कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको कांग्रेसको प्रारम्भिक प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई पहिलो नजरमै अपूर्ण रहेको टिप्पणी गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले प्रतिवेदन सार्वजनिक भएलगत्तै प्रतिक्रिया दिँदै भदौ २३ को घटनाबारे विस्तृत अध्ययन गरिएको देखिए पनि भदौ २४ को घटनालाई पर्याप्त रूपमा समेट्न नसकिएको बताएका हुन् । उनले भने, ‘यो हाम्रो प्रारम्भिक प्रतिक्रिया मात्र हो। प्रतिवेदन पहिलो दृष्टिमै अपूर्ण देखिएको छ । भदौ २३ को आन्दोलनका विषयमा केही हदसम्म प्रकाश पारिएको छ, तर २४ गतेका घटनाहरूलाई प्रष्ट रूपमा उठान गरिएको छैन । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारे। उनले कानुनविद्हरूसँग समेत छलफल गरेर थप विश्लेषण गर्ने जानकारी दिए । कांग्रेसले प्रतिवेदनका अपूर्ण पक्षहरूबारे थप अध्ययन र बहस आवश्यक रहेको बताउँदै सम्बन्धित निकायलाई पनि गम्भीर बन्न आग्रह गरेको छ ।
पूर्वसीडीओको बयान- जेनजी आन्दोलन विकृति, विसंगति, अन्याय र असमानताको परिणाम हो
काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलन मुलुकमा लामो समयदेखि रहेका विकृति, विसंगति, अन्याय र असमानताको परिणाम रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताएका छन्। जेनजी आयोगको जाँचबुझ प्रतिवेदनमा उनले मुलुकमा लामो समयदेखि रहेका विकृति, विसंगति, अन्याय र असमानताको परिणाम रहेको बताएका हुन् । नागरिकले विद्रोह नगरी नहुने परिस्थिति कस(कसका कारणले सिर्जना भयो भन्ने कुरा गहिरो अध्ययन नगरी एक–दुई जना सरकारी अधिकृतको कमजोरीले मात्र यति ठूलो घटना भयो भन्न नमिल्ने उनले उल्लेख गरेका छन् । फिल्डमा खटिएको सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सहयोग नगरेको गुनासो आफूले नेपाल प्रहरीका अधिकृतहरूबाट सुनेको रिजालले बताएका छन् । पदीय हैसियतले गर्नुपर्ने सबै जिम्मेवारी असल मनसाय र सक्षमताका साथ निर्वाह गर्दागर्दै पनि राज्य संयन्त्रले आँकलन गरेभन्दा बाहिरको परिस्थिति सिर्जना भएको रिजालको भनाइ छ । ‘एउटा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो भूमिका पूरा गरेकै हुँ, तर राज्य संयन्त्रले आँकलन गरेभन्दा बाहिरको परिस्थिति सिर्जना भई सरकार प्रमुखले राजीनामा दिनुपर्ने र प्रधानमन्त्री तथा मन्त्रीहरूको जीवनरक्षाका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो भन्ने कारणले मात्र मलाई जिम्मेवार ठहर गर्नु न्यायोचित हुँदैन, उनले भने । प्रदर्शनमा सहभागी युवाहरूको ज्यान गएको र दर्जनौं घाइते भएको खबरले अत्यन्त मर्माहत भएको उनले बताएका छन् । भदौ २३ र २४ का घटनालाई असामान्य, अप्रत्याशित र राज्य संयन्त्रका लागि गम्भीर परीक्षाका रूपमा लिनुपर्ने रिजालको भनाइ छ । आफूले प्राप्त सूचना, कानुनी अधिकार र तत्कालीन परिस्थितिको मूल्याङ्कनका आधारमा सार्वजनिक हित, शान्ति सुरक्षा र नागरिकको जीउधनको संरक्षणलाई प्राथमिकतामा राखी निर्णय लिएको रिजालले बताएका छन् ।
सानिमा बैंक केयर रेटिङबाट उत्कृष्ट रेटिङ प्राप्त
काठमाडौं । सानिमा बैंक लिमिटेडले चैत्र २ गते केयर इडिज रेटिङ नेपालबाट उच्च मूल्याङ्कन रेटिङ प्राप्त गरेको छ । बैंकले विश्वसनीयता, वित्तीय स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै यो सम्मान हासिल गरेको हो । सानिमा बैंक हाल सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले वित्तीय क्षेत्रमा आफ्नो दिगो र पारदर्शी सेवा प्रवाहलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बालेनलाई रास्वपाको संसदीय दलको नेता बनाउने प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न सम्बन्धी गरेको प्रस्ताव पारित गरेको छ । सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हाे । बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव पारित गरेकाे हाे । रास्वपाको अहिले नै संसदीय दलको बैठक बसिररहेको छ । सो बैठकले पनि पारित गरेपछि उनी दलको नेता बन्नेछन् । बालेनले शुक्रबार प्रधानमन्त्रीको सपथ लिने तयारी गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् ।
ठमेलबाट क्रिप्टो कारोबार गर्ने बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । ठमेलबाट क्रिप्टो कारोबार गर्ने बंगलादेशी नागरिक पक्राउ परेका छन् । बुधबार बेलुकी छाया सेन्टरबाट २९ वर्षीय एमडी सेहाबुल इस्लामलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ३० लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको युएसडीटी लगायत अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार इस्लामको साथबाट ६० हजार नगद बरामद भएको थियो । एनसेल र एनटीसीको सीमकार्ड १ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटीएम ७ थान, चेकबुक ३३ थान, खाता खोल्न प्रयोग गरिने केवाइसी फर्म र मोस्ताहिन फहामिदको नाममा २ लाख रुपैयाँको काटिएको चेक १ थान रहेको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो । बैठकले वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बन्न सक्ने व्यवस्था मिलाउन सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव पारित गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । नेताहरूका अनुसार केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै संसदीय दलको बैठक पनि बस्नेछ। उक्त बैठकले संसदीय नेतृत्वसम्बन्धी थप निर्णय गर्ने अपेक्षा गरिएको छ ।
सांसदहरूलाई निर्देशन दिँदै ओलीले भने- पार्टीविरुद्धको गतिविधि सह्य हुँदैन, संसदमा अनुशासन देखिनुपर्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई कडा राजनीतिक निर्देशन दिएका छन् । पार्टी मुख्यालय च्यासलमा बिहीबार (आज) आयोजित अध्यक्षसँग सांसद कार्यक्रममा ओलीले सांसदहरूलाई देशको विचार पार्टीको विचार भएकोले त्यसैसँग मेल खानेगरी संसदमा बोल्नुपर्ने निर्देशन दिएका हुन् । कार्यक्रममा उनले सांसदहरूलाई सम्झाउँदै भने, ‘देशको विचार जे छ, त्यो पार्टीको विचार हुनुपर्छ । विचारमा आधारित अनुशासन र एकता प्रदर्शन संसदमा देखिनुपर्छ ।’ ओलीले यसक्रममा एमालेभन्दा प्रगतिशील र अनुशासित पार्टी अरू नभएको दाबी गर्दै सांसदहरूलाई आफ्नो कामबाहेक अरू मूल्याङ्कनमा ध्यान नदिन आग्रह गरेका छन् । उनले सांसदहरुलाई संसदमा एमालेको अनुशासन र एकताको प्रदर्शन गर्न जोड दिएका छन् । काम मात्रै मूल्याङ्कनको आधार रहेको उनको भनाइ छ । उनले पार्टी लाइनमा दृढ रहन र विवादास्पद विषयमा बाहिरका आलोचनाबाट विचलित नहुन सांसदहरुलाई निर्देशन पनि दिएका छन् । ओलीले भने, ‘पार्टी विरुद्धको गतिविधि सह्य हुँदैन ।’ उनले पार्टीको एकता र अनुशासन नै देशको हितमा आधारित हुने भन्दै सांसदहरूलाई जिम्मेवार हुन आग्रहसमेत गरे । ओलीले आफ्नो सम्बोधनमा एमालेविरुद्ध जारी राजनीतिक हमला र आलोचनालाई पनि केन्द्रबिन्दु बनाए । उनले कार्की आयोग र त्यसको प्रतिवेदनलाई यही सन्दर्भमा एउटा कडी भएको भन्दै आलोचना गरे । उनले भने, ‘पहिल्यै आफ्नो निष्कर्ष सुनाइसकेकाबाट फरक प्रतिवेदनको अपेक्षा गर्न सकिँदैनथ्यो उस्तै प्रतिवेदन आएको छ ।’ प्रधानमन्त्रीको जिम्मेवारीसम्बन्धी आयोगको निष्कर्षप्रति ओलीले गम्भीर प्रश्न उठाएका छन् । उनले मृत्युका घटनामा प्रधानमन्त्री कति जनाको मृत्युमा जिम्मेवार हुने भन्ने विषयमा विवाद उठाउँदै प्रतिवेदनलाई औपचारिक रूपमा खारेज गर्ने संकेत दिएका छन् । उनी भन्छन्, ‘आयोगका सदस्यहरूले लापरवाही र भवितव्यबारे पर्याप्त बुझाइ नभएको अवस्थामा प्रतिवेदन तयार पारेका छन् ।’ पार्टीको अनुशासन, विचार र एकता संसदमा देखिनुपर्ने र आयोगको विवादास्पद प्रतिवेदनलाई नजरअन्दाज गर्ने उनको नीति स्पष्ट देखिएको छ ।
आयोगको १० वर्ष कैद सिफारिसप्रति ओलीको आपत्ति : यो कुकर्म हो, स्वीकार्य छैन
काठमाडौं । नकेपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आयोगले गरेको १० वर्ष कैद सजाय सिफारिसप्रति कडा आपत्ति जनाएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले सिफारिस गरेको कारवाहीलाई उनले ‘कुकर्म’ भन्दै अस्वीकार्य भएको बताएका छन् । ओलीले कानुनी दृष्टिले पनि यस्तो सिफारिस मिल्दो नहुने जिकिर गरे। ‘मार्ने उद्देश्य नभएको अवस्थामा कुस्ती खेल्दा वा बोक्सिङका क्रममा गलत ठाउँमा लागेर मृत्यु भएमा त्यसलाई भवितव्य मानिन्छ,’ उनले भने ।’ उनले उक्त घटनालाई दुर्घटनाका रूपमा व्याख्या गर्दै घटना घटाउन प्रत्यक्ष संलग्नता आवश्यक पर्ने तर्क अघि सारे । साथै, मुलुकी अपराध संहिता को दफा १८१ को हवाला दिँदै कानुन बुझेको व्यक्तिले यस्तो सिफारिस गर्न नसक्ने बताए । ओलीले न्यायिक पृष्ठभूमि भएका व्यक्तिबाट यस्तो सिफारिस आउनु पूर्वाग्रही भएको आरोप लगाए । ‘नामै किटेर सिफारिस गर्नु भनेको चरित्रहत्या गर्ने प्रयास हो, यो घृणाको अर्को रूप हो,’ उनले भने । उनले आयोगको कदमलाई निन्दनीय र खेदजन्य भन्दै स्पष्ट रूपमा अस्वीकार गरे । साथै, प्रधानमन्त्री भएकै कारण अपराधी ठहर गर्न खोजिएको आरोप समेत लगाए । आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङलाई १० वर्षको कैद सजाय र एक लाख रुपैयाँसम्म जरिवाना गर्न सिफारिस गरेको छ ।