बालेनको शैलीमा गोपी हमाल, अतिक्रमित जग्गामा डोजर लगाउने
काठमाडौं । धनगढी उप-महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरू सात दिनभित्र आफैं हटाउन निर्देशन दिएको छ । उप-महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । सूचना अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १८ डिपो बजारमा पर्ने साबिक जिल्ला कैलाली, फुलवारी वडा नं. ५, सिट नं. ०२७-१०५७ को कित्ता नम्बर १०१, १०२, १०३ र ५५३ को जग्गामा अवैध रूपमा भौतिक संरचनाहरू निर्माण गरिएको पाइएको छ । क्रमशः २०९.२५, २०७.७५, १३५.४५ र ३९१.२५ वर्गमिटर क्षेत्रफल रहेका यी जग्गाहरू नेपाल सरकारको सरकारी तथा सार्वजनिक (ग्रीनबेल्ट, गाउँ विकास समितिको कार्यालय र चन्द्रोदय निम्न माध्यमिक विद्यालय) को स्वामित्वमा रहेका छन् । उप-महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचनामा भनिएको छ, ‘उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफै हटाउन सूचित गरिन्छ ।’ तोकिएको समयसीमा भित्र अवैध संरचनाहरू नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानून बमोजिम उप-महानगरपालिका आफैंले ती संरचनाहरू भत्काउने र कानूनी कारबाही प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ । उप-महानगरपालिकाले यस कार्यको प्रभावकारी कार्यान्वयन र आवश्यक समन्वयका लागि नगर प्रमुखको सचिवालय, नगर उप-प्रमुखको सचिवालय, जिल्ला प्रशासन कार्यालय कैलाली (शान्ति सुरक्षाका लागि), १८ नम्बर वडा कार्यालय र उप-महानगरपालिकीय प्रहरी बललाई समेत बोधार्थ पठाइसकेको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्साको ठोरी क्षेत्रबाट आइतबार बिहान सवा ६ बजे सिंहलाई पक्राउ गरिएको हो । जिल्ला अदालत पर्साले जेठ १२ गते नै उनीसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले उक्त आदेश जारी गरेको बताइएको छ । पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
२० करोडको लगानीले फेरियो नगरकोटको मुहार
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ स्थित पर्यटकीय गन्तव्य नगरकोट यतिबेला तीनै तहका सरकारको लगानीले तीव्र रूपमा विकास हुँदै गएको छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा पर्यटन पूर्वाधारमा भएको लगानीले नगरकोटको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । विगत एक दशकदेखि जीर्ण बनेको भक्तपुर-नगरकोट सडकले नगरकोटको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको थियो । तर चाँगुनारायण नगरपालिकाले सडक कालोपत्र गरेपछि र संघ, प्रदेश तथा स्थानीय सरकारको वार्षिक २० करोड रुपैयाँभन्दा बढी लगानीले नगरकोटको विकासले गति लिएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा बासिन्दाले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले पछिल्लो चार वर्षमा नगरकोटले उल्लेखनीय परिवर्तन हासिल गरेको बताए । उनले भने, ‘ठेकेदारले अलपत्र पारेको भक्तपुर-नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो। नगरकोट भ्रमण वर्ष २०८२ सञ्चालन गरियो । चाँगुनारायण नगरपालिकासँगै काभ्रेको मण्डनदेउपुर, बनेपा तथा काठमाडौंको शङ्खरापुर नगरपालिकाले पनि नगरकोट जोड्ने सडक स्तरोन्नति र कालोपत्र गरेपछि पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।’ उनका अनुसार नगरकोटमा खानेपानी ट्याङ्की निर्माण गरी घरघरमा धारा विस्तार गरिएको छ । साथै बतासेडाँडामा बुद्ध मूर्ति तथा विभिन्न शालिक स्थापना, पर्यटकीय संरचना निर्माण, बसपार्कदेखि होटलसम्म पुग्ने सडक स्तरोन्नति, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार, सरसफाइ अभियान, शुक्रबारे हाटबजार सञ्चालन तथा पर्यटक सुरक्षालगायतका कार्यक्रमले विकासलाई गति दिएका छन् । वडाध्यक्ष लामाले नगरकोटमा तामाङ सङ्ग्रहालय स्थापना गर्ने योजनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिए । साथै कम्तीमा १० श्ययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको र नगरकोटलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको बताए । सार्वजनिक सुनुवाइमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपालगायत विभिन्न दलका प्रतिनिधिहरूले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गर्दै जनप्रतिनिधिहरूको कार्यसम्पादन सकारात्मक रहेको बताए । वडासचिव राजेन्द्र गणेशका अनुसार चालु आर्थिक वर्षमा वडाबाट विभिन्न शीर्षकमा १ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । वडामा स्वीकृत १०० योजनामध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने ३८ वटा निर्माणाधीन छन् । यस अवधिमा १०१ वटा घटना दर्ता भएका छन् भने ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।