरू धराशायी भइसकेका छन् । तर एक क्रिप्टोकरन्सी भने यस्तो छ जसमा यो गिरावटको प्रभाव परिरहेको छैन । त्यसको नाम जीक्यास हो । पछिल्ला २४ घण्टामा धेरै क्रिप्टोकरन्सीमा ठूलो गिरावट देखिए पनि जीक्यासको मूल्य करिब १२ प्रतिशत बढेको छ । दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा धेरै भएको छ । बिहीबार दिउँसो करिब २:३० बजे जीक्यास क्रिप्टोको मूल्य ६७३ डलर (करिब ९६ हजार रुपैयाँ) थियो । यो क्रिप्टोले मात्र २० दिनमा लगानी दोब्बर गरिसकेको छ । अक्टोबर ३१ मा यसको मूल्य करिब ३३० डलर थियो, अहिले ६७० डलरभन्दा माथि पुगेको छ । यसरी हेर्दा २० दिनमै यसले लगानीकर्तालाई १०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । त्यस्तै एक महिनामा यसको रिटर्न १६० प्रतिशतभन्दा बढी भइसकेको छ । जीक्यास क्रिप्टो दुई महिनामा लगानीकर्तालाई असाधारण रिटर्न दिइसकेको छ । दुई महिना अघि यसको मूल्य करिब ५० डलर थियो, अहिले ६७० डलर पार गरेको हो । यसरी हेर्दा मात्र दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा बढी छ ।  हाल क्रिप्टोकरन्सी बजारमा आएको गिरावटले रोकिने नाम लिएको छैन । पछिल्ला २४ घण्टामा धेरै ठूला क्रिप्टोमा २ प्रतिशतसम्म गिरावट आएको छ । यद्यपि बिटकोइनमा केही सुधार देखिएको छ । कोइनमार्केटक्यापका अनुसार २४ घण्टामा बिटकोइन ०.७७ प्रतिशत बढेको छ । त्यस्तै, इथेरियम १.२० प्रतिशत गिरेको छ । यीबाहेक रिपल करिब १ प्रतिशत र बाइनान्स करिब २ प्रतिशत घटिसकेका छन् । सोलानामा भने २ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ । क्रिप्टो करेन्सीमा किन गिरावट ? बिटकोइन, इथेरियमलगायत प्रमुख डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ । बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् ।  यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् ।  लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ । ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ । प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ । इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल सुन भाडामा दिएर लाखौं कमाउँदै धनी

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ । बैठकमा मुलुकको समग्र सुरक्षा स्थिति, सीमावर्ती क्षेत्रका चुनौती, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सुरक्षा व्यवस्थापन र आन्तरिक सुरक्षामा देखिएका नयाँ जोखिमबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रका प्रतिवेदन प्रस्तुत गर्दै हालको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।  सम्भावित सुरक्षा चुनौतीहरू पहिचान गर्ने र तिनको प्रतिकार रणनीति तयार गर्ने लक्ष्यसहित बैठकले आगामी दिनमा सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशहरू जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा सबै निकायबीच समन्वय र तयारी अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षा नीतिहरूलाई अद्यावधिक गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन् ।

झिनो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ ।  बजारमा दिनभर उतारचढाव जस्तो देखिन्दा कारोबार रकममा भने वृद्धि भएको छ । आज दिनभरमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक सेयर किनबेच भएको छ । बजार घट्दा पनि ५ वटा कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ६ समूह बढेको छ भने बाँकी ७ समूह घटेको छ । आज लगानीकर्ताले बढी होटल तथा पर्यटन समूहमा कमाएका छन् भने सबैभन्दा बढी फाइनान्स समूहमा गुमाएका छन् ।   

भारतको राहत सहयोग जारी, नेपालले पायो थप १० बेलीब्रिज

हेटौंडा । भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ ।  भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।  नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलीब्रिज अनुदानमा उपलब्ध गराएको हो ।  गत वर्ष भारतले १० वटा बेलीब्रिज नेपाललाई दिएको थियो ।  भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेलीब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ ।  नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गरे । भारतले उपलब्ध गराएको बेलीब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ ।  पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनःस्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैं तयार रहेको बताए ।  बाँकी नौवटा बेलीब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने जनाइएको छ ।   

प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ

काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व सेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई प्रहरीले पक्राउ गरेको छ ।  काभ्रेपलान्चोकको पनौती नगरपालिका–८ का स्थायी बासिन्दा रहेका  ५१ वर्षीय महाजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट १० लाख रुपैयाँ ननाघ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँका दरले बारम्बार शंकास्पद रकम जम्मा भएको पाइएको छ । रेमिट कारोबारको क्रममा कम्पनीले रकम भुक्तानी मात्र गर्नुपर्ने भए पनि सोही खातामा एकै दिनमा पटक–पटक अस्वाभाविक रूपमा रकम जम्मा भएको उल्लेख गरिएको छ । उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा हुण्डीमार्फत नेपालमा पठाइएको अवैध विप्रेषण रकम प्राप्त गरी हिसाब मिलान गरिएको प्रमाण अनुसन्धानबाट भेटिएको प्रहरीको दाबी छ ।  सोही कार्यमा संलग्न खाता सञ्चालकमध्येका एकका रूपमा महाजुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

ज्योति विकास बैंकको​​​​​​​ मोबाईल बैंकिङबाट हवाई टिकट किन्दा ५ सय ​​​​​​​क्यासब्याक पाइने

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट हवाई टिकट खरिद गर्न प्रोत्साहन दिने उद्देश्यले आफ्नो मोबाईल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट एपमार्फत खरिद गर्दा ‘फ्लाई५००’ प्रोमो कोड प्रयोग गरेपछि ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ । यो सुविधा पहिलो ३०० जना ग्राहकका लागि मात्र उपलब्ध रहनेछ । मंसिर ३ गतेदेखि लागू गरिएको यो सीमित अवधिको अफर अन्तर्गत ज्योति स्मार्ट एप प्रयोग गरी गरिएको पहिलो हवाई टिकट खरिदमा मात्र क्यासब्याक पाउन सकिने बैंकले स्पष्ट पारेको छ । ज्योति विकास बैंकले डिजिटल कारोबार विस्तार तथा ग्राहकलाई किफायती, सहज र सुरक्षित सेवामा पहुँच दिलाउने उद्देश्यले निरन्तर विभिन्न आकर्षक योजना सञ्चालन गर्दै आएको छ । बैंकका अनुसार डिजिटल बैंकिङ प्लेटफर्मलाई अझ आधुनिक, सुरक्षित र प्रयोगमैत्री बनाउन पनि निरन्तर सुधार भइरहेका छन् ।