अब सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने
काठमाडौं । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमै निःशुल्क उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत यससम्बन्धी विशेष व्यवस्था गरिएको हो । अर्थमन्त्री स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै बालबालिकाको जीवनरक्षालाई प्राथमिकतामा राख्दै क्यान्सर उपचारलाई पूर्ण रूपमा निःशुल्क बनाउने लक्ष्य लिइएको जानकारी दिएका हुन् ।
जलन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने
काठमाडौं । सरकारले जलन (बर्न) सम्बन्धी उपचार सेवालाई सुदृढ बनाउन देशका प्रमुख दुई अस्पतालको क्षमता विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको हो । अर्थमन्त्री स्वर्णीम वाग्लेले शुक्रबार संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै जलन उपचारका लागि वीर र कीर्तिपुरको पूर्वाधार तथा सेवा क्षमता विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिएका हुन् । सरकारले जलन उपचारलाई आपतकालीन र विशिष्टीकृत स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा मान्दै आधुनिक उपकरण, विशेषज्ञ जनशक्ति र उपचार प्रणाली सुदृढ बनाउने योजना अघि सारेको छ । यस योजनाले जलनका बिरामीलाई देशभित्रै गुणस्तरीय उपचार उपलब्ध गराउने र रेफरल प्रणालीमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।
नर्सहरूको रात्रिकालीन भत्ता दोब्बर
काठमाडौं । सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटीको भत्ता दोब्बर बनाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता बढाउने घोषणा गरेका हुन् । यस्तै, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।