ललितपुर महानगरको नयाँ फड्को : फोहोर संकलनमा विद्युतीय गाडी, वार्षिक ७० लाख बचत
काठमाडौं । ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति अन्तर्गत ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो । महानगर प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमकाबीच यी गाडीहरू हस्तान्तरण गरे । फोटोन कम्पनीका यी गाडीहरू विशेष गरी ललितपुरका पुराना र साँघुरा गल्लीहरूमा सहजै जानसक्ने गरी डिजाइन गरिएका छन् । ४.९ मिटरको टर्निङ रेडियस भएका यी गाडीहरूले महानगरको फोहोर व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउने विश्वास गरिएको छ । उनले उपलब्ध भएसम्म अब पेट्रोल र डिजेलबाट चल्ने गाडी नचल्ने बताए । महानगरकाअनुसार यी गाडीहरूमा ‘इलेक्ट्रिक बुम’ जडान गरिएको छ, जसले गर्दा फोहोर खन्याउन थप जनशक्तिको आवश्यकता पर्दैन । साथै, सबै गाडीहरूमा जडान गरिएको छ, जसले गर्दा गाडीको अवस्था र रुटको रियल–टाइम अनुगमन गर्न सकिनेछ । उनले भने, ‘हामीले एउटा नीति बनाएका छौं, जहाँसम्म उपलब्ध हुन्छ, हामी पेट्रोल र डिजेलबाट चल्ने गाडी किन्दैनौं । यो हाम्रो नगर सभाबाट अनुमोदन भएको नीति हो । ललितपुरलाई उज्यालो र हरियाली सहर बनाउने हाम्रो साझा प्रयासमा यो नयाँ अध्याय थपिएको छ ।’ यो पहलले वातावरण संरक्षण मात्र नभई महानगरको खर्चमा पनि ठूलो कटौती गर्ने उनको विश्वास छ । डिजेल गाडीको तुलनामा विद्युतीय गाडी सञ्चालन गर्दा वार्षिक करिव ७० लाख रुपैयाँ वचत हुने महानगरको प्राविधिक अध्ययनले देखाएको छ ।
अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
इनरुवा । जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए । नगरपालिकाको कार्यालयले पटकपटक सूचना जारी गर्दा नहटाएपछि नगरपालिकाको डोजरले हटाइएको उनले बताए । पछिल्लोपटक नगरपालिकाले यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गरिदिन अनुरोधसहितको सातदिने सूचना जारी गरेको थियो । कार्यालयको सूचनालाई अटेर गरेपछि आफैँले अतिक्रमित सडक क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए । पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री राखिएका, पसल व्यवसायका लागि सामान राख्ने गरिएकाले आवतजावतमा समस्या हुनुका साथै कुरुप पनि भएको गुनासो आएपछि राजमार्गका मापदण्डभित्र बनाइएका संरचना, कवाडी सामग्री, निर्माण सामग्री हटाउन सुरु गरिएको नगरप्रमुख भण्डारीले बताए । इनरुवा नगरपालिकाले सुरु गरेको कार्यलाई निरन्तरता दिनग स्थानीयले माग गरेका छन् । इनरुवा बजर क्षेत्रमा पनि सडक अतिक्रमण गरेर पसल सञ्चालन गर्नुका साथै भौतिक संरचना निर्माणका लागि सामग्री राखेकाले बजार क्षेत्रमा समेत खाली गराउनका लागि स्थानीयले माग गरेका हुन् । रासस
काठमाडौंलाई सडक मानवमुक्त सहर बनाउने, कोही नहुनेको जिम्मा महानगरले लिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ । सडक, चोक तथा सार्वजनिक स्थलमा सहयोग माग गरिरहेका अपाङ्गता भएका, विभिन्न दुर्व्यसनमा रहेका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले सडकमा, सडक किनारामा सहयोग माग्ने गरिरहेका भेटिन्छन् । दृष्टिविहिन व्यक्तिहरू आकासे पुल, पार्क तथा विभिन्न चोकहरूमा गीत गाएर सहयोग याचना गरिरहेका हुन्छन् । उनीहरुलाई सडक जीवनबाट पारिवारिक तथा सामाजिक पुनःस्थापना र रोजगार क्षेत्रमा आबद्ध गराउने छलफलको मुख्य विषय थियो । 'मानवीयताका सर्त तथा दायित्व पूर्ण पालना गरेर हामीले काठमाडौंलाई सडक मानवमुक्त सहर बनाउन खोजेका हौँ,' कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, 'जसको कोही हुनुहुन्न । उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको दायित्व हो । उहाँहरूको जिम्मेवारी हामी लिन्छौं । तर, काम गर्ने क्षमता हुँदाहुँदै माग्न थाल्नु, घर परिवार हुँदाहुँदै बेसहारा जस्तो बनेर सडकमा आउने क्रम रोक्नु पर्छ । रोकिनु पर्छ । यसका लागि हामीले काम गर्ने हो ।' सडक आश्रित मानव व्यवस्थापन गर्दा मानव अधिकारमैत्री र सहभागितामुलक उद्धार तथा व्यवस्थापन गर्ने, एकीकृत रुपमा उद्धार गरेपछि आवश्यकताका आधारमा अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, दुर्व्यसन जस्ता अवस्थाका आधारमा व्यक्तिहरूको वर्गीकरण गरेर मानवोचित व्यवस्थापन गरिने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । 'अल्पकालीन आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य परीक्षण उद्धारका क्रममा अवलम्बन गरिने प्रक्रिया हुन्,’ उनले भनिन्, 'उद्धार गरिएका व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान सकिएपछि पारिवारिक तथा सामाजिक पुनःस्थापना, रोजगार तथा स्वरोजगारका लागि सिप विकास तालिम सञ्चालन, स्वरोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण ऋण जस्ता कामका लागि कानुनी तथा नीतिगत व्यवस्था गर्ने र त्यसका आधारमा सहकार्य, समन्वय र सहभागितामा आधारित कार्यक्रम सञ्चालन गरिने छन् ।' परिवार र समाजबाट बहिष्करणमा परेपछि लैङ्गिक तथा यौनिक अल्पसंख्यक पहिचान भएका व्यक्तिहरू सडकमा आश्रित हुनु परेको छलफलमा सहभागीले काम गर्दाको अनुभव सुनाए । पेशा र रोजगार क्षेत्रमा जाँदा पहिचान, सामाजिक सुरक्षा, मर्यादा र आत्मसम्मानमा स्वीकार नगरिएका कारण सडकमा माग्नु परेको अवस्था सहभागीहरूले सुनाए । दृष्टिविहीन व्यक्तिहरू सडक, सार्वजनिक यातायात र बजार क्षेत्रमा गीत गाउनु पर्ने अवस्थाका विषयमा छलफल गर्दै दृष्टिविहिनहरुका लागि रोजगार स्वरोजगारको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिइएको थियो । सडकमा आश्रित युवाहरूमा लागूऔषधको दुर्व्यसन रहेकोले उहाँहरूलाई परिवारमा पुनर्मिलन गराउनु अघि सुधार केन्द्र तथा पुनःस्थापना केन्द्रमा राखेर आचरण तथा व्यवहार सुधारमा काम गर्नु पर्ने खाँचो देखाइएको छ । छलफलमा अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूसँग सहकार्य गर्ने, पुनःस्थापना र सशक्तीकरणका कार्यक्रममा संयुक्त मोडेल बनाउने विषय उठान भएका थिए ।