४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप साढे ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ असार १० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
श्रीलंकाका ४ लाख पसलमा अब 'नेपाली क्युआर' चल्ने
काठमाडौं । नेपाल र श्रीलंकाबीच डिजिटल भुक्तानीलाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले क्रस-बोर्डर क्युआर भुक्तानी सेवाको औपचारिक सुरुवात भएको छ । नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र श्रीलंकाको 'लन्कापे' बीचको सहकार्यमा आइतबार एक समारोहबीच यो सेवाको सुरुवात गरिएको हो । यो व्यवस्थासँगै अब श्रीलंका भ्रमण गर्ने नेपाली पर्यटकहरूले नेपालका मोबाइल बैंकिङ्ग एप वा कनेक्ट आइपीएसमार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी 'लन्का क्युआर' मर्चेन्टहरूमा सिधै स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । दक्षिण एसियाली देशहरूबीच डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताका लागि यसलाई एक महत्त्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ । यस सेवाको प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले इसुअर बैंकको रूपमा सेवा सुरु गरेको छ । जसअनुसार प्रयोगकर्ताले आफ्नो डलर कार्ड वा उपकरणलाई कनेक्ट आइपीएसमा लिंक गरी श्रीलंकामा रियल-टाइम भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा अन्य बैंकका मोबाइल एपहरूमा पनि यो सुविधा थप गर्दै लैजाने योजना रहेको छ । यो पहलले नेपाल र श्रीलंकाबीचको वर्षौ पुरानो ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई प्रविधिमार्फत थप प्रगाढ बनाउने विश्वास गरिएको छ । विशेष गरी पर्यटक र व्यापारिक भ्रमणमा जानेहरूका लागि नगद बोक्नुपर्ने झन्झट हट्नुका साथै सुरक्षित र डिजिटल माध्यमबाट कारोबार गर्न सहज हुनेछ । यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरूलाई समेत अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच पुर्याउन नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । श्रीलंकाको कोलाम्बोमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ श्रीलंका, एनसीएचएल र लन्कापेका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । दुवै देशका राष्ट्रिय भुक्तानी पूर्वाधारहरूलाई जोड्ने यो कदमले क्षेत्रीय स्तरमा वित्तीय समावेशीकरण र आधुनिक भुक्तानी प्रणालीको स्वीकार्यतालाई बढावा दिने मन्त्रालय तथा सम्बद्ध निकायहरूले जनाएका छन् ।
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ जनाले पाए उपचार तथा परामर्श
काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो । शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं शाँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई नि:शुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ । बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपचार तथा परामर्श पाएका थिए । यस्तै, गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए ।