बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ ।  प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीहरुलाई ई- बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको हो । प्राधिकरणका उपनिर्देशक हृदेश्वर पण्डितद्वारा जारी गरेको पत्रमा भनिएको छ, ‘ बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सबै प्रकारका बीमा शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य ई-बिल/इनभ्वाइस जारी गर्ने व्यवस्था गर्नहुन निर्णयअनुसार लेखिएको छ ।’

बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्दै अरुण काबेली

काठमाडौं । विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई १:०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।  आयोगको २०८३ वैशाख ३ गते बसेको ३०७ औं बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ रहेको छ । आयोगको स्वीकृतिसँगै कम्पनीले यसको ५० प्रतिशतले हुन आउने  १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । आयोगले हकप्रद सेयरबाट संकलन हुने रकम खर्च गर्नका लागि स्पष्ट सीमा र शर्तहरूसमेत तोकिदिएको छ । संकलित रकममध्ये १०० करोड रुपैयाँ काबेली बी(१ जलविद्युत् आयोजना निर्माणका क्रममा लिइएको बैंक ऋण चुक्ता गर्न प्रयोग गर्नुपर्ने आयोगले जनाएको छ । त्यस्तै, बाँकी ९४.७९ करोड रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी ‘काबेली इनर्जी लिमिटेड’ मा लगानी गर्नुपर्नेछ । आयोगले सेयर निष्कासनका लागि विशेष प्रक्रियासमेत निर्धारण गरेको छ । कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूका लागि निश्चित समय तोकेर सेयर खुला गर्नुपर्नेछ । संस्थापकहरूले रकम बुझाए वा नबुझाएको विवरण सार्वजनिक गरेपछि मात्र दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन प्रक्रिया अघि बढ्नेछ । सेयर निष्कासनबाट प्राप्त रकम तोकिएको क्षेत्रमा खर्च गरी १५ दिनभित्र त्यसको पुष्टि हुने कागजातसहित आयोगलाई जानकारी गराउनुपर्नेछ । अरुण काबेलीका सेयरधनीहरूमध्ये कोही नेप्सेमा सूचीकृत अन्य विद्युत् कम्पनी भएमा उनीहरूले यस हकप्रदमा लगानी गर्न आयोगको छुट्टै पूर्व–स्वीकृति लिनुपर्ने व्यवस्थासमेत गरिएको छ । 

धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमराज जोशी नियुक्त भएका छन् । सोमबार (आज) बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । नवनियुक्त सीईओ जोशीको कार्यकाल आजैदेखि लागू हुने गरी तोकिएको हो । ‘घ’ वर्गको राष्ट्रियस्तरको यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस संस्थाले ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउँदै आएको छ ।