सातै प्रदेशका सरकारी अस्पताल शिक्षण अस्पतालमा रूपान्तरण गरिने

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तर्गत देशभरका सातै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने भएको छ ।  आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अस्पतालहरूलाई आधुनिक शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको हो । यस योजनाअन्तर्गत कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार विस्तार, मेडिकल शिक्षा तथा चिकित्सा सेवामा परिचालन गरिने सरकारले जनाएको छ। सरकारले यी कोषमा रहेको दीर्घकालीन पुँजीलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने र गुणस्तरीय उपचार सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।  बजेटमा आगामी ३ वर्षमा ९० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य पनि राखिएको अर्थमन्त्री वाग्लेले बताए । उनले भने,‘स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ ।’ अर्थमन्त्री वाग्लेले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने पनि बताए ।   

त्रिवि शिक्षण, वीर र पाटनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपालको स्वास्थ्य शिक्षा र उपचार प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।  आगामी आर्थिक वर्ष २०८३ /०८४ को बजेटमार्फत सरकारले त्रिभुवन शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरिने घोषणा गरेको हो । सरकारले यी संस्थालाई विदेशी विद्यार्थीलाई समेत स्वास्थ्य शिक्षा प्रदान गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ । यससँगै नेपाललाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्र बनाउने रणनीति अघि सारिएको छ ।