कतार एयरवेजले ‘ए डिभिजन शहीद स्मारक लिग २०१९-२०’ प्रायोजन गर्ने

दोहा । कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ । यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एलईडी स्क्रीन तथा डिजिटल लगायतका सामाग्री प्रायोजन गर्नेछ । कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पुर्याउने छ । खेलकूदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी । ”

टेलिकमद्वारा खेलाडीहरुका लागि सम्मान तथा गिफ्ट प्याकेज उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बन्ने र खेलाडीहरुलाई सम्मान तथा विभिन्न गिफ्ट प्याकेज उपलब्ध गराउने भएको छ । पोखरामा मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने विज्ञप्तिमा जनाएको छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने छ ।

४ लाखले बढेर ९ लाख भयाे स्वर्ण पुरस्कार राशी, गौरिकाले मात्रै ६५ लाख रूपैयाँ पाउने

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सरकारले स्वर्ण जित्ने खेलाडीहरुलाई प्रतिव्याक्ति ४ लाख रूपैयाँ पुरस्कार बढाएको छ । यसअघि सरकारले ५ लाख मात्र दिँदै आएकोमा यो पटक भने बढाएर ९ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् । टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबैभन्दा धेरै पाउने भएकी छन् । प्रधानमन्त्रीले गरेको घोषणामा सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने भएकी छिन् । रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन् । त्यस्तै, उनले ३ कास्य पदक जितेकीले ९ लाख पाउने छिन् ।  यसरी हेर्दा उनले कम्तिमा ६५ लाख पाउने छिन्। काठमाडौंमा मंगलबार सम्पन्न भएकाे सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।