एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

काठमाडौं । पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत रकम पठाउने आइएमई लिमिटेडका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई उक्त विद्युतीय कार हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले विजेतालाई बधाई दिँदै आइएमईप्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे । विदेशमा परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको उनले बताए । कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशमा श्रम गरेर आर्जन गरेको रकम स्वदेश पठाउनुका साथै सीप र अनुभव समेत हस्तान्तरण गर्दै उद्यमशीलतामा अघि बढ्ने युवाको सङ्ख्या बढ्दै गएको उल्लेख गरे । गत कार्तिकदेखि माघसम्म सञ्चालन गरिएको ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजनाअन्तर्गत एस मनि ट्रान्सफरमार्फत रकम पठाउने सेवाग्राहीहरूलाई लक्की ड्रमा सहभागी गराइएको थियो । सोही योजनाअन्तर्गत दुई जना सेवाग्राहीले आईफोन १६ ई समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । आइएमईले विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट स्वदेश पठाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्ता विभिन्न योजना तथा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।  

सवारी कर्जा सहज बनाउन एलटीभी ८० प्रतिशत पुर्‍याउन नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एलटीभी रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालय समक्ष औपचारिक अनुरोध गरेको छ। नाइमाका अनुसार हालको ६० प्रतिशत एलटीभी सीमा अटोमोबाइल बजारमा देखिएको सुस्तताको प्रमुख कारणमध्ये एक हो । उच्च प्रारम्भिक भुक्तानी आवश्यक पर्ने भएकाले धेरै उपभोक्ता सवारी साधन खरिद गर्न असमर्थ भएका छन्, जसले बिक्रीमा कमी ल्याउनुका साथै समग्र आर्थिक गतिविधि र राजस्व संकलनमा समेत असर पारेको जनाएको छ । अटोमोबाइल क्षेत्र भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमार्फत सरकारको राजस्वमा महत्वपूर्ण योगदान गर्ने क्षेत्रमध्ये एक हो । सवारी साधन बिक्रीमा वृद्धि हुँदा राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने विश्वास नाइमाले व्यक्त गरेको छ । बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलताको अवस्थालाई ध्यानमा राख्दा सवारी कर्जामा एलटीभी सीमा वृद्धि गर्नु पूँजी परिचालनको व्यावहारिक र प्रभावकारी उपाय हुन सक्ने नाइमाको धारणा छ । हायर–पर्चेज कर्जा किस्ताबन्दी प्रणालीमा आधारित र धितो सुरक्षासहित प्रवाह गरिने भएकाले यसलाई तुलनात्मक रूपमा सुरक्षित कर्जा खण्डका रूपमा हेरिने पनि उल्लेख गरिएको छ । नाइमाले सवारी साधन बिक्री वृद्धि हुँदा सर्भिस सेन्टर, स्पेयर पार्ट्स, बीमा, वित्तीय सेवा, ढुवानी तथा प्राविधिक सेवा जस्ता सहायक उद्योगहरू सक्रिय हुने र प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने भएकाले यस क्षेत्रमा नीतिगत सहजीकरण आवश्यक रहेको जनाएको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै सवारी साधन हायर–पर्चेज कर्जाको एलटीभी रेसियो अधिकतम ८० प्रतिशत कायम गरी नीतिगत पुनरावलोकन गर्न सम्बन्धित निकायसँग पुनः आग्रह गरिएको छ । ‘मोबिलिटी फर अल’ मिशनअनुरूप यस विषयमा निरन्तर पैरवी गर्दै आएको नाइमाले आगामी दिनमा पनि नीति सुधार तथा समन्वयका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

७ महिनामा १३ अर्बका ५ हजार ८९६ ईभी भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि माघसम्म नेपालमा ५ हजार ८ सय ९६ वटा विद्युतीय गाडी (ईभी) आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार १३ अर्ब ८५ करोड १ लाख ३५ हजार रुपैयाँ बराबरका ईभी भित्रिँदा सरकारलाई ८ अर्ब ४६ करोड २६ लाख ७७ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ । ७ महिनाको अवधिमा २ वटा ५० किलोवाट क्षमताका अन-एसेम्बल ईभी समेत आयात भएका छन् । पुस महिनासम्म ५ हजार ७३ वटा ईभी (कार, जीप र भ्यान) भित्रिएका थिए भने माघसम्म आइपुग्दा संख्या उल्लेखनीय रूपमा बढेको विभागले जनाएको छ ।  ५० किलोवाटका १ हजार ९ सय ९२ वटा, ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ४०२ वटा, १०१ देखि २०० किलोवाटसम्मका ४ सय ९३ वटा तथा २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा रहेका छन् । सबैभन्दा बढी ५१ देखि १०० किलोवाट क्षमताका ईभी लोकप्रिय देखिएका छन् ।  यसैगरी माघसम्म ५ हजार ६९ वटा तीन पाङ्ग्रे ईभी आयात भएका छन् जसको मूल्य ५१ करोड ७८ लाख १७ हजार रुपैयाँ बराबर रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालमा ईभीप्रति बढ्दो आकर्षण र प्रयोगसँगै आयातमा पनि तीव्र वृद्धि देखिएको छ भने अटो बजार ईभीमय भएको छ ।