चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बन्यो भायानेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टिम चितवन राइनोजको आधिकारिक कनेक्टिभिटी पार्टनर बनेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भायानेटका वाणिज्य तथा बजार व्यवस्थापन विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । सम्झौता समारोहमा भायानेटका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुदप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गर्दै भने, 'हामी खेलकुदसँग सुरुदेखिनै जोडिएका छौं । खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्तामा लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्छ । इन्टरनेट जस्तै खेलले पनि मानिसहरूलाई नजिक ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं ।' भायानेटले स्थापना कालदेखि नै खेलकुदलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ । यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको शीर्ष प्रायोजक बनेको थियो । साथै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड दूत घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यका माध्यमबाट भायानेटले खेलाडीको मनोबल वृद्धि गर्ने, दर्शकको भावना जोड्ने र देशभरका खेलप्रेमीहरूलाई एकै मञ्चमा ल्याउने सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ ।
५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो । पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए । 'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,' उनले भने, 'योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ ।' पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताए । प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए । सङ्घीय र प्रदेश सरकारको समपुुरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२/०८३ मा रु २३ करोड २२ लाख विनियोजन भएको छ । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ । यो सडकले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.–३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताए । विसं २०७१ मा मुनामा सडक पुगेको थियो । हाल कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको उनले बताए । सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने रोकाले बताए । मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । 'गत वर्ष मार्ग खुलेको मुना–खोरीया–मरेनी–जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छाैं,' उनले भने 'बेनीदेखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुँदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयवासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ ।' रासस
रुपन्देहीमा २३ लाख बराबारको अवैध सामान बरामद
देवदह । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान यही कात्तिक २३ गते आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी एक लाख २५ हजार ८ सय बराबरको सामान बरामद गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शङ्करनगरबााट भारतीय नम्बर प्लेट कारको पछाडी सिटमुनी लुकाइछिपाइ बिलबिजक नभएको सामान बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २२८ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ । त्यसैगरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काँचो कपडा गरी रु तीन लाख २२ हजार २०० बराबरको सामान बरामद गरेको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव, कटेजमा सपथ
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुर बाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गत शनिबार राजीनामा दिएका थिए । सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । आज बिहान ५ बजेर २० मिनेट जाँदा महोत्तरीको बर्दिबास ३ कालापानी स्थित पानस कटेजमा भण्डारीले यादवलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्दै शपथ ग्रहणसमेत गराएकी हुन् ।
निर्धारित समय अगावै बन्यो विमानस्थलको टर्मिनल भवन, लागत २ अर्ब ७४ करोड रुपैयाँ
काठमाडौं । नेपालगन्जस्थित राँझा विमानस्थलको सुविधा युक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा २ महिना पहिले नै निर्माण सम्पन्न भएको छ । वि.सं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी ३ वर्षको समयावधि पाएकामा २ महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए । आयोजनाको काम सम्पन्न भएसँगै केही दिनभित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने उनले बताए । आयोजना प्रमुख थापाले भने, ‘विज्ञले अनुगमन गरे पश्चात् पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँ बाट सेवा सुरु हुनेछ । नेपालगन्जमा निर्मित टर्मिनल भवन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएकोले आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको छ ।’ उनका अनुसार, भ्याट बाहेक कूल २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँ लागतमा निर्माण कम्पनीले टर्मिनल भवन निर्माण गरेको हो । नव निर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित ३ तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् । ५ हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु जाँच कक्ष १४, भिआइपी रूम ३, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन जाँचका लागि अलग÷अलग कोठा निर्माण गरिएका छन् । भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तरराष्ट्रिय उडानका लागि अलग-अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ । नव निर्मित टर्मिनल भवनको यात्रु क्षमताप्रति घण्टा ६२८ छ । नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै ५ देखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको परिसरमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ । नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर-७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा रहेको आयोजना प्रमुख थापाको भनाइ छ ।
५ वर्षमा ६ पटक म्याद थपपछि कालोपत्र गरिँदै
काठमाडौं । निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका-७ रेश जाने ४ किलोमिटर सडक ६ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् । हाल भने धमाधम ‘ग्राभेल’ भइरहेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक कालोपत्रका लागि बिग्रेका पूर्वाधार निर्माण भइरहेका छन् । २०७७ जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी जोशी/निशान/आचार्य जेभीसँग ६ करोड ७१ लाख रुपैयाँमा ठेक्का लागेको थियो । सम्झौता अवधिमा काम नहुँदा ६ पटक म्याद थपिएको छ । एक वर्षदेखि फिल्डमा नदेखिएको निर्माण व्यवसायी काममा फर्केपछि कालोपत्रको तयारी थालिएको काठेखोला गाउँपालिकाका इञ्जिनियर विनोद लामिछानेले जानकारी दिए । पूर्वाधारको काम पहिल्यै सम्पन्न गरेपनि कालोपत्र हुन नसक्दा पूर्वाधारहरू समेत जीर्ण बनेका थिए । उक्त सडकको ७० प्रतिशत भौतिक तथा ६५ प्रतिशत आर्थिक प्रगति भएको छ । इञ्जिनियर लामिछानेले १४ औं खरिद संशोधनलाई आधार मानेर अन्तिम पटक म्याद थप गरेको बताए । यस पटक भने कालोपत्रका लागि उपकरण र कच्चा सामग्रीको समेत जोहो भइसकेको छ । कोराना कहर, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको जनाउँदै निर्माण व्यवसायी प्रकाश आचार्यले छिट्टै काम सम्पन्न गरी सडक हस्तान्तरण गर्ने बताए । उक्त सडक बरेङ-शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।
हरेक ८ जनामा १ जना भोकै, कर्णालीमा ३२ प्रतिशत परिवार खान नपुग्ने अवस्थामा
काठमाडौं । कर्णालीमा ‘विश्व भोकमरी सूचाङ्क-२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड) द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी सूचाङ्क-२०२५’ को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताए । उनले शून्य भोकमरी अभियानलाई टेवा पुर्याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, कृषि रणनीतिका साथै परागशेचन रणनीतिको (मस्यौदा) तयार गरेको जनाए । मन्त्री शाहले भने, ‘कर्णालीमा खेतीयोग्य जमिन कम छ । यद्यपि कम जमिनबाट बढी मूल्यका वस्तु उत्पादन गर्न सक्ने गरी सरकार लागेको छ ।’ सार्वजनिक प्रतिवेदनले सूचाङ्कमा उल्लेख भएका बुँदाहरूले कर्णाली प्रदेश सरकारको नीति निर्माणमा सहयोग पुर्याउने जनाउँदै उनले कृषिसँग सम्बद्ध कर्मचारीहरू र कृषकहरूले यसले विशेष मद्दत पुग्ने बताए । यो प्रतिवेदनमा उल्लेख विषयवस्तुहरू स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशका सचिव र कृषि विज्ञहरुले अनिवार्य अध्ययन गर्नुपर्ने उनको भनाइ छ । लिबर्डका कार्यक्रम प्रमुख लक्ष्मण खत्रीले विगत ७ वर्षदेखि लिबर्डले नेपालमा भोकमरी सूचाङ्क प्रतिवेदन सार्वजनिक गर्दै आएको जनाउँदै नेपालमा पुड्को पन हटाउन नसकिए पनि ख्याउटे पन, बाल मृत्यु दरमा सुधार आएको उल्लेख गरे । दीगो विकास लक्ष्य अनुसार पोषणसम्बन्धी बहु आयामिक कार्यक्रम कार्यान्वयन गर्नसके भोकमरी शून्यमा झार्न सकिने उनको भनाइ छ । ‘यसमा तीनै तहका सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ । खाद्य असुरक्षा हटाउन कर्णाली र सुदूरपश्चिममा कृषि र पोषणसम्बन्धी हामीले कार्यक्रम सञ्चालन गरिरहेको छौँ । कार्यक्रम लागू भएका ठाउँमा केही सुधार आएको छ,’ उनले भने । वेल्ट हङ्गर हिल्फेका देशीय निर्देशक साकिव नावीले कुरा गर्ने र योजना बनाउने मात्रै नभई कार्यान्वयन गर्ने गरी तीनवटै तहका सरकारले काम गर्नसके भोकमरी शून्यमा झार्न सकिने बताए । विज्ञ विकास देउजाले विश्वभर विभिन्न राजनैतिक द्वन्द्वका कारण भोकमरी शून्यमा झार्ने लक्ष्य हासिल हुन चुनौती रहेको बताए । विश्वमा नेपाल मध्यम रहेको जनाउँदै उनले यही गतिमा काम गर्दा भोकमरी शून्यमा झार्न विश्वलाई अझै १ सय वर्ष लाग्ने बताए । नेपालले पनि सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कूल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको उनको भनाइ छ । पोषण विज्ञ सोमाकुमारी रानाले भोकमरीको सूचाङ्कमा विश्वका १२३ देशमध्ये नेपाल ७२औँ स्थानमा रहेको बताइन् । सन् २०१६ देखि यहाँसम्म आउँदा खाद्य सुरक्षामा खासै सुधार नआएको जनाउँदै उनले भने, ‘नेपालमा अहिले पनि हरेक ८ जनामा १ जना भोकै हुन्छ । हरेक ५ जना बालबालिकामा १ जनाले खान नै पाउँदैन । कर्णालीमा ३२ प्रतिशत परिवार खान नपुग्ने अवस्थामा छन् । यस्तो अवस्था अन्त्य गर्न सबै निकाय जुट्नुपर्छ ।’ वेल्ट हंगर हिल्फे, कन्सर्न वर्ल्ड वाइड र आइएफएचभीले विश्व, क्षेत्रीय र राष्ट्रियस्तरमा भोक तथा कुपोषणको स्थिति मापन र मूल्याङ्कन गर्न वार्षिक रुपमा ‘ग्लोबल हंगर इन्डेक्स’ प्रतिवेदन जारी गरिँदै आएको बताइएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागीहरूले शून्य भोकमरी अभियानलाई सहयोग पुग्ने कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
अभिनय यात्राको १७ वर्षपछि मुख्य भूमिकामा चौरासिया
काठमाडौं । अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै १७ वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौं आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उनको लोकप्रियता आम दर्शकसम्म पुर्यायो । उनै अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । ‘मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छुे,’ अभिनेता चौरासियाले भने । पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेका छन् । तर, उनी कलाकारिताको यात्रा त्यति सहज भने थिएन । ‘अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौं आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहेँ । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे । त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो,’ उनले भने । अभिनय सिक्ने जोशमा उनले भारतको दिल्लीसम्म पुगेर प्रयास गर्नुभयो, तर सफल हुन सकेनन् । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गरे । ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उनलाई खोज्न थाले । तर, उनको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए । ‘म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा पर्यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो,’ अभिनेता चौरासियाले भने । आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उनले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गरे । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उनलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गरे । ‘मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ,’ उनले भने । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गरेका छन् । मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका हुन् ।