मनोकामना मोडर्न इन्जिनियरिङको आम्दानी १.८३ अर्ब रुपैयाँ, ऋण साढे २ अर्ब
काठमाडौं । निर्माण उपकरण तथा निर्माण सामग्री व्यापारमा सक्रिय मनोकामना मोडर्न इन्जिनियरिङ प्रालिले सन् २०२५ मा करिब १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.६३ प्रतिशत अर्थात् करिब ३ करोड रुपैयाँले कम हो । कम्पनीले सन् २०२४ मा १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानी संरचना हेर्दा निर्माण सामग्रीतर्फको योगदान उच्च देखिन्छ, जहाँ कुल आम्दानीको करिब ६२ प्रतिशत हिस्सा यसै क्षेत्रबाट आउने गरेको छ भने बाँकी करिब ३७ प्रतिशत आम्दानी निर्माण उपकरण बिक्रीबाट प्राप्त हुने गरेको छ । कम्पनीको आम्दानी विगतका वर्षहरूमा क्रमशः बढ्दो प्रवृत्तिमा देखिए पनि पछिल्लो वर्ष सामान्य गिरावट आएको छ । सन् २०२३ मा कम्पनीले १ अर्ब ७६ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २००९ जुनमा स्थापना भएको कम्पनीले नेपालमा निर्माण उपकरण आयात तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कोबेल्को, हुन्डाई, शान्तुई र डायनाप्याक जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका उपकरण आयात गरी बजारमा उपलब्ध गराउँदै आएको छ । यद्यपि, कम्पनीले हालसम्म कुनै पनि निर्माण उपकरण ब्रान्डको अधिकृत डिलरशिप भने प्राप्त गर्न सकेको छैन । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक श्रवण कुमार गोयल हुन्, जसले उत्पादन तथा व्यापार क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको बत्तिसपुतलीमा अवस्थित रहेको छ । यसले भारत, अमेरिका र इन्डोनेसियाबाट निर्माण सामग्रीसमेत आयात गर्दै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ७६ करोड २० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड ७० लाख रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ४६ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जबकि यसअघि कम्पनीले १ अर्ब ६ करोड ८० लाख रुपैयाँ मात्रै ऋण लिएको थियो । वित्तीय पक्षमा भने कम्पनीको ऋण भार उल्लेखनीय रूपमा बढेको देखिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७६ करोड २० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड ७० लाख रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ४६ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जबकि अघिल्लो वर्ष १ अर्ब ६ करोड ८० लाख रुपैयाँ मात्रै बैंकबाट ऋण लिएको थियो ।
लन्च भएको सातामै सकियो यामाहाको हाइब्रिड बाइक, बजारमा उत्साहजनक प्रतिक्रिया
काठमाडौं । यामाहा नेपालले हालै सार्वजनिक गरेको नेपालको पहिलो हाइब्रिड मोटरसाइकल यामाहा एफजेट–एस एफआई हाइब्रिड ग्राहकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएपछि आधिकारिक लन्च भएको एक हप्तामै सोल्ड आउट भएको छ । कम्पनीका अनुसार नयाँ पुस्ताको हाई–टेक प्रविधिसहित ल्याइएको उक्त मोटरसाइकलले नेपाली बजारमा आधुनिक मोटरसाइकलिङको नयाँ अध्याय सुरु गरेको छ । प्रदर्शन र इन्धन दक्षतालाई सन्तुलनमा राख्दै तयार गरिएको यो मोडललाई भविष्यतर्फ उन्मुख प्रविधिमैत्री सवारीका रूपमा हेरिएको छ । एफजेट–एसको स्थापित लिगेसीमा आधारित यस हाइब्रिड मोडललाई उच्च पावर, सुधारिएको इन्धन दक्षता तथा कम उत्सर्जन सुनिश्चित गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक व्यवस्थापनजस्ता चुनौतीलाई ध्यानमा राख्दै विकास गरिएको यो मोटरसाइकलले उत्कृष्ट माइलेज प्रदान गर्ने दाबी गरिएको छ । उन्नत प्रविधि, स्मार्ट फिचर र प्रभावकारी इन्धन खपतका कारण छोटो समयमै बजारबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । राइडरहरूको माइलेज आवश्यकतालाई सम्बोधन गर्न सकेकाले यो मोडलले बलियो बजार स्वीकार्यता हासिल गरेको कम्पनीको भनाइ छ । उच्च मागलाई मध्यनजर गर्दै यामाहा नेपालले मोटरसाइकलको अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरेको घोषणा गरेको छ । ग्राहकहरूले प्रि–बुकिङसम्बन्धी जानकारी यामाहाका आधिकारिक सामाजिक सञ्जाल तथा देशभरका अधिकृत डिलरमार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीले नयाँ स्टक चाँडै उपलब्ध गराई समयमै डेलिभरी सुनिश्चित गर्ने जनाएको छ । यस उपलब्धिबारे यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले प्रविधि र माइलेजप्रति बढ्दो ग्राहक आकर्षणले उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए । उनले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार नवीन तथा व्यवहारिक यातायात समाधान ल्याउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे । कम्पनीका अनुसार एफजेट–एस एफआई हाइब्रिडको सफल लन्चसँगै नेपाली बजार स्मार्ट र दक्ष मोटरसाइकलिङतर्फ अघि बढिरहेको संकेत देखिएको छ ।
एक्साइडको नयाँ ‘ई-राइड’ ब्याट्री बजारमा, ई-रिक्सा चालकलाई लागत घटाउने दाबी
काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूलाई लक्षित गर्दै अत्याधुनिक एक्साइड ‘ई–राइड’ लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने उद्देश्यसहित ल्याइएको उक्त ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक, सुरक्षित र शक्तिशाली बनाउने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार नयाँ ब्याट्री एआईएस–१५६ फेज–२ प्रमाणित हुनुका साथै सर्ट सर्किट तथा पानीबाट सुरक्षा प्रदान गर्ने आईपी–६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ । ब्याट्रीसँगै २५ एम्पियर क्षमताको अत्याधुनिक एसएमपीएस चार्जर पनि उपलब्ध गराइएको छ, जसमा दुई वर्षको वारेन्टी प्रदान गरिएको छ । उक्त चार्जरमार्फत ब्याट्रीलाई ३ देखि ४ घण्टाभित्र पूर्ण रूपमा चार्ज गर्न सकिने जनाइएको छ । हल्का तौल र उच्च क्षमताका कारण यस ब्याट्रीले बढी माइलेज दिनुका साथै सवारी सञ्चालनका क्रममा समान पावर कायम राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ । सामान्य लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्षसम्म मात्र हुने भए पनि यो लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमता रहेको बताइएको छ । यसमा बारम्बार पानी थप्नुपर्ने झन्झट नहुने तथा मर्मत खर्च कम लाग्ने भएकाले ई–रिक्सा चालकहरूका लागि किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ । ग्राहकको विश्वास बढाउन कम्पनीले ब्याट्रीमा ३६ महिनाको वारेन्टी उपलब्ध गराएको छ । नेपालभरका आधिकारिक एक्साइड डिलरमार्फत उपलब्ध हुने उक्त ब्याट्री र चार्जर सेटले ई–रिक्सा व्यवसायीहरूको दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्ने कम्पनीको दाबी छ । आधुनिक र शक्तिशाली सवारी सञ्चालन गर्न चाहने चालकहरूका लागि यो ब्याट्री प्रभावकारी विकल्प हुने अपेक्षा गरिएको छ ।