विकासन्युज

सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं रिहा

काठमाडौं । सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै पक्राउ परेका दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो ।  प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको हो । गत सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर स्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको थियो । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको थियो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले आज ७ मंसिरदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए । तर,  अन्तिम समयमा उनको समूहले आन्दोलन फिर्ता लिएको थियो । 

आगामी निर्वाचनलाई लक्षित गरी २६२ वटा नयाँ गाडी खरिद गरिँदै

काठमाडौं । आगामी निर्वाचनको तयारीसँगै सुरक्षा निकायका लागि गृह मन्त्रालयले सवारीसाधन खरिदको ‍योजना अघि बढाएको छ । मन्त्रालयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि २६२ वटा नयाँ गाडी खरिद प्रक्रिया तीव्र गतिमा अघि बढेको हो । नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गाडी खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।  १५६ वटा सवारी साधनको लागि ३५ करोड ११ लाख र थप गरिएका १०६ वटा सवारीसाधन खरिदको लागि ४५ करोड ३० लाख थप स्रोत अर्थमन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ ।  यस आवमा नेपाल प्रहरीले ८० करोड ४१ लाख रुपैयाँका विभिन्न सवारीसाधन खरिद गर्ने प्रक्रिया अगाडि बढेको हो ।  नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ वटा सवारीसाधनमा ७५ वटा पिकअप भ्यान, थुनुवा ओसारपसार गर्ने सवारी साधन एउटा, २८ वटा कार्यालय प्रयोजनका लागि छन्। ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका खरिद गरिने भएको हो ।    यस्तै, गृह मन्त्रालयका लागि ५९ वटा सवारीसाधन खरिदका लागि अर्थबाट स्रोत अनुमति प्राप्त भइसकेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  जसमध्ये ३ वटा विपद् उद्धारका लागि खरिद गरिनेछ । ५० वटा बोलेरो पिकअप भ्यान, तीनवटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स खरिद गरिनेछ ।  यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपैयाँ खर्च हुनेछ भने थप ५० वटा यो आर्थिक वर्षभित्र खरिद गर्ने गरी ५ करोड ६ लाख बजेट पनि सशस्त्र प्रहरीलाई उपलब्ध गराउने भएको छ ।  यता राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा गाडी खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्रोत अनुमति प्राप्त भएको छ । तीनै सुरक्षा निकायका लागि चुनावअगाडि नै सवारी साधन खरिद भइसक्ने गृह मन्त्रालयले दाबी छ । जेनजी आन्दोलनमा नेपाल प्रहरीका ५७१ वटा र सशस्त्र प्रहरीका ६१ वटा सवारी साधनहरूमा क्षति पुगेको थियो।  राष्ट्रिय अनुसन्धान विभागका ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको जेनजी प्रदर्शनमा ध्वस्त भएका मध्ये ४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा आएका छन् ।  प्रहरीका ४६५ वटा कार्यालयहरूमा क्षति पुगेको थियो। क्षति भएका १६ वटा कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् ।  सशस्त्र प्रहरी बल, नेपालका ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका दुईवटा भवन तथा तीनवटा जिल्लास्थित कार्यालयका भवनमा पनि क्षति पुगेको थियो ।

बीमा अनुसन्धान र ज्ञान आदानप्रदानका लागि नेपाल बीमा प्राधिकरण र त्रिवि बीच समझदारी

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमासम्बन्धी अनुसन्धान र ज्ञान आदानप्रदानसम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा र त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सो सम्बन्धी सझादारीपत्रमा हस्ताक्षर गरे । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा सम्बन्धी अनुसन्धानलाई अगाडि बढाउन र प्राधिकरणका लागि आवश्यक बीमा सम्बन्धी तथ्याङ्क प्राप्त गर्न समझदारीबाट सहयोग पुग्ने बताए । अध्यक्ष शर्माले विश्वमा नयाँ नयाँ अनुसन्धान र नविनतम् प्रविधि विकसित हुँदै गरेको सन्दर्भमा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ प्रभावकारीरूपले व्यापक हुँदै जाने विश्वास व्यक्त गरे । तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले द्विपक्षीय समझदारीबाट अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई बीमा सम्बन्धी अनुसन्धान एवम् ज्ञान आदान–प्रदानमा सहयोग पुग्ने धारणा राखे । समझदारीपत्रमा बीमा क्षेत्रको अवस्था, प्रभावकारिता र चुनौती, बीमा नीति, बीमाको पहुँच, नयाँ बीमालेखको आवश्यकता, दिगो विकासमा बीमा क्षेत्रको योगदान, बीमा सम्बन्धी सरकारी नीति र वित्तीय क्षेत्र लगायतसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाइने उल्लेख छ ।  यसैगरी, नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धानका क्षेत्र पहिचान गर्ने, त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागले प्राधिकरणको प्राथमिकताका आधारमा बीमा सम्बन्धी अनुसन्धानका लागि विज्ञहरू उपलब्ध गराउने, प्राज्ञिक तथा अनुसन्धानका लागि तथ्याङ्कहरू आदान–प्रदान गर्ने र बीमा अनुसन्धान सम्बन्धी विषयमा तालिम संचालन गर्ने लगायतका विषय समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पुजन ढुंगेल अधिकारी, निर्देशक कुन्दन सापकोटा, निर्देशक शाम्भ राज लामिछाने र निर्देशक निर्मल अधिकारी तथा त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागका प्रा.डा. श्रीजन लाल श्रेष्ठ र लेक्चरर अरूण यादव उपस्थित थिए ।

निर्यात ७७ प्रतिशतले बढ्यो, चार महिनामा ६ खर्ब बढीको आयात

काठमाडौं । भन्सार विभागले निर्यात बढेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालबाट कुल ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो । गत आवको कात्तिकसम्म कुल ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।  यो अवधिमा कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन गत आवको तुलनामा १८.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कुल ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो ।  विभागका अनुसार यो अवधिसम्म कुल ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ व्यापार घाटा देखिएको छ । कात्तिकसम्म कुल ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ ।  चार महिनाको अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत र आयातको हिस्सा ८६.७० प्रतिशत रहेको छ ।   

भौतिक पूर्वाधार पुन:निर्माण कोषमा एफवान सफ्ट ग्रुपले जम्मा गर्‍यो ७५ लाख रुपैयाँ

काठमाडौं । एफवान सफ्ट ग्रुपले नेपाल सरकारको भौतिक पूर्वाधार पुन:निर्माण कोषमा ७५ लाख रुपैयाँ सहयोग गरेको छ।  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुन:निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यका लागि सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सफ्टले सहयोग उपलब्ध गराएको हो।  एफवान सफ्ट इन्टरनेशनल, ईसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको हो ।   राष्ट्र पुन:निर्माणको यात्रामा राष्ट्रसँग दृढतापूर्वक हातेमालो गर्ने निर्णय गर्दै एफवान सफ्टले सहयोग गरेको हो ।  एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले राष्ट्र पुन:निमाणमा जागरुक भएर लाग्नुपर्ने बताए ।

काठमाडौंमा प्रोटोनको ‘एक्सचेन्ज फर एक्सचेन्ज’ क्याम्प : ८ वर्ष वारेन्टी र शून्य प्रतिशत ब्याजदरमा गाडी

काठमाडौं । जगदम्बा मोटर्स प्रोटोन डिभिजनले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘एक्सचेन्ज फर एक्सचेन्ज’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  यही नोभेम्बर २१ देखि २३ (शुक्रबारदेखि सोमबार) सम्मका लागि आयोजित यो कार्यक्रम ग्राहकहरूको अझ नजिक पुग्ने र उनीहरूलाई उत्कृष्ट डिल तथा प्रिमियम ड्राइभिङको अनुभव गराउने उद्देश्यका साथ ल्याइएको कम्पनीका मार्केटिङ हेड आकाश विक्रम थापाले जानकारी दिए ।  थापाका अनुसार यो ३ दिने कार्यक्रम भए पनि ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएमा यसलाई १ दिन थप विस्तार गरिएको छ ।  ‘हामी ग्राहकको अझ नजिक पुग्न चाहन्छौं, अझ उहाँहरूलाई बेटर अफर र बेटर डिल दिन चाहन्छौं । त्यसैले थप एक दिनको समय राखेका हौं,’ उनले भने । एक्सचेन्ज क्याम्पमा पुराना गाडीको मूल्यांकनका लागि ग्राहकहरूले नेपालकै उत्कृष्ट रिकन्डिसन हाउसबाट उच्च र सन्तोषजनक मूल्य प्राप्त गर्न सक्ने थापाले बताए । जुनसुकै ब्रान्ड, मोडल तथा इन्धन प्रकार (पेट्रोल, डिजेल, इलेक्ट्रिक) का गाडीहरू पनि एक्सचेन्ज गर्न सकिने थापाले जानकारी दिए ।  प्रोटोनका गाडीहरुको सुरुवाती मूल्य ४६ लाख ९९ हजार लाख रुपैयाँदेखि ६७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । जगदम्बा मोटर्सले हाल प्रोटोन इमास सेभेन मोडललाई प्राइम र प्रिमियम गरी दुई भेरिअन्टमा बिक्री गर्दै आएको छ । उनका अनुसार यस गाडीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘एजे शटब्लेड ब्याट्री’ हो । जुन हालसम्म बजारमा रहेका सबै इभीहरूमध्ये सबैभन्दा सुरक्षित र भरपर्दो मानिन्छ । यसले ग्राहकहरूलाई सुरक्षा र लामो समयसम्म गाडीको स्वामित्व कायम राख्न मद्दत गर्नेछ ।  कम्पनीले ब्याट्रीमा ८ वर्ष र असीमित माइलेजको वारेन्टी प्रदान गरेको छ । गाडी खरिदका लागि ग्राहकहरूलाई सहयोग पुर्याउन नेपालका प्रमुख वाणिज्य बैंकहरूसँग जगदम्बा मोटर्सले टाईअप गरेको छ । यसका साथै जगदम्बाको आफ्नै इनहाउस हायर परचेज योजना पनि रहेको छ । जसअन्तर्गत शून्य प्रतिशत ब्याजदरमा पनि गाडी खरिद गर्न सकिनेछ ।  पहिलो तीन दिनमा १२ वटा युनिट बिक्री भएको र सोमबारसम्म थप १० युनिट बिक्री हुने प्रक्षेपणका साथ कुल २२ युनिटको बिक्री लक्ष्य राखिएको थापाले बताए ।  हाल बुकिङ खुल्ला रहेको र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले गर्दा आगामी दिनहरूमा पनि ग्राहकहरूको घरघरमा पुग्न र सुविधा दिन यस्तै एक्सचेन्ज क्याम्पहरू आयोजना गरिने उनको भनाइ छ ।  हाललाई प्रोटोन इमास सेभेन नै प्रमुख मोडल रहने र २०२६ सम्ममा केही नयाँ उत्पादनहरू आउने सम्भावना रहेको पनि थापाले बताए ।  काठमाडौंको ज्ञानेश्वरस्थित एटीक रेष्टुरेन्टमा एक्सचेन्ज अफर सञ्चालन भइरहेको हो ।   

जसपाका ५ केन्द्रीय पदाधिकारीले पार्टीभित्र गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष राईलाई लेखे पत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पाँचजना केन्द्रीय पदाधिकारीले पार्टी अध्यक्षलाई संयुक्त रूपमा पत्र लेख्दै पार्टीभित्र उत्पन्न गम्भीर राजनीतिक अवस्थाबारे ध्यानाकर्षण गराएका छन् ।  जारी गरेको पत्रमा उनीहरूले पार्टीभित्र बढ्दो विभाजन, नेतृत्व तहमा देखिएको निष्क्रियता र पछिल्लो राजनीतिक घटनाक्रममा स्पष्ट रणनीति नदेखिएको आरोप लगाएका छन् । पछिल्लो जेनेजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आए पनि जसपाले त्यसअनुसारको प्रभावकारी निर्णय नलिएको उनीहरूको दाबी छ ।  उनीहरूले पार्टीको केन्द्रीय समिति र कार्यकारी समितिको बैठक नबसेको, मुलुकको परिस्थितिअनुसार रणनीति बनाउन आवश्यक छलफल नभएको तथा पार्टी संरचना पुनर्गठनसमेत ठप्प भएको आरोप लगाएका छन् । पार्टीभित्र निर्णय प्रक्रिया अवरुद्ध हुँदा कार्यकर्तामा निराशा, असन्तुष्टि र अविश्वास बढ्नुका साथै विभिन्न राजनीतिक शक्तिसँग पार्टीको सम्बन्ध पनि ओझेलमा परेको नेताहरू बताउँछन् । नेताहरूले अध्यक्ष अशोक राईलाई लेखेको पत्रमा जारी वार्ताहरूमा स्पष्ट नहुँदा वाम ध्रवीकरणको पहल ओझेलमा पर्नु चिन्ताको विषय भएको स्पष्ट पारेका छन् । नेताहरूले मंसिर १५ गतेका लागि डाकिएको केन्द्रीय समितिको बैठकलाई सकारात्मक रूपमा लिए पनि त्यसअघि पार्टी अध्यक्षले स्पष्ट राजनीतिक मार्गनिर्देशन, पार्टी संगठन सक्रियता र एकीकृत राजनीतिक धारणा सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । संयुक्त पत्रमा हस्ताक्षर गर्नेहरूमा संघीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय समितिका उपाध्यक्ष राजबहादुर विष्ट, उपाध्यक्ष पशुपति बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गानन्द देवकोटा, केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा. पुष्करराज कार्की र पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घतु रहेका छन् । उनीहरूले पार्टीभित्रको असन्तुष्टि समाधान गर्दै आगामी राजनीतिक परिस्थिति सामना गर्न नेतृत्वले चाँडै स्पष्ट कदम चाल्नुपर्ने माग गरेका छन् ।

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा पन्तलाई सिफारिस गर्ने निर्णय सर्वसम्मतले पारित

काठमाडौं । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा संघका पदाधिकारी, सल्लाहकार र सदस्यहरूको उपस्थितिमा चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदका लागि युवा व्यवसायी सिरीष पन्तलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय पारित भएको छ । बैठकले पन्तलाई व्यवसायिक समस्यामा नजिकको दृष्टिकोण, निष्पक्षता, स्पष्ट कार्ययोजना र व्यवसायमैत्री नेतृत्व क्षमता भएको आधारमा योग्य उम्मेदवार ठहर गरेको छ । संघका अध्यक्ष नरहरी घिमिरेले पन्तलाई केवल उम्मेदवार नभई परिवर्तनको नेतृत्व गर्न सक्ने, परिणाममुखी र व्यवसायीको हित सर्वोपरि राख्ने नेतृत्व भएको बताएका छन् । वर्तमान परिस्थितिमा योग्य नेतृत्व रोज्ने महत्त्वपूर्ण समय आएको संघले बैठकमा उल्लेख गरेको छ । संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास जस्ता विषयहरू यही निर्णयले निर्धारण गर्ने भएकाले सबै उद्योगी व्यवसायीलाई जिम्मेवार मत प्रयोग गर्न अपिल गरिएको छ । सिरीष पन्तले आफ्नो सेवा र परिणाममा विश्वास राख्ने युवा नेताको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। संघको निष्कर्ष अनुसार उनी व्यक्तिगत स्वार्थमा नझुक्ने, दबाबमा नआउने र सबै पक्षलाई समेटेर अघि बढ्न सक्षम नेतृत्वकर्ता हुन् । निर्माण सामग्री व्यवसायीहरूको साझा आकांक्षा, चितवनको व्यापारिक संरचना सुदृढीकरण, युवा ऊर्जाको प्रतिनिधित्व र आधुनिक संस्थागत रूपान्तरणको यात्रामा सिरीष पन्त नै सबैभन्दा योग्य, सक्षम र विश्वसनीय विकल्प भएको संघले सबैको समक्ष राखेको छ । संघले सबै उद्योगी व्यवसायीलाई निष्पक्ष, निर्भय र जिम्मेवार भएर सिरीष पन्तलाई आफ्नो बहुमूल्य मत दिन अपिल गरेको छ ।