एक हजार युवालाई फेलोसिप, खेलाडीलाई भत्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका प्रतभिावान युवालाई फेलोसिप प्रदान गर्ने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले देशका १ हजार युवालाई छनोट गरेर फेलोसिुप प्रदान गर्ने बताएका हुन् । यस्तै, उनले खेलकुदको प्रोत्साहन गर्न खेलाडीलाई जिवन निर्वाह भत्ता प्रदान गरिने घोषणा गरेका छन् । उनले विभिन्न क्रिकेट रंगशाला निर्माण कार्यलाई प्राथमिकता दिने बताएका छन् ।
कर्पोरेट सुपर सिक्सेस : क्वार्टरफाइनल समीकरण पूरा
काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणका खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् । एसएस इभेण्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार क्वार्टरफाइनल समीकरण पूरा भएको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल दुवै ३र३ खेल जित्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन्। माछापुच्छ्रेले सोमवार समूहमा क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआईसी एशिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो। हारका बाबजुद एनआईसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो । एनआईसी एशियाले आइतबार नै २ खेल जितेको थियो । ५ ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार १२ खेल भएका थिए । एनसेल लिजेण्ड्सले सोमवार सूर्य नेपाललाई ५ विकेटले र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो । समूह ‘सी’ मा ३ खेलको सकिँदा सूर्य नेपाल, आईएमई ग्रुप र नेपाल बैंक तीनवटैले १र१ खेल जिते । नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो। सूर्य नेपालले सोमवार आईएमई ग्रुपलाई ११ रनले जितेको थियो । यो जित नै उसलाई दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो । समूह ‘बी’ बाट आईसीएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे । आईसीएफसी फाइनान्सले सोमवार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो। यससँगै समूहमा तीनै खेल जित्दै आईसीएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो । सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो। सिप्रदीले एक खेलमात्र गुमाउन पुग्यो । समूह ‘डी’ मा ३ टोलीले मात्र प्रतिष्पर्धा गरेका थिए। तीमध्ये सुबिसु २ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि ३ विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो। यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो । वाणिज्य बैंकले पनि सोमवार एनसेल इलाट्सलाई १३ रनले पराजित गर्यो। यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो । सोमवार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आईएमईले नेपाल बैंकलाई १८ रनले, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रीलाई ३० रनले जित्यो । यद्यपि, यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन । तीनदिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार हुँदैछन् । १५ वटा कर्पोरेट हाउसले प्रतिष्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले बताए ।
नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ चार विकेटले पराजित
काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको हो । जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो । नेपालका लागि कप्तान पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्सनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे । बलिङतर्फ वेष्ट इन्डिजका ओबेद म्याककोय र म्याथ्यु फर्डले दुई दुई तथा किमो पलले एक विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए । बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले वेष्ट इन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ । रासस