नागरिकताकै भरमा स्कुटर किन्न सकिने, लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा

काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै भरमा फाइनान्स सुविधा पाइने भएको छ । लुयान नेपालले ग्राहकलाई सहज बनाउन यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो । विशेषगरी राजधानी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाअनुसार अब ग्राहकले आफ्नो र एकजना ग्यारेन्टरको नागरिकताको आधारमा सहज रूपमा फाइनान्स सुविधा लिन सक्नेछन् । सामान्यतया फाइनान्स प्रक्रियामा प्रशस्त आम्दानी खुल्ने कागजात, राजधानीकै स्थानीय ग्यारेन्टर, बिजुली वा खानेपानीको बिल, सरकारी जागिर वा ठूलो कम्पनीमा काम गरेको प्रमाण जस्ता झन्झटिला कागजात आवश्यक पर्ने गरिन्छ । तर लुयान नेपालको यो नयाँ व्यवस्थामा त्यस्ता जटिल प्रक्रियाबाट ग्राहकलाई धेरै हदसम्म सहज बनाइएको छ । नेपालको जुनसुकै जिल्लाको स्थायी बासिन्दा भए पनि हाल राजधानीमा बसेर औपचारिक वा अनौपचारिक पेशा–व्यवसाय गरिरहेका व्यक्ति, साना व्यवसायी तथा राइड सेयरिङ्गमा संलग्न युवाहरूले पनि यो सुविधाबाट लाभ लिन सक्नेछन् ।  यस योजनाअनुसार स्कुटरको कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध हुनेछ भने बाँकी रकम १८ महिनासम्मको सरल किस्तामा तिर्न मिल्ने व्यवस्था गरिएको कम्पनीका सेल्स हेड शंकर शर्माले जानकारी दिए । यो सुविधाले विशेषगरी राजधानीमा बसेर राइड सेयरिङ्ग व्यवसायमा सक्रिय युवाहरूलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । हाल यो सेवा काठमाडौंमा उपलब्ध भए पनि निकट भविष्यमा पोखरा र इटहरीमा समेत विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।  लुयान नेपालले विगत सात वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यो फाइनान्स सुविधा लुयान, सारथी, इकुटर, जिडाओ तथा काइसाई ब्राण्डका स्कुटरमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले हाल करिब १ लाख ४० हजारदेखि साढे २ लाख रुपैयाँसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध गराउँदै आएको छ । साथै, कम्पनीले करिब १ लाख १० हजार रुपैयाँमै लाइसेन्स आवश्यक नपर्ने इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्दै आएको छ ।  

जेसीबी थीडीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

काठमाडौं । निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी थीडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ । ग्राहकको विश्वास थप सुदृढ बनाउने तथा उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत नयाँ जेसीबी थीडीएक्स सुपर खरिद गर्ने ग्राहकहरूले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको चार वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार तोकिएका सञ्चालन तथा नियमित मर्मतसम्भारका शर्त पूरा भएमा प्रयोगपछि पनि मेसिनको मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ उपलब्ध हुनेछ । यसले ग्राहकलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै भविष्यको पुनःबिक्री मूल्यबारे स्पष्टता दिने अपेक्षा गरिएको छ । कम्पनीले यो पहल जेसीबी थीडीएक्स सुपरको टिकाउपन, विश्वसनीयता तथा बजारमा रहेको निरन्तर मागप्रतिको विश्वासको प्रतीक भएको जनाएको छ । नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा बढी प्रयोग हुने भरपर्दा ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ । एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिका अनुसार निर्माण क्षेत्रमा गरिने लगानीबाट ग्राहकले भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गर्ने भएकाले ‘बाइ ब्याक ग्यारेन्टी’ योजनाले खरिद निर्णयलाई अझ विश्वस्त बनाउनेछ । उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका कारण परिचित जेसीबी थीडीएक्स सुपर नेपालभर सडक निर्माण, जलविद्युत् आयोजना, सहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न परियोजनामा व्यापक रूपमा प्रयोग हुँदै आएको छ ।  

इनड्राइभको नयाँ पहल : ड्राइभर पार्टनर्सका लागि मात्र ०.०१ प्रतिशत सेवा शुल्क लागू

काठमाडौं । राइड–शेयरिङ प्लेटफर्म इनड्राइभले नेपालमा ड्राइभर पार्टनर्सका लागि केवल ०.०१ प्रतिशत सेवा शुल्क लागू गरेको जनाएको छ । चालक साझेदारहरूको आम्दानीलाई प्राथमिकता दिने उद्देश्यसहित ल्याइएको यस व्यवस्थाले ड्राइभरहरूलाई आफ्नो कमाइको झण्डै सम्पूर्ण हिस्सा आफैं राख्न सक्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार शहरको दैनिक यातायात व्यवस्थालाई गतिशील बनाइराख्ने चालकहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको आर्थिक बोझ कम गर्ने लक्ष्यसहित यो विशेष क्याम्पेन सुरु गरिएको हो । यस कदमले ड्राइभरहरूलाई थप प्रोत्साहन मिल्नुका साथै निष्पक्ष र पारदर्शी राइड–शेयरिङ प्रणालीलाई अझ मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । इनड्राइभले चालक साझेदारहरूलाई सेवा प्रदायक मात्र नभई प्लेटफर्मको सफलताका महत्वपूर्ण साझेदारका रूपमा सम्मान गर्ने उद्देश्यले सहुलियतपूर्ण सेवा शुल्क लागू गरिएको जनाएको छ । चालकहरूको मेहनत, समर्पण तथा यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने भूमिकाको कदरस्वरूप यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ । यसैबीच, इनड्राइभसँग आबद्ध चालक मिलन तामाङले नयाँ सेवा शुल्क संरचनाले दैनिक आम्दानी बढ्नुका साथै कामप्रतिको उत्साह र ड्राइभरहरूको समग्र अनुभवमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।