टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ सुरु

काठमाडौं । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज 'वर्ल्ड अफ डान्स' को दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो । यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्नेछ । सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ र सोही प्रणालीको प्रयोग गरि इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्क भुक्तानी गर्ने प्रणाली बिकास गरिसकेको छ । प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसी भेरिफिकेसन  गरेर सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन् । साथै दर्शकहरूले समेत  ग्राण्ड फिनालेको टिकट सिटीपे मार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ । यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई 'सेलिब्रेटी ग्रान्ड जज' को रूपमा घोषणा गरिएको छ । 'डान्स इन्डिया डान्स' र 'इन्डियाज बेस्ट डान्सर' जस्ता ठुला शोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ । उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन् । प्रतियोगितालाई  चार वटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन् । प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । साथै विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन् ।  नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ । जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौं र २ जेठमा इटहरीमा आयोजना हुनेछ ।  अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्राण्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ । यो सिजनको फाइनल इभेन्ट 'प्याराडाइम टिभी' मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ । सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको 'वर्ल्ड अफ डान्स' अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ । नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, नृत्याङ्गना कविता नेपाली र भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो ।     

करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २७७० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार पाल्पा सिमेन्टको भएको छ । पाल्पाको ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पििनिङको ३४ करोड, करपोरेट डेभलपमेन्टको ३० करोड, सोलु हाइड्रोको २८ करोड र कुमारी बैंकको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।  

एक्सेल डेभलपमेन्ट बैंकको नाफा १५.५७ करोड रुपैयाँ, लाभांश बाँड्ने क्षमता वृद्धि

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको यो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय सुधार गर्दै १५.५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंक ६३.८३ लाख घाटामा रहेको अवस्थामा यो परिणामले बैंकको वित्तीय अवस्थामा थप सकारात्मक प्रगति देखिएको छ । अघिल्लो त्रैमासकको तुलनामा वितरणयोग्य नाफा १४.५३ करोड रुपैयाँले वृद्धि भई कुल जम्मा १५.०७ करोड रुपैयाँ कमाएको हो । जसबाट बैंकको लाभांश बाँड्ने क्षमता वृद्धि भएको छ ।    बैंकको प्रति सेयर आम्दानी १६.६१ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि आकर्षक प्रतिफलको संकेत दिएको छ । त्यसैगरी, प्रतिसेयर नाफामा पनि सकारात्मक वृद्धि भई १५.३९ रुपैयाँ कायम हुनु सेयरधनीहरूका लागि थप सकारात्मक समाचार हो ।  त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४ प्रतिशत कायम रहनुले वित्तीय जोखिम वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ । यसबाट नियामकीय मापदण्डभित्र रहेर बैंकले सुरक्षित र सन्तुलित रूपमा कर्जा विस्तार गरिरहेको स्पष्ट देखिन्छ ।  बैंकको आधार ब्याजदर ५.६७ प्रतिशत मा कायम रहेका लागि थप राम्रो संकेत हो । यसले कर्जा ब्याजदरलाई प्रतिस्पर्धी बनाउँदै लगानी र व्यवसाय विस्तारमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।  बैंकले पछिल्लो समय आक्रामक कर्जा विस्तार नीति अपनाउँदै बजारमा सक्रिय उपस्थिति जनाइरहेको छ । यस रणनीतिले आर्थिक गतिविधि बढाउन र ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।  समग्रमा, बैंकको यो प्रदर्शनले संस्थागत स्थायित्व, व्यवस्थापनको दक्षता र भविष्यप्रति सकारात्मक संकेत प्रस्तुत गरेको छ । आगामी दिनमा पनि यस्तै सुधारको निरन्तरता रहने अपेक्षा गरिएको छ ।  कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।