विकासन्युज

संसद विघटन असंवैधानिक भनेको एमालेले आव्हान गर्यो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्दैछ । बैठकका एजेन्डा प्रतिनिधि सभा विघटनको संवैधानिकता तथा यसबारे अदालतमा जाने–नजाने निर्णयमा केन्द्रित रहने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार पार्टीले प्रतिनिधि सभा विघटनलाई सुरुदेखि नै असंवैधानिक ठहराउँदै विभिन्न चरणमा जनपरिचालन जारी राखे पनि कानुनी चुनौती भने नदिएको भन्ने आलोचना बढिरहेको छ । नागरिक समाज र बुद्धिजीवी समूहबाट अदालतमा मुद्दा हाल्न दबाब आएपछि एमाले नेतृत्व यस विषयमा निष्कर्ष निकाल्न बाध्य बनेको बताइएको छ । बैठकले अब पार्टीले विघटनविरुद्ध कानुनी लडाइँ थाल्ने कि राजनीतिक आन्दोलनमै सीमित रहने भन्ने विषयमा औपचारिक निर्णय लिने बर्तौलाले जानकारी दिए ।

मंगलबार पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

काठमाडौं । पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ ।  पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । यही परम्पराअनुसार आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मङ्सिर ४ गते बिहीबार बिहान ९ः०० देखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताए । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित रूपमा यी सामग्री राखिएको र मार्गशीर्ष कृष्ण आमावास्याका दिन आगामी एक वर्ष यी सामग्री सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।  

राष्ट्र बैंकले तोक्यो विदेशी मुद्रा विनिमयदर, डलर १४२ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९० पैसा र बिक्रीदर १०१ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १० पैसा र बिक्रीदर ३४ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९८ पैसा र बिक्रीदर २२ रुपैयाँ ०८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ १४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा थपिए पाँच हजारभन्दा बढी मतदाता

सर्लाही । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो । नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए । सुरुदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उहाँको भनाइ थियो । कार्यालयको तथ्याङ्कानुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन् । आफ्नो विवरण सच्याउनसमेत एक हजार ३१७ जनाको उजुरी परेको निर्वाचन अधिकारी साहले जानकारी दिए । उक्त उजुरीमाथि पनि क्रमैसँग कारबाही भइरहेको उनले बताए । जिल्लाको यस तथ्याङ्क केही थप हुने उनले बताए । हालसम्म एकिन भइनसकेको भए पनि राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर्नका लागि पनि निवेदन परेको निर्वाचन कार्यालयका सूचना अधिकारी अरविन्दकुमार झाको भनाइ छ । राष्ट्रिय परिचयपत्रबाट प्राप्त निवेदन अबको केही दिनपछि स्वीकृत गरिने उनले बताए । मतदाता नामावलीमा दर्ता भएकामध्ये ५८.२८ प्रतिशत पुरुष र ४१.७२ प्रतिशत महिला छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरुप आयोगले मतदाता नामावली सङ्कलन र विवरण अद्यावधिक गरेको हो । फागुन २१ गतेसम्म १८ वर्ष पूरा हुने तथा हाल १६ वर्ष पूरा भएर नागरिकता बनाएका नेपाली नागरिकले मतदाता नामावलीमा नाम सङ्कलन गराउन आयोगले आह्वान गरेको थियो । विवरण अद्यावधिकअन्तर्गत त्रुटि सच्याउने, ठाउँसारी गर्ने तथा दोहोरो नामावली हटाउन धेरै निवेदन परेको निर्वाचन कार्यालयले जनाएको छ । आफैँले विवरण भरेर समय लिएर आउने सेवाग्राहीले दुई मिनेटदेखि बढीमा ३० मिनेटसम्ममा सेवा पाएका निर्वाचन अधिकारी साहको भनाइ छ । धेरै भीड भएको समयमा काम गर्ने कर्मचारी थोरै हुँदा सेवा प्रवाहमा केही सामान्य कठिनाइ रहे पनि सहभागी सबैले सेवा पाएका कार्यालय प्रमुख साहले दाबी गरे । कार्यालयसम्म आउन नसक्नेहरूले सेवा लिन नपाएको गुनासो गरेको भए पनि कार्यालयसम्म पुगेका कसैले त्यसै फर्कनु नपरेको उनको भनाइ छ । तर समय अभाव र अपायक परेका कारण जिल्लाका कुनाकन्दरामा रहेका नागरिकले सेवा दिन नपाएको गुनासो गरेका छन् । जिल्लाको चुरेक्षेत्रस्थित हरिवन नगरपालिका–१ बिलन्दीकी बुद्धिमाया तामाङले आफूले नाम दर्ता गराउन नपाएको गुनासो गरिन् । आफूजस्ता वयोवृद्ध नागरिकका लागि सरकारले घरमै पुगेर मतदाता नामावली सङ्कलनको सुविधा दिए आफूहरू पनि लावान्वित हुने उनको अपेक्षा छ । उमेर ढल्दै गएकाले यस जन्ममा आफ्नो मतदान गर्न नपाउने हो कि भन्ने चिन्ता रहेको उनको भनाइ थियो । हाल पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएसँगै जिल्लामा चार लाख ९५ हजार ८२१ जना मतदाता पुगेका कार्यालयले जनाएको छ ।

निफ्राको ६.३१ प्रतिशत लाभांश गायब, के भन्छन् बैंकका सीईओ ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को लाभांश गायब भएको छ । बैंक सञ्चालक समितिको गत भदौ १९ गते बसेको बैठकले प्रस्ताव गरेको ६.३१ प्रतिशत गायव भएको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो । लाभांश प्रस्ताव गरेको साढे २ महिनापछि बोलाएको साधारण सभामा उक्त लाभांश प्रस्ताव छैन। बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले सातौं वार्षिक साधारण सभा मंसिर २३ गते बिहान ९ बजे बत्तीसपुतली काठमाडौंमा डाकेको छ । तर, बैंकले प्रकाशित गरेको साधारण सभा सम्बन्धि सूचनामा लाभांश प्रस्ताव नै छैन ।  बैंकको सभामा गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरिक्षक बीआरएस न्यौपानोलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव छ । साथै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरूको लागि निर्वाचन गर्ने अजेण्डा छ । तर, बैंक सञ्चालक समितिको गत भदौ १९ गतेको बैठकले प्रस्ताव गरेको लाभांशको एजेन्डा सार्वजनिक सूचनामा  उल्लेख छैन । बैंककी सञ्चालक लिमा अधिकारीले घोषणा गरिसकेको लाभांश फिर्ता नहुने बताउँछिन् । साधारण सभामा सबैभन्दा बढी प्रश्न उठ्ने विषय लाभांश भएकाले फिर्ता हुन नसक्ने उनको भनाइ छ ।  ‘यदि घोषणा गरेको छ भने आइहाल्छ । यदि दिएन भने लाभांशको विषयमा सबैले सोधिहाल्नु हुन्छ । सबैभन्दा धेरै प्रश्न नै लाभांशका विषयमा उठ्छ । पहिला नै यति बाँडेर जान्छौं भनेर सार्वजनिक गरेपछि त्यो फिर्ता हुन सक्दैन,’ उनले भनिन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी लाभांश वितरण गर्ने बताउँछन् । साधारण सभामा लाभांशको एजेन्डा छुटेको हुन सक्ने भएकाले त्यसलाई सच्याउने उनले बताए । 

शिवम सिमेन्टले १२.५० प्रतिशत लाभांश पारित गर्न डाक्यो १०औँ वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न शिवम सिमेन्ट्सले वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १०औँ वार्षिक साधारण सभा मंसिर २५ गते बिहान साढे १० बजे राष्ट्रिय सभा गृह, काठमाडौंमा बोलाएको हो ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीका आधारभूत सेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने र १ जना संचालक समितिको नियुक्तिलाई सभाबाट अनुमोदन गर्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँको २.५० प्रतिशतका दरले १३ करोड ६४ लाख २० हजार २१२ रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशतका दरले ५४ करोड ५६ लाख ८० हजार ८५० रुपैयाँ नगद गरी कुल १२.५० रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मध्यरातमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर स्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।  हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए । प्रसाईंले देश ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिएका थिए । 

राष्ट्र बैंकले साढे ३ अर्ब रुपैयाँ मुद्दतीमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि लगानी गर्न लागेको हो । सूचनामा वाणिज्य  बैंकमा २ अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ६५ लाख रुपैयाँ लगानी गर्न लागेको उल्लेख छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम् कूल पुँजी कोष कायम रहेको र कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायतका सर्तहरु पूरा गरेको हुनुपर्नेछ ।