महानगरले गर्‍यो २ हजार ४२१ सडक आश्रितको उद्धार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘मानवतामा आधारित सहर’ निर्माण गर्ने लक्ष्यसहित सडक सहयोगापेक्षी रहित काठमाडौँ बनाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७४ मंसिर १ गतेदेखि सडकमा आश्रित तथा सहयोगको अपेक्षामा रहेका व्यक्तिहरूको उद्धार, व्यवस्थापन, पारिवारिक पुनर्मिलन र सामाजिक पुनःस्थापनाको काम गर्दै आएको जनाएको छ । महानगरका अनुसार हालसम्म २ हजार ४२१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ हजार ५७१ पुरुष र ८५० महिला रहेका छन्। यस अवधिमा ८८३ जनाको पारिवारिक पुनर्मिलन तथा ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ। सडकमा आश्रित व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान गर्न तिलगंगामा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। २०८३ वैशाख २० गते महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, उपत्यका प्रहरी कार्यालय र मानव सेवा आश्रमबीच भएको सम्झौतापछि सञ्चालनमा आएको सेन्टरमा जेठ २१ गतेसम्म २०२ जनालाई सेवा प्रदान गरिएको छ। तीमध्ये ६३ जनाको पारिवारिक पुनर्मिलन, ७१ जनाको सामुदायिक पुनःस्थापना र ४२ जनाको स्वेच्छिक बहिर्गमन भएको छ। महानगरले २०७६ असोज २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरी माग्ने पेशालाई निरुत्साहित गर्ने अभियानसमेत सुरु गरेको थियो ।  २०८२ मंसिर १७ गते मानव सेवा आश्रमसँग पुनः सम्झौता गरी सहयोगापेक्षी व्यक्तिहरूलाई मानवोचित बासस्थान, स्याहार तथा पुनःस्थापनाको कार्यक्रमलाई थप प्रभावकारी बनाइएको जनाएको छ । उद्धार गरिएका व्यक्तिहरूमध्ये अधिकांशमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, सामाजिक व्यवहारमा कमी, परिचय खुलाउन नसक्ने अवस्था, कुपोषण, घाउचोट तथा कुलतसम्बन्धी समस्या देखिएको महानगरले जनाएको छ । केही व्यक्ति पारिवारिक समस्या, लागूऔषध तथा मदिरा सेवनका कारण सडकमा पुगेका छन् भने कतिपयले माग्ने कार्यलाई पेशाका रूपमा अपनाएको पाइएको छ । उद्धारपछि आश्रममा रहँदा ३२३ जनाको निधन भएको तथ्याङ्क छ । हाल मानव सेवा आश्रममा ३४४ जना आश्रित रहेका छन् । महानगरले सहयोगापेक्षी व्यवस्थापनलाई बहुक्षेत्रीय विषयका रूपमा व्याख्या गर्दै गरिबी, अशिक्षा, बेरोजगारी, अपाङ्गता, कुलत, पारिवारिक तथा सामाजिक द्वन्द्वजस्ता कारण न्यूनीकरण गर्ने नीति तथा कार्यक्रम ल्याउने जनाएको छ । साथै, भविष्यमा कोही पनि सहयोगापेक्षी बन्न नपर्ने अवस्था सिर्जना गर्न व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवस्थापनमा केन्द्रित दिगो संयन्त्र विकास गरिने उल्लेख गरेको छ । महानगरले अभियान सफल बनाउन मानव सेवा आश्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा अभियन्ताहरूको योगदानको उच्च प्रशंसा गरेको छ ।  

धनगढी उपमहानगरपालिकामा दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड संकलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।      सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले जानकारी दिए । आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ ।       हाल दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै सङ्कलन केन्द्र सञ्चालन गरेको छ । रासस      

अवैध पार्किङमाथि एक्सनमा उत्रिँदै महानगर, भाडाको १० प्रतिशत कर तिर्न उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी स्तरबाट सञ्चालन भइरहेका पार्किङ व्यवसायलाई कानुनी दायरामा आउन निर्देशन दिएको छ । महानगरपालिका क्षेत्रभित्र निजी जग्गा, व्यावसायिक भवन, घर, पसल, ग्यारेज, वर्कशप, गोदाम, टहरा तथा खाली जग्गामा सञ्चालन भइरहेका पार्किङ व्यवसायले सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको हो ।  यस्तै, सम्पत्ति भाडामा लगाएबापत प्राप्त हुने रकममा १० प्रतिशत बहाल कर तिर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै महानगरले आर्थिक ऐनअनुसार तोकिएको कर तथा शुल्क बुझाउन पनि आग्रह गरेको छ । महानगरले हाल सञ्चालनमा रहेका पार्किङ व्यवसायीलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिँदै अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । राजस्व चुहावट नियन्त्रण र व्यवसायलाई औपचारिक दायरामा ल्याउने उद्देश्यले महानगरले पछिल्लो समय विभिन्न व्यवसायमाथि अनुगमनलाई तीव्र बनाएको छ ।