गगनसँग ३ अर्ब छ भनेका कान्छारामसँग कांग्रेसले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर तामाङ (कान्छाराम)सँग स्पष्टीकरण सोधेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको हो । रामेछापका जिल्ला सभापति र पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे । ‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वकाविरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछ,’ सोधिएको स्पष्टीकरणमा भनिएको छ । तामाङले सभापति गगन कुमार थापासँग ३ अर्ब रूपैयाँ रहेको बताएका थिए । ‘शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ, फुट्नुभन्दा उसैले (गगन)जितोस् न । उसँग टन्नै पैसा छ । एक अरब अस्ती (चुनावमा) खर्च ग¥यो, २ अरब अझै छ,’ उनले भनेका थिए । उनको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
गृहमन्त्रीबारे हर्कराज राईको प्रतिक्रिया : मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् । विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिएका हुन् । गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरू सुनिने गरेकाले उनले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाई थियो । उनले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताए । अध्यक्ष राईले भने,‘त्यो विषय बस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला । उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अव हप्तामा दुई तिन चोटि सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’ अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराए ।
एमालेमा अध्यक्ष ओलीलाई ‘इग्नोर’
काठमाडौं । कुनै बेला नेकपा एमालेका पर्यावाचीका रुपमा चित्रण हुँदै आएका अध्यक्ष केपी शर्मा ओली अहिले पार्टीमै अल्पमतमा पर्न थालेका छन् । विशेष गरेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन र त्यसपछिको प्रतिनिधिसभा निर्वाचन २०८२ मा पार्टीले नराम्रो हार व्यहोरेपछि ओली पार्टीकै नेता कार्यकर्तामाझ अलोकप्रिय बन्दै गरेका हुन् । उनको अभिव्यक्तिले आउने आलोचना र विरोधले पनि नेताहरूले उनलाई मन पराउन छाडेका छन् । अधिकांश नेताहरूले प्रतिनिधिसभाको निर्वाचनमा उनको नाम पनि लिएनन्, भने विभिन्न प्रदेश तथा जिल्ला तहमा हुने निर्वाचनको प्रचारप्रसारमा उनलाई सहभागी पनि गराएनन् । उनको नाम लिएमा थप घाटा हुने विश्लेषण गर्दै उम्मेदवारहरूले न उनको तस्बिर प्रयोग गरे नत उनलाई सहभागी नै गराए । एक टेलिभिजन अन्तर्वार्तामा यस विषयमा धारणा राख्दै एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवारले पराजय हुने डर र त्रासले ओलीको तस्बिर प्रयोग नगरेको र प्रचार प्रसार सामग्रीमा पनि उनको तस्बिर नराखेको बताएका थिए । अहिले पार्टीका अधिकांश पदाधिकारीहरु नेतृत्व परिवर्तनको माग गरिरहेका छन् । पार्टीमा उनको प्रिय पात्रको परिचय बनाउँदै आएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि उनको विकल्प खोज्ने प्रयासमा छन् । एमालेले भोलि वैशाख ९ गते कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस मनाउँदैछ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा पनि पुष्पलाल श्रेष्ठ , मदन भण्डारी र मनमोहन अधिकारीको मात्र तस्बिर छ । यसअघिका प्रचार सामग्रीमा ओलीलाई हाइलाइट्स गर्ने गरिएकोमा अहिले उनको तस्बिर राखिएको छैन । विगतमा पार्टीका विभिन्न पर्चा पम्पलेट तथा प्रचारप्रसार सामग्रीमा ओलीलाई मुख्य प्राथमिकतामा राखेर प्रचार गरिँदै आएको थियो । एमालेले महाधिवेशनमा पनि ओलीलाई फोटोलाई आकर्षक ढंगले प्रस्तुत गरेको थियो । तर, वैशाख ९ गते हुने स्थापना दिवसको प्रचार सामग्रीमा उनको तस्बिर उल्लेख छैन । यसलाई पार्टीभित्र ओलीको बर्हिगमन चाहेको र शीर्ष नेताहरूले नै त्यसमा भूमिका खेलिरहेको बुझिएको छ ।