विकासन्युज

अझै निर्वाचनको वातावरण बनेको नबनेको दाहालको आरोप

महेन्द्रनगर (धनुषा) । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।  सरकारले मङ्गलबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनी नसकेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए ।  वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढेको उल्लेख गरे । छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने उनले विश्वास व्यक्त गरे ।

जेनजी प्रदर्शनको क्रममा नष्ट भएको घर हेर्न गए केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन् । यसअघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन् ।  ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।  ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्त्वका धेरै सामग्रीहरू जलेर नष्ट भएको बताएकी थिइन् ।  ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।

बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन

बागमती ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोड ५० लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।      घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउनदेखि असोजसम्ममा लक्ष्यको १४ दशमलव २१ प्रतिशतअर्थात् ४ अर्ब ३८ करोड ८३ लाख १३ हजार मात्र राजस्व सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ७ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकमा तीन महिनाको अवधिमा त्यसको करिब १३ दशमलव ३१ प्रतिशत अर्थात १ अर्ब दुई करोड ५२ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।  यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा ८ अर्ब २५ करोड अनुमान गरिएकामा असोजसम्म २१ दशमलव १७ प्रतिशत अर्थात १ अर्ब ७४ करोड ६१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।  प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा १ अर्ब १५ करोड ४६ लाख आठ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु ४२ करोड ११ लाख ३३ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।  त्यसैगरी सङघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा २ अर्ब ३३ करोड ९९ लाख १६ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए । यस्तै चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा ८७ करोड आठ लाख २० हजार मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारी साधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी पौडेलको भनाइ छ ।  

आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीको दावी

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा बुधबार यहाँ आयोजित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताइन् ।       प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्न जिम्मेवारी पाएको विदितै छ । सरकारसँग नेपालको संविधानअनुसार जेनजीको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व छ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’      गत भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको उनले बताइन् ।  नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरिन् ।      सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस संवत्को संवद्र्धन, प्रवद्र्धन र व्यावहारिक रुपमा लागू गर्न तत्पर रहेको स्पष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा नेपाल संवत्को प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै यसको अनुगमनका लागि प्रतिष्ठानसँग सहकार्य गर्नेसमेत बताइन् ।      शङ्खधर साख्वाःको समाज र देशप्रतिको अतुलनीय योगदान तथा सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप ९३६ सालमा थालनी भएको नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट नभई व्यापारीको त्याग र परोपकारको आधारमा लोकस्तरबाट उत्पत्ति भएको भएकाले यो उच्च महत्व र लोककल्याणको विरासत बोकेको संवत् भएको चर्चा उनले गरिन् ।      नेपाली समाजमा गरिबी र असमानताको अन्त्य गर्दै जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वाःले देखाएको मार्गमा लाग्नु आवश्यक रहेको औँल्याउँदै प्रधानमन्त्री कार्कीले शङ्खधर साख्वाःले जस्तै व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुने बताइन् । कार्यक्रममा उनले साख्वाःको शालिकमा माल्यार्पण गर्नुका साथै प्रतिष्ठानद्वारा प्रकाशित बुलेटिन विमोचन गरेकी थिइन् । 

सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट

काठमाडौं । तिहारको बेलामा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय स्तरमा मंगलबार सुनको मूल्य ६.३ प्रतिशतले घट्यो, जुन पछिल्ला दशकभन्दा बढी अवधिमा सबैभन्दा ठूलो एक दिनको गिरावट हो।  चाँदीमा पनि ७.१ प्रतिशतको गिरावट दर्ता भएको छ । बुधबार पनि एसियाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुनको मूल्य २.९ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ४.२६ अमेरिकी डलरमा पुगेको छ भने चाँदी पनि २ प्रतिशतभन्दा बढी घटेर ४७.६ डलरमा पुगेको छ । यस वर्ष सुन र चाँदीको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको थियो । लगातारको यो तीव्र वृद्धि देखेर धेरै लगानीकर्ताहरूले यसको स्थायित्वबारे शंका गर्न थाले — कतै यो वृद्धि अस्थायी बबल (आर्थिक भाषामा कुनै वस्तु जस्तै सुन, चाँदी, घरजग्गा वा सेयर — को मूल्य वास्तविक मूल्यभन्दा धेरै बढ्ने अवस्थालाई बबल भनिन्छ।) त होइन भन्ने । यही आशंका र मुनाफा सुरक्षित गर्न चाहने मनोवृत्तिका कारण धेरैले आफ्नो लगानी फिर्ता लिन थाले । त्यसको सीधा असर बजारमा पर्‍यो र सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट देखियो । सुनचाँदीको मूल्य घट्नुका पछाडि धेरै कारणहरू छन् । पहिलो- चीन र अमेरिकाबीच पछिल्ला हप्ताहरूमा भएका सकारात्मक व्यापार वार्ताले विश्व बजारमा थोरै स्थिरता ल्याएको छ, जसका कारण लगानीकर्ताहरूले सुरक्षित आश्रय मानिने सुन र चाँदीबाट पैसा निकाल्न थालेका छन् ।  दोस्रो- अमेरिकी डलर हाल बलियो बन्दै गएको छ । जब डलरको मूल्य बढ्छ, तब अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीजस्ता धातुहरू किन्ने लागत विदेशी लगानीकर्ताहरूका लागि बढ्ने हुँदा माग घट्ने हुन्छ । तेस्रो कारण- प्रविधिक रूपमा पनि सुन र चाँदीका मूल्यहरू अत्यधिक बढिसकेका थिए, जसले बजारमा ओभरबाय (अत्यधिक मात्रामा खरिद हुने अवस्था) को संकेत दिएको थियो । यस्तो अवस्थामा सानो नकारात्मक संकेत वा मुनाफा असुल्ने मनोवृत्तिले पनि ठूला गिरावट ल्याउन सक्छ ।  चौथो कारण- अमेरिकी सरकारी शटडाउनको सम्भावना हो, जसले बजारमा अनिश्चितता बढाएको छ। लगानीकर्ताहरूले आफ्नो पोजिसन घटाउँदै जोखिम कम गर्न खोजिरहेका छन् । यी सबै कारणहरू मिलेर अहिले सुन र चाँदीमा देखिएको गिरावट केवल अस्थायी प्रतिक्रिया नभई बजारको स्वाभाविक सुधारको संकेत पनि हुनसक्छ । विश्लेषकहरूका अनुसार यदि विश्व अर्थतन्त्र स्थिर रह्यो भने आगामी महिनाहरूमा मूल्यवान धातुहरूको मूल्य फेरि सन्तुलनमा फर्किन सक्छ । डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?  

झापामा थपिए २ हजार ६२२ मतदाता

काठमाडौं । झापा जिल्लामा २ हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या ६ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा ६ लाख ८० हजार ३७१ जना मतदाता थिए । अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाता सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ । 'मतदाता सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,' सूचना अधिकारी न्यौपानेले भने, 'एकै दिन तीन सय जनासम्म मतदाता सूचीमा नाम दर्ता गराउन आउँछन् । नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ ।' यही कात्तिक २ गतेसम्म थपिएका मतदाता संख्या २ हजार ६२२ पुगेको हो । कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तो छ आजको मौसम

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । मौसम बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आजदेखि नेपाल संवत ११४६ सुरु

काठमाडौं । नेपाल सम्वत ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । 'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो,' उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।