टीभीएस अपाचे रेसिङ एक्सपिरियन्सको डेब्यु सम्पन्न, ६० चालक प्रतिस्पर्धामा
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । टीभीएस अपाचे सिरिजको २० वर्षे यात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम सातुङ्गलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा सम्पन्न भएको हो । छनोट चरणमा ६० भन्दा बढी चालक सहभागी हुँदा ३०० भन्दा बढी मोटरस्पोर्ट्स पारखी दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमअन्तर्गत सहभागी चालकहरूले व्यावसायिक रूपमा तयार पारिएको १० मोडयुक्त रेसिङ ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए । चालकहरूको मूल्यांकन सबैभन्दा छिटो एक फन्को समयका आधारमा गरिएको थियो । प्रतियोगिता १६० घनसेन्टिमिटर, २०० घनसेन्टिमिटर र ३१० घनसेन्टिमिटर गरी तीन वर्गमा सञ्चालन गरिएको थियो । प्रत्येक वर्गका शीर्ष तीन चालकलाई भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर प्रदान गरिएको छ । साथै, उनीहरूलाई २५ हजार रुपैयाँ नगद पुरस्कार र टीभीएस कम्पनीका विशेष सवारी सुरक्षात्मक सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ । १६० घनसेन्टिमिटर वर्गमा सुजन थापा मगर, २०० घनसेन्टिमिटर वर्गमा अभिनव राज मल्ल र ३१० घनसेन्टिमिटर वर्गमा दिलिप दनुवार विजेता बनेका छन् । छनोट चरणका विजेताहरू अब सन् २०२६ को अप्रिलमा आयोजना हुने टीभीएस अपाचे रेसिङ अनुभवको ग्रान्ड फिनालेमा सहभागी हुनेछन् । कार्यक्रमका क्रममा टीभीएस रेसिङका अनुभवी चालकहरूद्वारा सहभागीहरूलाई व्यावसायिक रेसिङसम्बन्धी तालिम तथा मार्गदर्शन प्रदान गरिएको थियो । दिनभर सञ्चालन भएको कार्यक्रममा साहसिक प्रदर्शन, जिमखाना अभ्यास तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका थिए । टीभीएस मोटर कम्पनीका अधिकारीहरूले नेपालमा बढ्दो परफर्मेन्स मोटरसाइकल संस्कृति र मोटरस्पोर्ट्सप्रतिको आकर्षणलाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता गतिविधिहरूलाई थप विस्तार गर्ने बताएका छन् ।
६० प्रतिशत कर्जा सीमा खारेज, राष्ट्र बैंकलाई सर्वोच्चको नीति पुनरावलोकन गर्न आदेश
काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धनमा बाधक मानिएको नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । ईभीमा प्रदान गरिने कर्जाको सीमा (लोन टु भ्यालु रेसियो) ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झार्ने राष्ट्र बैंकको निर्णयलाई बदर गर्दै सर्वोच्चले प्रोत्साहनमूलक र स्थिर नीति बनाउन सरकारका नाममा परमादेश जारी गरेको हो । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले गत पुस ३० गते यस्तो फैसला सुनाएको हो । यससँगै अब सरकार र राष्ट्र बैंकले ईभीमैत्री कर्जा नीति पुनरावलोकन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले २०८१ पुस २९ मा एकीकृत निर्देशन जारी गर्दै ईभी कर्जाको सीमा २० प्रतिशतले घटाएको थियो । उक्त व्यवस्थाले वातावरणमैत्री सवारीको प्रयोगलाई निरुत्साहित गरेको भन्दै अधिवक्ता सञ्जय अधिकारीसहितको टोलीले रिट दायर गरेका थिए । सर्वोच्चले उक्त निर्देशन खारेज गर्दै ईभीलाई प्रोत्साहन गर्ने स्पष्ट र दीर्घकालीन नीति ल्याउन आदेश दिएको छ । फैसलाको पूर्णपाठ आइनसकेकाले राष्ट्र बैंक ‘पर्ख र हेर’ को अवस्थामा रहेको प्रवक्ता गुरुप्रसाद पौडेलले बताए। उनका अनुसार राष्ट्र बैंकलाई समेत पक्ष बनाइएको उक्त रिटमा सर्वोच्चको आदेश आइसकेको भए तापनि त्यसको पूर्णपाठको पर्खाइमा राष्ट्र बैंक रहेको छ । ‘सर्वोच्च अदालतले ईभीसम्बन्धी नीतिमा केही बोलेको छ । तर पूर्णपाठ आइसकेको छैन । हामी पूर्णपाठको पर्खाइमा छौं,’ प्रवक्ता पौडेलले भने, ‘पूर्णपाठमा राष्ट्र बैंकलाई के-कस्ता निर्देशात्मक आदेश दिइएको छ, सोहीअनुसार हामी अगाडि बढ्छौं ।’ उक्त रिट निवेदन व्यवसायीहरूले दायर गरेको हुन सक्ने अनुमान छ । विशेषगरी घरजग्गा तथा अन्य क्षेत्रमा दिइने कर्जामा ‘लोन टु भ्यालू’ अनुपातमा राष्ट्र बैंकले लागू गरेको ६०/८० को सीमाजस्ता विषयहरू रिटमा उठाइएको बुझिएको छ । प्रवक्ता पौडेलले सर्वोच्चको आदेशमा आउन सक्ने सम्भावित व्यवस्थाहरूबारे थप प्रस्ट्याउँदै भने, ‘यदि आदेश निर्देशात्मक प्रकृतिको रहेछ भने हामी त्यसको पूर्ण पालना गर्नेछौं । यदि केही सुझावात्मक कुराहरू छन् भने त्यसलाई हामी मनन् गर्नेछौं र आगामी नीति निर्माणमा ध्यान दिनेछौं ।’ सर्वोच्चको आदेशको पूर्णपाठ नहेरी अहिले नै कुनै पनि निर्णयमा पुग्न नसकिने उनले स्पष्ट पारे । ‘पूर्ण पाठको स्पिरिटअनुसार नै हामी कार्यान्वयन तहमा जानुपर्छ। अहिले मैले पूर्ण पाठ नहेरिकन केही भन्न सक्ने अवस्था छैन,’ उनले भने । सर्वोच्चको यो आदेशले राष्ट्र बैंकको आगामी मौद्रिक तथा कर्जा नीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरा पूर्णपाठ सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ । अदालतको अन्तिम फैसलाले कर्जा बजार र व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
कर्पोरेट समाचारको पहिलो वार्षिकोत्सवमा रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’ सम्पन्न
काठमाडौं । कर्पोरेट समाचारले पहिलो वार्षिकोत्सव रोयल इन्फिल्डसँगको सहकार्यमा विशेष कार्यक्रमसहित सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कर्पोरेट समाचार र रोयल इन्फिल्डले संयुक्त रूपमा ‘लेडिज बाइक राइड’ आयोजना गरेका हुन् । रोयल इन्फिल्डको शोरुमबाट सुरु भएको उक्त राइडमा चर्चित नायिकाहरू स्वस्तिमा खड्का र प्रियना आचार्य ‘मुन्नी’ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा महिलाहरूको आत्मविश्वास, साहस र सशक्तीकरणलाई केन्द्रमा राखिएको थियो । कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले कर्पोरेट समाचारलाई पहिलो वार्षिकोत्सवको शुभकामना दिँदै महिलाहरूले बुलेट बाइक कुदाएको देख्दा आफ्ना कलेज जीवनका दिनहरू सम्झिएको बताइन् । उनले भनिन्, ‘हाम्रो समयमा केटीहरूले बाइक हाँक्दा अचम्म मानिन्थ्यो । आज महिलाहरूले बुलेट बाइक कुदाउनु भनेको उनीहरूको आँट र साहस बढेको प्रमाण हो ।’ यस्ता कार्यक्रमले महिलाहरूलाई अझ सशक्त बनाउने विश्वास उनले व्यक्त गरिन् । त्यस्तै नायिका प्रियना आचार्यले महिलाहरूको उत्साह र आत्मविश्वास देखेर आफूलाई पनि बाइक राइड गर्ने चाहना पलाएको बताइन् । ‘अब मलाई पनि राइड गर्ने आँट गर्न मन छ, बुलेट चढ्ने एकदमै रहर लागेको छ,’ उनले भनिन् । साथै, भविष्यमा यस्ता प्रेरणादायी कार्यक्रमहरू अझ धेरै आयोजना गर्न आग्रह गर्दै कर्पोरेट समाचारलाई शुभकामना दिइन् । कार्यक्रममा अल्फा अटोमोटिभ प्रालिका कार्यकारी निर्देशक मेघराज पौड्यालले कर्पोरेट समाचारसँगको सहकार्यमा रोयल इन्फिल्डले विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरे । उनले लेडिज बाइक राइडमार्फत पर्यटन प्रवद्र्धनदेखि अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको बताए । २५ भन्दा बढी महिलाहरू सहभागी भएको उक्त बाइक राइड काठमाडौंका ऐतिहासिक तथा धार्मिक स्थलहरूको भ्रमण गर्दै सम्पन्न भएको थियो । बसन्तपुर, पाटन दरबार र तीनकुने हुँदै यात्रा काठमाडौंको दक्षिण ढोकास्थित नर्लिङ रिसोर्टमा पुगेर समापन गरिएको थियो । राइडपछि नर्लिङ रिसोर्टमा कर्पोरेट समाचारको पहिलो वार्षिकोत्सवको औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमकी सभापति तथा कर्पोरेट समाचारकी सञ्चालिका संगीता खत्रीले छोटो समयमै एक वर्षको यात्रा पूरा गर्न सबैको साथ, माया र विश्वासले सम्भव भएको बताइन् । उनले भनिन्, ‘यो मेरो एक्लो प्रयासले सम्भव भएको होइन, मेरो टिम र पाठकवर्गको निरन्तर साथ र माया नै हाम्रो शक्ति हो ।’ कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले महिला नेतृत्वमा सञ्चालित कर्पोरेट समाचार समाजका लागि प्रेरणादायी उदाहरण बनेको बताए । ‘एउटा महिलाले आँट गरेर सुरु गरेको यो प्रयासले अन्य महिलाहरूलाई पनि समाजमा केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउँछ,’ उनले भने । मेयर कार्कीले कर्पोरेट समाचारलाई शुभकामना दिँदै आगामी दिनमा नगरपालिकाको तर्फबाट सहकार्य गर्दै अघि बढ्न चाहेको बताए । ‘महिला नेतृत्वमा सञ्चालन भएको कर्पोरेट समाचारले महिलामात्र होइन, समग्र देशलाई सकारात्मक सन्देश दिएको छ,’ उनले उल्लेख गरे ।