सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्यालीमा १५ सय जनाको सहभागिता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आयोजना गरिएको चौथो ‘सांग्रिला साइकल र्याली’ सम्पन्न भएको छ । विश्व वातावरण दिवस को अवसर पारेर जेठ २३ गते काठमाडौंमा आयोजना गरिएको उक्त र्‍यालीमा करिब १५ सय जनाको सहभागिता रहेको थियो । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती र भाटभटेनी हुँदै बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय पुगेर पुनः एलिस रिसेप्सनमै टुंगिएको थियो । करिब १४ किलोमिटर दूरी तय गरिएको उक्त र्यालीले काठमाडौंका मुख्य सडकहरू समेटेको थियो । कार्यक्रममा सहभागीहरूलाई बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरेकी थिइन् । साथै, लक्की ड्रमार्फत विजेता बनेकी अञ्जु पराजुली लाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ ले साइकल हस्तान्तरण गरेका थिए । कार्यक्रममा अन्य सहभागीहरूलाई पनि लक्की ड्रमार्फत विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । वातावरण संरक्षणका साथै साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित बैंकले २०७९ सालदेखि नियमित रूपमा साइकल र्याली आयोजना गर्दै आएको जनाएको छ । बैंकका अनुसार आम नागरिकको विश्वासका आधारमा हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रवाह भइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण अभियान
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । उक्त कार्यक्रममा करिब ३५० जना कर्मचारी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा फलफूल दिने, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका करिब ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ । यस अभियानको उद्देश्य स्थानीय हरियाली अभिवृद्धि गर्नु, जैविक विविधता संरक्षणमा टेवा पुर्याउनु तथा दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान गर्नु रहेको छ । कार्यक्रमको सुरुवात गोरख राणा (सीईओ तथा हेड अफ कभरेज, एससीबीएनएल) र केदार बस्नेत (अध्यक्ष, आदिनाथ सामुदायिक वन उपभोक्ता समूह) ले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए । यस अवसरमा राणाले हरित भविष्यका लागि स्वयंसेवामा सक्रिय रूपमा सहभागी भएकोमा कर्मचारीहरूलाई धन्यवाद दिँदै भने, 'यस वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको छ । हामी गर्वका साथ भन्न सक्छौँ कि यी वर्षहरूमा एससीबीएनएलका कर्मचारीहरूले ललितपुर जिल्लामा, कीर्तिपुर क्षेत्रसमेत समेट्दै, करिब ४० हजार बिरुवा रोप्न सहयोग गरेका छन् । आजको प्रयासले मात्र नभई दीर्घकालीन प्रभावमा समेत योगदान पुर्याउँदै आएको छ, जुन प्रत्येक वर्षसँगै बढ्दै गएको छ । प्रत्येक रूख केवल हरियाली मात्र होइन यो आशा, जिम्मेवारी र भविष्यका पुस्ताप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो ।' वार्षिक रूपमा आयोजना हुने यस वृक्षारोपण कार्यक्रमले बैंकको भविष्यका पुस्तामा लगानी गर्ने प्रतिबद्धता तथा वातावरण संरक्षणप्रतिको संस्कारलाई थप सुदृढ बनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा सामाजिक सहयोग, आश्रयस्थल र विद्यालयलाई सामग्री हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न परोपकारी संस्था तथा विद्यालयहरुलाई सहयोग सामग्री प्रदान गरेको छ । बैंकले झापा जिल्लाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’ लाई फर्निचर उपलब्ध गराएको छ भने बारा जिल्लाको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाकै मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ । जेठ २१ गते आयोजित कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले ‘हाम्रो साझा घर’ की अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए । उक्त संस्थामा हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई आश्रय दिइँदै आएको छ । त्यसैगरी, जेठ २२ गते सम्पन्न कार्यक्रममा वीरगञ्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका थिए । सोही दिन आयोजित अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख श्रेष्ठ र सर्कल हेड सुब्बाले अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका थिए । सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बैंकका अनुसार, ‘हाम्रो साझा घर’ लाई उपलब्ध गराइएको सहयोगले आश्रित व्यक्तिहरूको दैनिक जीवन सहज र स्वस्थकर बनाउन मद्दत पुग्नेछ । साथै विद्यालयहरूलाई प्रदान गरिएको शैक्षिक सामग्रीले डिजिटल सिकाइ प्रवर्द्धन, विद्यार्थी सहभागिता वृद्धि तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।