बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन

काठमाडौं । कान्ति बाल अस्पताल प्रशासनले आफ्ना कमजोरी लुकाउन तल्लो तहका कर्मचारीमाथि दबाब बढाएको छ । अस्पतालको एकीकृत सेवा प्रणालीमा देखिएको अनियमितताबारे विकासन्युजले समाचार सार्वजनिक गरेपछि व्यवस्थापनले कर्मचारीसँग स्पष्टीकरण सोध्ने र कारबाहीको चेतावनी दिने गतिविधि सुरु गरेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूका अनुसार प्रयोगशाला विभाग प्रमुख डा. मोनी सुवेदीले सोमबार इमर्जेन्सी विभागका कर्मचारीहरूलाई बोलाएर मिडियामा सूचना दिने व्यक्तिलाई कडा कारबाही गर्ने चेतावनी दिएकी छन् ।  सोमबार दिउँसो खाजा समयअघि सबै कर्मचारीलाई भेला गराएर उनले मिडियामा सूचना चुहाउनेलाई पानीमुनि गए पनि नछोड्ने चेतावनी दिएकी हुन् । ती कर्मचारीका अनुसार केही कर्मचारीलाई लक्षित गर्दै स्पष्टीकरणसमेत सोधिएको छ । उनले प्रयोगशालासम्बन्धी रिपोर्ट बाहिरिएको विषयलाई लिएर दोषी पत्ता लगाइ छोड्ने भन्दै कडा निर्देशन दिएको अस्पताल स्रोतले बताएको छ । कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण

एनएमएको मत गणना अपडेट : ६२६५ मत गणना सम्पन्न हुँदा डा. रिजाल अग्रस्थानमा

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को जारी मत गणनामा कडा प्रतिस्पर्धा देखिएको छ । ६ हजार २ सय ६५ मत गणना सम्पन्न हुँदा अध्यक्ष पदमा डा. बद्री रिजाल अग्रस्थानमा देखिएका छन् । सुरुवाति अग्रस्थानमा रहेका डा. रावललाई पछि पार्दै डा. रिजाल अग्रस्थानमा आएका छन् ।   पछिल्लो प्राप्त मतपरिणाम अनुसार रिजालले २ हजार ८ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. मंगल रावलले २ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने डा. नारायण प्रसाद भुसाल ७ सय ५२ मत सहित तेस्रो स्थानमा छन् । वरिष्ठ उपाध्यक्षमा डा. संजीव तिवारी २ हजार ६ सय ३५ मत  सहित अग्रस्थानमा रहेका छन् । उनलाई डा. किर्तीपाल सुबेदी २ हजार ४५ मत सहित पच्छ्याइरहेका छन् भने डा. अजय कुमार मिश्र १ हजार २सय ८५ मत सहित तेस्रो स्थानमा छन्। यस्तै महासचिवमा डा. विश्वराज दवाडी २ हजार ३ सय ९२ मत सहित अगाडि छन् भने डा. कालु सिंह खत्री २ हजार १ सय ५८ मत ल्याउँदै पछ्याइरहेका छन भने डा. अमृत भुसाल १ हजार ४ सय ५० मत सहित तेस्रो स्थानमा छन् ।  प्रदेशगत उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमती प्रदेशमा डा. सुभाष भट्टराई, गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशमा डा. रबिन खड्का र सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी अग्रस्थानमा रहेका छन् । कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल अग्रस्थानमा देखिएका छन् ।  

जलेका गाडीमा इन्धन दुरुपयोग भएको छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट भएका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग नगरेको बताए ।  जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भन्ने गरेको बिषय सञ्चारमाध्यममा आएपछि मन्त्रालयले गत वैशाख १५ गत छानविन समिति गठन गरेको थियो ।  समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरणलगायत सम्बन्धित कागजातको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।