विकासन्युज

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।  कर्णालीका कप्तान सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए । पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ गर्‍यो । सोमपालले जोश र हर्मित सिंहजस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए ।  उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।

‘मेरो नेतृत्वमा धुर्कोटको मुहार फेरियो’ {अन्तर्वार्ता}

भुपाल पोखरेल गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष हुन् । दोस्रो पटक गाउँपालिका अध्यक्ष बनेका पोखरेलले धुर्कोट गाउँपालिकालाई लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिका र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा पहिलो गाउँपालिका बनाएका छन् । गाउँपालिकामा उनले गरेको काम लगायत विषयमा विकासन्युजका लागि बबिता तामाङल उनीसँग कुराकानी गरेकी छन् ।  तपाईंको राजनीतिक यात्राबाट नै कुराकानी सुरु गरौं, कहिलेदेखि राजनीतिमा प्रवेश गर्नुभयो ? म कक्षा ६ मा हुँदा नै नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा रहेर काम शुरू गरेँ । कक्षा ९ मा पुग्दा नपुग्दै २०५६ सालतिर माओवादी आन्दोलन गुल्मीका ग्रामीण क्षेत्रमा फैलियो । त्यतिबेला माओवादी नेतासँग समन्वय गरेर विद्यालयमा अनेरास्ववियु क्रान्तिकारीलाई विद्यालयहरूमा स्थापना गरियो, जसको म अध्यक्ष भएँ । पहिलोपटक अखिल क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलनमा सहभागी भएँ । क्रमशः अनेरास्ववियु क्रान्तिकारीमा सक्रिय हुँदै २०५७ सालतिर पूर्णकालीन भएँ । त्यसपछि क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पूर्णकालीन माओवादी आन्दोलनमा जोडिएको करिब २७ वर्ष पूरा भइसकेको छ । मेरो राजनीतिक यात्रा विद्यालयकालमै सुरू भएको हो । अहिले दोस्रो कार्यकाल जनप्रतिनिधिको रूपमा धुर्कोट गाउँपालिकाको नेतृत्व गरिरहेको छु, र त्यहाँका नागरिकको सेवा गर्ने अवसर पाएको छु । राजनीतिमै लाग्छु भन्ने सोच कसरी आयो ? २०४६ सालमा बहुदल आएपछि २०४८ र २०४९ मा आम तथा स्थानीय निर्वाचन भए । त्यतिबेला गाउँ–गाउँमा हुने चुनाव प्रचार, माइकिङ, पर्चा वितरण आदिमा म पनि सहभागी हुन पाएँ । हाम्रो परिवार पनि पहिलेदेखि कम्युनिस्ट आन्दोलनसँग जोडिएकोले सानैदेखि राजनीति नजिकबाट बुझ्ने अवसर पाएँ । २०५४ सालको स्थानीय चुनावमा बुवा वडा सदस्य हुनुभयो । सानैदेखि विपन्न, दलित र असहाय वर्गको मुक्ति तथा परिवर्तनका लागि कम्युनिस्टहरुले लड्छन् भन्ने बोध भयो । परिवार, विद्यालय र विभिन्न कार्यक्रममार्फत कम्युनिस्ट आदर्शप्रति आकर्षण बढ्दै गयो । त्यसपछि संगठनमा सक्रिय हुँदै जाँदा आजको अवस्थासम्म आइपुगेँ । पूर्णकालीन कार्यकर्ताको रूपमा २७ वर्ष काम गर्दा कस्ता चुनौतीहरू आए ? कसरी पार गर्नुभयो ? १७ वर्षको उमेरमा जनयुद्धमा लागियो । जनयुद्धको प्रमुख उद्देश्य राजतन्त्रको अन्त्य र देशमा बराबरी अधिकारसहितको परिवर्तन थियो । महिला मुक्ति, दलित मुक्ति, छुवाछूत अन्त्यजस्ता विषयमा नेताहरूले सिकाउनुहुन्थ्यो । यसले युवाबाट परिवर्तन सम्भव छ भन्ने विश्वास जगायो । संकटकालको कठिन परिस्थितिमा आन्दोलन सञ्चालन गर्नु आफैँमा ठूलो चुनौती थियो । तत्कालीन सरकारले नेता–कार्यकर्ताको टाउकोको मूल्य तोकेको अवस्था थियो । हामी मुक्ति कि मृत्यु भन्ने भावनासहित आन्दोलनमा होमियौँ । अनेकौँ चुनौतीका बाबजुद हामीले त्यो लडाइँ जित्यौँ । एमालेको अनेरास्ववियुमा हुँदा तीन दिने आवासीय राजनीतिक कक्षामा कमल श्रेष्ठ, टोमलाल पाण्डे, बोम बहादुर खड्का, हरि पोखरेल, गणेश सिर्पालीलगायतका नेताले कम्युनिस्ट विचार सिकाउनुभयो । कक्षा ९ पछि माओवादी नेताहरू जिवलाल पन्थी, सुदर्शन बराल, दिनेश गैरे, युवराज केसी, नारायण घिमिरे, डम्बरसिंह ठकुरीले मार्गदर्शन गर्नुभयो । नारायण घिमिरे युद्धमा सहिद हुनुभयो, जसले हाम्रो संकल्प झनै बलियो बनायो । यही उत्प्रेरणाले हामी निरन्तर लागिरहेका छौँ । पक्कै पनि देशले कल्पना गरेकोजस्तो विकास हामीले गर्न सक्छौँ भन्ने दृढ बिश्वास ममा छ । हाल समाजवादी यात्राप्रति पनि हाम्रो लक्ष्य केन्द्रित रहेको छ । तपाईंले दुई पटक पालिकाको अध्यक्ष जित्नुभयो ? पार्टीको कारण कि व्यक्तिगत क्षमताले ? आज म जुन स्थानमा छु, त्यो माओवादी आन्दोलनकै कारणले हो । वर्गीय मुक्ति र परिवर्तनका लागि गरिएको संघर्ष मेरो पहिचान बनेको छ । यी सबैका बाबजुत जनतासँगको मेरो नजिकको सम्बन्धले पनि महत्वपुर्ण भुमिका खेलेको छ । म २७ वर्षको अवधीमा गाउँ–गाउँ, बस्ती–बस्तीका दुःख–सुखमा कहिल्यै टाढा भइनँ । नागरिकसँगको त्यही घनिष्ठ सम्बन्धकै आधारमा उहाँहरूले मप्रति विश्वास गर्नुभयो । संघीयता आएपछि सिंहदरबार गाउँ–गाउँमा पुर्याउने अभियानमा माओवादी अगाडि थियो, जुन सिद्धान्त र जनताको विश्वासले मलाई लगातार दुई कार्यकाल सेवा गर्ने अवसर दियो । पहिलो र दोस्रो कार्यकालमा गरेको वाचा कति पूरा गर्नुभयो ? संघीय निजामती ऐन नआउनु, जनशक्ति अभाव, दक्षता कमीलगायतका चुनौती भए पनि प्रतिवद्धताभन्दा बढी काम गरेका छौँ । कोभिडपछिको राजनीतिक अस्थिरताले संघ–प्रदेशमा असर पारे पनि हामीले गाउँमा स्पष्ट परिवर्तन ल्याएका छौँ । साना विकासदेखि शिक्षा, स्वास्थ्य, खानेपानी सबै क्षेत्रमा उल्लेख्य सुधार भएको छ । धुर्कोट विगतमा खानेपानीको समस्याका लागि चिनिन्थ्यो । अहिले ९० प्रतिशतभन्दा बढी घरमा एक घर–एक धारा पुगेको छ । हाल २७ वटा लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा छन् । सुरक्षित आवास, सडकको स्तरोन्नति, कृषि उत्पादन, कृषि एम्बुलेन्स, बजार पहुँच सबै क्षेत्रमा परिवर्तन देखिन्छ । सामुदायिक विद्यालयहरू प्रतिस्पर्धी बनेका छन् । एसईई, कक्षा १२ र पालिकास्तरीय परीक्षा सबैमा उत्कृष्ट नतिजा आएका छन् । धेरै विद्यार्थी छात्रवृत्तिमा डाक्टर–इन्जिनियर पढिरहेका छन् । स्वास्थ्यतर्फ १५ शैयाको अस्पताल चलिरहेको छ, पालीकका सातै स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध छ । ल्याब, २४ घन्टे बर्थिङ सेन्टर, प्रसूति सेवा, आयुर्वेदिक सेवा- सबै नियमित छन् । विद्यार्थी संख्या घट्दै गएको छ, स्वास्थ्यकर्मी अभाव कस्तो छ ? विद्यार्थी संख्या घटेको सत्य हो । नौ वर्षअघि करिब ६ हजार ८ सय विद्यार्थी थिए, अहिले करिब ४हजार ५ सय मात्रै छन् । यसको मुख्य कारण जन्मदर घट्नु हो । बर्थिङ सेन्टरमा पहिले ३०० बच्चा जन्मीन्थ्ये, अहिले १५०–१६० मा झरेको छ । स्वास्थ्य सेवामा औषधि अभाव छैन । उपकरण र दक्ष जनशक्ति पनि समग्रमा पर्याप्त छ, यद्यपि स्रोत–साधनको सीमितताका कारण कतिपय चुनौती रहन्छन् । सदरमुकाम बाहिर धुर्कोटमा मात्रै १५ शैयाको अस्पत्ताल रहेको छ । उक्त अस्पत्तालमा ३ जना डाक्टर कार्यरत हुनुहुन्छ । धुर्कोट कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुँदै आएको भनिन्छ, यो उत्कृष्टता कसरी सम्भव भयो ?  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकनमा दुई पटक उत्कृष्ट पाँच मा परेका छौँ । प्रदेशस्तरमा धेरैजसो पटक पहिलो स्थानमा छौँ । यो सफलता नागरिक, कर्मचारी, जनप्रतिनिधि सबैको सामूहिक योगदान हो । बेरुजु न्यून छ । अघिल्लो वर्ष दोस्रो स्थान, मात्र ० दशमलव ३७ प्रतिशत मात्रै बेरुजु रहेको थियो । हरेक वर्ष सार्वजनिक सुनुवाइ, नागरिक गुनासा समाधान, न्यायिक समितिको सक्रियता यि सबैले सुशासनमा मद्दत गरेका छन् । धेरै पालिकामा प्रमुख-उप्रमुखबीच विवाद हुन्छ, तपाईंको पालिकामा यस्तो छ कि छैन ? राजनीतिलाई जिम्मेवारीका रूपमा बुझियो भने विवाद हुँदैन । हामी सबै तोकिएको भूमिकामा सीमित भएर काम गर्छौँ । धुर्कोटमा उपाध्यक्ष र वडा अध्यक्षहरू विभिन्न दलका भए पनि सबै समन्वयकारी भूमिकामा छन् । म अल्पमतमा भए पनि सबै निर्णय सर्वसम्मत हुन्छन् । नीति–कार्यक्रममा कर्मचारीको साथ र टिमवर्कले नै सफल बनाएको हो । पालिका भित्रका परियोजनाहरू कस्ता छन् ? संघ–प्रदेशको सहयोग कस्तो छ ? संघ–प्रदेशले अवरोध गरेका छैनन् । प्राथमिकता फरक–फरक हुन सक्छ, तर समग्रमा सँघ र प्रदेशको सहयोग रहेको छ । सबैभन्दा ठूलो समस्या निर्माण व्यवसायीका कारण प्रशासकीय भवन समयमै बनाउन सकिएको छैन । अब म्याद नथप्ने, कारबाही अघि बढाउने निर्णय गरेका छौँ । सय मेट्रिक टन क्षमताको शीत भण्डार चल्न नसक्नु दुर्भाग्यपूर्ण रह्यो । अन्य अधिकांश परियोजना सफल छन् । कभर्ड हल, खेलमैदान, पार्क, धुर्कोट ग्रेटवाल पैदलमार्ग, शैक्षिक संग्रहालय, औद्योगिक ग्राम आदि राम्रा काम गरेका छौँ ।  युवाहरू विदेशिने प्रवृत्ति कस्तो छ ? पालिकाले रोजगारी दिन सक्छ ? एक्लै पालिकाले सबैलाई रोजगारी दिन सक्दैन । उद्योगधन्दा नहुँदासम्म ठूलो रोजगारी सिर्जना कठिन हुन्छ । तर विदेशबाट फर्किएका युवाले बाख्रापालन, दुग्ध उत्पादन, सुन्तला, अकबारे खुर्सानी, टमाटर खेती गर्दै सफल भएका छन् । एक युवाले ५० क्विन्टलभन्दा बढी अकबारे खुर्सानी बजार पठाइसकेका छन् । रेमिट्यान्सलाई उत्पादन र उद्यममा जोड्ने नीतिलाई प्राथमिकता दिएका छौँ । आलोचना कति भोग्नु पर्छ ? गाउँमै बस्नेले कम आलोचना गर्छन् । शहरमा बस्नेले सहरजस्तै सुविधा चाहने हुँदा आलोचना बढी हुन्छ । दैनिक सेवा लिने स्थानीय नागरिकको आलोचना सकारात्मक लाग्छ, तर बाहिरबाट गरीने पूर्वाग्रही आलोचना उपयोगी हुँदैनन् । म आलोचनाबाट डराउँदिन । सबैलाई पालिका, विद्यालय, स्वास्थ्यचौकी आएर परिवर्तन आफ्नै आँखाले हेर्न अनुरोध गर्छु । आलोचना होइन, वास्तविकतामा आधारित सुझाव स्वागतमात्र होइन, प्रेरणादायी हुन्छन् । आगामी योजना के के छन् ? हाम्रो कार्यकाल अब एक वर्ष मात्रै बाँकी छ । बाँकी समयभित्र सुरु गरिएका आयोजनाहरू सम्पन्न गर्ने, नागरिकलाई खुशी र विश्वस्त बनाउँदै हस्तान्तरण गर्ने प्राथमिकतामा रहनेछ । दुई कार्यकालको प्रतिनिधित्वपछि पनि जिम्मेवार नागरिक बनेर गाउँकै विकासमा निरन्तर योगदान दिने संकल्प छ । देश विदेशमा रहेर सहयोग, सुझाव, आलोचना र सहभागिता जनाउने सबैलाई धन्यवाद । विद्यालय, स्वास्थ्य संस्था, विपद्–प्रतिकारमा दिनुभएको साथ अमूल्य छ । आगामी दिनमा पनि धुर्कोटलाई अझ समृद्ध र पहिचानयुक्त बनाउन सबैको निरन्तर सहयोग र सहभागिता अपेक्षित छ ।  

अब बोनस सेयरमा लाग्ने लाभांश कर सम्बन्धित कम्पनीले नै तिर्नुपर्ने

काठमाडौं । अबदेखि कम्पनीहरूले सेयरधनीलाई बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर स्वयं कम्पनीले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सोमबार धितोपत्र निष्कासन तथा बाँडफाँट (दसौँ संशोधन) निर्देशिका, २०७४ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो । यसअघि बोनस सेयरमा लाग्ने करसम्बन्धी स्पष्ट प्रावधान नहुँदा कतिपय अवस्थामा लाभांश कर लगानीकर्ताले नै तिर्नुपर्ने तिर्नुपर्ने अवस्था थियो ।  साविकको प्रणालीमा बोनस सेयर वितरण भए पनि त्यसमा लाग्ने कर कम्पनीले समायोजन नगर्ने भएकाले सेयरधनी स्वयं कर तिर्न बाध्य हुने गुनासो बढेको थियो । संशोधित दसौँ निर्देशिका, २०८२ को दफा ४० मा उपदफा (७०) थप गर्दै सेबोनले अबबाट धितोपत्र बोर्डमा दर्ता भएका सबै संगठित संस्थाले बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर कम्पनीकै जिम्मेवारीमा रहने व्यवस्था गरेको छ । कम्पनीले लाभांशबाटै उक्त कर मिलान गरी समयमै भुक्तानी गर्नुपर्ने स्पष्ट गरिएको छ ।

दिपल एस०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

काठमाडौं । दिपलका आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘फ्ल्यागशिप’ मोडेल दिपल एस०७ आईसिएमा उपलब्ध ‘बाइब्याक ग्यारेन्टी’ र ‘५ वर्षसम्म शुन्य खर्च’ आकर्षक स्किम पुनः सुरु गरेको छ । कम्पनीका अनुसार यो स्किमले नेपाली ग्राहकबीच दिपल एस०७ प्रति भरोसा बलियो बनाउने तथा रिसेल मूल्यको चिन्ता हटाउने उद्देश्य राखेको छ । बाइब्याक कार्यक्रमअन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्ने ग्राहकले दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपमै पूर्वनिर्धारित मूल्यमा सवारी पुनः बेच्न सक्ने सुविधा पाउनेछन् । कम्पनीका अनुसार यसले इलेक्ट्रिक सवारी खरिद गर्दा देखिने मूल्य घट्ने चिन्तालाई प्रभावकारी रुपमा सम्बोधन गर्छ । यस्तै, स्किमसँगै ग्राहकले पाँच वर्षसम्म कुनै पनि प्रकारको खर्च बेहोर्न नपर्ने व्यवस्था गरिएको छ । पाँच वर्षभित्र ‘अटोप्लस इन्स्योरेन्स’, नियमित मर्मत–सम्भार, चार्जिङ खर्च र सडक कर (रोड ट्याक्स) सबै एमएडब्लु वृद्धिले नै वहन गर्नेछ । आवश्यक सेवाहरू सबै समेटिएको यो ‘जिरो–कस्ट’ प्याकेजले ग्राहकलाई चिन्तामुक्त र सहज इभी अनुभव दिने कम्पनीको दाबी छ । एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार दिपल एस०७ आईसिए आरामदायी र बुद्धिमान एसयुभी हो, जसले नेपालको बदलिदो यात्रु मागलाई सम्बोधन गर्नेछ । 'हाम्रो उद्देश्य ग्राहकलाई इभी स्वामित्वका प्रत्येक चरणमा आत्मविश्वास दिलाउनु हो । ग्राहकले निरन्तर साथ र विश्वास अनुभव गरून् भन्ने हाम्रो चाहना हो,' उनले भने । दिपल एस०७ आईसिएलाई लक्जरी र प्रविधिको नयाँ मापदण्ड मानिन्छ । यसमा रहेको ‘दिपल एप’ मार्फत जुनसुकै स्थानबाट कारको झ्याल, एसी, चार्जिङ स्थिति र लोकेसन समेत नियन्त्रित गर्न सकिन्छ । साथै ४जीर५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप एकिकरण, एमेजन म्युजिक, स्पोटिफाइ र लाइभ नेभिगेसन जस्ता आधुनिक सुविधा उपलब्ध छन् । कम्पनीका अनुसार यसको ‘टाइमलेस डिजाइन’ तथा १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ फिचर ले नेपाली इभी बजारमा दिपलले नयाँ प्रविधि मानक स्थापित गर्ने विश्वास दिलाउँछ ।

नसर्ने रोगले आँखाको समस्या बढाउँदै : एक अध्ययन

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।      अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७.३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ ।      अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौं जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोगहरू, जोखिम कारकहरू, सेवासुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो ।      ‘एन एपेडिमियोलोजिकल स्टडी अफ ओकुलर डिजिज इन काठमाडौं डिस्ट्रिक्ट अफ नेपालः काठमाडौं आइ स्टडी’ नामक अध्ययनमा चार हजार ९९० जना सहभागी थिए । सहभागीहरूमध्ये ९७.७ प्रतिशत कुनै न कुनै प्रकारको आँखा रोगबाट पीडित रहेको पाइएको थियो । अध्ययनले मोतियाविन्दु र दृष्टि दोष दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरू रहेको देखाएको छ जसमा ४१.७ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण थियो र लगभग ८० प्रतिशत दृष्टिविहीनता दृष्टिदोषका कारण थियो ।      अध्ययनले आँखा दानबारे जानकारी भए तापनि दानमा रुचि कम भएको देखाएको छ । २५२ उत्तरदातामध्ये ५६ प्रतिशत आँखा दानबारे सचेत देखिएका छन् भने ४५ (१७.९ प्रतिशत) उत्तरदाताहरूले मात्र आँखा दानमा रुचि देखाएका छन् । सहभागीहरूको चार हजार ४६७ अर्थात् ९१ प्रतिशतले आँखा स्वास्थ्य परामर्श लिएका थिए जसमध्ये अधिकांश तीन हजार २१४ (७१.१९ प्रतिशत) आँखा अस्पताल गएका थिए । परामर्श नलिनेहरूमध्ये धेरैले आवश्यकता महसुस नहुनु, समयको अभाव, वैकल्पिक औषधिमा निर्भरता, साथीको अनुपस्थिति र सहभागीहरूको आर्थिक बाध्यताहरू रहेको बताएका थिए ।      स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो अध्ययनले आँखा स्वास्थ्यमा अझै पनि सचेतना पुग्न नसकेको बताए । उनले यो अध्ययन आँखा स्वास्थ्य सेवाका लागि नीति तथा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने बताए । उनले भने, 'काठमाडौं केन्द्रित महत्वपूर्ण आँखा अध्ययन सार्वजनिक भएको छ । अध्ययनले प्रारम्भिक जाँचले कतिपय आँखाको समस्याहरु हल भएर जाने हुनाले जनचेतनाको आवश्यकता रहेको देखाएको छ ।'      तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत तथा अध्ययनकी प्रमुख अनसुन्धानकर्ता डा रीता गुरुङले काठमाडौंमा आँखा स्वास्थ्यलाई सुदृढ गर्न व्यापक स्वास्थ्य प्रणालीभित्र आँखा हेरचाहलाई एकीकृत गर्न आवश्यक रहेको बताइन् । उनले नसर्ने रोगको जोखिमजस्तै मोटोपना, उच्च रक्तचाप, मधुमेहलाई सम्बोधन गर्न ध्यान दिनुपर्ने धारणा राख्दै  प्रमुख आँखा रोगहरूबारे जागरूकता बढाउन, प्रारम्भिक हेरचाह खोज्न प्रोत्साहन गर्न, र आँखा दानप्रतिको बुझाइ र इच्छा सुधार गर्न सामुदायिक संलग्नता बढाउनुपर्ने बताइन् ।  

कोरियाबाट फर्किएका युवालाई व्यवसाय सुरु गर्न ५ वर्ष ब्याज अनुदानसहित ‘५० लाखसम्म ऋण’

काठमाडौं । कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) र कृषि विकास बैंक लिमिटेड (एडीबीएल) बीच ‘कोरिया फर्केका नेपाली श्रमिकहरूको लागि वित्तीय पहुँच विस्तार’ कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा सहमति भएको छ ।  यो योजना २०२२ सेप्टेम्बर २३ मा कोरियाली सरकार र नेपाली सरकारबीच ‘कोरिया फर्केका श्रमिकको स्थायी पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण’ परियोजनाका लागि गरिएको सम्झौताअनुसार अगाडि बढाइएको हो । सम्झौतामा कोइकाका देश निर्देशक मूहोन कंग र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीई‌‌ओ) गोविन्द गुरुङले हस्ताक्षर गरे ।  अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले साक्षीका रूपमा हस्ताक्षर गरे । यस कार्यक्रमको मुख्य उद्देश्य कोरिया फर्केका नेपाली श्रमिकहरूलाई व्यवसाय तथा उद्यमशीलता विकासका लागि आवश्यक वित्तीय पहुँच सहज बनाइ स्थिर वातावरण तयार गर्नु हो ।  यस अन्तर्गत योग्य लाभग्राहीले कृषि विकास बैंकबाट अनुदानसहितको ऋण पाउनेछन् । उक्त ऋण पाँच वर्षसम्म ब्याज अनुदानसहित उपलब्ध हुनेछ । कोइकाले कार्यक्रमका लागि २५ लाख अमेरिकी डलर (लगभग ३२ करोड रुपैयाँ) उपलब्ध गराउनेछ । यो रकम पूर्णतः ब्याज अनुदानका लागि मात्र प्रयोग हुनेछ । एडीबीएलले कार्यक्रमका लागि करिब १.२ अर्ब रुपैयाँ ऋण पूँजी उपलब्ध गराउनेछ । कार्यक्रममार्फत करिब २०० देखि २५० जना कोरिया फर्केकालाई सहयोग पुग्ने अनुमान गरिएको छ, जसअन्तर्गत औसत ५० लाख रुपैयाँसम्मको ऋण प्रदान गरिनेछ। कार्यक्रम २०२६ देखि २०२८ सम्म सञ्चालन हुनेछ । व्याज अनुदान पाँच वर्षसम्म उपलब्ध रहन्छ । यस कार्यक्रममार्फत कोरिया फर्केकाहरूले आफ्नो सीप प्रयोग गरी सफल उद्यम स्थापना गर्न सक्ने जनाइएको छ।

टिम भेञ्चर्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १८ हजार कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो । आईपीओ निष्काशनसम्बन्धी सम्झौता सोमबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पन्न भयो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसाङ श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका हुन् । विसं २०७३ सालमा स्थापना भएको टिम भेञ्चर्स लिमिटेडको कार्यालय काठमाडौंको सिनामंगलमा रहेको छ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । टिम भेञ्चर्सले हाल ऊर्जा (हाइड्रोपावर, सोलार), उत्पादन (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार तथा प्रविधि क्षेत्रमा लगानी गरिरहेको छ । आगामी वर्षहरूमा लगानीका नयाँ अवसरहरू पहिचान गर्दै थप क्षेत्र विस्तार गर्ने कम्पनीको योजना रहेको छ । कम्पनीका अन्य संचालकहरूमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा तेन्जिङ सोनाम गोन्सार कार्यरत छन् ।

वरिष्ठताको पहिलो नम्बरमा रहेका अर्याल बने मुख्यसचिव

काठमाडौं । सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । वरिष्ठताका आधारमा रक्षा सचिव भएर काम गरिरहेका अर्याल मुख्य सचिव बनेका हुन् । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा थिए ।  यदि सुमनराज अर्याल मुख्यसचिव बने भने प्रशासन सेवातर्फ सचिवका दुई पद रिक्त हुनेछन् । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गते  अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको हो । अर्याल २०७७ साल माघ १९ मा सचिवमा बढुवा भएका थिए । सचिवको रूपमा उनको पहिलो नियुक्ति राष्ट्रिय योजना आयोगमा भएको थियो । हाल उनी रक्षा मन्त्रालयको सचिव हुन् ।