विकासन्युज

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

काठमाडौं । सरकारले काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ ।     गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउँछन् । 'काठमाडौं मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौं बाहिर पनि विस्तार गर्नुपर्छ', उनी भन्छन् ।      दाङ जानका लागि नयाँबसपार्क आएका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा निःशुल्क इन्टरनेट सेवा पाउँदा ज्यादै खुसी लागेको बताउँछन् । निःशुल्क इन्टरनेटको सेवालाई गाउँगाउँसम्म लैजानुपर्ने उनको भनाइ छ ।      नयाँबसपार्कको काउन्टरमा कार्यरत बच्चुराम भट्ट सरकारले निःशुल्क इन्टरनेट सेवा दिएर धेरै राम्रो काम गरेको बताउँछन् । 'प्रविधिको जमानामा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट दिँदा यात्रुलाई धेरै सहज भएको छ', भट्ट भन्छन् ।      धादिङका दीपक ढकाल नयाँबसपार्कमा मात्र नभई काठमाडौंभित्रका सबै ठाउँमा निःशुल्क इन्टरनेट सेवा विस्तार हुनुपर्ने बताउँछन् । सरकारले नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरेर सराहनीय काम गरेको उनको भनाइ छ ।      बस व्यवसायी राकेश भट्ट निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नु मात्र  ठूलो कुरा नभई यसको निरन्तरता ठूलो कुरा भएको बताउँछन् । 'सबैले आफ्नो चर्चाका लागि सुरुमा काम गर्छन्, यसले निरन्तरता पाउँछ की पाउँदैन भन्ने मुख्य कुरा हो', उनी भन्छन् ।      माथि उल्लिखित भनाइ केवल प्रतिनिधिमूलक भनाइ हुन् । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौं उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाईको पहुँच पुर्याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।      सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म निःशुल्क चलाउन मिल्नेछ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताउँछन् ।       'नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान भएसँगै यात्रुले प्रविधिको प्रयोग गरेर बसको टिकट प्राप्त गर्न सक्नेछन्', उनी भन्छन् । नयाँबसपार्कबाट हाल दैनिक ७०० देखि ८०० सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् । जसमा ४०० भन्दा बढी ठूला बस, १५० हाराहारीमा माइक्रोबस र २०० भन्दा बढी काठमाडौं उपत्यकाभित्र चल्ने स्थानीय बस रहेका छन् ।      नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्ल नयाँबसपार्कबाट दैनिक १२ देखि १५ हजार यात्रुको आवतजावत हुने गरेको बताउँछन् । 'सरकारले जडान गरेको निःशुल्क इन्टरनेट सेवा सबै यात्रुको पहुँच हुनुपर्छ, इन्टरनेट कम्पनी र यात्रुबीचको सहजीकरणका लागि लोत्सेले काम गर्नेछ', उनी भन्छन् ।      सरकारले गत हप्ता गोँगबुस्थित नयाँबसपार्कसहित उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ । जसमा वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिभुवन शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कीर्तिपुर बर्न अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल सहिद धर्मभक्त अस्पताल रहेका छन् ।    यस्तै पशुपति आर्यघाट, यातायात व्यवस्था कार्यालय एकान्तकुना, राधेराधे र ठूलो भर्याङ, भक्तपुर क्यान्सर अस्पताल तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेका छन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गर्दा आम नागरिकलाई सहज पुग्ने बताउँछन् ।      अध्यक्ष कुँवर सार्वजनिक स्थलमा इन्टरनेटको सुविधा अनिवार्य भएकाले यसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताउँछन् ।      सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताउँछन् । 'मन्त्रीज्यूले गरेको निर्णयलाई हामी क्रमशः कार्यान्वयन गर्दै लैजान्छौँ', उनी भन्छन् ।      सञ्चारमन्त्री खरेल सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तारमा काम गरिरहेको बताउँछन् । 'दार्चुलाको मार्मा, बझाङ, जाजरकोटको वारेकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ', मन्त्री खरेल भन्छन् ।      सरकारले काठमाडौं उपत्यकाको निःशुल्क इन्टरनेट सेवाको सफल परीक्षणपछि सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको मन्त्री खरेल बताउँछन् । मन्त्री खरेल सरकारले गाउँ, सहर, सुगम, दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउँछन् । रासस

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात राजनीतिक दलले गरे मुख्यमन्त्री कार्यालयमा तोडफोड

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।  सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवदलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री कार्यालय अगाडि नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका हुन् । दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा तालाबान्दी समेत गरेका छन् ।   

सुनको मूल्य तोलामा २९ सयले बढ्यो, उतारचढावले लगानीकर्ता सशंकित

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । आइतबार तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।  यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिँदै आएका छन् । 

इटहरीमा एमएडब्लू वृद्धि मोटर्सको नामी भिगो इलेक्ट्रिक एसयूभी सार्वजनिक, मूल्य कति ?

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा ‘नामी भिगो’ नामक नयाँ इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडलले बलियो डिजाइन, स्मार्ट विशेषता र उत्कृष्ट प्रदर्शनका साथ नेपालमा मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ । नामी भिगोको ‘म्याजिक कर्भ’ डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनाको संयोजन प्रस्तुत गर्दै नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको कम्पनीले जनाएको छ । यो मोडलमा रहेको ९९ किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्छ । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन् । पहिलो ४४.९४ किलोवाट आवर क्षमताको ब्याट्री जसको डब्लुएलटीपी रेन्ज ३०० किलोमिटर छ, र दोस्रो ५१.८७ किलोवाट आवर ब्याट्री जसले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसले १६७ किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म केवल १८ मिनेटमै चार्ज गर्न सक्छ । कम्पनीका अनुसार यसले केही मिनेटमै करिब ११५ किलोमिटर दूरी थपिने सुविधा प्रदान गर्छ । गाडीको भित्री भाग अत्याधुनिक र आरामदायी बनाइएको छ । यसमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता विशेषताहरू छन्, जसले चालक र यात्रु दुवैलाई प्रिमियम अनुभव दिन्छ । सुरक्षाका दृष्टिले पनि नामी भिगो उच्चस्तरको छ । यसमा जिरो फायर–एक्स्प्लोजन परीक्षण पार गरेको ब्याट्री सिस्टम, ६८.४ प्रतिशत उच्च–सामर्थ्यको स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ, जसले गाडीलाई सुरक्षित र भरपर्दो बनाएको कम्पनीले जनाएको छ । नामी भिगो ई२ भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२ प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विशेष प्रारम्भिक अफर अन्तर्गत भिगो ई२ ३७ लाख ९९ हजार र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगोलाई नेपालमा नयाँ पुस्ताका लागि आकर्षक, शक्तिशाली र पर्यावरणमैत्री विद्युतीय सवारीका रूपमा प्रस्तुत गरेको जनाएको छ ।

सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ?

काठमाडौं । सुनको मूल्य प्रतिऔंस करिब ४ हजार अमेरिकी डलर वरिपरि स्थिर छ, यद्यपि बजारमा तीव्र उतारचढाव देखिएको छ । एक वर्षभित्र ऐतिहासिक उचाइमा पुगेको सुनले सन् १९७९ पछि सबैभन्दा बलियो वार्षिक वृद्धि गर्न लागेको छ । केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन्, सुनमा आधारित इटीएफ (इन्भेस्टमेण्ट फन्ड –स्टक मार्केटमा सेयर जस्तै किनबेच गर्न सकिन्छ) मा लगानी बढेको छ र खुद्रा लगानीकर्ताहरूले बार वा सिक्का खरिद तीव्र रूपमा बढाएका छन् ।  यद्यपि हालको उछालपछि पनि सुन अझै करिब ९ प्रतिशतले आफ्नो सर्वकालीन उच्च ४ हजार ३५० डलरभन्दा तल छ, जुन केही साताअघि मात्रै पुगेको थियो । यो वृद्धि प्रायः सहज मौद्रिक नीतिको अपेक्षाबाट आएको हो । यस वर्ष धेरै केन्द्रीय बैंकहरूले ब्याजदर घटाए, तर अमेरिकी फेडरल रिजर्भ सावधानीपूर्वक अगाडि बढेको छ, जसले लगानीकर्तालाई अनिश्चिततामा पारेको छ । ब्याजदर घट्दा सुन बाँडफाँड गर्ने सम्पत्तिहरू (जस्तै बन्ड) भन्दा आकर्षक हुन्छ । यो पनि पढ्नूहोस् : सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट तर केही विज्ञहरूका अनुसार सुनका ‘सुनिला दिनहरू’ सकिँदै छन् । विश्व अर्थतन्त्र सुधारिँदै छ, मुद्रास्फीति दबाब घट्दै छ र सुरक्षित लगानीप्रतिको माग केही कमजोर भएको छ । वास्तविक ब्याजदर अझै उच्च भएकाले सुन जस्ता बिना प्रतिफलका सम्पत्तिहरू कम आकर्षक देखिएका छन् । साथै पछिल्ला महिनाहरूमा भूराजनीतिक तनाव घटेका छन् जसले पहिले मूल्यलाई समर्थन गरेको थियो । लगानीकर्ताहरू अहिले सेयर र उच्च प्रतिफल क्रेडिट बजारतर्फ सर्दैछन् जसले तत्काल सुनप्रतिको माग घटाएको छ । वस्तु विश्लेषकहरूका अनुसार सुन बिस्तारै घट्न सक्छ तर ठूलो गिरावट सम्भावना छैन । केन्द्रीय बैंकहरूको खरिद पनि आगामी वर्ष केही कम हुनसक्छ । धेरै देशहरूले मुद्राको जोखिमबाट जोगिन सुनको भण्डार बढाएका हुन् तर यदि त्यसमा कमी आयो भने छोटो अवधिमा मूल्य हल्का घट्न सक्छ । यद्यपि २०२३ भन्दा मूल्य धेरै माथि रहने अर्थशास्त्रीहरूको अनुमान छ । संरचनात्मक माग, दीर्घकालीन लगानी र अनिश्चितताहरूले मूल्यलाई समर्थन गर्नेछन् । अक्टोबर महिनामा दश वर्षयताकै ठूलो एकदिने गिरावट देखियो, जसले बजारमा अल्पकालीन हलचल ल्यायो । तर महिनाको अन्त्यसम्म सुन झन्डै ५ प्रतिशतले माथि थियो, जसले यसको मजबुती देखायो ।  विज्ञहरूले यसलाई ‘स्वस्थ विश्राम’  भनेका छन्—लगातार महिनौंको तीव्र वृद्धिपछि स्वाभाविक विराम । बलियो अमेरिकी डलरले सुनलाई महँगो बनाएको छ जसले विदेशी खरिदमा दबाब बढाएको हो । दीर्घकालीन संकेतहरू भने अझै सकारात्मक छन् । प्रमुख लगानी बैंकहरू सुनप्रति आशावादी छन् । यूबीएसले आगामी १२ महिनाभित्र प्रतिऔंस ४ हजार २०० डलर पुग्ने लक्ष्य राखेको छ र राजनीतिक जोखिम तथा बजार अस्थिरताले यसलाई ४ हजार ७०० डलर सम्म पुर्‍याउन सक्ने बताएको छ ।  गोल्डम्यान स्याचले भने २०२६ को अन्त्यसम्म ४ हजार ९०० डलर पुग्ने अनुमान गरेको छ, जसलाई दीर्घकालीन संस्थागत लगानी र सुनमा आधारित हेजिङ मागले समर्थन गर्नेछ । त्यसैबीच एचएसबीसीले सुनको गति २०२६ को पहिलो ६ महिनामा चरममा पुग्ने बताएको छ । यसको अनुमानमा २०२५ भरि मूल्य ३ हजार ७०० देखि ४ हजार ५० डलर बीच रहनेछ भने २०२६ मा ३ हजार ६०० देखि ४ हजार ४०० डलर को दायरामा व्यापार हुनेछ । बैंकले वर्षको अन्त्यसम्म मूल्य ३ हजार ९५० डलर हुने र २०२६ अन्त्यसम्म ३ हजार ८०० डलर मा पुग्ने सम्भावना जनाएको छ । एचएसबीसीका अनुसार ‘अधिकृत क्षेत्रको खरिद’ नै हालको उछालको मुख्य आधार हो, तर उच्च मूल्यले अहिले ‘भौतिक माग घटाउँदै’ गएको चेतावनी पनि दिएको छ । तर सबै विश्लेषकहरूको निष्कर्ष एउटै छ—अस्थायी गिरावटले दीर्घकालीन उकालो अन्त्य भएको संकेत गर्दैन । सुन अझै पनि मुद्रास्फीति, ऋण जोखिम र भूराजनीतिक घटनाविरुद्ध बीमाको रूपमा प्रमुख सम्पत्ति रहन्छ । आगामी चालहरू मौद्रिक नीति र विश्व परिस्थितिमा निर्भर हुनेछन् । फेडरल रिजर्भको डिसेम्बरको निर्णय निर्णायक हुन सक्छ— यदि ब्याजदर घटाउने संकेत आयो भने सुन फेरि उकालो लाग्न सक्छ । तर, यदि मुद्रास्फीति कम र अर्थतन्त्र स्थिर रह्यो भने मूल्य अहिलेको स्तर वरिपरि स्थिर रहन सक्छ । संक्षेपमा सुन अहिले पनि सुधारप्रतिको आशावाद र जोखिमप्रतिको सतर्कता बीचको सन्तुलनमा छ । ४५ वर्षपछि पनि यो विश्व बजारमा सबैभन्दा बढी हेरिने र बहस गरिने सम्पत्तिमध्ये एक रहँदै आएको छ । टेस्ला शैलीमा ‘रिभियन’ले पनि सीईओ आरजे स्क्यारिन्जलाई ४.६ अर्ब डलरको तलब प्याकेज दिने

साढे ३ अर्ब लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा, ३५० जनालाई रोजगारी दिने

काठमाडौं । साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘होटल ह्यात प्लेस’ लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलको पहिलो पाँचतारे होटल हो ।  होटल सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको हायात होटल समूहले गर्ने भएको छ । सफ्रोन सिके प्रालिले हायतसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ । २५ कट्ठा क्षेत्रफलमा फैलिएको यो होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी रहेको छ । होटलमा गरिएको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत लगानी सञ्चालक समूहको रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिए । ‘२५ कट्ठा क्षेत्रफलमा ५ वर्षको यो होटल स्थापना भएको छ । होटलमा करिव ३५० करोड लगानी गरेका छौं । जसमा ग्लोबल आइएमइ बैंक लिमिटेड र होटल सफ्रोन सिकेको सयुक्त लगानी रहेको छ । यो होटलमा कुनै नेताको एक पैसा पनि लगानी छैन । होटल पूर्णक्षमतामा सञ्चालनमा आउँदा ३५० जना सम्मलाई रोजगारी दिनेछ । कुक, सरसफाइ गर्नेदेखि म्यानेजरसम्मले काम यो होटलमा गर्नुपर्ने हुन्छ, रोजगारी सबै स्थानीयलाई नै नदिने सक्ने अवस्था पनि रहन सक्छ, ’ सञ्चालक पौडेलले भने । अत्याधुनिक संरचनामा बनेको यो होटलमा जमिनमुनि दुईतले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ । होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था छ । करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रमा फैलिएको होटलमा रेस्टुरेण्ट, स्विमिङ पुल, ब्याङ्कवेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल र अन्य विलासी सुविधाहरू समावेश गरिएको छ ।  होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सिमानाबाट २८ किलोमिटर दूरीमा अवस्थित छ । होटल ह्यात प्लेसले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगारी दिनेछ । ह्यात प्लेस बुटवलले लुम्बिनी प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गर्दै बुटवललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले सम्मेलन, व्यापारिक भ्रमण र पर्यटनका लागि बुटवल आउने पाहुनालाई सहज आवासीय सुविधा मिल्ने विश्वास गरिएको छ ।   

गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त

काठमाडौं । गराँस लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । संस्थाको कात्तिक २३ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा बराललाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव भेष बहादुर बस्नेतका अनुसार रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा बराललाई सर्वसम्मतीले छनोट गरिएको छ । विराटनगर निवासी उदयनारायण बरालले स्नातकोत्तर (एमए) तहसम्म अध्ययन गरेका छन् । उनीसँग सहकारी क्षेत्रको व्यवस्थापन तथा नेतृत्वमा करीब २७ वर्षको अनुभव रहेको छ । बराल यसअघि त्रिशक्ति सप्लायर्सका प्रोप्राइटर, गुराँस हर्बास्यूटिकल्सका अध्यक्ष तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।  

एमालेको घर फर्क अभियान : सयभन्दा बढी नेता एमालेमा फर्किँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुरु गरेको घर फर्क अभियान अन्तर्गत सोमबार काठमाडौंमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा पार्टी छाडेर विभिन्न समयमा अन्य दल वा समूहतर्फ गएका सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू पुनः एमालेमा प्रवेश गर्ने तयारीमा रहेको पार्टीले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने उक्त कार्यक्रमलाई पार्टीले एकता र संगठन सुदृढीकरणको अवसरका रूपमा लिएको जनाएको छ । हालै एमालेले देशभर पुराना कार्यकर्ताहरूलाई पुनः संगठनमा जोड्ने उद्देश्यसहित घर फर्क अभियानलाई तीव्र पारेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गौतमका अनुसार अभियानको उद्देश्य आगामी निर्वाचनलाई लक्ष्य गरी एमालेलाई पुनः राष्ट्रिय एकताको केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ । उनका अनुसार असन्तुष्ट कार्यकर्ताहरूलाई पुनः सक्रिय बनाउँदै संगठनभित्र एकता बलियो बनाउने अभियानको लक्ष्य छ । एमाले छाडेका धेरै नेता पछिल्ला वर्षहरूमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र तथा अन्य दलहरूमा गएका थिए । तीन वर्षअघि, २०७८ भदौ ३ गते अध्यादेशबाट जन्मिएको नेकपा (एकीकृत समाजवादी) मा गएका ती नेताहरू अहिले पुनः एमालेमा फर्कन लागेको प्रवक्ता गौतमले जानकारी दिए ।