विकासन्युज

कुनै प्रणालीको प्रभाव नभएपछि देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

पैसा धेरै हुँदा पनि समस्या हुने रहेछ, बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने देखिँदैन : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय प्रणालीमा पैसा धेरै हुँदा पनि समस्या हुने गरेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले वित्तीय प्रणालीमा पैसा पर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए ।  ‘सबै तीरबाट पुस गर्दा पनि गाह्रो छ । अहिले हामीसँग पर्याप्त पैसा छ । तर, लगानी हुन सकेको छैन । क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षेत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या हुन्छ, कहिले पैसा धेरै भएर समस्या,’ उनले भने । लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनले बताए । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ । ‘विगतमा बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायत क्षेत्रमा लगानी गरिन्थ्यो । तर, पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो । विद्यालय, हस्पिटल लगायतमा पनि लगानी छैन । अब के मा लगानी गर्ने त ?,’ उनले भने, ‘निजी क्षेत्रलाई अनुमति दिनु पर्यो भन्ने लाइसेन्सका लागि मारामार हुन्छ । त्यसैले कन्फिडेन्ट छैन ।’  उनका अनुसार २०५८/६० सालसम्म १ खर्ब रुपैयाँको बजेट थियो । तर, अहिले बजेटको आकार १८/१९ खर्ब पुग्दा पनि अवस्था परिवर्तन नभएको उनको भनाइ छ । साथै, पछिल्ला विभिन्न घटनाहरूले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण (ब्यालेन्ससिट) बिग्रिएको उनले बताए । बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको समेत उनको भनाइ छ ।

२१ अर्ब रुपैयाँको ५० दरका नयाँ नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको ५० दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले ५० रूपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको हो । सो आधारमा राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको ५० दरका ४२ करोड नयाँ नोट छाप्न लागेको हो । ४२ करोड थान नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले चिनियाँ कम्पनीसँग सम्झौता गरेको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ बैंक नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको विभागले जनाएको हो ।  ५० दरका नयाँ नोट छाप्न राष्ट्र बैंकले गत साउन ९ गते बोलपत्र आह्वान गरेको थियो । सो बोलपत्र प्रक्रियामा प्राप्त प्रस्तावहरूमध्ये न्यूनतम मूल्याङ्कन प्राप्त र प्रभावकारी ठहरिएको कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग कात्तिक २५ गते सम्झौता सम्पन्न विभागले जनाएको छ ।  उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल (१ अर्ब ४७ करोड रुपैयाँ) भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सम्झौता सार्वजनिक खरिद नियमावली, २०६४ (चौधौँ संशोधन, २०८२) को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ सम्म संशोधित) को दफा ५४ बमोजिम गरिएको छ । 

सौर्य ऊर्जाबाट चम्कियो पियोर इनर्जी, पहिलो त्रैमासमा ९० लाख नाफा

काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो ।  पियोरले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै वर्षको सुरुवातमै नाफा कमाउन सफल भएको हो । २०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरी २०८० वैशाखदेखि व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जीका बाँकेमा १०/१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालनमा रहेका छन् ।  कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।  ‘यस कम्पनीले पीपीए अनुसार नेपाल विद्युत प्राधिकरणलाई निरन्तर र कुनै अवरोधबिना बिजुली आपूर्ति गर्दै आएको छ,’ पियोरले सार्वजनिक गरेको वित्तीय विवरणमा भनिएको छ, ‘यस त्रैमासिकमा कम्पनीको खातामा नियमित विद्युत बिक्रीबाट रकम भुक्तानी प्राप्त भएको छ । आगामी अवधिमा पनि यस कम्पनीको आयोजनाको व्यवस्थापनको विश्लेषण गर्दै व्यावसायिक रूपले सक्षम तरिकाबाट सञ्चालन गरी अधिकाधिक विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउने योजना छ ।’  कम्पनीले हालसम्म बैंकबाट लिएको ऋणको साँवा तथा ब्याजको भुक्तानी नेपाल राष्ट्र बैंकद्वारा समय–समयमा गर्दै निर्धारित समयमा भुक्तानी गरिरहेको पनि जनाएको छ । गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । गत वैशाखमा आईपीओ निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी पनि बढेको छ ।  २०८१/८२ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ रहेकोमा पछिल्लो समीक्षा अवधिमा ४.५० पुगेको छ ।  प्रतिसेयर नेटवर्थ पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९७.२७ रुपैयाँ रहेको थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १०१.६१ रुपैयाँ पुगेको छ । निरन्तर नाफामा गइरहेको पियोर इनर्जीले सोल पावरमा २६ प्रतिशत सेयर लगानी गरेको छ । पियोर इनर्जीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको २०८१/८२ को वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका २ लाख ६० हजार कित्ता खरिद गरिएको छ ।  सोल पावरले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन २०२४/२५ अनुसार सोल पावर अन्तर्गतका पाँचवटै परियोजनाको गत जेठ २९ गते विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएको छ ।

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।  साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए । साथै बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।  साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि, कर्मचारी समेतको उपस्थिति रहेको थियो ।

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

काठमाडौं  एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्न  ‘ग्लोबल म्याथ डिबेट लिग’ (जीएमडीए) सुरु गरेको छ ।  कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र दैनिक जीवनसँग जोडेर बुझाउने यो संस्थाले जीएमडीए सुरु गरेको हो ।  यसको मुख्य उद्देश्य गणितलाई केवल अंक र सूत्रको सीमामा नबाँधी विचार र संवादको अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित गर्नु हो । ‘ग्लोबल म्याथ डिबेट लिग’ले गणितलाई विचार, तर्क र कुराकानीको माध्यम बनाउने प्रयास गर्छ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको मात्र उपकरण नभई आफ्ना विचार व्यक्त गर्ने र सिर्जनशीलता प्रदर्शन गर्ने माध्यमका रूपमा प्रयोग गर्न प्रेरित गर्छ । यस वर्ष जीएमडीएलले नेपालभरका विद्यालयका ५ हजारभन्दा बढी विद्यार्थीहरूलाई तीन चरण (स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल राउन्ड)मा संरचित प्रतियोगितामा सहभागी गराउँदैछ । यो प्रतियोगिताले विद्यार्थीहरूलाई सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचमा जोड दिने कलेजले जनाएको छ ।  यस प्रक्रियाबाट उनीहरूले आफ्नो विश्लेषणात्मक क्षमता, सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास र गणितको व्यावहारिक उपयोगबारे विस्तृत बुझाइ विकसित गर्छन् । गणित र संवादको कलालाई जोडेर, ‘ग्लोबल म्याथ डिबेट लिग’ले नयाँ पुस्तालाई विश्लेषणात्मक रूपमा सोच्ने र प्रभावकारी रूपमा अभिव्यक्त हुन सक्षम नेतृत्वकर्ताका रूपमा सशक्त बनाउँछ ।  यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमका रूपमा मनाउँछ । सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कुल एक अग्रणी शैक्षिक संस्था हो, जसले विद्यालयस्तरमा गणित सिकाउने तरिका रूपान्तरण गर्दै आएको छ । यसको विस्तारित रूप एम्बार्क अनम्याथ हो जसले ‘ग्लोबल म्याथ डिबेट लिग’, ‘म्याथ म्याराथन’ र ‘स्पेस म्याथ’ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र प्रेरणादायी बनाउने उद्देश्य राखेको छ ।  

घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य

काठमाडौं । चिनियाँ विद्युत सवारी निर्माता बीवाईडीले आगामी वर्ष अर्थात् २०२६ मा विदेशमा अधिकतम १६ लाख सवारी बिक्री गर्ने लक्ष्य राखेको छ ।  सिटी ग्रुपले मंगलबार प्रकाशित प्रतिवेदनमा बीवाईडीले २०२५ बाट दोहोरो अंकको उच्च वृद्धिदरका साथ अन्तर्राष्ट्रिय विस्तारमा जोड दिने जनाएको छ । सिटीका अनुसार बीवाईडीको २०२६ को विदेशी बिक्री मार्गदर्शन १५ लाखदेखि १६ लाख युनिटसम्म रहेको छ, जुन २०२५ मा चीनबाहिर बिक्री हुने अनुमानित ९ लाखदेखि १० लाख सवारीभन्दा धेरै वृद्धि हो । यो वृद्धिको प्रमुख कारण नयाँ मोडलहरूको बजार प्रवेश हुने बताइएको छ । सिटीको प्रतिवेदनअनुसार बीवाईडीको ‘विदेशी बिक्री वितरण विभिन्न क्षेत्रहरूमा सन्तुलित’ रहेको छ । युरोप, उत्तर अमेरिका र एएसईएएन (दक्षिणपूर्वी एसियाली देशहरूको संगठन) देशहरूले २०२५ को कुल विदेशी बिक्रीको करिब एक तिहाइ–एक तिहाइ हिस्सा ओगट्ने अनुमान गरिएको छ । बीवाईडीको व्यवस्थापनले चालु वर्षको चौथो त्रैमासिकमा पूँजीखर्च अघिल्लो त्रैमासिकको तुलनामा घट्ने र २०२६ मा अझै ठूलो गिरावट आउने अपेक्षा गरेको छ । प्रतिवेदनका अनुसार, ‘सवारी तथा ब्याट्री उत्पादन क्षमता माग पूरा गर्न पर्याप्त हुने भएकाले पूँजी खर्च घट्ने सम्भावना छ । बीवाईडीले यसबारे टिप्पणी गर्न तत्काल प्रतिक्रिया दिएको छैन । सिटीले भने बीवाईडीको २०२६ को कुल बिक्री लक्ष्य खुलाएको छैन । यसअघि बीवाईडीले घरेलु बजारमा बिक्री घटेपछि २०२५ को लक्ष्य १६ प्रतिशत घटाएर ४६ लाख युनिटमा झारेको थियो । गत महिना मात्रै बीवाईडीले चार वर्षभन्दा बढी अवधिको सबैभन्दा ठूलो त्रैमासिक नाफा घटेको रिपोर्ट गरेको थियो । यस वर्ष हालसम्म कम्पनीले आफ्ना कुल सवारीमध्ये करिब २० प्रतिशत विदेशमा पठाइसकेको छ, जुन २०२४ को तुलनामा दोब्बर हो । बीवाईडीलाई अहिले चीनकै स्थानीय प्रतिस्पर्धी कम्पनीहरू जस्तै जीली र लिपमोटरसँगको प्रतिस्पर्धामा थप दबाब परेको छ, विशेष गरी सस्तो गाडी बजारमा। पछिल्ला पाँच वर्षमा बीवाईडीले चीनभित्र कम्तीमा आठवटा मेगा कारखाना निर्माण गरिसकेको छ ।  साथै कम्पनीले हङ्गेरी र ब्राजिललगायत देशहरूमा स्थानीय एसेम्ब्लीका लागि विदेशी कारखाना निर्माण गर्दै आएको छ र युरोपका लागि तेस्रो कारखाना स्थापनाको तयारीमा स्पेनलाई शीर्ष विकल्पका रूपमा राखेको समाचार रोयटर्सले पहिले नै जनाएको छ । पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता  

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा बुधबारदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।   पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।