बीमा सर्भेयरको संस्था स्थापना गर्ने विदेशी सर्भेयरले ८० प्रतिशतसम्म लगानी गर्न पाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ । उक्त निर्देशनमार्फत नेपालमा बीमा सर्भेयरको संगठित संस्था स्थापना गर्न इच्छुक विदेशी सर्भेयरले कुल चुक्तापुँजीको अधिकतम ८० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले हिजो (वैशाख १७) गते जारी गरेको निर्देशनको दफा १९ को उपदफा (१) मा शाखा कार्यालय स्थापना वा संयुक्त लगानीमा कम्पनी स्थापना गरी कार्य सञ्चालन गर्न सक्ने व्यवस्था छ । यसैगरी, उपदफा (२) मा प्राधिकरणसँग इजाजत प्राप्त सर्भेयरसँग संयुक्त रुपमा नेपालमा बीमा सर्भेयरको संगठित संस्था स्थापना गर्न इच्छुक विदेशी सर्भेयरले त्यस्तो संस्थाको कुल चुक्तापुँजीको अधिकत्तम ८० प्रतिशतसम्म सेयर धारण गर्नेगरी प्रत्यक्ष वैदेशिक लगानी गर्न सक्ने व्यवस्था छ । उपदफा १ बमोजिम पूर्वस्वीकृति लिई स्थापना भएको कम्पनीले बीमा सर्भेयरको इजाजत पत्र लिन प्राधिकरणमा निवेदन दिनुपर्ने छ । निवेदन दिँदा संगठित संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रबन्धपत्र र नियमाली, सम्भाव्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारीको व्यक्तिगत विवरण तथा योग्यता खुल्ने कागजातलगात पेश गर्नुपर्ने भनिएको छ । संयुक्त बीमा सर्भेयर नियुक्त गर्न सक्ने विदेशी पुनर्बीमकबाट अनुरोध भएमा वा सम्बन्धित विषयको अनुभवी सर्भेयरको आवश्यकता परी नेपाली र विदेशी सर्भेयरले संयुक्त रूपमा सर्भे गर्नुपरेमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, बीमा सर्भेयरले संयुक्त सर्भे कार्य सम्पन्न गरी सोको विवरण प्राधिकरणको आईआरएमएस प्रणालीमा अपलोड गरी बुझाउनुपर्ने छ ।
सौराहामा रोयल टुलिप चितवनको आईपीओको तयारी सुरु
काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । धितोपत्र बोर्डको पछिल्लो विवरण अनुसार, केटीएम हस्पिटालिटी बोर्डको पाइपलाइनमा १८ औँ नम्बरमा सूचीकृत भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारीमा आरबीबी मर्चेन्ट बैंकिङ छ । कस्तो छ कम्पनीको वित्तीय अवस्था र रेटिङ ? आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीले चितवनको सौराहामा कुल १ अर्ब ७० करोड ५ लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ । आईपीओ निष्काशन गरीए संगै यो आयोजनामा ऋण र स्वपूँजीको अनुपात ६१.५ ः ३८.५ रहनेछ । अर्थात परियोजनामा बैंक ऋणको हिस्सा अझै बढी रहने देखिएपनि कम्पनीले स्वपूँजीको अनुपात बढाउदै लगेको देखिन्छ । कम्पनीले सन २०२५ को साउन देखि सफ्ट ओपनिङ र असोज मध्यदेखि पूर्ण रूपमा रिसोर्ट सञ्चालनमा ल्याएको हो । केटीएम हस्पिटालिटी सुरुमा प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको थियो तर २०८१ असार २५ गते यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले आफ्नो परियोजनाको पूँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋण भार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आईपिओ जारी गर्न लागेको हो । होटल उद्योगमा ‘जेस्टेसन पिरियड’ (लगानी फिर्ता हुन लाग्ने समय) लामो हुने भएकाले दीर्घकालीन पूँजी जुटाउन आईपिओ एक महत्वपूर्ण माध्यम बन्ने रिपोर्टमा उल्लेख छ । यो कम्पनीको नेतृत्व अनुभवी व्यवसायी रामेश्वर शाहले गरिरहेका छन् । शाह केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा सिइओ हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्व उपाध्यक्ष र आउटसोर्सिङ एशोसिएसन अफ नेपालका अध्यक्ष समेत हुन् । उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा पनि उनको सक्रिय भूमिका रहेको छ । रिसोर्ट सञ्चालनका लागि कम्पनीले फ्रान्सेली होटल चेन ‘लुभ्र होटल्स् ग्रुप’ अन्तर्गतको ‘रोयल ट्युलिप’ ब्रान्डसँग व्यवस्थापकीय सम्झौतामा चलिरहेको छ । चितवनको राप्ती नदी र कुमरोज सामुदायिक वनको आडमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठाहरू छन् । रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याड जस्ता सुविधाहरू रहेको छ । रिपोर्टअनुसार, अन्तर्राष्ट्रिय ब्रान्डको आबद्धता र अनुभवी प्रवद्र्धक हुनु कम्पनीका सबल पक्ष हुन तर, पर्यटन क्षेत्रमा हुने उतारचढाव, चर्को प्रतिस्पर्धा र उच्च बैंक ऋणका कारण सुरुवाती वर्षहरूमा तरलतामा केही चाप पर्न सक्ने रेटिङ एजेन्सीले औँल्याएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि यो कम्पनीले आईपीओ निष्काशन गर्नेछ, जसले चितवनको पर्यटन उद्योगमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।
बीमा पोलिसी सरेण्डर गर्नेको संख्या घट्दै, एक वर्षमा १४ प्रतिशतले घट्यो
काठमाडौं । विगतका तुलनामा पछिल्लो समय बीमितहरू बीमाप्रति सचेत बन्दै गएसँगै बीमा पोलिसी सरेण्डर दर घट्दै गएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत)सम्ममा जीवन बीमा कम्पनीहरूको पोलिसी सरेण्डर संख्या र समर्पणबापतको रकम दुवै घटेको छ । तथ्यांकअनुसार चैत्र मसान्तसम्ममा ६५ हजार ४७७ बीमालेख समर्पण भएका छन् । गत आवको यही अवधिमा बीमितले ७१ हजार ५५४ बीमालेख समर्पण गरेका थिए । गत आवको तुलनामा पोलिसी सरेण्डर संख्या १४.१३ प्रतिशतले घटेको छ । गत आवको चैत्रसम्ममा ८० हजार १८७ बीमालेख सरेण्डर भएका थिए । पोलिसी सरेण्डर संख्या घट्दा सरेण्डरबापत्को भुक्तानी रकम पनि घटेको छ । ९ महिनाको अवधिमा पोलिसी सरेण्डर रकम ५.४२ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार गत आवमा बीमा कम्पनीहरूले पोलिसी सरेण्डरबापत कुल ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेका थिए । चालु आवको चैत्रसम्ममा भने बीमा कम्पनीहरूले सरेण्डरबापत १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत आवको तुलनामा चालु आवको ९ महिनामा व्यतित बीमालेख संख्या र रकमसमेत घटेको छ । ९ महिनाको अवधिमा १२ लाख २५ हजार ४५४ बीमालेख व्यतित भएका छन् । गत आवमा १२ लाख ४६ हजार ३०१ बीमालेख व्यतित भएका थिए । गत आवको तुलनामा चालु आवको चैत्रसम्ममा व्यतित बीमालेख संख्या १.६७ प्रतिशतले घटेको छ । त्यस्तै, चैत्रसम्ममा व्यतित बीमालेखको उठ्न बाँकी रकम ३७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत आवको यही अवधिमा व्यतित बीमालेखको उठ्न बाँकी रकम ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको थियो । गत आवको तुलनामा चालु आवको चैत्रसम्ममा व्यतित बीमालेखको उठ्न बाँकी रकम भने २.३३ प्रतिशतले बढेको देखिन्छ ।