विकासन्युज

हुण्डाई एसेम्बली बन्दै ज्ञानको पाठशाला

काठमाडौं । नवलपरासीको रामग्राममा सञ्चालित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी हुण्डाई एसेम्बली प्लान्टले नेपालको अटोमोबाइल क्षेत्रलाई नयाँ परिभाषा दिएको छ । अब हुण्डाई केवल सडकमा गुड्ने विदेशी ब्रान्ड मात्र रहेन, यो नेपाली इन्जिनियरहरूको सीप र पसिना मिसिएको स्वदेशी गौरवसमेत बनेको छ । लक्ष्मी ग्रुपको लगानी र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेशन स्थापना गरिएको हो । कर्पोरेशनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । धेरैलाई लाग्न सक्छ, एसेम्बली भनेको विदेशबाट आएका पाटपूर्जा जोड्नु मात्र हो । तर, लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया यसलाई अलि फरक ढंगले व्याख्या गर्छन् । उनी भन्छन्, ‘यो केवल गाडी जोड्ने केन्द्र होइन, यो त एउटा ज्ञान विद्यालय हो ।’ दीपक थपलिया ।  नेपालको शैक्षिक प्रणाली र उद्योगबीच सधैं एउटा ठूलो खाडल रहने गरेको छ , विद्यार्थीसँग थ्योरी छ, तर प्रयोगात्मक सीप छैन । हुण्डाईको यो पहलले उक्त खाडल पुर्ने काम गरेको छ । यहाँ नेपाली इन्जिनियर र प्राविधिकहरूले गाडीको कोडिङ र क्यालिब्रेसनजस्ता जटिल प्राविधिक कामहरू आफ्नै हातले गरिरहेका छन् । यो एउटा यस्तो थलो बनेको छ, जहाँ त्रिवि शिक्षण अस्पतालमा इन्टर्न गरिरहेका चिकित्सकले जस्तै प्राविधिकहरूले काम गर्दै सिक्ने अवसर पाइरहेका छन् । डेढ वर्षअघिसम्म लक्ष्मी हुण्डाईको बोर्ड बैठकमा गाडी कसरी धेरै बिक्री गर्ने र ग्राहक कसरी खुसी पार्ने  भन्ने विषयमा मात्र छलफल हुन्थ्यो । तर आज परिवेश फेरिएको छ । महाप्रबन्धक थपलियाका अनुसार अहिले बैठकमा कति कच्चा पदार्थ खेर गयो ? कागजदेखि फलामका टुक्रालाई कसरी पुनः प्रयोग गर्ने ? र खेर गएका वस्तुबाट नयाँ के बनाउन सकिन्छ ? भन्ने विषयमा विमर्श हुन्छ । यो परिवर्तनले व्यापारिक मानसिकतालाई औद्योगिक मानसिकतामा रूपान्तरण गरिदिएको छ । यसले कर्मचारीहरूलाई केवल ‘सेल्सम्यान’ मात्र होइन, इनोभेटर बन्नसमेत प्रेरित गरेको छ । नवलपरासीको १० बिघा क्षेत्रफलमा फैलिएको यो प्लान्टमा २ अर्ब ६५ करोड रुपैयाँ लगानी भएको छ । वार्षिक ५ हजार गाडी उत्पादन गर्न सक्ने क्षमताको यस उद्योगले प्रत्यक्ष रूपमा ३ सय जनालाई रोजगारी दिएको छ । तर, यसको प्रभाव यतिमा मात्र सीमित छैन । यसले लेयर इकोनोमी (तहगत अर्थतन्त्र) सिर्जना गरेको छ । प्लान्टका कारण हजारौं परिवार अप्रत्यक्ष रूपमा आश्रित छन् । लजिस्टिक पार्टनर, चालकहरू, स्थानीय खाद्य उद्योग र ईभी चार्जिङ स्टेशनहरूको विस्तारले स्थानीय स्तरमा आर्थिक चहलपहल बढाएको छ । राजधानी केन्द्रित विकासलाई विकेन्द्रीकरण गर्दै मोफसलमा औद्योगिक सम्भावनाको ढोका यसले खोलेको छ । विश्वभर गाडी उत्पादनका पाँच मुख्य चरण हुन्छन् । जसमा प्रेस, बडी, पेन्ट, एसेम्बली र परीक्षण । नेपालको वर्तमान अवस्था र दक्षतालाई मध्यनजर गर्दै हुण्डाईले अन्तिम तीन चरण, एसेम्बली, टेस्टिङ र क्वालिटी एश्योरेन्सबाट काम सुरु गरेको छ । ‘सरकारले जति राम्रो वातावरण बनाउँदै जान्छ, हामी त्यति नै अघिल्ला चरणहरू (प्रेस र पेन्ट शप) मा प्रवेश गर्दै जानेछौं,’ थपलिया भन्छन् । सरकारले ईभी गाडी आयातमा दिने सहुलियत र स्वदेशी उत्पादनलाई दिने प्रोत्साहनबीच सन्तुलन मिलाउन सके नेपाल छिट्टै अटोमोबाइलमा आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।  सुरुवातकालीन अवस्थामा पुस्टकारी बेच्ने लक्ष्मी ग्रुपले हालसम्म आइपुग्दा आफूलाई निकै परिष्कृत गराएको छ । हाल लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । देशभरि ग्रुपका २० भन्दा धेरै कम्पनी छन् । जसमा करिब २ हजारले रोजगारी पाइरहेका छन् । सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन्। अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास

डिजिटल बैंकिङमा कुमारी बैंकको नयाँ फड्को, मास्टरकार्ड सेवा सुरु

काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ । बैंकले बिहीबार (आज) एक कार्यक्रमबीच मास्टरकार्ड सेवाको औपचारिक रूपमा सुरु गरेको हो । यसअघि बैंकले भिजाकार्ड प्रयोगमा ल्याइरहेको भए तापनि ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाको रूपमा मास्टरकार्ड सेवा सुरु गरेको जनाएको छ ।  मास्टरकार्डको अन्तर्राष्ट्रिस्तरमा ठूलो ब्राण्ड भएको हुँदा यसले ग्राहकलाई सेवा छनोटको अवसर प्रदान गर्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले बताए । साथै उनले विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् । सीईओ खनालका अनुसार यो कार्ड नेपाल र भारत दुवै ठाउँमा अनलाइन भुक्तानी र पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ । बैंकले हाल नयाँ क्याम्पेनअन्तर्गत पहिलो वर्षका लागि वार्षिक शुल्क निःशुल्क गरेको छ ।  सीईओ रामचन्द्र खनाल । सामान्यतया यसको शुल्क वार्षिक ५०० रुपैयाँ हुने सीईओ खनालले बताए । उनका अनुसार एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क र कारोबारको सीमाको हकमा नेपाल राष्ट्र बैंकले तोकेको नियम नै लागु हुनेछ । राष्ट्र बैंकको निर्देशनअनुसार एक व्यक्तिले एउटै बैंकबाट दुईवटा डेबिट कार्ड (अर्थात् भिजा र मास्टरकार्ड दुवै) लिन पाउँदैनन् । त्यसैले ग्राहकले यी दुईमध्ये कुनै एउटा मात्र रोज्नुपर्ने हुन्छ । बैंकले गत वर्षदेखि नै आफ्ना एटीएमहरूमा मास्टरकार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वास बैंकले लिएको छ । पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीबाट बच्न आफ्नो पिन ओटीपी वा कार्डको विवरणहरू कसैलाई नदिन र अनधिकृत वा शंकास्पद वेबसाइटहरूमा कार्ड प्रयोग नगर्न पनि बैंकले अनुरोध गरेको छ । कार्ड प्रयोग गर्दा जहिले पनि सचेत रहन र आधिकारिक ठाउँमा मात्र विवरणहरू दिन बैंकको सुझाव छ । विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा विद्युतीय कारोबारमार्फत बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको छ । हाल बैंकको देशभर २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरूमार्फत ग्राहकवर्गलाई सेवा दिँदै आएको छ । थप तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो...

प्रकाश सिलवाल काठमाडौं । पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले सपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भीडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था सङ्घीय संसदमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू एकै साथ प्रवेश गर्दा स्वभाविकरुपमा सबैमा चासो र आकर्षण देखियो । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन सांसदहरूले बिहीबार पद तथा गोपनीयताको सपथ दिने समारोहका लागि संसद सचिवालयबाट सांसदहरुका लागि दुई घन्टा अगावै बोलाइएको थियो । सवारी जाम तथा नियमित गइरहेको स्थान नभएकाले कतिपय सांसदहरु अलमलमा परेर सपथ हुने समय २ः०० बज्न पाँच मिनेट अघिसम्म पनि प्रवेश गर्दै थिए ।   मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट सुनिश्चित गर्ने संसदमा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहार भएकाले पनि समर्थक, कर्मचारी र पत्रकारमा पनि चासो बढेको पाइयो ।  भीड र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरीका साथै संसद्का मर्यादापालकलाई भ्याइनभ्याइ थियो । जनताका प्रतिनिधिको स्वीकृति बिना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेको र करसम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो । तर संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने यस महत्वपूर्ण थलो भने अहिले अल्पकालीन संरचनाबाट सञ्चालित छ । विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले र सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको शपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो । सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।  सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले पुरानो भवन क्षतिग्रस्त भएका र नयाँ भवन पूर्ण तयार भइनसकेको अवस्थामा विशेष हलको प्रबन्ध गरिएको बताए । उनका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ । उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिथ्यो ।   कुन द्वारबाट हलभित्र छिर्ने भन्ने स्पष्ट नहुँदा कुनै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट ओर्लिएर सुरुमा बन्द भएको ढोकातर्फ पुगेका थिए ।  सञ्चारकर्मी र सुरक्षाकर्मीबाट घेरिएका कारण उनीहरुलाई झन् अलमल भएको थियो । आफै गाडी चलाएर आएका नेता शाह सपथपछि अरुभन्दा चाँडै बाहिरिएका थिए । यसअघिको संसदमा रहेका प्रधानमन्त्रीसमेत भइसकेका कतिपय नेता यस पटक सदनमा नरहेकाले पत्रकारको प्रश्न सोध्ने र नेताको जवाफ दिने शैली रोचक नै थियो । नयाँ वानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा जस्तो व्यवस्थित संरचना निर्माण भइनसकेकाले धुलोमैलो रहेको सिंहदरबारको संसद् भवनको परिसरमा पत्रकारहरूका लागि प्रतिक्रिया दिन र तस्बिर खिच्न असुविधा भएको देखिन्थ्यो । हलमा स्थान अभावका कारण राष्ट्रिय सञ्चारमाध्यमका सीमित क्यामरापर्सनले मात्र सपथस्थलमा प्रवेश पाएका थिए । दर्शकदीर्घा पनि तयार भइनसकेकाले संसद् भवनको भई तलामा राखिएको ठूलो स्क्रिनमा कार्यक्रमको दृष्य देखाइएको थियो । संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो । सपथपछि सांसदहरूलाई प्रतीक चिन्ह (लोगो) र ब्याज उपलब्ध गराइएको थियो । सपथमा आएका सदस्यहरूले आफ्ना परिवारका सदस्यहरूलाई पनि ल्याएका थिए ।  रास्वपाका सांसद पुकार बमले बच्चा पनि साथ ल्याएका थिए । सोही पार्टीका सांसद रहबर अन्सारी विद्यालयका विद्यार्थीको पोसामा आउँदा जिज्ञासाको पात्र बनेका थिए । जातजाति र संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांसदहरू आफ्ना भेषभूषा तथा मर्यादित पोसाकमा सजिएर आएका थिए । अपाङ्गता भएका सांसदहरू ह्विलचेयरमा आएका थिए । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ । रासस 

रास्वपाको संसदीय दलको नेता बने बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले बालेनलाई संसदीय दलको नेता चयन गरेको हो ।  आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव पारित गरेको थियो । त्यसपछि बसेको संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकले उनलाई संसदीय दलको नेता चुनेको हो । सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।  बालेनले शुक्रबार प्रधानमन्त्रीको सपथ लिने तयारी गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् । 

‘सदाका रसायन’ के हुन् ? किन खतरनाक ?

काठमाडौं । दैनिक जीवनमा प्रयोग हुने धेरै सामान्य सामानमा पाइने तर शरीर र वातावरणमा सजिलै नटुट्ने रसायनहरूलाई ‘सदाका लागि रसायन’ भनिन्छ । यिनै रसायनका कारण स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पर्ने जोखिम बढेपछि युरोपेली सङ्घ (इयु) ले तीमाथि कडा नियन्त्रणको तयारी थालेको छ ।      वैज्ञानिक रूपमा यी रसायनहरूलाई पीएफएएस (पर– एन्ड पोलिफ्लोरोआल्किल पदार्थ) भनिन्छ । यी १० हजारभन्दा बढी प्रकारका रसायनहरूको समूह हो, जुन नन–स्टिक भाँडा (जस्तै टेफलोन प्यान), पानी वा दाग नलाग्ने कपडा, कार्पेट, खाद्य प्याकेजिङ (जस्तै पिज्जा बक्स) जस्ता वस्तुहरूमा प्रयोग गरिन्छ । यी रसायनको विशेषता के हो भने एकपटक वातावरण वा शरीरमा पुगेपछि सजिलै नष्ट हुँदैनन् । त्यसैले तिनलाई ‘सदाका लागि’ अर्थात् लामो समयसम्म रहने रसायन भनिएको हो ।      विज्ञहरूका अनुसार यी पदार्थहरू पानी, माटो र खाना हुँदै मानव शरीरमा प्रवेश गर्छन् । शरीरभित्र प्रवेश गरेपछि पनि वर्षौंसम्म रहन सक्छन् । दीर्घकालीन रूपमा यिनको सम्पर्कमा रहँदा कलेजोमा क्षति, उच्च कोलेस्ट्रोल, प्रतिरक्षा प्रणाली कमजोर हुनु, सन्तान उत्पादनमा समस्या तथा क्यान्सरसमेत हुने जोखिम देखिएको छ । यही कारणले युरोपियन केमिकल्स एजेन्सीअन्तर्गतका दुई विज्ञ समितिहरूले यी रसायनहरूलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने निष्कर्ष निकालेका छन् । जोखिम मूल्याङ्कन समिति (आरएसी) ले त यी रसायनमाथि पूर्ण प्रतिबन्ध नै सबैभन्दा प्रभावकारी उपाय हुने जनाएको छ । तर सामाजिक–आर्थिक विश्लेषण समिति (एसइएसी) ले भने सबै क्षेत्रमा तत्काल पूर्ण प्रतिबन्ध सम्भव नहुन सक्ने भन्दै केही आवश्यक क्षेत्र जस्तै चिकित्साका लागि सीमित छुटसहित व्यापक प्रतिबन्धको सुझाव दिएको छ ।      यसैअनुसार इयुले दैनिक उपभोगका धेरै सामग्रीमा पीएफएएस प्रयोग रोक्ने तयारी गरिरहेको छ । साथै, उत्पादनमा स्पष्ट लेबलिङ र उद्योगहरूका लागि विशेष सुरक्षा मापदण्ड लागू गर्ने योजना पनि अघि बढाइएको छ । यसअघि नै पिउने पानीमा यस्ता रसायनको मात्रा कडाइका साथ सीमित गरिएको छ भने खाद्य प्याकेजिङ र खेलौनामा पनि क्रमशः प्रतिबन्ध लागू गरिँदैछ ।      एक अध्ययनअनुसार यदि यी रसायनको प्रयोग नियन्त्रण नगरेमा सन् २०५० सम्म युरोपमा मात्रै स्वास्थ्य र वातावरणीय क्षतिको लागत १७ खर्ब युरोसम्म पुग्न सक्छ ।      समग्रमा, ‘सदाका रसायन’ भन्नाले त्यस्ता कृत्रिम रसायनहरू बुझिन्छन्, जुन उपयोगी भए पनि वातावरण र मानव शरीरमा लामो समयसम्म रहिरहने र गम्भीर असर पार्ने क्षमता राख्छन् । यही कारण अहिले विश्वभर यिनको प्रयोग घटाउने वा नियन्त्रण गर्ने बहस तीव्र हुँदै गएको छ । रासस   

कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको कांग्रेसको प्रारम्भिक प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई पहिलो नजरमै अपूर्ण रहेको टिप्पणी गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले प्रतिवेदन सार्वजनिक भएलगत्तै प्रतिक्रिया दिँदै भदौ २३ को घटनाबारे विस्तृत अध्ययन गरिएको देखिए पनि भदौ २४ को घटनालाई पर्याप्त रूपमा समेट्न नसकिएको बताएका हुन् । उनले भने, ‘यो हाम्रो प्रारम्भिक प्रतिक्रिया मात्र हो। प्रतिवेदन पहिलो दृष्टिमै अपूर्ण देखिएको छ । भदौ २३ को आन्दोलनका विषयमा केही हदसम्म प्रकाश पारिएको छ, तर २४ गतेका घटनाहरूलाई प्रष्ट रूपमा उठान गरिएको छैन । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारे। उनले कानुनविद्हरूसँग समेत छलफल गरेर थप विश्लेषण गर्ने जानकारी दिए । कांग्रेसले प्रतिवेदनका अपूर्ण पक्षहरूबारे थप अध्ययन र बहस आवश्यक रहेको बताउँदै सम्बन्धित निकायलाई पनि गम्भीर बन्न आग्रह गरेको छ ।

पूर्वसीडीओको बयान- जेनजी आन्दोलन विकृति, विसंगति, अन्याय र  असमानताको परिणाम हो

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलन मुलुकमा लामो समयदेखि रहेका विकृति, विसंगति, अन्याय र  असमानताको परिणाम रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताएका छन्। जेनजी आयोगको जाँचबुझ प्रतिवेदनमा उनले मुलुकमा लामो समयदेखि रहेका विकृति, विसंगति, अन्याय र असमानताको परिणाम रहेको बताएका हुन् । नागरिकले विद्रोह नगरी नहुने परिस्थिति कस(कसका कारणले सिर्जना भयो भन्ने कुरा गहिरो अध्ययन नगरी एक–दुई जना सरकारी अधिकृतको कमजोरीले मात्र यति ठूलो घटना भयो भन्न नमिल्ने उनले उल्लेख गरेका छन् । फिल्डमा खटिएको सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सहयोग नगरेको गुनासो आफूले नेपाल प्रहरीका अधिकृतहरूबाट सुनेको रिजालले बताएका छन् ।  पदीय हैसियतले गर्नुपर्ने सबै जिम्मेवारी असल मनसाय र सक्षमताका साथ निर्वाह गर्दागर्दै पनि राज्य संयन्त्रले आँकलन गरेभन्दा बाहिरको परिस्थिति सिर्जना भएको रिजालको भनाइ छ । ‘एउटा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो भूमिका पूरा गरेकै हुँ, तर राज्य संयन्त्रले आँकलन गरेभन्दा बाहिरको परिस्थिति सिर्जना भई सरकार प्रमुखले राजीनामा दिनुपर्ने र प्रधानमन्त्री तथा मन्त्रीहरूको जीवनरक्षाका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो भन्ने कारणले मात्र मलाई जिम्मेवार ठहर गर्नु न्यायोचित हुँदैन, उनले भने । प्रदर्शनमा सहभागी युवाहरूको ज्यान गएको र दर्जनौं घाइते भएको खबरले अत्यन्त मर्माहत भएको उनले बताएका छन् ।  भदौ २३ र २४ का घटनालाई असामान्य, अप्रत्याशित र राज्य संयन्त्रका लागि गम्भीर परीक्षाका रूपमा लिनुपर्ने रिजालको भनाइ छ । आफूले प्राप्त सूचना, कानुनी अधिकार र तत्कालीन परिस्थितिको मूल्याङ्कनका आधारमा सार्वजनिक हित, शान्ति सुरक्षा र नागरिकको जीउधनको संरक्षणलाई प्राथमिकतामा राखी निर्णय लिएको रिजालले बताएका छन् ।

सानिमा बैंक केयर रेटिङबाट उत्कृष्ट रेटिङ प्राप्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले चैत्र २ गते केयर इडिज रेटिङ नेपालबाट उच्च मूल्याङ्कन रेटिङ प्राप्त गरेको छ । बैंकले विश्वसनीयता, वित्तीय स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै यो सम्मान हासिल गरेको हो । सानिमा बैंक हाल सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले वित्तीय क्षेत्रमा आफ्नो दिगो र पारदर्शी सेवा प्रवाहलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।