दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि आइएमटीए र एभरेष्ट अलायन्स नेपालबीच साझेदारी
काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदानका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनको गुइझोउ प्रान्तमा भएको उक्त सम्झौता कार्यक्रमले विश्वव्यापी पर्वतीय पर्यटनको दिगो विकासमा नयाँ सहकार्यको ढोका खोलेको छ। तीन वर्षका लागि गरिएको सम्झौताअनुसार दुबै संस्थाले पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन सँगै काम गर्ने भएका छन्। अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो जसले पर्वतीय पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ। नेपालमा आधारित एभरेस्ट एलायन्सले भने हिमाली क्षेत्रमा दिगो पर्वतारोहण, वातावरण संरक्षण र स्थानीय समुदाय सशक्तीकरणमा काम गर्दै आएको छ। सम्झौताअनुसार पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन्। पर्वतारोहणमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सीपमूलक तालिम र नेतृत्व विकासमा जोड दिने योजना पनि समझदारीमा समावेश छ। सम्झौताअन्तर्गत पर्वतारोही, प्रशिक्षक र प्राविधिक विशेषज्ञबीच आदानप्रदान हुनेछन् भने संयुक्त उद्धार प्रदर्शन, नेतृत्व तालिम तथा सुरक्षा तालिम आयोजना गरिनेछ। साथै, अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता र सम्मेलनहरूमा पनि संयुक्त सहभागिता रहनेछ। वातावरणीय संरक्षणलाई प्रमुख प्राथमिकता दिँदै दुवै संस्थाले फोहोर व्यवस्थापन, पदमार्ग सरसफाइ र सचेतना अभियान सञ्चालन गर्ने सहमति गरेका छन्। जलवायु परिवर्तन, जैविक विविधता र दिगो पर्यटनसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ।सम्झौता हस्ताक्षर कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेल सम्मेलन २०२५ अन्तर्गत सम्पन्न भएको हो। चीनको गुइयाङ सहरमा ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरण : उच्च गुणस्तरीय जीवन’ भन्ने नारामा सम्पन्न उक्त सम्मेलनमा ३० देशका झन्डै ३५० प्रतिनिधिको सहभागिता रहेको थियो।
महानगरको भवन नक्सा स्वीकृति अनलाइनमार्फत, इबीपीएस प्रणालीमार्फत ७३२ प्रक्रिया सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व हस्तान्तरण भएको छ । विवरण प्रदान गर्दै सहरी व्यवस्थापन विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछाने भन्छन्, ‘महिनागत रुपमा हेर्दा साउन महिनामा २७० वटा, भदौमा १७४ वटा र असोज महिनामा २८८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्गिएको छ ।’ लामिछानेका अनुसार गएको वर्ष (आव २०८१/०८२) मा महानगरपालिकाले ३ हजार ७६८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्ग्याएको थियो । यसमा विभागले १ हजार २७२ वटा प्लिन्थ लेभल सम्मको इजाजत पत्र दिएको थियो । थप तला इजाजत ५१ वटाका लागि जारी भयो । २ हजार २८२ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गर्यो । डीपीसीसम्मको २ वटा नामसारी र १८ वटा डीपीसी नामसारी प्रमाण पत्र जारी गर्यो । यस्तै १४३ वटा स्वामित्व नामसारी गर्यो । त्यस आर्थिक वर्षको महिनागत हेर्ने हो भने साउन (२०८१) मा ३९१ वटा, भदौमा ४३७ वटा, असोजमा ३५५ वटा, कार्तिकमा १८८ वटा, मंसिरमा २५७ वटा, पुसमा २७९ वटा, माघमा ३०२ वटा, फागुनमा ३२८ वटा, चैतमा ४१६ वटा, वैशाख (२०८२) मा २९६ वटा, जेठमा १८७ वटा र असारमा २७७ वटा भवन नक्सा सम्बन्धी स्वीकृत काम भएको हो । महानगरपालिकाले यी सवै प्रक्रियाहरु अनलाइनबाट सञ्चालन गर्छ । यसरी प्रक्रिया सञ्चालन गर्ने प्रणालीको नाम इबीपीएस अर्थात् इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम हो । भवन नक्सा स्वीकृत गर्न, निर्माण सम्पन्न लिन, नामसारी जस्ता भवन नक्सासँग सम्बन्धित प्रक्रिया र राजस्व भुक्तानी अनलाइन प्रणालीबाटै गर्न सकिन्छ । ५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा अर्थात् डीपीसीसम्मको नक्सा वडाबाटै स्वीकृत हुन्छ । भवनको माथिल्लो संरचना निर्माणको स्वीकृति केन्द्रबाट हुन्छ । त्यसमा ५ हजार वर्ग फुटदेखि ७ हजार वर्ग फुटसम्मको नक्सा महाशाखा प्रमुखबाट स्वीकृत हुन्छ । ७ हजार देखि ३० हजार वर्गफिटसम्मको नक्सा विभागीय प्रमुखबाट स्वीकृत हुन्छ । १० हजार वर्ग फुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्दा प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम गर्ने गरिएको छ । २०७० भाद्र १६ गते देखि महानगरपालिकाले वडा नम्बर १, ६, १४, १६, २६, ३१ र ३२ गरी ७ वटा वडामा यो प्रणाली परीक्षणका रुपमा प्रयोगमा ल्याएको हो । २०७१ भदौ १६ गतेदेखि वडा नम्बर ४, ७, ९, १३, १५, २९ र ३० गरी थप ७ वटामा प्रणाली सञ्चालन गरियो । २०७३ साल साउन ३१ गतेबाट सबै वडामा सेवा विस्तार गरिएको हो ।
नेचुङ भन्सारमा तीन अर्ब ४९ करोड राजस्व संकलन
मुस्ताङ । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो । भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् । यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन् । नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन् ।
जेनजीका माग पूरा नभइकन निर्वाचन हुँदैन : सुदन गुरुङ
काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् । उनले केही बाहेकका सबै जेनजीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताए । जेनजीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए । जेनजीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ । उनले भने, ‘समग्र हामी जेनजी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’ आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने भन्दै गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ ।
दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामाथि महानगरको डोजर
काठमाडौं । नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिका भत्काएको छ । पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रालिले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीबार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् । काँग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए । जग्गाको भाडा लामो समयदेखि नतिरेको आरोप लाग्ने गरेको छ । कार्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । बिहीबारसम्मको म्यादमा भाडा नआएपछि संरचनाहरु भत्काइएको बताइएको छ ।
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने '२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।' चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।
गगन थापाले जिम्मेवारी पूरा नगर्दा महाधिवेशनमा ढिलाइ भएको काँग्रेस संस्थापन पक्षको आरोप
काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन पक्षधर समूहले महामन्त्री गगन थापामाथि कार्य सम्पादनमा उदासीनता देखाएको आरोप लगाएको छ । उक्त समूहको भनाइमा थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण समितिको जिम्मेवारी निर्वाह नगर्दा पार्टीको महाधिवेशन तयारी प्रभावित भएको छ । पोखरामा बुधबार सम्पन्न भेलामा सहभागी अधिकांश महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूले थापाको निष्क्रियताले पार्टीको संगठनात्मक गति सुस्त बनाएको बताएका छन् । उनीहरूले विशेष महाधिवेशनको कुरा उठाएर आफ्नै कमजोरी ढाकछोप गर्न खोजिएको दाबीसमेत गरे । भेलाको अध्यक्षता गरेका गण्डकी प्रदेश कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले सदस्यता नवीकरण स्थगित हुँदा युवा पुस्ताको सहभागिता कमजोर बनेको बताए । श्रेष्ठले भने, ‘क्रियाशील सदस्यता बाँड्ने कार्य रोकेर कसरी नयाँ पुस्ता समेटिन्छ ? आमूल परिवर्तनका कुरा गर्नेहरूले नै संगठन सुदृढ पार्ने कामबाट पछि हट्नु दुर्भाग्य हो ।’ उनका अनुसार महाधिवेशनको तयारीमा आवश्यक तदारुकता नदेखाउने केन्द्रीय पदाधिकारीहरूले अब आत्मसमीक्षा गर्नुपर्छ । जिम्मेवारी पूरा गर्न नसक्नेले पद त्याग्नैपर्ने उनको भनाइ छ । भेलामा वक्ताहरूले पार्टी नेतृत्वले संगठन सुदृढीकरणलाई प्राथमिकता नदिँदा तल्लो तहसम्म निराशा फैलिएको भन्दै जिम्मेवार पदाधिकारीहरूलाई जवाफदेही बन्न आह्वान गरे । थापाको संयोजकत्वमा गठन गरिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अझै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य अघि बढाउन नसकेकाले आगामी १५औं महाधिवेशनको तयारी प्रक्रिया अन्योलमा परेको भन्दै भेलाले गम्भीर चासो व्यक्त गरेको छ ।
एकैपटक साढे ९ सय जना सेक्युरिटी गार्ड राख्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ९ सय जना भन्दा बढी सुरक्षा श्रमिक भर्ना गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालयका लागि सुरक्षा श्रमिक भर्ना गर्न लागेको जनाएको छ । सुरक्षा श्रमिक आपूर्ति गर्न बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो । बैंकले आह्वान गरे बमोजिम विभिन्न ५ वटा सेक्युरिटी कम्पनीले आवेदन दिएका छन् । बैंकका अनुसार नेपाल एक्स-टू सेक्युरिटी सर्भिस प्रालि, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस प्रालि तथा नवदुर्गा सेक्युरिटी गार्ड सप्लाई सेक्युरिटी प्रालि, गरुड सेक्युरिटीज प्रालि, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिले आवेदन दिएका छन् । अब बैंकले गोलाप्रथाका माध्यमबाट कम्पनी छनोट गर्ने जनाएको छ । बोलपत्र पेस गरेका यी ५ कम्पनीलाई मंसिर २ गते बैंकको सामान्य सेवा विभागमा दिउँसो साढे २ बजे सहभागीका लागि अनुरोध गरेको छ ।