सिटिजन्स बैंकद्वारा देशव्यापी वृक्षारोपण, १५०० बिरुवा रोपियो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २३ गते आयोजित उक्त कार्यक्रममा बुढानीलकण्ठ वडा नम्बर–१ मा करिब २५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । बैंकले देशव्यापी रूपमा पनि वृक्षारोपण अभियान सञ्चालन गर्दै कोशीमा २००, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिममा २०० गरी कुल १५०० बिरुवा रोपिएको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा नम्बर–१ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापनसहित कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएका प्रत्येक बिरुवाले भविष्यमा स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा लिएको बताए । बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग लगायतका सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकको भनाइ छ । सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४ र २०२५’ उपाधि प्राप्त गर्नुका साथै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ प्लेटफर्म तथा फ्रिलान्सर लक्षित बचत खाता समेत सुरु गरेको छ । बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
काठमाडौं । कामना सेवा विकास बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायका लागि २५ थान सेतो छडी वितरण गरेको छ । दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेलले सेतो छडी हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो । दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुलको साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पौडेलले यस्ता सहयोगले विशेषगरी आर्थिक रूपमा कमजोर समुदायका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, सर्वोदय परियोजनाका सौगात वाग्लेले सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने बताए । कार्यक्रममा पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले यस्ता कार्यक्रममार्फत सामाजिक समावेशितामा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको जनाए ।
सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले मर्जरमा जाने निर्णय गरेको हो । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न बैंकले असार १४ गते बिहान ११ बजे विराटनगर, मोरङस्थित होटल रुविजमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ । साथै मर्जर प्रक्रियाका लागि आवश्यक मूल्याङ्कनकर्ता नियुक्ति तथा सम्पत्ति-दायित्व मूल्याङ्कनसम्बन्धी अधिकार पनि समितिलाई नै दिने प्रस्ताव छ । यस्तै, सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि असार २ देखि असार १४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । असार १ गतेसम्म कारोबार भई नामसारी भएका सेयरधनीहरू सभामा सहभागी हुन सक्नेछन् ।