मेरो कार्यकालमा गाउँपालिकाका ९५ प्रतिशत घरधुरीमा बिजुली पुर्याउने लक्ष्य राखेको छु – अध्यक्षसँगको अन्तर्वार्ता

मुलुक कोरोना महामारीको चपेटामा परेसँगै प्रदेश १ अन्तर्गत उदयपुर जिल्लाको उदयपुरगढि गाउँपालिका पनि प्रभावित बन्न पुग्यो । संक्रमण रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको छ । यस गाउँपालिकाले संक्रमितको घरमै गएर हेरचाह गर्नेदेखि फोन सम्पर्कबाट नियमित अपडेट लिने गरेको छ भने उपचारको प्रबन्धका लागि राम्रो समन्वय पनि गरेको छ । यसैक्रममा गाउँपालिकाले कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि, स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : अहिले कोरोनाका कारण विश्व नै आक्रान्त छ, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ? अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि हामीले पालिकाको तर्फबाट सम्पूर्ण प्रयासहरू जारी राखेका छौं । यहाँका स्वास्थ्यकर्मीहरुसँग कोरोना विश्वव्यापी महामारीको स्तर, भाइरस सर्ने विधि, संक्रमितमा देखिने लक्षण तथा सम्भाव्य उपचारका उपायहरूबारे छलफल गरेका छौं । त्यसैगरी, नागरिकस्तरमा यस रोगका लक्षणहरू, संक्रमण रोक्न अपनाउनुपर्ने बहुआयामिक सावधानीहरू लगायतका सम्बन्धमा पनि सु–सूचित गराएका छौं । यसो गर्नका लागि पालिकाभित्रका वडामा माइकिङ गर्ने काम गरेका छौं भने स्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई हामीले अग्राह गरेका छौं । कोरोना संक्रमण दर हामीले कल्पना गरेभन्दा द्रुत रूपमा फैलिएको छ । कोरोनासँग लक्षण देखिएका बिरामीलाई एन्टिजेन र पीसीआर परीक्षण निःशुल्क रुपमै गर्दै आएका छौं । उक्त पीसीआर वा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएका बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने होम आइसोलेसनमा बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्यमा समस्या भएको वा जटिल अवस्था आएको खण्डमा अस्पताल पुर्याई उपचार गर्ने व्यवस्था समेत मिलाएका छौं । गाउँपालिकाको केन्द्रमा हामीले ६ बेडको कोभिड अस्पताल पनि स्थापना गरेका छौं । यस अस्पतालमा १ जना एमबीबीएस डाक्टर, १ जना स्टाफ नर्स र कार्यालय सहयोगी राखेका छौं । अस्पतालले अन्य रोगका बिरामीलाई विभिन्न सेवा सञ्चालन गरी सेवा प्रवाह गर्दै आएको छ । दोस्रो चरणको महामारी पालिकामा व्यापक फैलिएपछि विपद् व्यवस्थापन समितिको गठन, शीघ्र उद्धार कार्यदलहरूको गठन र रकम व्यवस्था लगायतका सङ्गठनात्मक कार्यहरू सम्पादन पनि भएका छन् । पालिकाले स्वास्थ्यचौकीहरूमा अत्यावश्यक औषधिहरूको आपूर्ति व्यवस्था मिलाउनेदेखि कोरोना रोकथामका लागि आवश्यक उपकरणहरू जस्तै–थर्मल गन, मास्क, उपकरणहरूको खोजी गर्ने, शङ्कास्पद संक्रमितहरुलाई अलग्गै राख्नको लागि क्वारेनटिनस्थलको पहिचान र त्यसको निर्माणका लागि सुरक्षाकर्मीहरूसँग समन्वय गर्ने कार्य पनि अघि बढाएका छौं । गाउँपालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ? पालिकामा महामारी गत वर्षभन्दा यस वर्ष व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । कोरोनाको समयमा पालिकाभित्रका धेरै ठाउँमा पूजा तथा विवाहहरू भए । पूजाआजामा धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो, त्यसैले जहाँजहाँ पूजा तथा भीडभाड धेरै भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पा¥यो । पालिकाका सबैजसो वडा नै कोभिडबाट प्रभावित भएका छन् । पालिकाका धेरै नागरिकहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ भने कोभिडका कारण ३ जना नागरिकहरूको ज्यान पनि गएको छ । तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम केके भए नि ? हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर एवं जीर्ण थियो । हामी पालिकामा निर्वाचित भएर आएपछि विकासनिर्माणका कामहरू धेरै भएका छन् । गाउँपालिका विकास र सम्बृद्धितर्फ उन्मुख हुँदै गएको छ । स्थानीय सरकार बनेपछि पालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । हाम्रो पालिका ५ ओटा गाविस अनि १० ओटा वडा मिलेर बनेको छ । सडक सञ्जालको कुरा गर्दा पालिकाको सबै वडा तथा टोलमा सडक पुगेको छ । हामीले ८५ प्रतिशत घरधुरीमा खानेपानी पुर्याएका छौं भने हरेक बस्तीमा धेरै हदसम्म खानेपानी सुविधा सुनिश्चितताका लागि पनि काम गरिरहेका छौं । हामी निर्वाचित भएर आउनुभन्दा अगाडि कमैको घरमा मात्र बिजुली पुगेको थियो । हामी स्थानीय तहमा निर्वाचित भएर आएको ६ महिना पश्चात् गाउँपालिकालाई उज्यालो बनाउनु पर्छ भनेर लागि पर्यौं । ५ ओटा वडामा ३२ करोड रुपैयाँको आयोजना अन्तर्गत बिजुली पुर्याइ बत्ती बाल्ने कामको सुरुवात भएको छ । २८ करोड रुपैयाँ बराबरका योजना अन्तर्गत वडा नं. ४, ५ र ८ मा बाँकी रहेको काम भइरहेको छ भने यो काम ८० प्रतिशत पुरा भइसकेको छ । बिजुलीका ३ हजार थान मिटरबक्स चाहिँ वितरण गरिसकेका छौं भने बाँकी रहेको १५ सय थान मिटरबक्स खरिद गर्नको लागि सम्बन्धित निकायमा रकम जम्मा गरिसकेका छौं । १५ सय ओटै मिटरबक्स ल्याएर वितरण ग¥यौं भने करिब ४५ सय घरधुरीलाई बिजुली पुग्छ । हाम्रो कार्यकाल भित्र नै ९५ प्रतिशत घर धुरीमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । त्यसैगरी, यती मात्र नभई हरेक क्षेत्रमा परिवर्तन र विकास भएको छ भने महत्वपुर्ण काम पनि धेरै भएका छन् । पर्यटकीय क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । प्रत्येक वडामा पालिकास्तरमा खेलमैदानका कुरालाई पनि हामीले जोड दिएका छौं । स्थानीय सरकार प्रमुख भएर काम गर्नुपर्दा के कस्ता चुनौतीको सामना गर्नुभयो ? गाउँपालिकाको नेतृत्व सम्हालेको ४ वर्ष भित्र चुनौती धेरै आए । व्यवस्थाभित्रको समस्या एकातिर छ । संघीयता कार्यान्वयनको सुरुवाती चरणमा काम गर्नुपर्ने भएकाले सीमित बजेट, कर्मचारीको अभाव समस्याकै रूपमा देखाप¥यो । नेतृत्व गर्ने कुरामा, काम गर्दा अप्ठ्यारा स्थितिहरू त आउँछन् नै । बढि खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेका छन् । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा संघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुको एक वर्ष हामीलाई कागको कुइरोमा अल्मलिएजस्तो भयो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरुबाट स्थानीय सरकारका अधिकार क्षेत्रलाई प्रष्ट पारिसकेका छौं । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । अर्कोतर्फ केन्द्र र प्रदेशले दिने अनुदानको दायरामा रहेर योजना बनाउनुपर्ने बाध्यता छ । कोभिडले पनि २ वर्ष धेरै समस्या भयो । जनताको इच्छा र चाहना बढि नै छ । हामीसँग स्रोत साधन त्यसको तुलनामा धेरै कम छ । त्यही पनि उपलब्धिहरू हासिल गरेका छौँ । स्थानीय बासिन्दाको माग कसरी सम्बोधन गरिरहनुभएको छ ? हामी जनताबाटै निर्वाचित भएर आएका हौँ । मानिसहरूको आवश्यकता असिमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता के कति पूरा गर्नुभयो ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै पुरा गर्न सफल भएका छौं । पूरा गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेका थिएनौं । पर्यटन क्षेत्रको विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । हामीले घोषणापत्रमा उल्लेख गरेका करिव ७० प्रतिशत कुराहरू चाहिँ पुरा गरेका छौं भन्ने महशुस भएको छ । घोषणापत्रमा उल्लेख गरेका कुरा र तिनै प्रतिबद्धताको आधारमा हामी काम गर्दैछौं । प्रत्येक वडामा वडा भवनको निर्माण गर्ने तथा कर्मचारी व्यवस्थापन गर्नको लागि ध्यान दिइरहेका छौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुन सक्दैन । हामीले गर्छौं भनेका कुरा बाहेक अन्य कुराहरू महत्वपुर्ण पनि हुन सक्छन् । त्यसैले समग्र पालिकाको विकास निर्माणमै हामी केन्द्रीत छौं । अनि, गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरू परिवर्तन, रूपान्तरण र विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवाहरूको गुणात्मक तथा संख्यात्मक विकास र परिचालनले देशको विकास सम्भव हुन्छ । त्यसैले हामीले युवा रोजगारीमा पनि विशेष ध्यान दिइरहेका छौं । युवाको सिप विकासको लागि पनि हामीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । युवाहरूलाई कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छौं । यो आर्थिक वर्षमा ५० लाख रुपैयाँ बराबरको तरकारी उत्पादन गरेर बाहिर निकास गरेको अनुमान गरेका छौं । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । युवाहरू जुन पेशामा लागेका छन् त्यही पेशालाई राम्रो बनाउन आग्रह गरेका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । संघ र प्रदेश सरकारबाट आएका बजेट सही ठाउँमै प्रयोग गरेका छौं । त्यति हुँदाहुँदै पनि ठ्याक्कै भनेजस्तो काम हुन सकेको छैन । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं । अनि अहिलेका चुनौतीको रूपमा खडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि समग्र पालिकावासीलाई आग्रह गर्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्यबोध हुन जरुरी छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

पालिकाको विपद् कोषमा प्रदेश सरकारले पाँच लाख दिने

गण्डकी । गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई पाँच लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनःस्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न उक्त रकम दिन लागिएको हो । चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ । उनका अनुसार अहिले बाढी पहिरोको प्रकोप निकै बढेका कारण प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर सो रकम दिने निर्णय गरिएको हो । प्रदेशभरका जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गरी आवश्यकतानुसार उद्धार, राहत तथा पुनःस्थापना गरिने उहाँले जानकारी दिए । रासस

‘चुनौतीहरूलाई चिर्दै गाउँपालिकाको विकासमा गति दिन खोजेका छौं’

कोरोना भाइरससँग सिङ्गो विश्व जुधिरहेका बेला प्रदेश १ अन्तर्गत मोरङ जिल्लाको केराबारी गाउँपालिका पनि संक्रमण रोकथामका लागि विभिन्न प्रयास गरिरहेको छ । यस गाउँपालिका पनि यतिबेला आफ्नो सम्पूर्ण स्रोतको परिचालन गरी महामारी रोकथाम र नियन्त्रणमा लागि परेको छ । यसैक्रममा कोरोना भाइरस संक्रमणपछि गाउँपालिकाले कसरी उपचार सेवा सञ्चालन गर्यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा विकास निर्माणको काम र सेवा कसरी प्रवाह गरेका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो गाउँपालिकाकी उपाध्यक्ष शान्ती कुमारी भुजेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : कोरोना रोकथाम तथा नियन्त्रणको लागि पालिका स्तरबाट के कस्ता प्रयास भइरहेका छन् ? विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकाको आफ्नो स्रोत साधनले भ्याएसम्म कोरोना नियन्त्रणको प्रयास गरिएको छ । कोरोना संक्रमण दर हामीले कल्पना गरे भन्दा द्रुत रूपमा फैलिएको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । त्यसैले धेरै मानिसहरू संक्रमित हुनबाट जोगिए । गाउँपालिकाले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने व्यवस्था गरेका छौं । कोरोनाबाट संक्रमति भएका प्रत्येक घर परिवारलाई हामीले स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या गाउँबढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । होम क्वारेन्टिनमा पनि कोभिडका बिरामीहरू धेरै बसेका छन् । होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्यमा समस्या भएको वा जटिल अवस्था आएको खण्डमा कोभिड अस्पताल ल्याई उपचार गर्ने व्यवस्था मिलाएका छौं । नयाँ ठाउँबाट आउनेहरूलाई निगरानी गर्ने, उनीहरूलाई घरमै सुरक्षित व्यवस्थापन गर्ने काम गर्यौं । हामीले भाडामा गाडी हायर गरी एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्दै आएका छौं । गम्भीर खालका बिरामीहरूलाई समयमै उपचार पाउने गरी पालिकाकै एम्बुलेन्सले पुर्याईदिने काम गर्यौं । समुदाय स्तरमै पुगेर निःशुल्क रूपमा कोरोना जाँच गर्ने काम गरिरहेका छौं । रोकथाम र उपचार दुवै हिसाबले राम्रो भएको छ भन्ने लाग्छ । तपाईंको पालिकामा आजसम्म कतिजना कोरोना संक्रमित छन् ? गत वर्ष भन्दा यो वर्ष महामारी पालिकामा व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको हुनुभएको छ । पालिकाको ४ नं. वडा वाहेक सबै वडामा संक्रमिहरु देखा परेका छन् । पालिकाका धेरै नागरिकहरूलाई कोरोना संक्रमणको पुष्टि भएको छ भने केही नागरिकहरुको ज्यान पनि गएको छ । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । बर्खाको समय छ । बर्षायामको सुरुवातसँगै धेरै ठाउँमा बाढिपहिरो, भूक्षयको बढि प्रकोप हुने गर्छ । संक्रमितको संख्या बढ्दै गयो भने आइसोलेसन बेडको पनि अभाव छ । चुनौतीको रूपमा बिरामीहरूलाई एक्सरे गर्न पाएनौं । पालिकामा एक्सरे मेशिन नभएको कारण बिरामीको स्वास्थ्यको राम्रो परीक्षण गर्न पाएनौं । एक्सरे मेशिन पालिकामा भइसके पछि बिरामीहरूलाई अन्य ठाउँमा रेफर गरेर लानु पर्दैन । गाउँपालिकाबाट एक्सरे मेशिन खरिद गर्नको आगामी आर्थिक वर्षमा बजेटको विनियोजन गरेका छौं । हामीले अझैपनि पालिकाको अस्पतालमा अक्सिजन र स्वास्थ्य सामाग्रीको मात्रा बढाउनु पर्छ भन्ने योजना छ । कति मानिसहरुले कोरोनाको लक्षण देखिए पनि परीक्षण गर्न नमानिरहेको अवस्था छ । स्थानीय सरकार उपप्रमुख भएर काम गर्नुपर्दा के कस्ता चुनौतीको सामना गर्नुभयो ? स्थानीय तहको निर्वाचिन भएर आए पछि संघीयताको मर्मअनुसार समयमै कानुन नबन्दा केही समय काम गर्न समस्या भएको थियो । स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । सुरुमा संघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरू पनि राखेको छ । पालिकाको विकास निर्माण गर्ने बेलामा हामी कोभिडको सामना गरिरहेका छौं । गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी र अज्ञानता हाम्रा लागि ठूला चुनौती हुन् । सबै चुनौतीहरूलाई चिरेर हामी जनअपेक्षाअनुसार विकासमा गति दिन खोजिरहेका छौं । प्रर्याप्त स्रोत साधन हुँदा बिकासनिर्माणका काम प्रशस्त गर्न सकिन्छ भन्ने बिश्वास जागेको छ । निर्वाचन भएर आएको लगभग एक महिना नपुग्दै बाढि पहिरोले क्षतविक्षत नै बनायो । पालिकाको क्षमताले भ्यासम्म बाढि पहिरो पडितलाई सम्बोधन गर्ने कुरा र व्यवस्थापन गर्ने कुरामा लाग्यौं । तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ? हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । केही कच्ची सडकलाई कालोपत्रे गरेका छौं । त्यसै गरी हामीले सडककोस्तारोन्ती पनि गरेका छौं । बर्खा लागेर तथा डुबानको समस्या उत्पन्न हुने अवस्था हुने भएको कारण तटबन्धन निर्माणको काम पनि गरेका छौं । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ। प्रत्येक वडामा खानेपानीको समस्यालाई समाधान गरी कतिपय ठाउँमा डिप बोरिङ खानेपानी आयोजना पनि सञ्चालन गरेका छौं । सबै वडाका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छौं भने १० ओटै वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । त्यसै गरी स्वास्थ्यचौकी मात्र नभई टोलटोलमा खोप केन्द्रको पनि स्थापना गरेका छौं । पालिकाको तर्फबाट ८ ओटा २ कोठे भवन निर्माण गरेका छौं । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । त्यस्तै, शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । खेलमैदानको काम अघि बढेको छ । कृषि क्षेत्रमा पनि हामीले ठुलो फड्को मारेका छौं भने पकेट क्षेत्रका कार्यक्रमहरू पनि हामीले अगाडि बढाएका छौं । वडा नं. १ लाई तरकारी तथा गाई पालन, वडा नं. २ लाई फलफूल र बाख्रा, वडा नं. ३ लाई बाख्रा पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । त्यसै गरी वडा नं. ५ लाई तरकारी पकेट क्षेत्र छुट्याएका छौं भने कृषि र पशुका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । हामीले न्यायिक क्षेत्रमा पनि राम्रो काम गरेका छौं । हामीले पर्यटन क्षेत्रको प्रवर्द्धन पनि गरेका छौं । एक मात्र क्षेत्रमा नभई समग्र क्षेत्रमा सुधार र परिर्वतन आएको छ । स्थानीय बासिन्दाको माग कसरी सम्बोधन गरिरहनुभएको छ ? हामी जनताबाटै निर्वाचित भएर आएका हौँ । स्थानीय बासिन्दाकालाई उनीहरुको माग सम्बन्धित वडामा राख्नेको लागि आग्रह गरेका छौं । प्रत्येक वडामा टोल विकास संस्थाहरू गठन भएको छ र टोल विकास संस्था मार्फत स्थानीय बासिन्दाको मागलाई टोलले प्राथमिकता राखे पठाई सकेपछि उनीहरूको मागलाई पनि हामीले सम्बोधनगरेका छौं । सुरुको बर्ष देखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । गाउँवस्तीको अभाव, जनताको अफ्ठ्यारो, समस्या र आवास्यक्ता पहिल्याउँदै हल गर्ने हाम्रो कोसिस छ । हामीले वडास्तरबाट माग भई आएका योजनाहरूलाई समेटेर कार्यक्रम बनाउने गरेका छौं । हामीले गाउँपालिका भित्रका अधिकांश नागरिकहरूलाई पालिकाको तर्फबाट सेवा प्रवाहमा न्यूनतम आधारभूत कुराहरू परिपुर्ति गर्नको लागि हाम्रो प्रयत्न जारी छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ? नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । संघ र प्रदेश सरकारबाट आएका बजेट पनि सहि ठाउँमै प्रयोग गरेका छौं । त्यति हुँदाहुँदै पनि कहिले भने जस्तो काम नहुन सक्दैन । जति गर्न चाहेका थियौं त्यही गर्नको लागि सकेका छैनौं । तर , जति पनि हामीले पालिकामा विकास निर्माणको काम गयौं त्यो काम उपलब्धि मुल्क नै छ भन्ने मलाई लाग्छ । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं । यो भूगोलको परिचालन गर्ने भनेको नै नागरिकहरूले हो । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिकको पनि ठुलो भूमिका रहेको छ । स्थानीय स्रोतको परिचालन गरी विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु । अनि अहिलेका चुनौतीको रूपमा खाँडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्डको पुरा गरौं भन्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ त्यस कारण कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु ।