चिलीलाई हराउँदै पेरु पुग्यो कोपा अमेरिका कपको फाइनलमा, ब्राजिलसँग भिड्ने
काठमाडौं । साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका कपको फाइनलमा पुगेको छ । चिलीलाई ३ गोल अन्तरले पराजित गर्दै पेरुले फाइनाल यात्रा तय गरेको हो । अब पेरुले उपाधीका लागि ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेर पनि गोल गर्न नसकेपछि उपाधी रक्षा गर्ने चिलीको अभियान भने चकनाचुर भएको छ । पेरुलाई फाइनलमा पुर्याउन इडिसन फ्लोरेसले २१, योसिमर युटिनले ३८ र पाओलो गुरेरोले ९१ मिनेटमा गोल गरेका थिए ।
क्रिकेटमा चीनलाई १० विकेटले हराउँदै नेपालकाे उत्कृष्ट विजयी शुरूवात
काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । नेपालको लागि पवन सर्राफले सर्वाधिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३÷१३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त खेल यही असार २० गते हुनेछ । रासस
कोपा अमेरिका कपः अर्जेन्टिना आउट, ब्राजिल फाइनलमा
काठमाडौँ । कोपा अमेरिका कप फुटबलको आज बिहान सम्पन्न खेलमा अजेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा ब्राजिलका लागि ग्राबिल जिससले १९ औँ र रोबर्टो फर्मिन्होले ७१ औं मिनेटमा गोल गरी फाइनल यात्रा सुरक्षित गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिना भने गोल गर्न असफल हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले अब उपाधिका लागि चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।