शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि, सदभावलाई करिअरको पहिलो ट्रफी

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन्। अन्तिम दिन २-अन्डर ७० स्कोर गर्दै समग्रमा २३-अन्डर २ सय ६५ मा उपाधि जितेका हुन्। यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२-होलको स्कोरको रेकर्ड समेत बराबरी गरे। सन २००८ को सुर्य नेपाल मास्टर्समा भारतीय समिम खानको २३-अन्डरको रेकर्ड बराबरी गरेका हुन्। यही प्रतियोगिताको दोस्रो दिन भने उनले ११-अन्डर ६१ खेल्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए। भुवन नगरकोटीलाई ४ स्ट्रोकले हराउँदै करिअरको ११औं उपाधि जित्दा शुक्रले १ लाख ४० हजार प्राप्त गरे। ४-अन्डर ६८ अंक जोड्दै समग्रमा १९-अन्डर २ सय ६९ सहित दोस्रो भएका भुवनले ९० हजार हात पारे। ४-अन्डर ६८ सहित समग्रमा १५-अन्डर २ सय ७३ मा सदभाव आचार्य तेस्रो भए। समग्रमा तेस्रो भएका १६ वर्षिय युवा गल्फर सदभावले पहिलो पटक एमेच्योरतर्फको उपाधि जितेका हुन्। उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन्। सुबासले शुक्रबार ७-अन्डर ६५ को स्कोर कार्ड बनाए। समग्रमा १४-अन्डर २ सय ७४ सहित चौंथो स्थान प्राप्त गरे। एमेच्योरतर्फ उनी दोस्रो भए। प्रोफेसनलतर्फ समग्रमा २-ओभर २ सय ९० सहित निरज तामाङ तेस्रो भए। उनले आज २-ओभर ७४ मा खेल सकाए। निरजले ६७ हजार प्राप्त गरे। ९(ओभर ८१ को खराब प्रदर्शन गरेका जयराम श्रेष्ठले समग्रमा ५-ओभर २ सय ९३ सहित चौंथो स्थानमा‌ प्रतियोगिता सकाए। उनले ५५ हजार नगद जिते। यसैगरी ४-ओभर ७६ सहित समग्रमा २ सय ९४ सहित टंक बहादुर कार्की पाँचौ भए। १-ओभर ७३ खेल्दै ६-ओभर २ सय ९४ सहित रामे मगर छैटौं भए। यस्तै ९-ओभर ८१ स्कोर गर्दै ८-ओभर २ सय ९६ सहित शिवराम पौडेल सातौं भए। पाँचौ, छैटौ र सातौ भएका खेलाडीहरुले क्रमश ४७ हजार, ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे।‌ समग्रमा १०-ओभर २ सय ९८ सहित सञ्जय लामा, बलभद्र राई र रबि खड्काले आठौं स्थान बाँडे। उनीहरूले जनही ३२ हजार प्राप्त गरे। सञ्जयले १०-ओभर ८२, बलभद्रले ५-ओभर ७७ र रबिले १-अन्डर ७१ मा अन्तिम‌ दिनको खेल सकाए। शुक्रले १-ओभर ३७ मा फ्रन्ट नाइनको खेल सकाए। पहिलो होलमा नै बोगी खेपेपनि दोस्रो, तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। छैटौ होलमा एक सट खेर फाल्दा ३(पारको आठौं होलमा ट्रीपल बोगी खेपे। नवौं होलमा भने एक सट बचाए। यसपछि ११औं, १२औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे। भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गर्ने क्रममा आठौं होलको बोगीका विरूद्ध तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १५औं र १६औ होलमा एक(एक सट बचाउँदै ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। राष्ट्रिय टिमका सदस्य सदभावले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा अन्तिम दिन फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा पाँचौ र नवौं होलमा बोगी खेपे भने उनले ५-पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि सदभावले ११औं, १२औं र १५औं होलमा एक(एक सट बचाए भने १७औं होलमा बोगी प्रहार गर्दै ब्याक नाइन पनि २-अन्डर ३४ मा पुरा गरे। सुबासले ७-अन्डर ६५ को सानदार नतिजामा फ्रन्ट नाइनको खेल सकाए। उनले पहिलो, तेस्रो, चौंथो, छैटौं, सातौं र आठौं होलमा कुल ६ बर्डी प्रहार गरे। पाँचौ होलमा भने बोगी खेपे। उनले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। ११औ र १४औ होलमा एक-एक सट बचाए भने ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे। तर सुबासले १५औं र १८औं होलमा बोगीको सामना गरे। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ उत्कृष्ट २१ मा पर्ने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे। विजयी खेलाडीहरुलाई सुर्य नेपालका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहीरी तथा पीजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

काठमाडौं ।  सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् । विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका हुन् । यससँगै अब नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको हो । खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी भएको थियो । त्यस्तै, लिग दुईको अङ्कतालिकामा चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका क्रमश: नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनीले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ । प्लेअफमा यी चार टोलीसहित च्यालेन्ज लिगको शीर्ष दुई टोली क्यानडा र जर्सी गरी ६ राष्ट्रको प्लेअफ छनोट हुनेछ । उक्त खेल नामिबियामा यसै महिनामा हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन् । जिम्वावेमा विभिन्न १० टोली प्रतिस्पर्धामा उत्रनेछन् । विश्वकप लिग दुईबाट नेपाल ओमान र स्कटल्यान्डले स्थान बनाए भने सुपर लिगबाट जिम्बावे र नेदरल्यान्ड्सले खेल्ने पक्का भइसकेको छ । अन्य टोलीको छनोट हुन भने बाँकी छ । जिम्बावेमा हुने विश्वकप छनोटमा आइसीसी सुपर लिगका पुछारका पाँच टोली, लिग दुईको शीर्ष तीन टोली र प्लेअफ छनोटबाट आउने शीर्ष दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्हालिएर खेल्दा जितिन्छ भन्ने आत्मविश्वास हुनाका साथै खेलाडीले अनुशासित भई ब्याटिङ गर्दा नेपालले कीर्तिमानी जित हासिल गर्न सकेको बताए । उनले अहिलेको नेपाली टोलीमा अद्भुत क्षमता भएको खेलाडी रहेको र उनीहरुले भविष्यमा नेपाली क्रिकेटका लागि राम्रो गर्नसक्ने बताए । यसैगरी, नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले युएईले दिएको लक्ष्य धेरै भए पनि जित निकाल्ने विश्वास नगुमेकाले विजयी हासिल गर्न सकेको भन्दै यस जितको श्रेय प्रशिक्षक मन्टी देसाईलाई दिन चाहेको बताए । प्रशिक्षक मन्टी आएदेखि नेपालली टोलीको माहोल परिवर्तन भएको र प्रत्येक खेलमा केन्द्रित हुन सिकाएको उनको भनाइ छ । देसाई नियुक्त भएपछि नेपालले लिग २ का पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हात पार्न सफल भएको थियो । रासस

प्रधानमन्त्री दाहालले विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ, आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’ ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’ ‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’ रासस