विकासन्युज

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।      सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट ९४ अर्ब ९५ करोड रुपैयाँ र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट एक खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबर असुली हुन बाँकी देखिएको हो ।      असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख (३ हजार ६२) करदाताबाट दुई खर्ब १९ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट चार अर्ब नौ करोड रुपैयाँ र अन्यतर्फ एक हजार ७७० करदाताबाट तीन अर्ब १५ करोड रुपैयाँ बराबर कर असुली हुन बाँकी छ ।      गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । 'बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा आठ अर्ब ७१ करोड रुपैयाँ असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ', वार्षिक प्रतिवेदनमा भनिएको छ ।       त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् १० अर्ब ३३ करोड रुपैयाँ असुल भएको जनाइएको छ ।      गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोड रुपैयाँ लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकामा २२ अर्ब २९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।  

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायत जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा आगजनी गरिएका गाउँपालिकाका एक स्कर्पियो र एक बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप सो बीमा रकम प्रदान गरिएको हो । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियामा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्नेजन्य प्रतिवद्धता पुनः व्यक्त गरेको छ ।

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ५ सय रुपैयाँले घटेको सुन मंगलबार ३ हजार ८ सयले घटेको हो ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । मंगलबार एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

मातृभूमि लघुवित्तको कामु सीईओमा बटाला नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा बखत बहादुर बटाला नियुक्त भएका छन् । मंसिर १ गते बसेको संस्था सञ्चालक समितिको बैठकले बटालालाई कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका सीईओ लक्ष्मी प्रसाद शर्माले पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा नायव प्रमुख कार्यकारी अधिकृत बटालालाई कामु सीईओको जिम्मेवारी दिइएको हो । संस्थाका अनुसार बटालाले मंसिर २ गतेदेखि कार्यभार समाल्नेछन् । 

दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी

काठमाडौं । सन् २०१९ मा पेरूका हरितऊर्जा उद्यमी लुइस ज्विबाखले एउटा विद्युतीय सवारीसाधन (ईभी) कार किन्न खोज्दा उनी ४ हजार माइल टाढा क्यालिफोर्निया उडे, जहाँ उनले टेस्लाको मोडल–३ टेस्ट ड्राइभ गरे । तर टेस्लाको पेरूमै आधिकारिक आयातकर्ता नभएकाले जटिल आयात प्रक्रिया पार गर्न सकेनन् । तर उनी त्यतिमै रोकिएनन् । ‘एउटा मानिसले पहिले नै गाडी आयात गरेका रहेछन् र बेच्न चाहँदा रहेछन्, ‘ज्विबाख भन्छन्,’ म गएर हेरेँ र किनिहालेँ ।’ लिमाबाहिर समुद्री किनाराको घरमा चार्ज गर्न सुरुमा समस्या आयो । ‘ग्राउन्डिङ थिएन, त्यसैले गाडी चार्ज भएन,’ उनले भने, ‘हामीले काँटा लिएर भुइँमा गाड्यौं र गाडी चार्ज भयो ।’ उद्यमी लुइस ज्विबाख आज पेरूमा ईभी किन्न यति समस्या छैन । टेस्लाको शोरूम अझै नभए पनि बीवाईडी, जीली, जीडब्ल्यूएमजस्ता चिनियाँ कम्पनीका मोडेलहरू छिरेका छन्, जसले टेस्लाभन्दा झन्डै ६० प्रतिशत सस्तोमा ईभी बेचिरहेका छन् । टोयोटा, किया र हुन्डाईले पनि विभिन्न मोडेल ल्याएका छन् । चिनियाँ उत्पादकहरूले दक्षिण अमेरिकामा दुवै प्रकारका (इन्धन र इलेक्ट्रिक) सवारीसाधनको उपस्थिति बढाइरहेका छन् । पेरूमा यो वर्ष सेप्टेम्बरसम्म कूल १ लाख ३५ हजार ३९४ नयाँ गाडी बिक्री भए जसमा ईभी र हाइब्रिड संख्या कम भए पनि बढ्दैछ । यो अवधिमा ७ हजार २५६ युनिट बिके जुन वार्षिक रूपमा ४४ प्रतिशत वृद्धि हो । लिमाको उत्तरमा बनेको चिनियाँ ‘मेगापोर्ट’ चान्काई सञ्चालनमा आएपछि चीनका ईभी बिक्री झनै बढेका छन् ।  बीवाईडीले यस वर्षकै अन्त्यसम्म लिमामा चौथो डिलर खोल्दैछ । चेरी र गिलीसँग पेरूमा दर्जनभन्दा बढी डिलर छन् । ‘इलेक्ट्रिक कार यहाँ निकै राम्रो चलेको छ— दैनिक दुईभन्दा बढी ईभी बिक्छ,’ ज्विबाख भन्छन् ।  माग बढेपछि उनले आफ्नो नवीकरणीय व्यवसाय पनि विस्तार गरेका छन्— ईभी चार्जर, सोलार प्यानल र रिकुपरेटिभ लिफ्ट स्थापना सेवासहित । चिनियाँ ‘मेगापोर्ट’ चान्काई ‘एक डेभलपरले भने– पेन्टहाउस किन्छु यदि कार चार्जर राखिदियो भने । त्यसैले हामीले राखिदियौं,’ उनले भने। जाटो डाइनामिक्सका विश्लेषक फेलिपे मुनोजका अनुसार चीनमा मूल्ययुद्ध र अत्यधिक उत्पादनका कारण धेरै गाडी विदेश मध्यपूर्व, एसिया र ल्याटिन अमेरिकातर्फ पठाइँदैछ ।  चिलीका सीएभीइएम अध्यक्ष मार्टिन ब्रेस्सियानी भन्छन्, ‘चिनियाँले गुणस्तरमा वैदेशिक ब्रान्ड बराबरी गरिसकेका छन् ।’ यस वर्ष पहिलो त्रैमासमा चिलीमा बिक्री भएको यात्रुबाहक कारमध्ये २९.६ प्रतिशत चिनियाँ ब्रान्ड थिए । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार २०२४ मा ल्याटिन अमेरिकामा ईभीको बजार हिस्सा ४ प्रतिशत पुगेको छ । मेक्सिको र मध्य अमेरिकासहित सरकारी प्रोत्साहन र सस्ता चिनियाँ मोडेलका कारण यो सम्भव भएको हो । चिनियाँ ‘मेगापोर्ट’ चान्काईमा राखिएका चिनियाँ ईभी चिली, ब्राजिल र उरुग्वेमा ईभी बजार हिस्सा लगातार नयाँ रेकर्ड बनाइरहेको छ । चिलीमा १०.६ प्रतिशत, ब्राजिलमा ९.४ प्रतिशत र उरुग्वेमा त तेस्रो त्रैमासमा २८ प्रतिशत बनार हिस्सा रहेको छ । अर्जेन्टिनामा आर्थिक चुनौती हुँदाहुँदै पनि ईभी बिक्री बढ्दै छ । चीनको सबैभन्दा ठूलो कार निर्माता बीवाईडीले अक्टोबरमा अर्जेन्टिनामा आधिकारिक रूपमा प्रवेश गरिसकेको छ । यस सफलताको ठूलो हिस्सा स्थानीय विश्वसनीय आयातकर्तासँगको साझेदारी हो, जसले क्षेत्रअनुकूल डिजाइन र मूल्यका मोडेल ल्याएका छन् । उरुग्वेमा त बीवाईडी देशकै तेस्रो ठूलो विक्रेता बनेको छ, चेभरलेट र हुन्डाईपछि । चिनियाँ बजार हिस्सेदारी २०२३ यता दोब्बर भइसकेर २२ प्रतिशत पुगेको छ । उरुग्वेको पन्टा डेल एस्टेमा लग्जरी डिलर गन्जालो एल्गोर्रियगाले केही वर्षदेखि बीवाईडी मोडेल प्रदर्शन गर्न थाले । अहिले बीवाईडी नै मुख्य बिक्रीकर्ता बनेको छ । ‘चिनियाँले पहिला नै कडा हमला गरे,’ उनले भने । उरुग्वेमा चिनियाँ बीईभीको प्रारम्भिक मूल्य करिब १९ हजार डलरबाट सुरु हुन्छ । ‘दुई परम्परागत गाडीको मूल्यमा म तीनवटा चिनियाँ पिकअप किन्न सक्छ’ अर्को डिलरले भने । चिनियाँ मेगापोर्टले दक्षिण अमेरिकालाई ‘खोलिदियो’ चान्काई बन्दरगाह अब चिनियाँ गाडीहरूको प्रवेशद्वार बनेको छ— जहाँ प्रत्येक जहाजले ८ सयदेखि १ हजार २०० गाडी ल्याउँछ । यी गाडीहरू पेरूमै होइन, चिली, इक्वेडर र कोलम्बियातर्फ पनि पठाइँदैछन् । जुलाईमा मात्र ३ हजार ५७ गाडी आइपुगे । जनवरीको ८३९ भन्दामात्र आइपुगेका थिए । पेरूमा ठूलो स्थानीय गाडी उद्योग नभएकाले विरोध कम छ तर ब्राजिलमा भने तनाव बढेको छ । ब्राजिलमा बीवाईडी र जीडब्ल्यूएमले कारखाना खोलेका छन् । दुवै कम्पनीले उच्च भन्सारका कारण स्थानीय उत्पादन गर्नुपर्ने भएकाले कारखाना खोलेका हुन् । जीडब्ल्यूएमले २०२७ सम्म ब्राजिलबाट क्षेत्रभरि निर्यात सुरु गर्ने योजना बनाएको छ । तर ब्राजिलमा चिनियाँ गाडी ठूलो मात्रामा आयात पनि भइरहेका छन् । यस वर्ष विश्वकै सबैभन्दा ठूलो कार–क्यारियर जहाज २२ हजार  गाडी लिएर ब्राजिल पुगेको थियो । ब्राजिलले ईभीमा पुनः भन्सार बढाउन थालेको छ— २०२६ सम्म ३५ प्रतिशत पुग्नेछ । त्यसैले स्थानीय उत्पादन झनै महत्त्वपूर्ण बन्नेछ । अर्जेन्टिनाका लागि बीवाईडी प्रमुख स्टीफेन डेङ भन्छन्— २०२७ सम्म ब्राजिलबाट गाडी ल्याउनेछन् र अर्जेन्टिनामा पनि ब्राजिल जस्तै ईभीदर देखिन सकिनेछ । तर दक्षिण अमेरिकामा केही ठूला चुनौतीहरू अझै कायम छन्— विशेष गरी लामो दूरीको यात्रा र चार्जिङ स्टेशनहरूको असमान वितरण । ज्विबाख भन्छन्, ‘यदि तपाईं टुम्बेसदेखि टाक्नासम्म पेरूको सारा तटीय क्षेत्रमा यात्रा गर्न चाहनुहुन्छ भने अझै पनि गाह्रो छ ।’ ‘यद्यपि चार्जिङ सुविधामा समस्या छन्, कार चलाउन भने निकै सस्तो पर्छ र प्रायः कहिल्यै ग्यारेज सेवा आवश्यक हुँदैन,’ उनले थपे । अमेरिकी शुल्क घटेपछि हुन्डाईको ठूलो उडान, कोरियामा‍ ८६ अर्ब डलर लगानी गर्ने घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता

भुलसुधार गर्दै निफ्राले भन्यो- लाभांश प्रस्ताव भुलवस छुट्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश गायब भएको विषयमा भुलसुधार गरेको छ । बैंकले साधारण सभामा ६.३१ प्रतिशत वितरण गर्ने प्रस्ताव छुटेको भन्दै भुलसुधार गरेको हो । सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो । तर, बैंकले प्रकाशित गरेको साधारण सभा सम्बन्धी सूचनामा लाभांश प्रस्ताव उल्लेख छैन ।  बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले सातौं वार्षिक साधारण सभा मंसिर २३ गते बिहान ९ बजे बत्तीसपुतली काठमाडौंमा बोलाएको छ । सातौं वार्षिक साधारण सभाको सार्वजनिक सूचनामा सामान्य प्रस्ताव अन्तर्गतको बुँदा नं.४ भुलवस छुटेको बैंकले जनाएको छ ।  बैंकको सभामा गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरिक्षक बीआरएस न्यौपानोलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव छ । साथै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरूको लागि निर्वाचन गर्ने एजेण्डा छ । 

पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, कमजोर खाद्य स्वच्छता भेटियो

काठमाडौं । पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए । यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ ।  अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुली भन्छन्, ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो रहेको, आगोजन्य जोखिम न्युनीकरणका उपकरणहरुको व्यवस्था नभएको देखियो । यो चमेना गृहले व्यवसाय दर्ता गरेको पाइएन ।’ अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो ।  कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ कमजोर थियो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो । भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो । भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पीके चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको छ ।  कलेजमा राखिएको पानी शुद्धिकरण प्रविधि (वाटर ट्रिटमेन्ट प्लान्ट)मा पानी थिएन । प्लान्ट वरिपरि धुलैधुलो र फोहोर थियो । कलेजका छात्राहरूले पिउने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया फ्री (रहित) देखिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिए ।  कमजोरी देखियो । यसलाई सुधार गर्छौँ । अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले बताइन् ।  अनुगमन टोलीले कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्न, खाद्य अनुज्ञा अनुमति प्राप्त वस्तु मात्र विक्री वितरण गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न निर्देशन दिएको छ ।  अनुगमनका क्रममा टोलीले वडा बागबजारमा सञ्चालित विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थियो । विमला स्वीट्स एण्ड चार्ट हाउसले मिठाइजन्य खाद्यवस्तु विक्री वितरणका लागि अनुमति नलिएको फाष्टफुड सञ्चालनको अनुमतिमा नै मिठाइजन्य वस्तु विक्री वितरण गरेको पाइएकोले मिठाइजन्य वस्तु विक्री वितरणको व्यवसायिक अनुमति लिन निर्देशन दिइएको छ । यी दुवै खाद्य सेवा प्रदायकहरुले, मसीजन्य कागज ब्यागमा प्याकिङ गर्ने गरेको, सरसफाइको अवस्था सामान्य रहेको, आगोजन्य जोखिम न्युनीकरणको उपकरणहरू जडान नगरिएको, फोहोर फाल्ने डष्टबिन नछोपी राखिएको, कीट व्यवस्थापनमा ध्यान नदिएको देखिएको छ ।  

संसद विघटन असंवैधानिक भनेको एमालेले आव्हान गर्यो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्दैछ । बैठकका एजेन्डा प्रतिनिधि सभा विघटनको संवैधानिकता तथा यसबारे अदालतमा जाने–नजाने निर्णयमा केन्द्रित रहने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार पार्टीले प्रतिनिधि सभा विघटनलाई सुरुदेखि नै असंवैधानिक ठहराउँदै विभिन्न चरणमा जनपरिचालन जारी राखे पनि कानुनी चुनौती भने नदिएको भन्ने आलोचना बढिरहेको छ । नागरिक समाज र बुद्धिजीवी समूहबाट अदालतमा मुद्दा हाल्न दबाब आएपछि एमाले नेतृत्व यस विषयमा निष्कर्ष निकाल्न बाध्य बनेको बताइएको छ । बैठकले अब पार्टीले विघटनविरुद्ध कानुनी लडाइँ थाल्ने कि राजनीतिक आन्दोलनमै सीमित रहने भन्ने विषयमा औपचारिक निर्णय लिने बर्तौलाले जानकारी दिए ।