सुदूरपश्चिममा ३ हजार ७२३ एचआइभी संक्रमित, लाञ्छना र विभेद अझै हटेन

काठमाडौं । एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआइभी फोलक पर्सन नरेन्द्रसिंह रावलका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म सुदूरपश्चिम प्रदेशमा एचआइभी सङ्क्रमित ३ हजार ७२३ रहेका छन् । सोही क्रममा ५५ हजार २२८ गर्भवतीको जाँच गरिएकामा जसमध्ये एचआइभी सङ्क्रमित ३ जना मात्रै रहेका छन् । प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा एचआइभी पोजेटिभको सङ्ख्या १ हजार ७४५ रहेको छ । दार्चुलामा सङ्क्रमितको सङ्ख्या ४५ रहेको छ । यसैगरी, अछाममा ५८४,  डोटीमा ४९३, कञ्चनपुरमा ४६०, बैतडीमा ११८, डडेल्धुरामा ११५, बझाङमा ९१ र बाजुरामा ६२ एचआइभी सङक्रमित रहेका छन् । उनका अनुसार नेपालमा एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३४ हजार ३३७ छ । तीमध्ये १९ हजार २७९ पुरुष, १४ हजार महिला तथा १ हजार ५८ बालबालिका रहेका छन् । सन् २०२४ को अन्त्यसम्म ३० हजार २१७ जनामा सङ्क्रमण पहिचान भइसकेको छ भने २६ हजार २८८ जना नियमित उपचारमा रहेका फोलक पर्सन रावलले बताए । एचआइभी सङ्क्रमितलाई समाजले अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउँदै यसले सङ्क्रमितको आत्मविश्वास घटाउने, मानसिक समस्या निम्त्याउने र उपचार प्रक्रियामा समेत असर पार्ने उनको भनाइ छ ।  ‘धेरै व्यक्तिहरू एचआइभीको नाम सुन्नासाथ डराउने र सङ्क्रमितलाई अलग व्यवहार गर्ने गर्छन्,’ शुक्लाफाँटा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पदमबहादुर महराले भने, ‘तर अहिले औषधि सेवन गरेर एचआइभी सङ्क्रमित व्यक्तिले सामान्य जीवन बिताउन सक्छन्, उहाँहरूलाई समाजबाट टाढा राख्नु वा अपमान गर्नु गलत हो ।’ एचआइभीसम्बन्धी गलत धारणाकै कारण धेरै जना परीक्षण गराउन हिच्किचाउने गरेका छन् । समयमै परीक्षण र उपचार सुरु गर्न नसक्दा सङ्क्रमण थप जटिल बन्ने जोखिम छ । एचआइभी सङ्क्रमण असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, लागूऔषध प्रयोग गर्दा सुई साटासाट गर्ने व्यवहार, सङ्क्रमित औजारको प्रयोग तथा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने गर्छ ।  गर्भावस्था, प्रसूति तथा स्तनपानको समयमा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने भएकाले गर्भवती महिलाको नियमित परीक्षण आवश्यक रहेको छ । स्वास्थ्यकर्मी हरि नाथले  खोक्दा, हाच्छ्युँ गर्दा, हात मिलाउँदा, अँगालो हाल्दा, सँगै बसेर खाना खाँदा, एउटै भाँडाकुँडा प्रयोग गर्दा, सार्वजनिक शौचालय प्रयोग गर्दा, लामखुट्टेले टोक्दा वा एउटै कार्यस्थलमा काम गर्दा एचआइभी नसर्ने स्पष्ट पारे । एचआइभी सङ्क्रमितसँग सामान्य सामाजिक सम्बन्ध राख्न कुनै जोखिम नरहेको बताउँदै यस्ता भ्रमले नै लाञ्छना र विभेदलाई बढावा दिएको उनको भनाइ छ । एचआइभी सङ्क्रमित व्यक्तिमाथि हुने लाञ्छना र भेदभावले सङ्क्रमित व्यक्तिमा एक्लोपनको भावना बढ्ने, आत्मविश्वास घट्ने, मानसिक तनाव, चिन्ता, निराशा तथा सामाजिक गतिविधिबाट टाढा हुने समस्या देखिने स्वास्थ्यकर्मीहरू बताउँछन् । यस्ता व्यवहारका कारण कतिपय व्यक्तिहरू उपचारबाट समेत टाढा रहने, आफ्नो स्वास्थ्य अवस्था लुकाउने तथा परीक्षण नगराउने प्रवृत्ति रहेको उनीहरुको भनाइ छ । 

स्वास्थ्य बीमामा कडाइ, निजी अस्पतालमा अब ‘इमर्जेन्सी’ सेवामात्र

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।  बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताएका हुन् । बोर्डले यही जेठ १६ गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो। बोर्डले बीमा भार पर्नेगरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न आग्रहसमेत गरेको थियो । त्यसैगरी, सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सृजना गरेर आश्यकताबाहेकका अवस्थामा पनि सेवा गर्न बाध्य नपार्न आग्रहसमेत गरिएको छ ।  बोर्डमा आबद्ध भई ३६ वटा निजी अस्पतालले बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।  

उपेक्षामा आँखाको हेरचाह, मोबाइल युगमा बढ्दो जोखिम

सर्वविदितै छ, जीवनमा आँखाको महत्व अवर्णनीय छ । जीवन र जगत् देख्नका लागि अत्यावश्यक आँखाको हाम्रो जीवनमा सर्वोपरि महत्व छ ।       आँखा अत्यन्त सम्वेदनशील अङ्ग पनि हो, यसको हेरचाह र रक्षाका सन्दर्भमा उच्च संवेदनशीलता अपनाउन आवश्यक छ । पछिल्लो समय साना बालबालिकादेखि वयस्क र वृद्धावस्थाका मानिसले मोबाइल, कम्प्युटर र टिभीको प्रयोग अधिक गरेसँगै आँखामा अनेक समस्या आउने गरेको छ । उद्योग, कलकारखाना, कृषिलगायत विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति तथा खेलाडीले आँखामा हुने चोटपटकको समयमै आवश्यक सावधानी र उपचार नगर्दा जीवनभर अन्धकारमा बस्नुपर्ने हुन्छ । कतिपय रोगका बिरामीले पनि आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ ।       यी विभिन्न अवस्थामा कसरी आँखालाई सुरक्षित र दृष्टि शक्तिलाई कायमै राख्न सकिन्छ भन्नेबारेमा यसलेखमा केही सावधानीका उपायका बारेमा उल्लेख गरिएको छ । लामो समयसम्म मोबाइल, कम्प्युटर र टिभीको स्क्रिन हेर्दा आँखा थाक्ने, पोल्ने र टाउको दुख्ने समस्या हुने हुँदा २०–२०–२० नियम अपनाउन सकिन्छ अर्थात् हरेक २० मिनेट, २० फिट टाढाको वस्तु २० सेकेन्डका लागि हेर्ने बानी बसाल्न सकिन्छ । साथै, स्क्रिन आँखाबाट एकहात टाढा राख्ने, धेरै चम्किलो स्क्रिन प्रयोग नगर्ने, अँध्यारोमा मोबाइल प्रयोग गर्नुहुँदैन । त्यस्तै घाम, धुलो र धुवाँबाट जोगिनुपर्छ, घाममा निस्कँदा धुप चस्मा वा टोपी लगाउँदा आँखालाई दबाब पर्दैन । फलाम वेल्डिङको उज्यालो र घामलाई नाङ्गो आँखाले हर्दा पनि आँखाको दृश्य शक्ति ह्रास हुन्छ ।        धुलो हुने ठाउँमा काम गर्नुपर्दा आँखाको सुरक्षाका लागि सुरक्षात्मक चस्मा लगाउनुपर्ने हुन्छ । सामान्यतः दिनमा एक–दुई पटक सफा पानीले अनुहार र आँखा पखाल्ने बानीले आँखामा धुलो, धुवाँको सङ्क्रमण हुन पाउँदैन । आँखा पोल्यो वा धुलो पर्यो भने धेरैले हात वा अन्य कुनै वस्तुले मिच्ने वा घोट्ने गर्छन् । यसो गर्नु हुँदैन, सफा पानीले विस्तारै पखाल्नुपर्छ । सफा पानीले सफा हात वा नरम कपडाले आँखा सफा गर्नुपर्छ । पढ्दा वा लेख्दा सही बत्ती प्रयोग गरिएमा आँखालाई बोझ पर्दैन । धेरै तेज वा धमिलो नभएको बत्तीमा पढ्दा वा लेख्दा पर्याप्त प्रकाश हुनुपर्छ । सुतिरहेका अवस्थामा वा सवारीसाधन हिँड्दा पढ्न वा मोबाइल चलाउने राम्रो होइन । आँखा थाकेपछि आराम दिनुपर्छ । आँखालाई आराम दिन दैनिक सात–आठ घण्टा सुत्नुपर्छ । लामो समय काम गरेपछि केही मिनेटका लागि आँखालाई बन्द गरेर विश्राम दिनुपर्छ ।      आँखाको स्वास्थ्यका लागि केही गलत बानी त्याग्नुपर्छ । अन्य स्वास्थ्यको जस्तै आँखाको स्वास्थ्यका लागि पनि धुमपानको आदत हुनुहुँदैन । यसले आँखाको नसामा असर गर्छ । रक्सीको सेवनले आँखालाई सुक्खा र कमजोर बनाउने हुँदा यसबाट टाढै बस्नु राम्रो हुन्छ । आँखा बिझाउने वा पोल्नेबित्तिकै डाक्टरको सल्लाहबिना नै आइ–ड्रपलगायत आँखाको औषधि प्रयोग गर्नुहुँदैन ।      आँखाको स्वास्थ्यका लागि दुई वर्षमा एकपटक परीक्षण आँखाको जाँच गराउने गर्नुपर्छ । दृप्टि धमिलो देखिएमा, आँखा दुखेमा, रातोपन बढेमा वा पानी आउने गरेमा, राति देख्न गाह्रो भएमा, दृष्टि अचानक घटेमा तुरुन्तै नेत्र चिकित्सक कहाँ जानुपर्छ । चस्मा वा लेन्स प्रयोग गर्दा सामान्य ध्यान नदिँदा पनि समस्या आउने गर्दछ । चस्मा प्रयोगकर्ताले सधैँ सफा कपडाले पुछ्नुपर्छ भने अरुको चस्मा वा लेन्स प्रयोग गर्नुहुँदैन । अभिभावकले बालबालिकाको आँखाको हेरचाहमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।   बालबालिकाको आँखाको स्वास्थ्य      बालबालिकालाई गाजर सागपात, अण्डा, दूध, आँप, कागती, गोलभेँडा, माछाजस्ता स्वस्थ खाना खुवाउनुका साथै पर्याप्त पानी पिउन प्रेरित गर्नुपर्छ । भिटामिन ए, सी र ई युक्त खानेकुराले आँखालाई बलियो र स्वस्थ राख्न मद्दत गर्छ । उनीहरुलाई धेरैबेर मोबाइल वा टिभी हेर्न दिनु हुँदैन, यसले आँखा पोल्ने, थाक्ने र टाउको दुख्ने समस्या आँउछ । बच्चालाई २०–२०–२० नियम अर्थात् हरेक २० मिनेटमा २० फिट टाढाको वस्तु २० सेकेन्ड हेर्ने बानी लगाउनुपर्छ । स्क्रिन धेरै नजिक राख्न र अध्याँरोमा मोबाइल चलाउन दिनुहुँदैन । बच्चाको आँखालाई धुलो र घामबाट बचाउन बाहिर खेल्दा टोपी वा धुप चस्मा लगाइदिने, धुलो वा धुवाँ हुने ठाउँमा लामो समय खेल्न नदिने, बच्चालाई आँखामा धुलो वा किरा आँखामा परेमा मिच्न सिकाउनु हुँदैन । जथाभावी आँखा मिच्दा आँखामा सङक्रमण हुनसक्छ । साबुनपानीले हात धुन सिकाउने, सफा पानीले आँखा पखाल्न लगाउनुपर्छ ।  साथै, अरूसँग रुमाल, टाबेल  वा  तकिया साटेर प्रयोग गर्न दिनुहुँदैन । पढ्ने ठाउँमा पर्याप्त र मृदु प्रकाशको व्यवस्था मिलाउनुपर्छ । अँध्यारोमा वा सुतिरहेका अवस्थामा पढ्न दिनुहुँदैन । पढ्दा आँखाबाट करिब एक फिट टाढा किताब राख्ने बानी बसाल्नुपर्छ । बच्चालाई दैनिक केही समय खेल्न दिएमा यसले आँखाको दृष्टि प्राकृतिक रूपमा सुदृढ बनाउँछ । क्रिकेट, फुटबल, व्याडमिन्टनजस्ता खेलमा सुरक्षात्मक चस्मा लगाउन दिनुपर्छ । धारिलो वा सिसाजन्य खेलौना खेल्न दिनुहुन्न । बच्चाले दैनिक सात–नौ घण्टा राम्रोसँग सुत्नुपर्छ । लामोसम्म पढेपछि वा टिभी हेरेपछि आँखालाई केहीबेर आराम गर्न लगाउनुपर्छ । कुनै समस्या नदेखिए पनि हरेक एक–दुई वर्षमा बच्चाको आँखा परीक्षण गराउनुपर्छ । बच्चाले किताब वा टिभी नजिकै हेर्छ भने, बारम्बार आँखामा हात लगाउँछ वा मिच्छ भने, दृष्टि धमिलो भएको गुनासो गर्छ भने आँखाको दिशा फरक दखिन्छ भने तुरुन्त नेत्र चिकित्सक कहाँ लैजानुपर्छ ।  औद्योगिक क्षेत्रमा काम गर्नेले ध्यान दिनुपर्ने कुरा      औद्योगिक क्षेत्रमा काम गर्ने कामदार आँखामा चोटपटक वा धुलो धुवाँबाट बढी प्रभावित हुन्छन् । काम गर्दा धुलो, धातुका टुक्रा, रासायनिक पदार्थ वा चिङ्गारीले आँखामा चोट पुर्‍याउन सक्छ । त्यसैले उनीहरुले आँखाको हेरचाहका लागि काम गर्दा फिल्टर भएको हेल्मेट र सुरक्षा चस्मा लगाउनुपर्छ भने वेल्डिङ, ग्राइल्डिङ, काट्ने वा पेन्ट गर्ने काममा विशेष चस्मा प्रयोग गर्नुपर्छ । वेल्डिङको तेज प्रकाशले आँखामा ‘वेल्डर बर्न’ नामको जलन ल्याउँछ ।      पेन्ट, एसिड, सोल्भेन्ट, ग्रीस, वा अन्य केमिकलहरू आँखामा परेमा तरुन्त सफा पानीले १०–१५ मिनेटसम्म पखाल्नुका साथै तुरुन्त नेत्र चिकित्सक कहाँ तुरुन्त जानुपर्छ । सुरक्षात्मक मास्क र चस्मा लगाएर रासायनिक पदार्थ प्रयोग गरेका सम्भावित जोखिम कम हुन्छ । अध्याँरोमा वा छायाँमा काम गर्दा आँखामा बढी चाप पर्ने हुँदा पर्याप्त बत्ती भएको ठाउँमा काम गर्नुपर्छ । काम गर्दा धुलो र धुवाँ बढी हुने ठाउँमा भेन्टिलेसन राम्रो भएको ठाउँ रोज्नुपर्छ । आँखामा धुलो धातुका टुक्रा वा रासायनिक पदार्थ परेमा आँखा मिच्नुहुँदैन । तुरुन्त सफा पानीले पखाल्नुहोस् । यसपछि नजिकको स्वास्थ्य केन्द्र वा नेत्र चिकिल्सकलाई देखाउनुपर्छ । सामान्य हो भनेर पर्खिनु कहिल्यै हुँदैन । सानो चोटले पनि ठूलो समस्या ल्याउन सक्छ । औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिले हरेक छ महिनामा एकपटक आँखाको जाँच गराउने तथा दृष्टि धमिलो, पोल्ने, रातो हुने वा पानी आउने समस्या भएमा तुरुन्त नेत्र विशेषज्ञलाई देखाउनुपर्छ ।  खेलाडीले अपनाउनुपर्ने सतर्कता      खेलकुदका क्रममा प्रयोग हुने खेल सामग्री अन्य खेल उपकरणले आँखामा चोट पुर्‍याउन सक्छ । क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल, फुटबल रग्बी खेलमा आँखाको सुरक्षा अनिवार्य छ । त्यसैले खेलको प्रकारअनुसार सुरक्षात्मक चस्माको प्रयोग गर्नुपर्छ । धाममा खेल्दा सूर्यको हानिकारक किरणबाट बच्न धुप चश्मा लगाउनुपर्छ । धुलो र हावावालो ठाउँमा खेल्दा आँखा पोल्ने पानी आउने र रातो हुने समस्या हुनसक्ने भएकाले टोपी वा हेडब्यान्ड लगाउने गर्नुपर्छ । खेलाडीले आफ्नो आँखा स्वस्थ राख्न केही सावधानी अपनाउनुपर्ने हुन्छ ।   जस्तै : खेलपछि हात सफा नगरी आँखामा नछुने, पसिना वा धुलो आँखामा पेरमा सफा पानीले पखाल्ने, रुमाल वा टाबल अरूसँग साटेर प्रयोग नगर्ने । बल, औँला वा कुनै वस्तुले आँखामा चोट लाग्दा भित्री चोट लाग्नसक्छ । तुरुन्त ठण्डा पानी वा बरफले सेक्ने र त्यसलाई बेवास्ता नगरी नेत्र चिकित्सक कहाँ जानुपर्छ ।  कन्ट्याक्ट लेन्स प्रयोग गरेका खेलाडीले थप सावधानी अपनाउनुपर्ने हुनसक्छ । खेल्दा पसिना वा धुलोका कारण कन्ट्याक्ट लेन्स बिग्रिन सक्छ । सम्भव भएसम्म स्पोर्टस् गगल्स प्रयोग गर्ने र लेन्स प्रयोज गर्दा हरेकपटक सफा हातले लगाउने र निकाल्ने बानी बसाल्नुपर्छ । अध्याँरो वा अत्यधिक तेज बत्ती भएको मैदानमा खेल्दा आँखामा तनाव आउने हुँदा उचित प्रकाश भएको ठाउँमा खेल्नुपर्छ, जसबाट वस्तु स्पष्ट देखियोस् ।       आँखाको शक्ति बढाउन गाजर, सागपात, आँप, सुन्तला, अण्डा, माछा, दूधजस्ता खानेकुराले भिटामिन ए, बी, सीले दृष्टि समृद्ध तुल्याउँछ । खेलपछि शरीर मात्र होइन, आँखालाई पनि विश्राम चाहिन्छ । राति सात–आठ घण्टा सुत्नुहोस ताकी आँखाले पनि पुनः शन्ति पाओस् । लामो समयको अभ्यासपछि केहीबेर आँखा बन्द गरेर विश्राम लिने गर्नुपर्छ । खेलाडीहरूले हरेक वर्षमा कम्तीमा एकपटक आँखाको परीक्षण गराउनुपर्छ । दृष्टि धमिलो भएमा, आँखा पोलेमा, पानी आउने वा दोहोरो देखिने समस्या भए तरुन्त नेत्र चिकित्सकहाँ सम्पर्क गर्नुपर्छ । विभिन्न रोगका बिरामीले दिनुपर्ने ध्यान      अधिकांश मानिस विभिन्न सर्ने वा नसर्ने खालका रोगबाट पीडित हुन्छन् । त्यस्त बिरामीले आफूलाई लागेको रोगको उपचारसँगै त्यसले आँखामा पार्नसक्ने जटिलता हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यहाँ केही रोगका बिरामीले दिनुपर्ने ध्यानका बारेमा उल्लेख गरिएको छ ।      मधुमेहका बिरामीले दिनुपर्ने ध्यान : लामो समय उच्च मधुमेहको समस्यामा जेलिँदा आँखाका साना नसा बिग्रन्छन् । यसलाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ । यसले मधुमेहका बिरामीको दृप्टि हराउन सक्छ । सर्वप्रथम त उनीहरुले चिनी, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्नुका साथै नियमित रूपमा औषधि र खानामा ध्यान दिनुपर्छ । दृष्टि धमिलो हुने, कालो डाबर देखिने वा उज्यालोमा समस्या देखिए तुरुन्त डाक्टरलाई देखाउनुपर्ने हुन्छ । दृप्टि ठीक भए पनि वर्षको एकपटक आँखाको जाँच गराउनु आवश्यक हुन्छ । यदि आँखामा समस्या देखिएको छ भने तीन–छ महिनामा नेत्र चिकित्सक कहाँ जानुपर्ने हुन्छ ।      रक्तचाप भएका बिरामीले दिनुपर्ने ध्यान : रक्तचाप बढी हुँदा आँखाका नसामा असर पर्छ जसलाई ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ भनिन्छ । यस्ता बिरामीले आफ्नो रक्तचाप नियमित रूपमा नाप्नुहोस् र औषधि समयमा लिने, नुन कम खानुहोस्, तनाव घटाउने र नियमित व्यायाम गर्नुपर्छ । आँखामा परिवर्तन देखिएको छ भने छ महिनामा एकपटक र सामान्य अवस्थामा पनि बिरामीले प्रत्येक एक –दुई वर्षमा आँखाको जाँच गराउनुपर्छ ।  क्षयरोगका बिरामीले दिनुपर्ने ध्यान : कुनैकुनै औषधि जस्तै इथामबुटोलले आँखाको नसामा असर पारी दृष्टि धमिला बनाउन सक्छ । त्यसैले यस्ता औषधि सुरु गर्नुअघि आँखाको जाँच गराउनुपर्छ । उपचारका क्रममा दृष्टि धमिलो हुने, रङ्ग देख्न गाह्रो भएमा वा आँखामा दुखाई भएमा तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । यस्तो अवस्थामा औषधि आफैँ रोक्न हुन्न । यस्ता बिरामीले औषधि सुरु गर्नुअघि आँखाको जाँच गराउने, बीचमा पनि महिनामा एकपटक दृष्टि जाँच गर्दा राम्रो हुन्छ भने उपचार समाप्त भएपछि अन्तिम जाँच गराउँदा जटिलता आउन पाउँदैन ।      गठियाका बिरामीका लागि : गठिया रोगले कहिलेकाहीँ आँखामा युभेटिइस सुजन वा कण जम्मा हु्ने समस्या ल्याउनसक्छ । यस्ता बिरामीले युरिक एसिड नियन्त्रणमा राख्ने, प्रशस्त पानी पिउने, रातो मासु, रक्सी र माछा कम खाने गर्नुका साथै आँखामा रातोपन आएमा, आँखा पोलेमा वा दृष्टि धमिलो भएमा तुरुन्त जाँच गराउनुपर्छ । रोग नियन्त्रणमा भइसकेका अवस्थामा पनि वर्षमा एकपटक आँखाको जाँच गराउन र आँखामा कुनै समस्या देखापरेमा तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ । रासस (प्रस्तुत विचार वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. कार्कीसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित)