एसपीजी अटोमोबाइल्सले भित्र्यायो जेको जे–सिक्स टी, नेपाली माटो सुहाउँदो शक्तिशाली इलेक्ट्रिक एसयूभी
काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) को लहर मात्र चलेको छैन, यसले एउटा नयाँ उचाइ पनि लिइरहेको छ । अहिले ग्राहकले रुचाएको उत्कृष्ट ब्राण्ड हो, ओमोडा एण्ड जेको । यसले छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको छ । विशेषगरी ओमोडा ई-५, जेको जे-फाइभ सिक्सलगायतले उपभोक्ताहरूको मन जितिरहेको छ । बजारमा यसको माग उच्च देखिएपछि शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले बजारमा एक पछि अर्को गर्दै नयाँ भेरियन्ट थप्दै गएको छ । सोमबार एसपीजी अटोमोबाइल्सले चेरीको प्रिमियम ब्राण्ड जेको जे-सिक्स टी आधिकारिक रूपमा लन्च गरेको छ । ओमोडा ई-५ र जेकोको सफलतापछि भित्रिएको यो नयाँ संस्करण आधुनिक र साहसी जीवनशैली चाहनेहरूका लागि एउटा बलियो विकल्प हो । कम्पनीले नेपालमा विद्युतीय गाडीको प्रयोग ७५ प्रतिशतसम्म पुगेको अनुमान गर्दै बदलिँदो परिवेश र नेपाली सडकका चुनौतीहरूलाई मध्यनजर उक्त नयाँ गाडी बजारमा लिएको जनाएको छ। जेको जे सिक्सलाई पहिलो नजरमा हेर्दा यसको बलियो र स्पोर्टी बनावटले जो-कोहीलाई पनि आकर्षित गर्न सक्छ । यसमा जडान गरिएको डिजिटल स्मार्ट लाइटले १०९ मिटर टाढासम्मको बाटोलाई छर्लङ्ग देखाउँछ । गाडीको पछाडिको भागमा राखिएको २३.५ लिटरको युटिलिटी बक्सले यसलाई थप उपयोगी बनाएको छ । विशेषगरी २५ देखि ६० वर्ष उमेर समूहका जो नयाँ प्रविधि र साहसिक यात्रा रुचाउँछन्, उनीहरूका लागि यो गाडी एउटा उत्कृष्ट रोजाइ हो । नेपाली सडकका खाल्डाखुल्डी र कच्ची बाटोहरू धेरै गाडीका लागि चुनौती बन्ने गर्छन् । तर, जेको जे सिक्स यसैको लागि तयार पारिएको हो । २२५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले सडकका अवरोधहरूलाई सजिलै पार गर्नसक्ने कम्पनीको दावी छ । १३५ किलोवाटको शक्तिशाली मोटर र ३१ डिग्रीको डिपार्चर एङ्गलले गर्दा यसलाई कठिन उकालो र अफ-रोडमा गुडाउन निकै सहज हुन्छ । यसमा १५.६ इन्चको विशाल नियन्त्रण स्क्रिन र १.२ वर्गमिटरको सनरुफले यात्रालाई थप रोमाञ्चक बनाउँछ । चालक र यात्रुहरूका लागि विद्युतीय माध्यमबाट मिलाउन मिल्ने सिटहरू छन् । जसमा भेन्टिलेसन र मेमोरी सुविधाहरूले लामो यात्रामा पनि आरामदायी वातावरण सिर्जना गर्छ । आफ्नो इच्छाअनुसार गाडी चलाउन यसमा इको, कम्फर्ट, स्पोर्ट्स र कस्टम गरी ४ वटा मोडहरू उपलब्ध छन् । सुरक्षा यस गाडीको सबैभन्दा बलियो पक्ष हो । यसमा रहेको अत्याधुनिक सुरक्षा प्रणालीले ब्लाइन्ड स्पट डिटेक्सन र आपतकालीन अवस्थामा आफै ब्रेक लगाउने जस्ता सुविधामार्फत दुर्घटनाको जोखिम कम गर्छ । यसमा ५४० डिग्रीको क्यामेरा छ, जसले गाडी बाहिर मात्र होइन, गाडीको मुनिको भाग समेत स्क्रिनमा देखाउँछ । विद्युतीय गाडीमा सबैभन्दा ठूलो चिन्ता ब्याट्रीकै हुन्छ । जेको जे सिक्समा विश्वविख्यात (सीएटीएल) ब्याट्री प्रयोग गरिएको छ । एक पटकको फुल चार्जमा ४३१ किलोमिटर सम्म यात्रा गर्न सकिने यो गाडीलाई हतारको समयमा १० मिनेट मात्र चार्ज गर्दा पनि १०० किलोमिटर गुड्नसक्ने कम्पनीकाे दावी छ । सुरक्षाको हिसाबले पनि यो गाडी निकै भरपर्दो छ । यसले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । विश्वविख्यात चेरी अटोमोबाइल्सको प्रविधि र ज्यागुआर ल्याण्ड रोभरसँगको सहकार्यमा निर्माण भएकोले यसको गुणस्तरमा कुनै सम्झौता नगरिएको कम्पनीको दावी छ । कम्पनीका प्रबन्ध निर्देशक गौरव शारडाले २०२४ मा बजारमा आएको जेको जे सिक्सको सफलतापछि त्यसैको नयाँ भेरियन्ट नेपाली बजारमा ल्याएको जानकारी दिए । शाराडाले यो भेरिन्टलाई एक प्रिमियम लाइफस्टाइल उत्पादनको रूपमा चिनाए । गौरव शारडा । उनका अनुसार यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको भए तापनि सुरुवाती अफरअन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । जेको जे सिक्स टीका हाल देशभर रहेका १८ वटा डिलर नेटवर्कमार्फत खरिद गर्न सकिने शारडाको भनाइ छ । यस्तै, ग्राहकहरूको यात्रालाई झन्झटमुक्त बनाउन कम्पनीले देशभरका मुख्य राजमार्गहरूमा ३५ वटा आफ्नै चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए । यसैगरी, कम्पनीका भाइस प्रेसिडेन्ट रूपेश शर्मा भट्टका अनुसार नेपाली भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यसमा केही महत्त्वपूर्ण प्राविधिक सुधारहरू गरिएको छ । पहिले १८ इन्च रहेको टायरको साइजलाई बढाएर १९ इन्च पुर्याइएकाले सडकमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ । भट्टका अनुसार दुई वर्षको अवधिमा ओमोडा र जेकोका करिब २ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् । नेपाली उपभोक्ताको मन जित्दै नेपालको विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको कम्पनीको भनाइ छ । रूपेश शर्मा भट्ट । यसको आकर्षक डिजाइन, आधुनिक फिचर्स, बढ्दो चार्जिङ पूर्वाधार र रणनीतिक बजार प्रवर्द्धनले यसलाई नेपाली ईभी बजारमा अझै सशक्त बनाउने निश्चित छ । यो ब्राण्डलाई चीनको चेरी ब्राण्डले उत्पादन गर्ने गरेको छ । कम्पनीले ओमोडाबाहेक चेरी ब्राण्डकै आइकार भी टु थ्री र प्रिमियम तथा लग्जरी ईभी ब्राण्ड जीकरजस्ता अन्य विद्युतीय सवारी साधनहरू पनि नेपाली बजारमा बिक्री गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज बनाउन कम्पनीले चार्जिङ पूर्वाधारमा पनि लगानी गरिरहेको छ । हाल नेपालभरि ३५ भन्दा बढी स्थानमा ओमोडाका डिसी फास्ट चार्जरहरू सक्रिय छन् । यस आर्थिक वर्षभित्र शारडा ग्रुपको गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा १०० भन्दा बढी स्थानमा चार्जर स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
नाडा टोलीको मुख्यमन्त्री बानियाँसँग भेट, अटोमोबाइल क्षेत्र सुधारमा सहकार्यको पहल
काठमाडौं । नवनिर्वाचित नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वसहित टिमले आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटघाट भएको छ । भेटका क्रममा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ । मुख्यमन्त्री बानियाँले नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरे । उनले करिब ५० वर्षदेखि सक्रिय नाडाले राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै शासन व्यवस्थासँग काम गरेको अनुभव उल्लेख गर्दै संस्थाको प्रशंसा गरे । उनले देशका करिब ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमै दर्ता हुने भएकाले राजधानी क्षेत्रमा ट्राफिक जाम, पार्किङ अभाव लगायतका समस्या रहेको बताउँदै यसको समाधानका लागि प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको धारणा राखे । यस्तै, आवश्यक प्राविधिक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी ट्रायल सेन्टर सञ्चालनका विषयमा पनि सहकार्य गर्न सकिने उनले बताए । नाडाका अध्यक्ष उप्रेतीले देशभर ७ प्रदेशमा फैलिएको नाडामा २८ सय ८३ सदस्य कम्पनी रहेको जानकारी दिँदै नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उल्लेख गरे । साथै, वार्षिक रूपमा करिब ५ हजार जनशक्ति आवश्यक पर्ने जानकारी पनि उनले जानकारी दिए । प्रदेश सरकारसँग सहकार्यका सम्भावित क्षेत्रहरूबारे मोडालिटी तयार गरी पेश गरिने पनि उनले बताए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले देशमा भइरहेको प्रतिभा पलायन रोक्न अटोमोबाइल क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै सीपमूलक तालिम कार्यक्रममार्फत जनशक्ति उत्पादनमा नाडा सक्रिय रहेको बताए । यसैगरी, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेकाले सोहीअनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु चुनौतीपूर्ण रहेको बताए । यसका लागि परिमार्जित पाठ्यक्रम तयार गरिँदै रहेको र तालिमका लागि स्रोतसाधन तथा दक्ष प्रशिक्षकको अभाव रहेको पनि उनले औंल्याए । उक्त कार्यक्रममा नाडाका पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
नेपालमा सार्वजनिक भयो जेकोको नयाँ ईभी ‘जे सिक्स टी, सुरुवाती मूल्य ६७ लाख
काठमाडौं । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ विद्युतीय गाडी ‘जेको जे सिक्स टी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । यो गाडी जस्तोसुकै अप्ठ्यारो सडकमा पनि सजिलै गुड्न सक्नेगरी बनाइएको कम्पनीले जनाएको छ । विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरको बनावटबाट प्रभावित यो गाडी यसको बलियो, आकर्षक र बाकस जस्तो देखिने स्वरूपका कारण चर्चामा छ । कम्पनीले यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको भए तापनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाएको छ । यसमा विश्वकै उत्कृष्ट ‘सीएटीएल’ कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसको मोटरले उकालो र कच्ची सडकमा गुडाउन आवश्यक पर्ने उच्च शक्ति (२२० एनएम टर्क) प्रदान गर्छ । एक पटकको पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार यसको जमिनदेखिको उचाइ (ग्राउन्ड क्लियरेन्स) २२५ मिलिमिटर रहेको छ, जुन नेपाली कच्ची सडक र अफ-रोडका लागि निकै उत्कृष्ट मानिन्छ । गाडीको भित्री भागमा १५.६ इन्चको ठुलो मुख्य सूचना स्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल डिस्प्ले, ५० वाटको ताररहित (वायरलेस) मोबाइल चार्जर र ८ वटा स्पिकरहरू जडान गरिएका छन् । यसअघि बजारमा आएको जेको जे सिक्सको सफलतापछि कम्पनीले अझ सुधारिएको र शक्तिशाली संस्करणका रूपमा जे सिक्स टी ल्याएको हो । सार्वजनिक कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा र निर्देशक गौरव शारदा लगायत अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरूलाई नयाँ प्रविधि र भरपर्दो गाडीको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । हाल यो गाडी देशभरका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।