कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण
काठमाडौं । कान्ति बाल अस्पतालमा जडान गरिएको अत्याधुनिक स्वचालित एकीकृत बायोकेमिस्ट्री तथा केमिल्युमिनेसेन्स इम्युनोएस्स मेसिन अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा प्रयोगशाला सेवा प्रभावहीन बन्दै गएको छ । अस्पताल व्यवस्थापनले यो मेसिन सञ्चालनमा आएपछि अधिकांश परीक्षण अस्पतालमै हुने र बिरामीले निजी प्रयोगशाला धाउनुपर्ने अवस्था अन्त्य हुने दाबी गरेको थियो । तर, व्यवहारमा भने ठीक उल्टो अवस्था देखिएको छ । पहिले बिरामी आफै नमुना बोकेर निजी प्रयोगशाला पुग्थे, अहिले अस्पतालले नै नमुना संकलन गरेर बाहिर पठाउने गरेको पाइएको छ । गत वर्ष असोज २४ गते सेरो डाइग्नेष्टिक कम्पनीसँग सम्झौता गरी करिब १० करोड रुपैयाँ लागतमा उक्त मेसिन जडान गरिएको थियो । फागुन महिनादेखि सञ्चालनमा ल्याइएको यो इन्टिग्रेटेड प्रणालीले अस्पतालमै बहुआयामिक परीक्षण सेवा दिने दाबी गरिएको थियो । तर, विकासन्युज डटकमलाई प्राप्त कागजात अनुसार अहिलेसम्म पनि अस्पतालको प्रयोगशाला सेवा निजी प्रयोगशालामै निर्भर रहेको देखिन्छ । अस्पतालका प्रमुख डा. पंकज राय भने मेसिन सञ्चालनमै रहेको दाबी गर्छन्। प्रयोगशाला विभाग प्रमुख डा. मोनी सुवेदीले उक्त मेसिनले ६६ प्रकारका परीक्षण सम्भव भएको दाबी गरेकी छन्। यद्यपि, वास्तविकता फरक देखिन्छ । अस्पताल स्रोतका अनुसार एकीकृत प्रणालीको महत्त्वपूर्ण हिस्सा ‘स्पेसिफिक प्रोटिन एनालाइजर’ नै जडान नभएकाले मेसिन पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । यसको प्रत्यक्ष असर सेवामा परेको छ, जहाँ मेसिनले करिब एक तिहाई मात्र काम गरिरहेको बताइएको छ । यसका कारण विशेष प्रकारका परीक्षणका लागि बिरामीका नमुना बाहिरी निजी प्रयोगशालामा पठाउनुपर्ने बाध्यता कायम रहेको छ । गत चैत १ गतेदेखि वैशाख २ गतेसम्म मात्रै एक हजारभन्दा बढी नमुना निजी प्रयोगशालामा पठाइएको विवरण विकासन्युजलाई प्राप्त भएको छ । तीमध्ये अधिकांश नमुना निदान अस्पताल र रिलाएबल डाइग्नेष्टिक सेन्टरमा पठाइएको देखिन्छ । अस्पताल स्रोतका अनुसार ती दुवै प्रयोगशालाहरू आपूर्तिकर्ता कम्पनी सेरोसँग नजिक सम्बन्धमा छन्, जसले थप आशंका जन्माएको छ । अस्पतालका एक प्राविधिकका अनुसार यो अवस्था सामान्य प्राविधिक कमजोरी मात्र नभई गम्भीर व्यवस्थापकीय त्रुटिको परिणाम हो । उनका अनुसार अपूर्ण प्रणालीमै मेसिन जडान गरिँदा यस्तो समस्या सिर्जना भएको हो । ‘अस्पताल र आपूर्तिकर्ताबीचको मिलेमतोमा पूर्ण सेटअप बिना नै मेसिन जडान गरिएको हो, जसका कारण अहिले पनि नमुना बाहिर पठाउनुपर्ने अवस्था आएको हो,’ ती प्राविधिकले विकासन्युजसँग भने । अझ महत्वपूर्ण विषय अस्पतालले निजी ल्याबमा परीक्षण गरेर आफ्नै लेटरहेडमा बिरामीलाई रिपोर्ट दिने गरेको छ । अस्पताल आफैले नमुना कलेक्सन गरेर निजी ल्याबमा पठाउने र निजी ल्याबले रिपोर्ट पठाइसकेपछि त्यसलाई ‘कपी-पेष्ट’ गर्दै कान्तिले आफ्नो लेटरहेडमा रिपोर्ट बनाएर बिरामीलाई उपलब्ध गराउने गरेको खुलेको छ । हाल अस्पतालले आफ्नै शुल्कमा बिरामीबाट नमुना संकलन गरी आन्तरिक रूपमा निजी प्रयोगशालामा पठाउने गरेको छ । प्रयोगशाला विभाग प्रमुख डा. सुवेदीले केही नमुना बाहिर पठाइएको स्वीकार गरेकी छन् । ‘केही नमुना बाहिर पठाइएको हो । तर, यो प्राविधिक समस्या हो । मेसिनको क्यालिब्रेसनमा समस्या आएका बेला बिरामीलाई अतिरिक्त आर्थिक भार नपरोस् भनेर अस्पतालले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइएको हो,’ उनले भनिन् । उनले यसमा अस्पतालको कुनै गलत मनसाय नभएको बताइन् । देशकै केन्द्रीय बाल अस्पतालमा उपलब्ध नभएको वा गर्न नसकिने परीक्षण सामान्य निजी प्रयोगशालामा कसरी सम्भव भयो ? भन्ने प्रश्नले भने गम्भीर आशंका उब्जाएको छ । यस जिज्ञासामा अस्पताल प्रमुख डा. राय र डा. सुवेदी दुवैले स्पष्ट जवाफ दिन चाहेनन्। आपूर्तिकर्ता सेरो डाइग्नेष्टिक कम्पनीका प्रबन्ध निर्देशक भक्तबहादुर बस्नेतले पनि आफू प्राविधिक विषयमा जानकार नभएको प्रतिक्रिया दिएका छन् । यस घटनाले सार्वजनिक स्वास्थ्य संस्थामा उपकरण खरिद, प्रयोग र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले यो विषयमा प्रतिक्रिया दिँदै भने, ‘सामान्य मेशिनरी समस्या भएर यस्तो भएको हो भने खासै ठूलो विषय होइन । तर, नियोजित रूपमा यस्तो गरिएको भए यो बेइमानी हो ।’ उनका अनुसार मन्त्रालयले यस विषयमा छानबिन गर्नेछ । यसैबीच सम्बन्धित निकायबाट सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि उठ्न थालेको छ । अस्पतालको खरिद प्रक्रिया, उपकरणको गुणस्तर, आपूर्तिकर्ताको भूमिका र अस्पताल व्यवस्थापनको निर्णय प्रक्रियामाथि समेत प्रश्न उठेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस प्रकरणमा चासो देखाउँदै प्रारम्भिक छानबिन सुरु गरेको बुझिएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा ९१० को खण्ड ९क०मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ । जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सहरूमध्येबाट सरकारले मनोनित गर्ने भनिएको छ । अध्यक्ष पदको पदावधि तीन वर्षको रहने छ । यसअघि २०७९ साल चैत २० मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको तीनवर्षे पदावधि सकिएपछि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको हो । पहिलोपटक खुला आवेदनमार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको हो ।
नेपालको स्वास्थ्य सेवा गुणस्तरीय र सुलभ हुन सकेन
काठमाडौं । नेपालमा स्वास्थ्य सेवा गुणस्तरीय र सुलभ हुन नसकेको पाइएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रले स्वास्थ्य सूचकहरूमा सुधार भए पनि स्वास्थ्य सेवागुणस्तरीय र सुलभ हुन नसकेको देखाएको हो । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार सन् १९९६ मा मातृ मृत्युदर (प्रति लाख जीवित जन्ममा) ५३९ रहेकोमा घटेर सन् २०२२ मा १५१ मा पुगेको छ । यस अवधिमा ५ वर्षको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) ११८ र शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) ७८ बाट घटेर ५ वर्षको बाल मृत्युदर ३३ र शिशु मृत्युदर २८ पुगेको छ । महिलाको प्रजनन् दर ४.६ बाट घटेर २.१ मा पुगेको छ । जसमा ग्रामीण क्षेत्रमा महिलाको प्रजनन दर ४.८ बाट २.४ तथा सहरी क्षेत्रमा २.९ बाट २.० मा घटेको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्याङ्कअनुसार प्रति चिकित्सक जनसङ्ख्या अनुपात सन् २००५ मा ३ हजार ९ सय ७५ रहेकोमा सन् २०२५ मा ७ सय ३५ कायम भएको छ । उपचारका लागि सहर पस्नुपर्ने बाध्यता अहिले पनि ग्रामीण स्तरका नागरिकले उपचारका लागि सहर धाउनुपर्ने बाध्यता कायमै रहेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच सीमित रहेकोले आधारभूत उपचारको लागि पनि नागरिक सहर धाउनुपर्ने बाध्यता छ । उपचारका लागि विदेश जटिल रोग लाग्नेबित्तिकै धेरैजसो नेपाली नागरिक अझै उपचारका लागि विदेश जाने गरेका छन् । स्वास्थ्य सेवा पर्याप्त, गुणस्तरीय र विश्वसनीय नहुँदा विदेश जानेक्रम अझै यथावत छ । कतिपय नेपालीहरू जटिल रोगको शंका हुनेबित्तिकै परीक्षणका लागि विदेश जाने गर्छन् भने नेपालमा अझै स्वास्थ्य सेवा महँगो हुँदै गएको स्थिति छ । स्वास्थ्य बीमा आफै समस्यामा गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ पहुँच पुर्याउन सुरु गरिएको स्वास्थ्य बीमा आफै समस्यामा परेको अवस्था छ । बीमा दाबी भुक्तानी गर्न नसक्दा स्वास्थ्य संस्थाले सेवा रोकेका छन् भने स्वास्थ्य बीमाको उचित नियमित हुन नसक्दा यो प्रणाली नै जोखिममा परेको छ । पूर्वाधार र जनशक्तिमा सुधार पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति संख्यात्मक रूपमा बढेको छ । नेपालको स्वास्थ्य प्रणाली बिरामी हेरचाहमा मा केन्द्रित रहेको छ । विसं २०७१ मा नेपालमा सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ४ हजार ४ सय ८५ रहेकोमा बढेर ८ हजार ७ सय ४६ पुगेको छ । यस अवधिमा सरकारी अस्पतालमा बिरामी शय्या ७ हजार ५५० बाट बढेर १८ हजार ६४० पुगेको छ । यस्तै, सरकारी चिकित्सको सङ्ख्या २ हजार १५४ बाट बढेर ७ हजार ३० पुगेको छ भने मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको संख्या १९ हजार ३३७ बाट बढेर ३९ हजार ६७५ पुगेको छ ।