निकोलस भुसाल पक्राउ
गोरखा । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । भुसाल सोमबार गोरखा आएको र उजलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । भुसाललाई काठमाडौंस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए ।
२६ सय तल झर्यो नेप्से, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २५९५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युत कम्पनीको २२ करोड, युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख, सिंगटी हाइड्रोको १८ करोड ४५ लाख र शिवम् सिमेन्टको १८ कारोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । माबिलुङ इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कुषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । मंगलबार सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशतले घटेका छन् ।
रोल्वालिङ हिमपहिरो अपडेटः ५ जनाको उद्धार, ७ अझै बेपत्ता
दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरूपमा राखिएको छ । उनीहरूको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए । डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो । हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरूको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए । ‍उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाइन् नागरिकताको प्रतिलिपि
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रतिलिपि नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा उनको नागरिकता प्रमाणपत्रसमेत जलेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उनले मंगलबार ९आज० प्रतिलिपि नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। उनले भने, ‘उहाँको पुरानो नागरिकताको प्रमाणपत्र जलेको रहेछ र कार्यालयको भौतिक अभिलेख पनि क्षतिग्रस्त भएको थियो । त्यसपछि हामीले विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको फोटोकपी र डिजिटल अभिलेख मिलाएर सत्यापन गर्यौं र त्यसैको आधारमा नयाँ प्रतिलिपि नागरिकता जारी गरिएको हो ।’ पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो ।
पुनःनिर्माण कोषमा ६ करोड २४ लाख संकलन
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो । जेनजी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय, तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्ता संरचनाको पुनःनिर्माणका लागि सरकारले गत असोज २८ गते कोषमा आर्थिक सहयोग जुटाउन सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ–संस्थालाई औपचारिक रूपमा आह्वान गरेको थियो । सहयोगकर्तालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ । कोषमा सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैंक’ सिंहदरबार शाखामा खोलिएको १९६०१००१०२०७०००४ विशेष खातामार्फत व्यवस्थापन गरिँदैछ ।
अखाद्य वस्तु भेटिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
काठमाडौं । ओम अस्पतालको क्यान्टिन ७ दिनको लागि बन्द गरिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो । संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो। ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालि प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउने बताए । तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिए । तर, दुवै क्यान्टिनमा पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको बताइएको छ। मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनिया मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो । अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको थियो । त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ । महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ ।
नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति मन्दिर परिसरस्थित कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले रोपाइँ गरेर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा सहित बैंकका अन्य पदाधिकारीहरूको उपस्थित रहेको थियो । बैंकले यसअघि पनि पशुपति क्षेत्र संरक्षण तथा हरियाली प्रवर्द्धनका उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ । नेपाल एसबिआई बैंकले ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालनमा रहेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता प्रदान गरिँदै
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ । भण्डारीको नागरिकता भदौको जेनजी आन्दोलनको क्रममा निजी निवासमा भएको आगजनीमा जलेको थियो । त्यसपछि उनले नयाँ प्रतिलिपि नागरिकता पाउनका लागि जिल्ला प्रशासन कार्यालयमा औपचारिक निवेदन दिएकी थिइन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार प्रतिलिपि नागरिकता दिने निर्णयका लागि विभिन्न सरकारी निकायमा रहेका फोटोकपी र डिजिटल डाटासँग मिलान गरिएको हो । उनले भने, ‘फाइलहरू र अभिलेखहरू अध्ययन गर्दा सबै विवरण मिलेकाले प्रतिलिपि नागरिकता उपलब्ध गराउने प्रक्रिया पूरा भएको छ ।’ मंगलबार २ बजे भण्डारीलाई नागरिकताको प्रतिलिपि दिइने तय भएको रिजालले जानकारी दिए । पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो । तोडफोड र आगजनीमा नष्ट भएका कागजातहरूमध्ये उनको नागरिकता पनि परेको प्रशासनले जनाएको छ । हाल प्रतिलिपि नागरिकता वितरण प्रक्रिया पूरा भइसकेको र सोसम्बन्धी प्रशासनिक कार्य अन्तिम चरणमा रहेको रिजालले जानकारी गराए ।