१ करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ ।    आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।  बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भएको छ भने प्याकिङ बाँकी रहेको उनले बताए । अब ११ लाख ९९ हजार मतपत्रमात्र छाप्न बाँकी रहेको छ ।   हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन र सिराहा गरी ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी भएको हो ।  शनिबारसम्म ६६ जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको थियो । आज थप एक जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।  अब काठमाडौं उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको जनाइएको छ । अब दुई दिनमा मतपत्र छपाइ सकेर प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिने जनाइएको छ । हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।   गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो । छपाइ भएको मतपत्र शुक्रबारदेखि आयोगले पठाउन सुरु गरेको थियो । पहिलो चरणमा कर्णालीमा मतपत्र पठाइएको थियो । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका दुर्गम जिल्लामा पनि मतपत्र पठाइएको आयोगले जनाएको छ । सहरी क्षेत्र र सुगम जिल्लामा भने मतपत्र पठाउन बाँकी छ ।

रास्वपाको नौलो सुरुवात : मतदातासँग करार, ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी अभियानमा नयाँ अभ्यासको सुरुवात गरेको छ । पार्टीले मतदातासँग करार गर्ने अवधारणा अघि सारेको हो । जसअन्तर्गत उम्मेदवार र मतदाताबीच स्पष्ट प्रतिवद्धता र जवाफदेहिताको सम्बन्ध स्थापित गर्ने दाबी रास्वपाले गरेको छ । पार्टीका सभापति रवि लामिछानेले आइतबार (आज) सामाजिक सञ्जालमार्फत उक्त करारपत्र सार्वजनिक गर्दै यसलाई परम्परागत घोषणापत्रभन्दा फरक अभ्यास भएको बताएका छन् ।  उनका अनुसार निर्वाचनमा जितेपछि गर्ने काम, समयसीमा, प्राथमिकता र सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रियासमेत करारपत्रमा उल्लेख गरिएको छ । रास्वपाले सार्वजनिक गरेको करारपत्रमा सुशासन, पारदर्शिता, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार तथा नागरिक सहभागितालाई मुख्य प्राथमिकतामा राखिएको छ ।  करारअनुसार निर्वाचित प्रतिनिधिले निश्चित समय अन्तरालमा कार्यप्रगति सार्वजनिक गर्नुपर्ने, प्रतिबद्धता पूरा नभए स्पष्टीकरण दिनुपर्ने र आवश्यक परे जनतामाझ पुनः विश्वासको मत लिनेसम्मको नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख छ । पार्टीका कोषाध्यक्ष लिमा अधिकारीका अनुसार यो अभ्यासले निर्वाचनपछि पाँच वर्षसम्म जनप्रतिनिधि सम्पर्कविहीन हुन्छन् भन्ने आलोचनालाई अन्त्य गर्ने विश्वास गरिएको छ । मतदाताले आफ्नो प्रतिनिधिसँग प्रत्यक्ष सरोकार राख्ने, वाचा कार्यान्वयन भए/भएको अनुगमन गर्ने र आवश्यक परे सार्वजनिक दबाब सिर्जना गर्ने आधार तयार हुने दाबी अधिकारीको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा रास्वपाले अघि सारेको यो मतदाता–प्रतिनिधि करार अवधारणाले अन्य दलहरूलाई पनि आफ्नो प्रतिबद्धता स्पष्ट पार्न दबाब दिने संकेत देखिएको छ ।  कोषाध्यक्ष अधिकारीका अनुसार करार पत्रमा समेटिएका विषय सहित रास्वपाले आफ्नो वाचापत्र फागुन ७ गते गर्नेछ ।  ‘फागुन ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने छ,’ अधिकारीले भनिन्, ‘जे बोल्छौं त्यही गर्छौं, जे गर्छौं त्यही लेख्छौं । सोही आधारमा तयार पारीएको वाचापत्र फागुन ७ गते सार्वजनिक गर्छौं ।

विश्वप्रकाश शर्माको दाबी– बदलिएको कांग्रेस बहुमतको नजिक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशव्यापी रूपमा कांग्रेसप्रति सकारात्मक जनलहर देखिएको जिकिर गरे । उनले पछिल्लो समय विभिन्न जिल्लाबाट नयाँ अनुहारहरू पार्टीमा आबद्ध भइरहेको उल्लेख गर्दै यसले कांग्रेसप्रतिको भरोसा बढ्दै गएको संकेत गरेको बताए ।  ‘अहिलेकै अवस्थाले कांग्रेस सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिन्छ,’ उनले भने ।  यही गतिमा जनमत विस्तार हुँदै जाँदा आगामी एक हप्ताभित्रै कांग्रेस बहुमतको तहमा पुग्ने आधार तयार हुने शर्माको दाबी रहेको छ । शर्माले कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनमुखी कार्यक्रममार्फत आफूलाई बदलिएको शक्तिका रूपमा प्रस्तुत गरिरहेको दाबी गरेका छन् ।  उनले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रयास तीव्र बनाइएको बताए । उनका अनुसार आसन्न निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा नभई देशको स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानको दिशामा जनमत प्राप्त गर्ने अवसर हो । जनताले अब स्थिर सरकार र परिणाममुखी नेतृत्व खोजिरहेका छन् । उनले भने, ‘कांग्रेस त्यही अपेक्षाको केन्द्रमा छ ।’ उपसभापति शर्माले पार्टीका नेता–कार्यकर्तालाई घरदैलो अभियान, मतदाता संवाद र नीतिगत बहसलाई तीव्र बनाउन निर्देशन दिँदै संगठनात्मक एकता कायम राख्न आग्रह गरे ।  उनले लोकतान्त्रिक मूल्यमान्यताको रक्षा, अवसरको समान वितरण र सुशासनलाई कांग्रेसको मुख्य एजेन्डा बनाइने पनि स्पष्ट पारे ।