पुनर्बीमा दलाल कम्पनीसहित दुई कम्पनी प्राधिकरणको कारबाहीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित दुई कम्पनीलाई जरिवानासहित कारबाही गरेको छ । प्राधिकरणले पुनर्बीमा दलालको सेवा दिंदै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालि र निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीलाई कारबाही गरेका हाे । प्राधिकरणका प्रवक्ता पुजन ढंगेलका अनुसार सलिकोलाई सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) को विपरीत कार्य गरेकाले जरिवाना गरिएको छ । उक्त कम्पनीलाई प्राधिकरणले बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम पहिलो पटक दुई लाख रूपैयाँ जरिवाना गरेको छ । त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्सलाई पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा(१) र (२) को व्यवस्था पालना नगरेको पाइएकाले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड क बमोजिम जरिवाना गरिएको छ । कम्पनीलाई पहिलो पटक भएकाले पाँच हजार रूपैयाँ नगद जरिवाना सहित सचेत गराएको प्रवक्ता ढंगेलले बताइन् ।
हिमालयन लघुवित्तद्वारा मालती देवीलाई ३ लाख ऋण मिनाहा रकम भुक्तानी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बंकुल, रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला, मौलापुर नगरपालिका–७ पिपरिया टोलस्थित केन्द्र नं. ४५ की सदस्य श्रीमती मालती देवीका श्रीमान् धुरन साह कानुको मृत्यु भएपछि संस्थाले बीमा क्षतिपूर्ति उपलब्ध गराएको हो । श्रीमती मालती देवीले संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनका श्रीमानको निधनपछि संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरिएको छ । साथै कर्जा बीमा अन्तर्गत काजक्रिया खर्च वापत २५ हजार रुपैयाँ समेत थप गरी एकमुष्ट रकम भुक्तानी गरिएको शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले जानकारी दिए । संस्थाले आफ्ना सदस्यहरूको हित र संरक्षणका लागि आपतकालीन अवस्थामा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । दुःखको समयमा आर्थिक सहयोग प्रदान गरेकोमा केन्द्रका सदस्यहरूले संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् । उक्त रकम मौलापुर नगरपालिका–७ का वडा अध्यक्ष रामपुकार साह र संस्थाका निजगढ अनुगमन प्रमुख सन्दीप बिडारीद्वारा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शाखा प्रबन्धक यादव, कर्मचारी रामाशंकर महरा तथा केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कालिकोटमा राहत बोकेर पुग्यो सानिमा रिलायन्स लाइफ
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा बाढी तथा आगलागीबाट प्रभावित घरपरिवारलाई राहतस्वरूप कम्मल वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित शुभकालिका गाउँपालिका वडा नं. ७ र ८, महावै गाउँपालिका वडा नं. ५ र ६, खाँडाचक्र नगरपालिका वडा नं. १ र ५ तथा तिलागुफा नगरपालिका वडा नं. ७ र १० का बाढीपीडित र तिलागुफा नगरपालिका वडा नं. ५ र ६ तथा खाँडाचक्र नगरपालिका वडा नं. १० का आगलागीपीडित गरी कुल ४३ घरपरिवारलाई कम्मल वितरण गरेको हो । राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी पीडितहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै दुर्गम क्षेत्रमा पुगेर सेवा दिएकोमा कम्पनीप्रति कृतज्ञता जनाएका छन् । कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम अझ प्रभावकारी र समुदायमैत्री बनाउने कम्पनीको योजना छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता र ग्राहक सेवा सुदृढीकरणमार्फत आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २० अर्ब रुपैयाँभन्दा माथि रहेको छ भने २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन् ।