यस्तो छ आजको मौसम
काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । मौसम बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आजदेखि नेपाल संवत ११४६ सुरु
काठमाडौं । नेपाल सम्वत ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । 'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो,' उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।
निर्वाचनबाट माओवादी पछाडि नहट्ने, कांग्रेस र एमालेले पनि सहयोग गर्नुपर्छ : नेता पुन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनले देशलाई संवैधानिक रुपमा अगाडि बढाउन आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सफल बनाउनुको विकल्प नभएको बताएका छन् । आज नेवाः राष्ट्रिय मुक्ति मोर्चा, भक्तपुरले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापानमा उहाँले सबै राजनीतिक दलहरूले आगामी निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने बताएका हुन् । निर्वाचनबाट माओवादी पछाडि नहट्ने भन्दै उनले आगामी निर्वाचन सफल पार्न माओवादीले सरकारलाई सहयोग गर्ने बताए । नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत अन्य दलले पनि निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने उनले धारणा राखे । सरकारले चुनावको वातावरण बनाउन दलहरूसँग छलफल सुरु गर्नु सकारात्मक भएको बताउँदै नेता पुनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग सकारात्मक भएपनि घुसपैठका कारण ठूलो नोक्सान भएको बताए ।
युरोपमा रुसी ग्यास पूर्णरूपमा बन्द, ऊर्जामा गम्भीर संकट निम्त्याउने
काठमाडौं । युरोपेली संघका सदस्य राष्ट्रहरूले रुसी प्राकृतिक ग्यासको आयातलाई चरण बद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन् । यो निर्णय सन् २०२२ मा सुरू गरिएको ‘रीपावर युरोप’ रणनीतिको महत्वपूर्ण अङ्ग हो । जसको उद्देश्य रुसमा हुने इन्धन निर्भरतालाई समाप्त गर्दै वैकल्पिक तथा स्वदेशी ऊर्जातर्फ संक्रमण गर्नु हो । यस प्रस्तावअनुसार सन् २०२६ जनवरी १ बाट नयाँ रुसी ग्यास आयातमा पूर्ण प्रतिबन्ध लाग्नेछ । यद्यपि, पहिल्यै भएका सम्झौताहरूलाई केही समयका लागि जारी राख्न अनुमति दिइनेछ। छोटो अवधिका सम्झौता सन् २०२६ जुन १७ सम्म र दीर्घकालीन सम्झौता सन् २०२८ जनवरी १ सम्म मान्य रहनेछन्। ऊर्जा क्षेत्रको पारदर्शिता बढाउन, ग्यास आयात गर्ने कम्पनीहरूले ग्यासको स्रोत, सम्झौताहरूको अवधि लगायतका विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। यद्यपि, हङ्गेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले उक्त प्रस्तावको विरोध जनाउँदै यसले युरोपेली मुलुकहरूको ऊर्जा सुरक्षामा गम्भीर संकट निम्त्याउने बताएका छन् । उनले ऊर्जा जस्तो महत्वपूर्ण विषयलाई राजनीतिक एजेन्डामा परिणत गर्नु उचित नहुने स्पष्ट पारे । हाल युरोपेली संघमा रुसबाट करिब १३ प्रतिशत प्राकृतिक ग्यास आयात हुने गरेको छ, जसको वार्षिक मूल्य लगभग १५ अर्ब युरो (अन्दाजी १७.५ अर्ब अमेरिकी डलर) बराबर छ। उक्त प्रस्ताव कानुनी रूपमा लागू हुनु अघि युरोपेली संसदमा छलफल र स्वीकृति आवश्यक पर्नेछ । स्वीकृत भएपछिमात्र यो नियम कार्यान्वयनमा आउनेछ र यसले युरोपेली संघको दीर्घकालीन ऊर्जा नीतिमा एक ऐतिहासिक मोड ल्याउनेछ ।
अमेरिका र अष्ट्रेलिया सम्झौताले चीनको एकाधिकार तोड्ने, के हो दुर्लभ खनिज तथा धातु ?
काठमाडौं । अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति बढाउन एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो कदम यस क्षेत्रमा चीनको प्रभुत्वलाई चुनौती दिने ट्रम्प प्रशासनको रणनीतिको हिस्सा हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस सम्झौताले ८.५ अर्ब अमेरिकी डलर बराबरको खानी र यससँग सम्बन्धित परियोजनालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । यी परियोजनाहरूले दुर्लभ धातु र खनिजहरूको क्षेत्रमा अष्ट्रेलियाको खनन् र प्रशोधन क्षमता बढाउनेछ। सम्झौताअनुसार २ देशले आगामी ६ महिनाभित्र अमेरिका र अष्ट्रेलियामा १ अर्ब डलर बराबरको परियोजनामा लगानी गर्नेछन् । यो जानकारी २ देशबीच भएको सम्झौताको ढाँचामा दिइएको छ । ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीतिमा काम गरिरहेकाले विभिन्न नीतिहरूको समीक्षा पनि गरिरहेको बताइएको छ। अमेरिका र अष्ट्रेलियाले ट्रम्पको पहिलो कार्यकालदेखि नै यी मुद्दाहरूमा सँगै काम गरिरहेका छन । सम्झौतापछि प्रधानमन्त्री अल्बानिजले नयाँ सम्झौताले साझेदारीलाई अर्को तहमा पुर्याउने बताए । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको अर्बौँ डलरको पनडुब्बी सम्झौता (एयूकेयूएस) बारे टिप्पणी गर्दै यो ‘पूर्ण गतिमा अघि बढिरहेको’ बताए । यसै वर्षको शुरुमा ट्रम्प प्रशासनले ‘अमेरिका पहिलो’ नीतिअनुसार सम्झौताको पुनरावलोकन गर्ने बताएको थियो । अष्ट्रेलियाले आफ्नो पुरानो पनडुब्बीहरूको सङ्ख्यालाई प्रतिस्थापन गर्न अमेरिकी पनडुब्बीहरू किन्न सक्षम नहुने हो कि भन्नेमा यसले चिन्ता बढाएको थियो । सोमबार राष्ट्रपति ट्रम्पलाई अस्ट्रेलियाले पनडुब्बीहरू पाउँछ त भनेर सोधिएको थियो जवाफमा उनले भने, ‘हो, उनीहरूले पाउनेछन् ।’ पछिल्लो समय चीनले विश्वव्यापी रूपमा दुर्लभ धातु तथा खनिजहरूको खननको लगभग ७० प्रतिशत र दुर्लभ धातुको प्रशोधनको ९० प्रतिशत हिस्सा ओगटेको छ। यी खनिजहरू रक्षा उपकरणदेखि कम्प्युटर चिप्स, फोन र कारसम्म सबैमा प्रयोग गरिन्छ। यी खनिजका लागि अमेरिकी कम्पनीहरू चीनमाथि निर्भर छन् । यस वर्ष, चीनले नयाँ अमेरिकी कर र अन्य तनावका कारण यसको आपूर्तिमा प्रतिबन्धको घोषणा गरेको छ। अल्बानिजले भने, ‘यो सम्झौता अष्ट्रेलियामा प्रशोधनमा अमेरिकी लगानीसहित तीन प्रकारका परियोजनाहरूमा लगानीलाई गति दिन लक्षित छ।’ दुवै देशले दुर्लभ धातु तथा खनिजको मूल्य निर्धारण, परियोजनाहरूको अनुमोदन प्रक्रिया र खनिज कम्पनी र परियोजनाहरूको बिक्रीको सरकारी पुनरावलोकनका नियमहरूमा मिलेर काम गर्न सहमत भएका छन् । अमेरिकाले पश्चिमी अष्ट्रेलियामा १०० टन ग्यालियम रिफाइनरी निर्माण गर्न लगानी गर्ने योजना घोषणा गरेको छ र यसको निर्यात–आयात बैङ्कमार्फत २.२ अर्ब डलरको कोषको साथ प्रमुख खनिज परियोजनाहरू अघि बढाउने योजना घोषणा गरेको छ। पछिल्ला केही महिनामा ट्रम्प प्रशासनले अमेरिकी कम्पनी एमपी मेटेरियल्स, क्यानेडियन कम्पनी ट्रिलोजी मेटल्स र लिथियम अमेरिकाजजस्ता कम्पनीमा लगानी गर्ने घोषणा गरेको छ । उनीहरुका परियोजनाहरू अमेरिकामा छन् । यसको बदलामा अमेरिकी सरकारले यी कम्पनीमा शेयर खरिद गरेको छ । ट्रम्प र अल्बानिज बैठकअघि ‘लिनस रेयर अथ्र्स’ जस्ता अमेरिकी कम्पनीहरूको सेयरमा वृद्धि भएको देखिएको छ। लिनसले केही वर्ष पहिले अमेरिकी रक्षा विभागबाट एक सम्झौता गरेको छ र टेक्सासमा एक परियोजनामा काम गरिरहेका छन्। ह्वाइट हाउसले एक ढाँचा जारी गरेको छ जसले सम्झौताको बारेमा सीमित जानकारी प्रदान गर्दछ, जसले यस मुद्दाको संवेदनशीलता देखाउँदछ। अष्ट्रेलिया महत्वपूर्ण खनिजको प्रमुख स्रोत हो, तर अमेरिका जस्तै यो पनि चीनमा निर्भर छ। यी खनिजको प्रशोधनको सबैभन्दा ठूलो केन्द्र चीन हो । त्यसपछि मात्र यस्ता खनिजको प्रयोग गर्न सकिन्छ ।
दीपावलीमा पटाका पड्काउँदा विषालु धुवाँले ढाकियो नयाँ दिल्ली
काठमाडौं । लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी मनाएपछि मङ्गलबार भारतको राजधानी नयाँ दिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्याएको अधिकारीहरूले बताएका छन् । सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो । मङ्गलबार बिहानसम्म नयाँदिल्लीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) ३५० नाघेको थियो । जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ‘गम्भीर’ स्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ । शहरका धेरै भागमा दृश्यता घटेको, सडक र भवनहरू खैरो धुवाँले ढाकिएका र ऐतिहासिक स्मारकहरू समेत धमिलो रूपमा देखिन थालेका थिए । ‘मैले यति बाक्लो प्रदूषण पहिले कहिल्यै देखेको थिइँन । यहाँ त देख्नै नसकिने अवस्था छ,’ नयाँ दिल्ली भ्रमणमा रहेका पर्यटक वेदान्त पचकन्डेले भने । भारतको सर्वोच्च अदालतले गत हप्ता कम प्रदूषण उत्सर्जन गर्ने ‘हरित पटाका’ को सीमित प्रयोगलाई अनुमति दिँदै दीपावलीका बेला पटाका माथिको पूर्ण प्रतिबन्ध केही हदसम्म फुकुवा गरेको थियो । सङ्घीय अनुसन्धान संस्थानहरूले विकास गरेका ती हरित पटाकाहरूले साधारण पटाकाको तुलनामा करिब ३० प्रतिशत कम कण र ग्यास उत्सर्जन गर्ने बताइएको छ । अदालतले शनिबारदेखि मङ्गलबारसम्म निश्चित समयमा मात्र ती पटाका प्रयोग गर्न सकिने व्यवस्था गरेको थियो, तर विगतका वर्षहरू जस्तै यस वर्ष पनि नियम व्यापक रूपमा उल्लङ्घन भएको देखियो । नयाँ दिल्ली र यसको वरिपरिका क्षेत्रमा तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दीपावलीको आतशबाजी, चिसो मौसम र नजिकका राज्यहरूमा किसानहरूले खेतमा लगाएको बालीको अवशेष जलाउँदा निस्कने धुवाँ एकैसाथ मिसिँदा यी क्षेत्रहरू जाडो मौसममा विश्वकै सबैभन्दा प्रदूषित शहरहरूमा पर्ने गरेका छन् । राजधानीका अधिकारीहरूले प्रदूषण नियन्त्रण गर्न विभिन्न उपाय लागू गरेका छन्, जसमा निर्माण गतिविधिमा प्रतिबन्ध, डिजेल जेनेरेटरको प्रयोगमा नियन्त्रण तथा सवारी साधनमा कडा निगरानी समावेश छ । तर पर्यावरण विद्हरूले यो वार्षिक सङ्कट अन्त्य गर्नका लागि स्वच्छ ऊर्जा प्रवर्द्धन, सार्वजनिक यातायात सुधार र सवारी उत्सर्जन नियन्त्रण जस्ता दीर्घकालीन समाधान अनिवार्य रहेको बताएका छन् । हालैको एक वैज्ञानिक अध्ययनले वायु प्रदूषणको वृद्धिले भारतमा सूर्यको प्रकाशको मात्रा घटाएको चेतावनी दिएको छ । नेचर पोर्टफोलियोको जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित अध्ययन अनुसार बढ्दो औद्योगिक उत्सर्जन, बायोमास जलाउने र सवारी साधनबाट निस्कने एरोसोल कणहरूले सूर्यको किरण पृथ्वीमा पुग्ने समय घटाइरहेका छन् । ‘हामीले विशेषगरी उत्तरी भारतका बढी प्रदूषित क्षेत्रमा सूर्यको प्रकाशमा ठूलो कमी देखेका छौँ,’ अध्ययनका सहलेखक तथा बनारस हिन्दू विश्वविद्यालयका वैज्ञानिक मनोज के। श्रीवास्तवले भने । उनुसार, सूर्यको प्रकाशमा आएको यो कमीले भारतको सौर्य ऊर्जाको उत्पादन मात्र घटाउने नभई स्थानीय वातावरण, जनस्वास्थ्य र कृषि उत्पादकत्वमा समेत दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ ।
एमाले नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ: उप-महासचिव ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उप-महासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन् । हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उप-महासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवेशनको मिति निर्धारण गरिएको बताए । ‘बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्तामा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ,’ उनले भने । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिट ब्यूरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा लगायतले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।
तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताएकी छिन् । राजनीतिक दलहरूसँग आज भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ । दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन ।’ राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको बताउँदै प्रधानमन्त्री कार्कीले अब जेनजी र दलहरू बसेर जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान आह्वान गरिन् । ‘चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन आज विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए । संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए । त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी थिए ।