विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ । मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २(१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । दक्षिण कोरियाका लागि हवाङ इन बोम र ओ ह्युन ग्युले समान एकरएक गोल गरे । चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेज्चीले एक गोल फर्काए । खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो । खेलको ५९ औँ मिनेटमा लाडिस्लाभले गोल गर्दै आफनो टोलीलाई पहिलो अग्रता दिलाए । चेक रिपब्लिकको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलकोे ६७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । दक्षिण कोरियाका हवाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई एकरएक गोलका बराबरीमा ल्याए । त्यसैगरी, दक्षिण कोरियाका अर्का खेलाडी ओ ह्युनले खेलको ८०औं मिनेटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेनन र अन्ततः दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गर्यो । जितसँगै दक्षिण कोरियाले शीर्ष तीन अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । समूह ‘ए’अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो । यससँगै समूह ‘ए’मा समान तीन अङ्क बटुलेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीले पाए रातो कार्ड
काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक-एक गोल गरे । खेल सुरुआतको ९ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो । त्यसपछि खेलको ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए । विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७:४५ बजे हुनेछ ।
पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ । लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिएका छन् । केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका उनी अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुगेका हुन् । यसैबिच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले ४ जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ । नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन् । मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ । नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन र नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।