सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यान बिरुद्ध प्रदर्शन
काठमाडौं । बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै बिरोध प्रदर्शन भएको छ । शनिवार दिउँसो माईतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानबिरुद्ध प्रदर्शन भएको हो । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले निलम्वन गरेको थियो । गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन । प्रदर्शनमा अभियुक्त रमाउँदै, पीडित डराउँदै, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन, उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद, खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? क्यानका लठुवाहरुको बेइमानी, अभियुक्तहरुको जमानी लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।
फर्स्ट एसजी इन्टर स्कुल फुटसल प्रतियोगिता सम्पन्न, एनआइसी एकेडेमीले पहिलो
काठमाडौं । फर्स्ट एसजी इन्टर स्कुल फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सप्तगण्डकी डोजोले आयोजना गरेको फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । उक्त एकदिन प्रतियोगितामा एनआइसी एकेडेमीले पहिलो स्थान हासिल गरेको छ भने किङडम हिमालयन बोर्डिङ स्कुलले दोस्रो हुन सफल भएको छ । यस्तै, खेलको ‘म्यान अफ दि म्याच’को उपाधी एनआइसी एकेडेमीका अनिस जोशीले पाएका छन् भने ‘बेस्ट गोलकिपर’को उपाधी किङडम हिमालयन बोर्डिङका विष्णु तामाङले पाएका छन् । फुटसल प्रतियोगितामा ८ वटा स्कुलको सहभागीता रहेको थियो ।
पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन् । सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गरे । पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् । उदघाटनका अवसरमा खड्काले भने, ‘हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ । यस सेन्टरसँग सहकार्य गर्दै हामी राम्रा खेलाडी उत्पादन गर्छौं ।’ एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले क्रिकेट एक्सिलेन्स सेन्टर र विद्यालयमा निर्माण गरिएको सुविधासम्पन्न प्रशिक्षण स्थलले क्रिकेट विकासमा केही सहयोग पुग्ने बताए ।