देशभरका घर चिटिक्क पार्ने लक्ष्यसहित तीन उद्याेग खाेल्याैं : कृष्णभक्त दुवाल
सानै उमेरदेखि प्रविधिमा रमाउन चाहने ईटा उत्पादक व्यवसायी हुन् कृष्णभक्त दुवाल । प्रविधि जान्ने र बुझ्ने तीब्र इच्छा भएकै कारण उनले आफ्नो पढाईको विषय पनि त्यही रोजे । काठमाडौंको पुल्चोक क्याम्पसबाट इन्जिनियरिङमा स्नातकोत्तर समेत गरे । त्यसपछि उनले पढाई सँगसँगै सन् २००७ तिर इनर्जी एण्ड इन्भाइरोमेण्ट विषय पढाउन पनि सुरु गरे । पढाई र पढाउने विषय एउटै भएपछि दुवाललाई धेरै सहयोग पनि मिल्यो । त्यहि दौरानमा यसको प्राविधिक पक्ष बुझ्न उनी आफ्नो टिमसहित कोरिया, बहराइन, जापान चीन इटालीलगायतका देशसम्म पुगे । वि.स २०४९ सालदेखि परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएकाे उनको परिवारकै प्रेरणाले उनी त्यसलाई प्राविधिक ढंगले सञ्चालन गर्नतर्फ लागे । तिनै दुवालले अहिले प्रविधिलाई लक्षित गरी तीन उद्याेग स्थापना गरेका छन् । ती संस्थाहरुबाट उनले देशभरका घर सुन्दर र चिटिक्क पार्ने लक्ष्य लिएका छन् । हालै मात्र उनले आधुनिक प्रविधि नेपाल भित्र्याएर चाइनिज ईटा उत्पादन सुरू गरेका छन् । उनीसँग चाइनिज ईटा र उनका आगामी योजना बारे विकासन्यूजका लागि सन्तोष रोकायाले विकास वहस गरेका छन् । हालै आधुनिक प्रविधि भित्र्याएर चाइनिज ईटा उत्पादन सुरू गर्नुभएको छ, यस्ताे साेच कसरी आयो ? सानैदेखि प्रविधिमा रुची राख्थेँ । हामीले २०४९ सालदेखि नै परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएको छौं । त्यो परम्परागत ईटा व्यवसायलाई कसरी प्रविधियुक्त बनाउन सकिन्छ भन्ने कुरा मेरो मनमा खेलिरहन्थ्यो । त्यससँगै मैले इन्जिनियरिङ पढ्न पनि सुरु गरेँ । पुल्चोक क्याम्पसबाट स्नातकोत्तर गरेँ । सन् २००७ देखि पढाउन तिर लागेँ । पढ्ने र पढाउने क्रममा नेपालमा एउटा निर्माण सामाग्रीको बिकल्प चाहिन्छ भनेर साथीहरु मिलेर अध्ययन पनि गर्याैं । अहिले चीनकाे हुवेइस्थित वुहान विश्वविद्यालयमा रिसाेर्स ब्याण्ड वातावरण विषयमा पीएचडी गर्दैछु । चीनका प्रविधिहरु कसरी नेपाल ल्याउन सकिन्छ भनेर सोच्थेँ । त्यहीअनुसार अगाडि बढेँ । वि.स २०७२ अर्थात भूकम्प आएको वर्षमा हामी फ्याक्ट्री सेटअप गर्दैथियौं । मेरो पढाई पनि इनर्जी एण्ड इन्भाइरोमेण्ट र पढाउने पनि त्यही भएको कारणले हामीले नेपालको निर्माण सामाग्रीको एउटा विकल्पका रुपमा यो भित्र्याएका हौं । सन् २०१५ पछि हाम्रो टिमले तीन वटा कम्पनी खाेल्याे । हामी हरेक वर्ष वातावरणमैंत्री र उर्जा किफायति प्रडक्ट निकाल्दैछौं । सन् २०१५ मा हामीले गोर्खा इको प्यानल निकाल्यौं । २०१६ मा काठको बिकल्पमा गोर्खा विन्डोर स्थापना गर्यौं । २०१७ मा प्रिकाष्ट ढलान निकाल्यौं । जुन वातावरणमैंत्री हुन्छन् । त्यस्तै, २०१८ मा गोर्खा प्रिकाष्ट एण्ड विण्डोर भन्ने पानी सोस्ने ब्लक बनायौं । जसले पानी सोस्न धेरै सहयोग गर्छ । यस्तै हामीले यो वर्षचाहिँ गोर्खा चाइनिज इटा उत्पादनमा ल्याइसक्यौं । यसरी नै यो यात्रा तय भएको हो । आम उपभोक्ताले चाइनिज ईटालाई किन प्रयोग गर्ने ? यसका विशेषताहरू के–के छन् ? सर्वप्रथम त यसको स्ट्रेन्थ एकदमै राम्रो छ । हिजो मात्रै ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा नमुनाको रुपमा ईटाको टेष्ट गर्दा औसतमा १४.५ एमपीए पाइएको छ । सरकारले यसकाे न्यूनतम मापदण्ड ५ एमपीए हुनुपर्छ भनेकाे छ । दोस्रो कुरा, यसको आकार प्रकार एकदमै चिटिक्क पर्ने भएकाेले फेसवालका रुपमा प्रयोग गर्न सकिन्छ । यसको आकार परम्परागत ईटाभन्दा ठुलो हुन्छ । परम्परागत ईटाको लम्बाई ९ ईन्च हुन्छ भने यसकाे साढे ९ ईन्च हुन्छ । परम्परागत ईटाको चौडाई सवा चार ईन्च हुन्छ भने चाइनिज ईटाको साढे चार ईन्च हुन्छ । ईटाको साइज ठूलो हुने कारणले एक घनमिटर वाल बनाउँदा ४ सय २० वटा ईटा भए पुग्छ । जवकि, परम्परागत ईटाहरु प्रयोेग गर्दा ५ सय ६० वटा प्रयोग हुन्छन् । हाम्रो ईटाहरु एकदम प्लेन हुने भएका कारणले गारो लगाउँदा ३०/३५ प्रतिशत सिमेन्ट बच्छ । वालमा प्लास्टर एकदमै पातलो लगाउँदा पनि हुन्छ । त्यहाँ पनि बँच्छ । वैज्ञानिक परीक्षण कस्तो हुन्छ भने पानीमा २४ घण्टा ईटा डुबाउँदा त्यसको तौल कति बढ्यो ? कति गह्रुङ्गो भयो ? अन्तर्राष्ट्रिय मापदण्डअनुसार ईटालाई २४ घण्टासम्म पानीमा डुबायो भने त्यसको तौल २० प्रतिशतभन्दा बढी हुनुहुँदैन । हाम्रो ईटा २० प्रतिशत होइन, १५ प्रतिशत मात्र बढ्छ । ईटाले धेरै पानी सोस्नु भनेको त्यहाँभित्र पारोसोफी हुनु हो । त्यसको भित्र प्वाँलहरु पर्नु हो । भित्र प्वाँल हुनु भनेको त्यो चाँडै फुट्नु हो । त्यसकारण हाम्रो उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ । यसको प्राविधिक पक्ष के कस्तो छ ? सबै प्रविधि चीनबाट ल्याएका हौं । उद्याेग स्थापनादेखि सबै सामान चीनबाट ल्याएका हौं । सामानहरु जडान गर्न पनि चीनबाट नै प्राविधिकहरु लिएर आयौं । अहिले पनि दुई जना चाइनिज हामीसँगै छन् । उनीहरुले दुई वर्ष लगाएर मेसिन जडान गरिदिएका हुन् । अहिले उनीहरुले नै हामीले ट्रेनिङ दिएर सिकाउँदै छन् । एउटा घर सुन्दर र दिगो बनाउनका लागि निर्माण सामाग्रीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ, यो चाइनिज ईटाले त्यो आवश्यकता र भूमिका निर्वाह गर्न सक्छ ? हामी विश्वमा आएका नविनतम वातावरणमैत्री तरिकाबाट ईटा उत्पादन गर्छौं । विश्वव्यापी रुपमा ईटालाई कसरी पोल्छ भन्ने इतिहास बुझ्नु पर्ने हुन्छ । म सानै थिएँ । मेरो घरका बुवाआमाले आफ्नै खेतमा ईटा बनाउँनु हुन्थ्यो । त्यसलाई एक ठाउँमा जम्मा गर्नु हुन्थ्यो । अनि त्यसमा दाउरा काेईला राखेर पोल्नु हुन्थ्यो । त्यो पहिलो प्रविधि भयो । दोस्रो प्रविधि भनेको ठाडो भट्टा भन्ने थियो । तेस्रो प्रविधि भनेको अहिले फलामको चिम्नीले तयार पारिन्छ । त्यसपछि आएको प्रविधि भनेको फिक्स्ड चिम्नी हाे । फिक्स चिम्नीमा पनि वातावरणिय प्रभाव न्यनिकरण गर्न जीकज्यक प्रविधबाट काेइला राखि कम भन्दा कमभन्दा कम प्रदुषण गर्ने प्रविधि हाे । त्यसपछि अाएकाे प्रविधि हफम्यान प्रविधि हाे । फोर्स ड्राफ्ट हाे। अहिले संसारभरि आएको यो टनेल क्लिन प्रविधि हो । यसको मुख्य दुईटा फाइदा छन् । यो उर्जा किफायति छ । अर्को फाइदा भनेको यो वातावरणमैत्री छ । वातावरणमैत्री के अर्थमा छ भने ईटा बनाउँदा मलिलो माटो चाहिन्छ भन्ने हुँदैन । जस्तोसुकै माटो भएपनि हुन्छ । ईटा बनाउँनेदेखि निकाल्नेसम्म बन्द सेडभित्र तयार पार्छौं । त्यसको धुलो बाहिर फाल्दैनौं । तेस्रो भनेको यो टनेल क्लिन प्रविधिमा ईटा पोल्दा कम्प्लिट कम्बसन हुन्छ । त्यो भएन भने कालो धुवाँ निस्कन्छ । तपाईले घरको चुलोमा नसुकेको दाउरा बाल्नु भयो भने धेरै धुवाँ आउँछ । त्यो भनेको कार्वनमनअक्साइड हो । त्यसले वातावरणमा हानी पुर्याउँछ । टनेल क्लिन प्रविधिमा पनि पुरा कम्बसन (पुरै जल्ने) हुने भएकाेले कार्बनमनअक्साइड निस्कदैँन । यो ईटाबाट निस्कने भनेको बाफ र अलिकति सीओटु हो । टनेल क्लिनको हकमा चिम्निबाट निस्किने एक घनमिटर धुवाँमा एक सय मिलिग्राम भन्दामाथि सरकारले पर्टिकुलेट म्याटर हुनु हुन्न भनेकाे छ । । हाम्रोमा ३४.८ मात्र त्यसको मात्रा देखिएको छ । यो नेपाल सरकारले दिएको मापदण्डको एक तिहाई मात्र छ । यस अर्थमा हामी वातावरणमैत्री छौं । परम्परागत र चाइनिज ईटाको विशेष फरक के छ ? परम्परागत ईटा हातले बनाएर दुई हप्ता जति घाममा सुकाउने र भट्टिमा २१ दिन राख्ने गरिन्छ। यसाे गर्दा पाकेकाे इटा निकाल्दा डेढ महिना जति समय लाग्छ । तर, हाम्रोमा ईटा बनाएको तीन चार दिनमै पाकेको निकाल्न सक्छौं । परम्परागत ईटा उद्योग लेवरहरुमा डिपेण्ड थियो भने हाम्रो यो प्रविधिमा डिपेण्ड छ । परम्परागत ईटामा तीन चार सय जना कामदारहरुको आवश्यकता पर्थ्याे । ती तीन चार सय जनाले जति ईटा उत्पादन गर्ने हो, हामी ३०/४० जनाले मेसिनमा उत्पादन गर्न सक्छौं । उनीहरू ६ महिना काम गर्छन् भने हामी वर्षभरि नै गर्छौं । मूल्यको कुरा गर्दा प्रतिईटा १४ रुपैयाँमा बेचिरहेका छौं । घर निर्माणमा ईटा उद्योगीहरुले कमसल पठाउने, त्यसले घर त्यति बलियो नहुने भन्ने गुनासाे पनि छ, तपाइहरूकाे उत्पादनमा यस्ताे समस्या हुन्छ कि हुँदैन ? त्यो दोहोरिन्न । हामी १४ रुपैयाँ प्लस भ्याटमा बेचिरहेका छौं । हामी ईटा एकदमै रातो पठाउँछौं । हामी टुक्रा पनि पठाउँदैनौं । यो प्रविधिको ईटा नेपालमा भित्र्याउँने हामी तेस्रो हौं । पहिले यस्तै ईटा धादिङमा थियो । त्यस्तै ५/६ महिना अगाडि नुवाकोटमा राखिएको छ भने हामी तेस्रो हौं । हाल धेरै व्यवसायीहरु ईटा उद्योगमा संलग्न छन्, ती उद्योगीभन्दा हामी यो कारणले फरक छौं भन्ने केही छ ? नेपालमा ईटाको इतिहास हेर्ने हो भने २५ सय वर्ष अगाडिदेखि छ । नेपालमा धेरै इटा उद्योगीहरु पनि छन् । तिनीहरुमा हामी धेरै पृथक छौं । एक त हामी मेसिन इन्टेन्सीभ छौं । हामी लेवरइन्टेनसीभ छैनौं । दाेस्रो कुरा, हामी क्वालिटीमा कम्प्रमाइज गर्दैनौं । तेस्रो, ईटाकाे हरेक कुरा टेस्ट गर्ने मेसिन छ । हामी हरेक कुरा टेस्ट गरेर गुणस्तरीय उत्पादन गर्न सक्छौं । चाइनिज ईटा व्यापार गरेकाे याे एक महिनाको अवधिमा बजारकाे प्रतिक्रिया के कस्तो आयो ? मार्केट रेस्पोन्स एकदमै राम्रो छ । हामीले तातोपानी, ढल्केबर, विराटनगर पठायौं । हामी अब डिलरमार्फत ग्राहकले सरल रुपमा पाउन भनेर देशभरि नै डिलरको आब्हान गरिरहेका छौं । हाम्रा लक्षित ग्राहकहरु देशैभरिका हुन् । हाम्रो लक्ष्य भनेको नेपालका घरलाई सुन्दर र आकर्षक बनाउने हो । हामीले बजार अध्ययन गर्यौं । विभिन्न ठाउँहरुमा कति ईटाको आवश्यकता छ भनेर बुझिरहेका छौं । एभरेजमा प्रत्येक शहरमा दैनिक १० हजार चाइनिज ईटाकाे माग छ । उपत्यकाबाट मालबाहक ट्रकहरु सस्तोमा जाने गरेका छन् । त्यसले गर्दा पनि उपत्यका बाहिर बजार विस्तार गर्न सजिलाे छ । तपाईं परम्परागत ईटादेखि इको प्यानलसम्मकाे उत्पादनमा सहभागी हुनुहुन्छ, अहिले चाइनिज ईटा उत्पादन पनि सुरु गर्नुभएको छ, यी उत्पादनबीचकाे सम्बन्ध र फरक के कति छ ? चाइनिज ईटा भनेको बाहिरी वालमा सो देखाउनको लागि हो । गोरखा इको प्यानल भन्नाले कुनै पनि स्थायी तथा अस्थायी संरचना निर्माण गर्दा बाहिरी गाह्रो तथा भित्री पाटेसन वालको रूपमा प्रयोग हुने टंग एन्ड ग्रुभसहितको ज्वाइन्ट भएको हलुका निर्माण सामग्री हो । इको प्यानल अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको उपज हाे । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । यही कारण हामी कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुने र उत्पादनमा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोग हुनुपर्छ भनेर लागेका हौँ । यो क्रममा हामीले इको प्यानल पायौँ । यही कारण हामी इको प्यानलको प्रयोगलाई बढावा दिनुपर्छ भनेर लागेका हौँ । साथसाथै संसारभर भूकम्पको जोखिम कम गर्न कम वजन भएको निर्माण सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि स्थापित भएको छ । कम वजन भएको निर्माण सामग्री भनेकै इको प्यानल हो । यसकारणले पनि हामीले सम्भावित भूकम्पको क्षतिलाई न्यूनीकरण गर्न इको प्यानलको प्रयोगलाई जोड दिँदै आएका छौँ । यति मात्रै होइन, तीव्र विकास अहिलेको आवश्यकता हो । विकास निर्माणको कामलाई तीव्रता दिन छिटोभन्दा छिटो जडान गर्न सकिने निर्माण सामग्रीको आवश्यकता छ । यस अर्थमा पनि इको प्यानल महत्वपूर्ण हुन्छ । यसको प्रयोगले परम्परागत निर्माण सामग्रीको प्रयोगभन्दा ६ गुणा कम हलुका बनाइदिन्छ । ईटा उत्पादनलाई अत्याधुनिक बनाउन तथा व्यवसाय विस्तार गर्न सरकारले के कस्ताे सहयाेग गरेकाे महसुस गर्नुभएकाे छ ? ठीकै छ । एउटा ट्याक्स पेयरले सरकारलाई ट्याक्स पे गरिसकेपछि जति सेवा पाउनु पर्ने हुन्छ, त्यो फुलफिल भएको जस्तो लाग्छ । तर पनि जति हामीले ट्याक्स पे गर्छौं त्यो अनुसारको सेक्युरिटी पाए जस्तो मलाई लाग्दैन । त्यो चाहिँ अलि कमजोरी छ जस्तो लाग्छ । परम्परागत निर्माण सामग्रीलाई आधुनिकीकरण गर्न तपाईंले निकै पहल गर्नुभएको छ र तीनवटा उद्योग नै स्थापना गरिसक्नु भएको छ, यो क्षेत्रमा कति लगानी भयो होला ? मैले आफैले यो व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । हाम्रो एउटा टिम छ । गार्खा इको प्यानल १०/१२ करोडमा सुरु गरेका हौं । आजभोलि यसको लगानी २५/३० करोड पुगिसकेको छ । गोर्खा प्रिकास्ट विण्डोरमा १५/२० करोडको लगानी छ । अहिलेको यो गोर्खा चाइनिज ईटा सुरु गरेका छौं । यसमा ५० करोडको लगानी छ । समग्रमा हाम्रो झण्डै एक सय करोड लगानी गरेर यी तीन संस्थाहरु स्थापना गरेका छौं । आगामी योजनाहरु के कस्ता छन् ? हामीले बनाएको उत्पादनकाे गुणस्तरमा कम्प्रमाइज गर्दैनौं । गुणस्तरलाई ध्यान दिन्छौं । ब्राण्डलाई मेन्टेन गरेर अगाडि बढ्छौं । हामीले उपत्यका र आसपासमा राम्रै बजार लिएका छौं । यसको बजारीकरण उपत्यकामा राम्रै देखिएको छ । आमनागरिकले सस्तो र सहजरूपमा यसको प्रयोग गर्न पाएका छन् । माग पनि बढेको छ । अबको योजना भनेको उपत्यका बाहिरका मुख्य शहरमा सेवा विस्तार गर्नु नै हो । पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज जस्ता ठूला र आधुनिक शहरमा यसको बजार विस्तारमा छौँ । त्यसपछि बजारको मागअनुसार नै अघि बढ्ने तयारी छ ।
ब्याचलर सकेर विदेश गएका विद्यार्थी व्यवस्थित र सफल
काठमाडाैं । प्रत्येक वर्ष नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या उच्च छ। अमेरिका र बेलायतपछि अन्तरर्राष्ट्रिय विद्यार्थीद्दारा रुचाइएको तेस्रो लोकप्रिय गन्तव्य हो अष्ट्रेलिया। अमेरिका र बेलायतको दाँजोमा सजिलैसँग भिषा पाईने र पढाई पछि पनि लामो समयसँग बस्न मिल्ने प्रावधानको कारण यो विद्यार्थीहरु माझ लोकप्रिय रहेको छ। १३ वर्ष अगाडि स्थापना भएको ग्रेस ईन्टरनेसनल सुरुवाती दिन देखि नै विधार्थीको करियर काउन्सिलिङमा विशेष ध्यान दिदैँ आएको कन्सल्टेन्सी हाे ।विदेश पढ्न जाने विद्यार्थीहरूलाई मध्येनजर गर्दै ग्रेस ईन्टरनेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्दशक एन्ड्रियु पाैडेलसँग विकासन्युज का लागि डाेमी शेर्पाले गरेकाे कुराकानी ः अष्ट्रेलिया नेपाली विद्यार्थीको रोजाईमा पर्नुको कारण के हो ? अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि अहिलेसम्मैको राम्रो गन्तव्य मध्येकाे एक हो। यो पहिला पनि बेस्ट थियो, अहिले पनि बेस्ट छ र सधैं बेस्ट रहनेछ। किनभने सर्वप्रथम वातावरणको कुरा गर्नुपर्दा नेपाल र अष्ट्रेलियाको तापक्रम, बस्ने ठाउँ सबै करिब एउटै एउटै जस्तो छ। त्यसले गर्दा बेग्लै ठाउँमा गएको जस्तो अनुभव नै हुँदैन। दोस्रो सुरक्षाको कुरा गर्नुपर्दा महिला र पुरुष दुवैको लागि अष्ट्रेलिया सुरक्षित स्थान हो। अमेरिकामा जस्तो सुपरमार्केटमा गोली चलेको जस्तो घटनाहरु अहिलेसम्म त्यहाँ घटेको छैन। यसले गर्दा अष्ट्रेलिया एउटा सुरक्षित स्थान हो। अर्काे कुरा नेपाली विद्यार्थीहरुको कोही न कोही आफन्त, साथीभाईहरु अष्टे«लियामा हुन्छन् जसले उनीहरुलाई धेरै तरिकाबाट सहयोग गर्दछ चाहे त्यो बस्नलाई होस् वा काम खोज्नलाई। म आफै पनि समय-समयमा अष्ट्रेलिया गइरहन्छु। त्यहाँ नेपालीहरुको बाहुल्यताको कारण पनि देशमै बसेको महसुस हुन्छन्। अहिले त हामी दशैं तिहार नेपालमा के मनाउँछौं त्यहाँ त्यति भव्यसँग मनाईन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी बाहिर जाने भनेको गुणस्तरीय शिक्षाको लागि हो र त्यस बाहेक केही राम्रो कमाई र बसाई पनि होस् भन्दा यो सबै अवसरहरु अष्टे«लियामा रहेकोले पनि नेपाली विद्यार्थीहरुको रोजाईमा अष्ट्रेलिया परेको हो। कुन स्तरका आए स्रोत भएका विद्यार्थीले अष्ट्रेलियाको ट्युसन शुल्कलाई सजिलै धान्न सक्छन् ? अहिले हाई लेभलका र मिडियम लेभलका आय स्रोत भएका नेपाली विद्यार्थीले अष्टे«लियाको ट्युसन शुल्कलाई सजिलै धान्न सक्छन। त्यहाँको ट्युसन शुल्क कम्तिमा पनि वार्षिक १५ देखि २० लाख रुपैंया रहेको छ जुन हाल सामान्यस्तर भएको व्यक्तिले पनि धान्न सक्ने अवस्था देखिएको छ। २००६ सालको अवस्था हेर्ने हो भने त्यसबेला उच्च आय स्रोत भएका विद्याथीहरु मात्र जान सक्थे तर हाल निम्न आय स्रोत भएकाहरु पनि सजिलै जान सक्ने अवस्था छ। विदेश अध्ययनको लागि प्लस टु पछि अथवा ब्याचलर पछि ? यसलाई मैले कसरी लिने गरेको छु भन्दा प्लस टु पछि अथवा ब्याचलर पछि जाने भन्दा पनि अभिभावकहरुले आफ्नो छोराछोरीलाई पठाउँदै हुनुहुन्छ भने आफ्नो छोराछोरी कत्तिको ईमान्दार छन् । कुन हदसम्म आफुलाई सम्हाल्न सक्छन् भन्ने कुरा बुझेर पठाउनुभयो भने मात्र प्लस टु पछि अथवा ब्याचलर पछि भन्ने कुराले फरक पार्दैन। हुनत ब्याचलर सकेका विद्यार्थीहरु प्लस टु सकेका विद्यार्थीको दाँजोमा आफ्नो पढाई प्रति गम्भिर हुने, बिच्चैमा पढाई छोड्ने समस्या नदेखिने र फोकस भएर काम गर्न सक्ने त्यसैले ब्याचलर सकेमा विद्यार्थीहरुको काम, बासस्थानको बन्दोबस्त राम्रो भएको देखिन्छ। प्लस टु पछि अध्यन गर्न चाहाने विद्यार्थीहरुको मुख्य समस्या आउनु भनेको उनीहरु आफ्नो लक्ष्य प्रति गम्भिर नहुनु हो। तर यस्तो नभएको अवस्थामा भने प्लस टु पछि पनि विद्यार्थी अध्ययन गर्न जान सक्छन् किनभने जति पछि गए पनि उनीहरुले लगभग उस्तै काम पाउँछन्। पढाई र काम दुवैलाई निरन्तरता दिन सक्ने हो भने जतिबेला गए पनि हुन्छ। एउटा विद्यार्थीले अष्ट्रेलियाका लागि कति समयको भिषा पाउँछन् ? यो कोर्षको अवधि हेरेर हुन्छ। कुन लेभलको कोर्षमा जाँदै हुनुहुन्छ भन्ने कुरामा भरपर्छ। यदि विद्यार्थी ब्याचलर डिग्रीको लागि जाँदै हुनुहुन्छ भने कम्तिमा पनि ३ देखि ४ वर्षको भिषा पाउनुभएको हुन्छ। अब मास्र्टसको लागि भने साढे २ वर्ष जतिको भिषा पाउनुहुन्छ। यसबाहेक २ वर्षको पोस्ट वर्क भिषा पनि अष्ट्रेलियन सरकारको प्रावधानमा छ। यद्यापी अष्ट्रेलियाको सबैभन्दा गज्जबको कुरा के छ भन्दा विद्यार्थीले दश वटा विषयमा डिग्री गर्छु भने पनि उनीहरुले सजिलै भिषा पाउन सक्छन्। त्यहाँको सरकारले तिमी लामो समयसम्म विद्यार्थी भिषामा बस्न पाउँदैनाैं भनेर भन्दैन। विभिन्न कारण अझै पनि कति नेपाली विद्यार्थीहरु ठगिन पुगेका छन्। यसबाट बच्न विद्यार्थी तथा अभिभावकले के कुरामा ध्यान दिनुपर्छ ? हाम्रो विद्यार्थी र अभिभावकमा त्यो स्तरको चेतना नभएकै कारण हो। जस्तै हामी अष्ट्रेलिया पढ्नको लागि जाँदा कुन विषय पढ्न जानको लागि जाँदैछु, त्यो डिग्री भोली नेपालमा काम गर्छ कि गर्दैन भन्ने कुराको ज्ञान नहुँदा यो अवस्था आएको हो। किनभने अष्ट्रेलियन कोर्षमा जसको आईएल्टीएसको स्कोर कम छ, शैक्षिक योग्यता कमजोर छ भने उनीहरुले त्यहाँ १ वा २ वर्षको डिप्लोमा कोर्ष गर्नुपर्न हुन्छ। त्यसपछि मात्र उनीहरुले ब्याचलर अध्यनमा सामेल हुन पाउँछन्। यसरी उनीहरुलाई ब्याचलर पुरा गर्न ४ वर्ष लाग्छ तर सिधै जाँदा त्यो ३ वर्षमा पुरा हुन्छ। यसरी जाँदा फेरी कलेज खोज्ने समस्या देखि अनेकौं समस्या आईपर्छ त्यसैले जो जति पनि विद्यार्थीहरु जाँदै हुनुहुन्छ उहाँहरुलाई सजिलैसँग बसोबास मिलाउन डिप्लोमा भन्दा पनि सिधैं ब्याचलर अध्यनको लागि जाँदा राम्रो हुन्छ। विद्यार्थीले अष्ट्रेलिया जाँदा कस्तो विषय रोज्ने ? हामीले करियर उन्मुख काउन्सिलिङ गर्ने हुनाले सबैलाई के सुझाव दिन चाहान्छौं भने विद्यार्थीहरु अध्यनको लागि जाँदा आफुलाई कुन विषयमा रुची छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ। कति विद्यार्थीहरु अकाउन्टिंगमा पिआर छ भनेर बिएचएम सिद्दाएर एमएचएम गर्नु छोडेर एमपिए गर्न गईरहनुभएको छ। अकाउन्टिंगको बारेमा केही थाहन नभएका उनीहरुलाई त्यहाँ पढ्न जाँदा धेरै समस्या हुन्छ किनभने अष्ट्रेलियको अकाउन्टिंग भनेको सिए लेभलको हुन्छ। यसले गर्दा विद्यार्थीहरु पढाईमा झुण्डेर बस्ने, पिआर पाउने त परको कुरा उल्टै निराश हुने अवस्था छ। त्यसैले पिआरको कोर्षहरु गर्छु भन्दा पनि आफुलाई मनपर्न कोर्ष पढ्दा हामीले आफ्नो बेस्ट दिएर बेस्ट बन्छु भने जहिले अवसरहरु प्रशस्त छन्। अष्ट्रेलियामा राम्रो गर्न सबैलाई प्रशस्त अवसरहरु छन्। यदि कुनै कार्षले पिआरको लागि आवेदन दिन मिल्दैन भने उसले कहीँ कतै रोजगार पाउँछ भने उसले पिआरको लागि आवेदन दिन सक्छ। एक जना मेरो विद्यार्थी भिक्टोरिया युनिभर्सिटीमा स्पोर्टस साईन्स पढ्न जानुभयो। उनी नेपालको ए डिभिजनबाट फुटबल खेल्थिए। उनको एक दुई वर्ष ग्याप पनि थियो त्यसैले उनलाई स्पोर्टस साईन्स नै पढ्न सुझाए। पछि उनी त्यहाँ गएर यसले त पिआर नै पाउँदैन रहेछ भनेर तनाव लिए। मैले उनलाई धेरै सम्झाए र अहिले उनी मेलबर्नको लोकल कल्बमा कोच भएर जुनियरलाई ट्रेनिङ दिईरहेका छन्। आफ्नो ईच्छा विपरितको काम गर्न पर्दा कोही खुशी हुन सक्दैन। त्यसैले अहिलेको हरेक मानिसहरुले चाँही आफुलाई के गर्दा खुशी मिल्छ भन्ने कुरामा ध्यान दिए उसले आफ्नो करियरमा अगाडि बढेको पत्तै पाउँदैन। उदाहरणको लागि यदी रिपोर्टिर बन्न मनलागेको मान्छेलाई अकाउन्टिङमा लगेर राख्दियो भने उसले २ दिन मै काम छोडेर जाने अवस्था आउँछ। आफुलाई राम्रो लाग्ने कुरामा पो मन लागेर गर्न सकिन्छ। त्यसैले म हरेक विद्यार्थीहरुलाई के सुझाव दिन चाहन्छु भने, यस्तो काम छान्नुहोस् जसले तपाईलाई हरेक दिन काममा जामजाम बनाओस्। यस्तो नहोस् कि ह्या आज पनि बिदा लिम कि क्या हो, आज बिरामी भए भन्दिऔं कि क्या हो जस्तो नहोस्। अष्ट्रेलिया जानको लागि न्युनतम आवश्यकताहरु के के हुन् ? विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र न्युनतम ६० प्रतिशत, आईएल्टिएसमा लगभग ६ अंक भए ब्याचलर र मास्टर्स अध्ययनको लागि काफी हुन्छ। कति कुरा युनिभर्सिटी, कलेज हेरेर फरक पर्न जान्छ तर अंकमा खासै फरक भने पर्न जाँदैनन्। अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु सरकारी कलेजमा जान्छन् कि प्राईभेट कलेजमा जान्छन् ? अष्ट्रेलियाका प्रायः विश्वविद्यालयहरु सरकारी मातहतमै चलेर आएका छन् र एकदम कम संख्यामा मात्र प्राईभेट कलेजहरु रहेका छन्। अर्को कुरा नेपालमा सरकारी विद्यालयहरुलाई नराम्रो भन्ने गरिन्छ भने त्यहाँका सरकारी शैक्षिक संस्थालाई बेस्ट भन्ने गरिन्छ। साथै प्राईभेट कलेजहरुलाई पनि सरकारी सरह बनाउने प्रयास गरिएको देखिन्छ। अष्ट्रेलियामा अन्तर्राष्टिय विद्यार्थीहरुले काम गर्ने प्रावधान कस्तो छ ? कति पे गरिन्छ अन्तर्राष्टिय विद्यार्थीहरुलाई ? अन्तरराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियामा कलेज लागेको अवस्थामा हप्ता मा २० घण्टा काम गर्न पाउने प्रावधान छ। जसमा उनिहरुको तलब दायरा १८ देखी २० अष्ट्रेलियन डलर रहेको छ। जसको अर्थ उनिहरुले हप्तामा कम्तिमा पनि ३० हजारको हाराहारिमा कमाउन सक्छन्। त्यसपची उनिहरुको कामको योग्यता अनुसार पे(स्कले बढ्दै जान्छ। साथै नयाँ सेमेस्टर हुन अगाडिको ब्रेकहरुमा विद्यार्थीहरुले फुल टाईमा काम गर्न पाउने प्रावधन छ। वर्षमा यस्तो ब्रेक २ पटक सम्म हुने गर्छ। सुरुवाती अवस्थामा जस्तो सुकै काम गरे पनि यदी पछी गएर काम बदल्न सकेन भने प्रगती हुन देखिदैन। हाम्रो नेपालीहरुमा चाँही लामो समय सम्म एउटै काम मै अड्किएर बसेको देख्छु। यहाँबाट आजभन्दा १० वर्ष अगाडि गएका नेपालीहरुले अहिले पनि के गर्नुहुन्छ भनेर सोध्दा म त क्लिनिङ गर्छु, हाउसकिपिङ गर्छु भन्छन्। उहाँहरु आफ्नो काम बदल्न नसक्दा जसले गर्दा उहाँहरु जहाँ को त्यहीँ हुनुहुन्छ। आज हामीले यसो हेर्यो भने २००६ तिर विदेशी विश्वविद्यालयहरुको प्रतिनिधि हेर्दा कोही अमेरिकिहरु आउँछन् भनेर हामी तयार हुन्थियौं तर अहिले हेर्ने हो भने प्रतिनिधिहरु कोही भारती कोही बंगाली कोही चाईनिज हुन्छन्। उनिहरुले आफ्नो कामलाई बिस्तारै बदल्दै लगेर त्यो स्थानमा पुग्न सफल भएका छन्। हामी नेपालीहरु पनि राम्रो गरिरहेका छौं तर त्यो गर्ने मात्र १० प्रतिशत मात्र छन् बाँकी ९० प्रतिशत चाँही जे छ त्यसमै रमाएर बस्ने गरेका छन्। उनिहरु अलग करियर तर्फ जान सकिरहेका छैनन्। एउटा पढ्छन् र अर्को काम गर्छन्। त्यसैले यदी केही गर्ने हो भने हरेक विद्यार्थीले सुरुवाती अवस्थामा जे जस्तो काम गरे पनि केही समय पछी आफ्नो पढाई अनुसारको काम र कारीयर तर्फ मोडिदै जानुपर्छ अथवा त्यसमा अलिक बढी प्रयास गर्ने, बरु २ ४ रुपैंया कम पैसामा काम गर्ने किनभने यसले तपाईलाई जीवनको लामो दौडमा निकै नै सहयोग पुर्याउँछ। अन्त्यमा तपाईलाई उच्च शिक्षाको लागि सिमापारिको देश छान्ने विद्यार्थीहरुलाई तपाईको के सुझाव छ ? नेपालको शिक्षा नै नराम्रो भएर बाहिर जाने भन्ने होईन। हाम्रो नेपालको शिक्षा पनि राम्रो छ नत्र हाम्रा यहाँ पढेर गएका विद्यार्थीहरु बाहिर गएर किन टप गरिरहेका छन् तर हाम्रो यहाँको शिक्षा नितीले अवसर र प्लेटफर्म बनाउँदैन। गएर ३ घण्टा परिक्षा दिएको भर्मा उसले टप गरेको भनेर विद्यार्थीको गुणस्तर निर्धारण गरिन्छ। तर बाहिर घोकन्ते शिक्षा भन्दा पनि जिन्दगीमा कसरी अगाडी बढ्ने, जिन्दगीलाई कसरी धान्न भन्ने सिकाउँछ। त्यस्तै अभिभावकहरुलाई आफ्नो छोरा छोरीलाई पढेको बेला कमाएर पठाईदियोस भन्ने आसाको साथ नपठाउनु। उनिहरुले केही समय पढाईमा ध्यान दिए लामो उनिहरुको जिन्दगी सधैंको लागि उज्ज्वल हुन्छ। गएको भोली पल्टबाट बाबु काम पाईस भन्नु भन्दा बाबु कलेज कस्तो हुँदै छ, पढाई कस्तो भईरहेको छ भनेर सोध्ने वातवरण बनाईदिनुहोला। पक्कै पनि हामी दुस्ख सुख गरेर हाम्रा छोराछोरीलै पढ्न पठाएका हुन्छौ तर अन्त्यमा बच्चाको कमाईको पछी मात्र लाग्ने उसले आफ्नो करियर बिगारए उसले कमाएको पैसाले तपाई हामीलाई केही नै पो सुख दिन्छ र। उसले राम्रो पढेर राम्रो करियर बनाउन सक्यो भने त्यही नै असली सुख हुनेछ।
१० हजार मानिसलाई रोजगारी दिने लक्ष्य लिएको छु- उद्योगपति राजेश अग्रवाल
भारतमा ग्राजुएट पास गरेपछि २०४९ सालदेखि व्यवसायमा प्रवेश गर्नु भएका राजेश अग्रवाल भैरहवाबाट उदाएका सफल उद्यमी हुनुहुन्छ । व्यवसायमा प्रवेशपछि करिव २० वर्षसम्म परिवारिक रुपमा चलेका राइसमिल, दाल उद्योग, तेल उद्योग, कपडा उद्योग विस्तारमा बिताउनु भएका अग्रवाल पछिल्लो ७ वर्षदेखि ठूला उद्योग निर्माण र विस्तरमा जुट्नु भएको छ । यस अवधि अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रेटो जस्ता निर्माण सामाग्री उत्पादन गर्ने ठूला उद्योगमा लगानी गरिरहनु भएको छ । उद्योग, व्यापार र सेवा क्षेत्रमध्ये सबै भन्दा कठिन व्यवसायको रुपमा उद्योगलाई लिइन्छ नेपालमा । राजेश अग्रवाल यस्ता व्यवसायी हुनुहुन्छ, जसको लगानी उद्योगमा मात्र छ । व्यापारमा शुन्य छ भने सेवा क्षेत्रमा नगन्य छ । ‘वेल्थ फर्मेशन एण्ड इम्प्लोइमेन्ट क्रियशन’ बाट मात्र देशको विकास हुन्छ भन्ने सोचका साथ कम्तिमा १० हजार मानिसलाई रोजगारी दिने लक्ष्यका साथ अगाडि बढिरहनु भएका अग्रवालसँग गरिएको विकास वहस पस्केका छौं यस पटक । तपाई उद्योगमा सफल देखिनुहुन्छ तर व्यवसायिक संघ संस्थामा देखिनुहुन्न, किन ? पहिला म भैरहवा उद्योग संघमा सदस्य थिए । अहिले छैन । म काममा खुशी हुने मान्छे । म धेरै समय उद्योगमा हुन्छ । म काठमाडौंमा बेलाबखत मात्र पुग्छु । तपाईको व्यवसायिक यात्रा कहाँबाट शुरु भएको हो ? एसएलसी नेपालबाट पास गरे । ग्राजुएशनसम्मको शिक्षा भारतबाट लिएँ । २०४९ सालमा बुबाले गर्दै आएको व्यवसायमा प्रवेश गरेँ । त्यतिबेला हाम्रोमा दाल मिल, राईस मिल थिए । हाम्रा उत्पादन नेपालमा मात्र बिक्री हुने गरेको थियो । जब म व्यवसायमा प्रवेश गरे, तब मुसुरोको दाल श्रीलंका, बंगलादेश निर्यात गर्न थालेँ । त्यसपछि तेल मिल राख्यौ । त्यसपछि सोयविनको मस्यौरा बनाउने मिल राखेँ । त्यसपछि मैदा मिल राखे । त्यसपछि आयल रिफाइनर मिल राख्यौ । एउटा फुटवेयर इन्डष्ट्रिज छ एक्सन पोलिमर, जसले मिलानो ब्राण्डको जुत्ता, चप्पल उत्पादन गर्छ । इटाली प्रविधिमा आधारित यो उद्योगमा ४० करोडभन्दा बढी लगानी भएको छ । साढे तीन सय मानिसले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट भन्ने उद्योग छ जसले विभिन्न किसिमका बोटल तथा पानीको जार उत्पादन गर्छ । जापानिज प्रविधिमा आधारित यो उद्योगमा करिव २२ करोड लगानी भएको छ । १५ वर्षअघि मलाई लाग्यो यो देशको विकासले गति लिन्छ । विकास निर्माणका काम शुरु हुन्छ । सडक, पुल, एयरपोर्ट, नहर, जलविद्युत, शुरुङ मार्ग, ठूला भवन जस्ता निर्माण क्षेत्रले गति लिन्छ । त्यसैले निर्माण सामाग्रीहरु सिमेन्ट, स्टिल, कंक्रीट, जस्तापाता लगायतका सामाग्री उत्पादन गर्ने उद्योग खोल्नुपर्छ भन्ने लाग्यो । आय स्रोत बढेपछि मानिसले एक किलोको सट्टा दुई किलो खाँदैन । खाद्यन्यको बजार विस्तार सीमित मात्रामा हुन्छ तर निर्माण सामाग्रीको माग उच्च हुन्छ भनेर मैले निर्माण सामाग्रीको उद्योग खोल्ने निर्णय गरँे । २००४ मा पहिलो पटक सिद्धार्थ सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । त्यो ग्राण्डिक उद्योग थियो । त्यसपछि म साझेदारीमा ठूला उद्योगहरु निर्माणमा लागे । साझेदारीमा सञ्चालित ठूला उद्योगहरु कुन कुन हुन् ? सन् २००८ मा म क्लिङकर उद्योग खोल्ने निर्णयमा पुगेँ । पहिला २०० टन क्षमताको भीएसके प्रविधिको उद्योग खोल्ने तयारी गरेँ । त्यतिबेला व्रिज सिमेन्टको तर्फबाट मनोज केडियाले पनि २०० टनको र सुप्रिम सिमेन्टको तर्फबाट पशुपति मुरारकाले पनि २०० टनको क्लिङकर उद्योग लगाउने योजना बनाउनु भएको रहेछ । हामीलाई के लाग्यो भने भीएसके प्रविधि पुरानो हो, केही वर्षभित्र काम लाग्दैन । रोटरी क्लिंक प्लान्ट लगाउनुपर्छ । हामी तिनै जना मिलेर ७०० टन क्षमताको क्लिाङकर उद्योग लगाउने निर्णयमा पुग्यौ । ७०० टन क्षमताको उद्योगलाई विस्तार गर्दै अहिले ३००० टन क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छौं । हाल स्थापित कम्पनीहरु मध्ये अर्घाखाँची सिमेन्ट नेपालको दोस्रो ठूलो कम्पनी रहेको छ । यो उद्योगमा शुरुदेखि लगभग १० अर्ब लगानी भईसकेको छ । तीन वर्षअघि निर्माण सामाग्रीको माग वार्षिक १५/२० प्रतिशतले बढ्दै गएको थियो । त्यतिबेला त १०/१० महिनामा सरकार परिवर्तन हुन्थ्यो । जब बहुमतको सरकार बन्यो तब हामीलाई लाग्यो कि अब निर्माण सामाग्रीको माग वार्षिक ३० प्रतिशतभन्दा उच्च दरमा वृद्धि हुन्छ । अबको दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय भारतको भन्दा धेरै माथि पुग्छ भन्ने मेरो आकलन थियो । त्यही आकलनमा हामीले निर्माण सामाग्री उत्पादनमा जोड दियौ । यहि क्रममा नेपालकै सबैभन्दा ठूलो स्टील उद्योग ‘श्री स्टील’ उद्योग लगाएका छौं । यसको उत्पादन क्षमता वार्षिक २ लाख ५० हजार टन छ । यसमा करिव २ अर्ब लगानी छ । सिमेन्ट, डण्डी उद्योग लगाएपछि हामीले एशियन कंक्रिटो उद्योग लगायौं । पेभर, व्लक, स्लाव, कर्व स्टोन, इटा, होलोब्लक लगायत निर्माण सामाग्री उत्पादन गर्ने यस उद्योगमा पनि करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भईसकेको छ । यसको उत्पादन क्षमता दैनिक ५०० टन छ । सडक, सडक पेटी, पुल, नहर बनाउनदेखि घर बनाउनसमेत उपयोगि उत्पादनहरु हामीले शुरु गरेका छौं । व्यापार र सेवाको क्षेत्रमा लगानी कति छ ? व्यापार र सेवाको क्षेत्रमा मेरो लगानी छैन । पढेर आएपछि मेरो मनमा के आयो भने यो देशमा जन्मिएपछि मैले केही काम गर्नुपर्छ । मरेर लाने केही होइन । हामीले कमाएको सम्पत्ति पनि यहि देशमा छोडेर जाने हो । अहिले मसँग जति पैसा हुन्छ, मेरो बुबा, बाजेसँग त्यति पैसा थिएन । तर उहाँहरुको नाम थियो, इज्जत थियो । बुबा, बाजेको नाम लिएर बजारमा जाँदा आज भन्दा २५ वर्ष अघि पनि २५/३० करोड पैसा पत्याउथे मान्छेले । बुबा बाजेले आर्जन गरेको त्यो ख्यातिमा मैले केही थप योगदान गर्नुपर्छ, गुणस्तरीय सामान उत्पादन गरेर नाम राख्नुपर्छ भन्ने थियो । त्यहि भएर मैले जापानी प्रविधिमा पेट उद्योग, इटाली प्रविधिमा मिलानो, जर्मन प्रविधिमा कंक्रिटो उद्योग लगाएको छु । रोजगारी सिर्जनाले नै देशको गरिबी निवारण हुन्छ । १० हजार मान्छेलाई रोजगारी सिर्जना गर्ने मेरो चाहाना छ । तर अहिले कठिन परिस्थित छ । तपाइको लगानी रहेका उद्योगमा कति जनाले रोजगारी पाएका छन् ? १० हजार मानिसको लागि रोजगारी सिर्जना गर्ने तपाईको लक्ष्यबाट तपाई डगमगाउनु भएको हो ? अर्घाखाँची सिमेन्टमा प्रत्यक्ष रुपमा ५०० जनाले रोजगारी पाएका छन् । श्री स्टील उद्योगमा २४० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । एशियन कंक्रिटोमा १०० जनाले रोजगारी पाएका छन् । एक्सन पोलिमरमा साढे तीन सय जनाले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ सिमेन्ट, अरु रिफाइनरी उद्योग लगायत सबैमा गरि करिब १५ सय मानिस पेरोलमा छन् । करारमा काम गर्नेको संख्या पनि जोड्ने हो भने ३००० भन्दा बढीले जागिर पाएका छन् । अहिले नै १० हजार जनाको लागि रोजगारी सिर्जना गर्न सकिएको छैन । तर मेरो जीवनको लक्ष्य १० हजार मानिसलाई रोजगारी सिर्जना गर्नु हो । प्रविधिको प्रयोगसँग जनशक्तिको प्रयोग कम हुँदैछ । १० हजारलाई रोजगारी सिर्जना सम्भव छ अब ? पुरानो प्रविधि प्रयोग गरी वार्षिक ५० हजार टन स्टील उत्पादन गर्ने कम्पनीमा ३०० जना कर्मचारी छन् भने हामीले नयाँ प्रविधिको प्रयोग गर्यौं, वार्षिक २ लाख ५० हजार टन स्टील उत्पादन गर्छौ तर २५० जनाले मात्र रोजगारी सिर्जना गरेको छ । यसको अर्थ हामीले जनशक्तिको अप्टिमम प्रयोग गरेका छौं । प्रविधिको प्रयोग नगरी एक जनाले दिनमा ५० वटा इँटा बनायो र एउटा इँटाको २ रुपैयाँ पायो भने १०० रुपैयाँ मात्र कमाउँछ । तर प्रविधिको प्रयोग गर्यो उसले दिनमा २००० इँटा बनायो भने प्रति इँटा ५० पैसा पाउँदा पनि १००० रुपैयाँ कमाउँछ । हामीले श्रमिकको आय वृद्धिमा पनि ध्यान दिनुपर्छ । यूरोपमा श्रमिकले प्रतिघण्टा १० डलर कमाउँ छ भने हामीले दिनभर काम गरेको ५०० रुपैयाँ दिएर उनीहरुको जीवनस्तर उकास्न सकिदैन । त्यसैले प्रविधिमा आधारित उद्योगको विकल्प छैन । धेरै रोजगारी सिर्जना गर्न हामीले उद्योगको संख्या वृद्धि गर्दै जानुपर्छ । निर्माण सामाग्रीको बजारमा मन्दी आएको छ । यो बेलामा कम्पनीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? निर्माण सामाग्रीमा मात्र होइन, अरु क्षेत्रमा पनि मन्दी आएको छ । मैले हालै नेपालको ठूलो मदिरा उद्योग चलाईरहेका उद्यमीसँग भेटेको थिए । उहाँले भन्नु भयो कि मदिरा उपभोग ५० प्रतिशतले घटेको छ । यसको अर्थ हो उपभोक्तासँग खर्च गर्ने पैसा कम भईरहेको छ । हिजो हप्तामा दुई पटक रेस्टुरेन्ट जाने मान्छे अब हप्तामा १ पटक मात्र जान थाले । यस्तो बेलामा हामीले पनि खर्च कम गर्ने हो । जसको उत्पादन लागत कम हुन्छ उ नै हो मन्दीको बेलामा टिक्ने उद्योग । हामी धैर्यपूवक आफूलाई समालेका छौं । हुनसक्छ सरकारको अहिलेको नीतिले ५÷६ महिनापछि राम्रो नतिजा दिनसक्छ । सरकारले केही कुरा व्यवस्थित गर्न खोजेको छ जुन बजारमा एडजस्ट नभएको पनि हुनसक्छ । उद्योग विस्तारमा नयाँ योजना के छ ? तपाईसँग तीन वटा बच्चा छन् । उनीहरुलाई आवश्यक पोषण नै खुवाउन सक्नु भएन, उनीहरु कुपोषणबाट ग्रसित छन् भने के तपाई चौथो बच्चा जन्माउनु चाहानुहुन्छ ? के तपाईका उद्योगहरुमा कुपोषणको खतरा छ ? एस । आजको दिनमा खतरा छ । हामीले बजारमा माग वृद्धि गर्न सकेनौं भने धेरै उद्योग सखाप भएर जाने खतरा छ । हामीले कसरी आर्थिक गतिविधिलाई बढाउने भनेर सबैले सोच्ने बेला भएको छ । तपाईलाई हामीले एक सफल उद्यमीको रुपमा लिन सक्छौं । तपाईको व्यक्तिगत चाहाना र अभिलाशाहरु के के छन् ? उद्योग चलाउनु मेरो नशा हो । कसरी रोजगारी सिर्जना गर्ने र गरिबी घटाउन सहयोग गर्ने भन्ने मेरो चाहाना हो । त्यसबाहेक मेरो व्यक्तिगत चाहाना केही पनि छैनन् । म पारिवारिक मान्छे हु । मलाई हरेक दिन कुनै पनि हालतमा १० बजे सुत्नुपर्छ । विहान ५ बजे उठ्छु । दुई घण्टा मर्निङ वाक गर्छु । १०० प्रतिशत शाकाहारी हुँ । मलाई हरियो तरकारी अनिवार्य चाहिन्छ । घरमा दुई थरीभन्दा बढी तरकारी बनाउन दिन्न । मेरो जीवन सामान्य छ । तपाईसँग उद्योग चलाउने तिब्र इच्छाशक्ति देखिन्छ । यसलाई कुन तत्वले ड्राइभ गर्दोरहेछ ? त्यो तत्व भनेको मेरो ब्लड (रगत) नै हो । मेरो बाजे, बुबा सबैले उद्यमशिलता नै गर्नुभयो । बाजेको भन्दा बुबाले ठूलो विजनेश बनाउनु भयो । बुबाको भन्दा मैले ठूलो बनाए । मलाई विश्वास छ छोराले अझ ठूलो बनाउने छ । ऊ पनि लण्डनबाट एमबीए सकेर नेपाल आएको छ । श्री स्टीलको सबै काम उसले हेरिरहेको छ । यो उद्योग बनाउदा देखिन नै उ यसमा सक्रिय छ ।