अछाम- १ मा एमालेका संस्थापकविरुद्ध एमालेकै उम्मेदवार, कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेसँगको करिब ५१ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएर भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेसँगै अछाम–१ को चुनावी माहोल असाधारण रूपमा तातेको छ । अछाममा एमालेको राजनीतिक जग बसाल्ने नेताकै रूपमा चिनिएका रावल आज त्यही दलविरुद्ध मैदानमा उत्रिँदा यो निर्वाचन व्यक्ति, विरासत र दलगत रणनीतिको त्रिकोणीय संघर्षमा रूपान्तरित भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट रावलसहित आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अछाम–१ मा नेकपाका भीम रावलले उम्मेदवारी दिएका छन् ।  रमाइलो त के भने जीवन एमालेमा बिताएका रावल पहिलोपटक एमाले विरुद्ध मैदानमा छन् । रावललाई एमालेबाट काउन्टर गर्दैछन् पूर्व माओवादी नेता दीपकबहादुर साउदले । यस्तै, नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाउदा ओमप्रकाश रावल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा उत्रिएका छन् । नेपाल मजदुर किसान पार्टीले सुरेन्द्र शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लोकेन्द्र शाहलाई मैदानमा उतारेका छन् । लोकेन्द्रबहादुर शाही नेकपा माओवादीको उम्मेदवार छन् भने भीमबहादुर कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०७९ को निर्वाचनमा भीम रावल उम्मेदवार थिएनन् । उक्त निर्वाचनमा पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै अछाम–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर मैदानमा थिए । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ कुँवरले १९ हजार ५३४ मत ल्याएर नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए । उक्त निर्वाचनमा बोहोराले १५ हजार ४५ मत ल्याएका थिए । तेस्रो लोकप्रिय मत स्वतन्त्र उम्मेदवार राजन कुँवरले पाएका थिए । उनले ४ हजार ३९२ मत प्राप्त गरेका थिए । यसपटक भने नेकपाले भीम रावललाई मैदानमा उतारेको छ, जसले समीकरणलाई पूर्णतः नयाँ दिशामा धकेलेको स्थानीय बताउँछन्। राजनीतिक विरासतका हिसाबले रावल बलिया देखिए पनि संगठनात्मक पक्षमा कांग्रेस र एमाले यसपटक भारी देखिन्छन् । स्थानीय मोती विकका अनुसार अछाम १ मा प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुन्छ । यी दुई पार्टीबीच नै प्रतिस्पर्धा हुने आँकलन विकको रहेको छ । गत आमनिर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १४ हजार ५२५ मत ल्याएर पहिलो स्थान हासिल गरेको थियो । उक्त निर्वाचनमा एमालेले १३ हजार ९३८ मत प्राप्त गरेको थियो । तत्कालीन नेकपा माओवादीले तेस्रो स्थान प्राप्त गर्दा उसले ७ हजार २२८ मत प्राप्त गरेको थियो । रास्वपाले ७८५ मत प्राप्त गरेको थियो । कुल १० पालिका रहेको अछामका निर्वाचन क्षेत्र–१ मा साँफेबगर नगरपालिका, मेल्लेख, चौरपाटी, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिका समावेश रहेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ४ पालिका प्रमुख जितेको छ भने तत्कालीन माओवादी केन्द्रले १ पालिका प्रमुखमा विजय हासिल गरेको छ । तत्कालीन गठबन्धनमा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादीले पूर्ण जित निकाल्दा अछाम १ मा एमाले शून्यको अवस्थामा रहेको छ । ४२ वडामध्ये कांग्रेसले १९, एमाले १३, माओवादी ५, एकीकृत समाजवादी २ र स्वतन्त्रले ३  वडामा जित निकालेका छन् । नेकपा उम्मेदवार रावलले राष्ट्रिय छवि र अछाममा गरेको योगदानका आधारमा जित सहज हुने दाबी गर्छन् । रावल स्वयं मतदाताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त देखिन्छन् । कांग्रेस उम्मेदवार भरतकुमार स्वाँर मुख्य प्रतिस्पर्धा एमालेसँग रहेको बताउँछन् ।  एमाले उम्मेदवार दीपक साउद जनाधार, संगठन र नयाँ अनुहार आफ्नो बलियो पक्ष भएको दाबी गर्छन् । रास्वपा उम्मेदवार ओमप्रकाश रावल अछाम–१ मा पनि घण्टी बज्ने दाबी गर्दै भन्छन्, ‘यस पटक जित रास्वपाकै हो ।’ अछाम–१ को चुनाव यसपटक प्रतीकात्मक रूपमा पनि रोचक बनेको छ । एमाले स्थापना गराएका भीम रावल आज तारा बोकेर नेकपाको उम्मेदवारको रूपमा मैदानमा छन् । हिजो एमालेसँग ‘कि तँ छैनस् कि म छैन’ भन्दै भिड्ने माओवादीबाट उदाएका दीपक साउद सूर्य बोकेर एमालेका उम्मेदवार बनेका छन् । २०७० मा रावलसँग सूर्य थियो, साउदसँग हँसिया–हथौडा । अहिले १२ वर्षपछि प्रतीक उल्टिएका छन् । अछाम–१ को मा टक्कर एमाले र कांग्रेसकै हुने स्थानीय विश्लेषक रतन चुँदाराको दावी छ ।

दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप लागेका ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको आरोप लागेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनी मंगलबार हर्क राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।  यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आफू स्वास्थ्य मन्त्री बनेपछि सहयोग गर्ने आश्वासनसहित प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले उनलाई पार्टीबाट निस्कासन गरेको थियो ।  उनलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरी कारबाहीसमेत गरेको थियो । यो आरोपका विषयमा भने साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मौन बसेको छ ।   

डोल्पामा दुई प्रतिनिधि सभा सदस्य उम्मेदवार कांग्रेसमा प्रवेश

काठमाडौं । डोल्पामा विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दिलबहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। मंगलबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न दल त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढिरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । पार्टीमा नयाँ प्रवेशको लहर चलेको बताए । ‘अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको छ,’ प्रवक्ता चालिसेले भने । निर्वाचन प्रचारमा पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिने उनको भनाइ छ ।  त्यसैगरी, कांग्रेसले पार्टी कार्यालयमा निर्वाचन प्रचारप्रसारको विषयलाई लिएर नियमित पत्रकार सम्मेलन गर्ने भएको छ ।  दुई दिनमा अपरान्ह ४  बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने भएको हो ।