विकासन्युज

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा पन्तलाई सिफारिस गर्ने निर्णय सर्वसम्मतले पारित

काठमाडौं । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा संघका पदाधिकारी, सल्लाहकार र सदस्यहरूको उपस्थितिमा चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदका लागि युवा व्यवसायी सिरीष पन्तलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय पारित भएको छ । बैठकले पन्तलाई व्यवसायिक समस्यामा नजिकको दृष्टिकोण, निष्पक्षता, स्पष्ट कार्ययोजना र व्यवसायमैत्री नेतृत्व क्षमता भएको आधारमा योग्य उम्मेदवार ठहर गरेको छ । संघका अध्यक्ष नरहरी घिमिरेले पन्तलाई केवल उम्मेदवार नभई परिवर्तनको नेतृत्व गर्न सक्ने, परिणाममुखी र व्यवसायीको हित सर्वोपरि राख्ने नेतृत्व भएको बताएका छन् । वर्तमान परिस्थितिमा योग्य नेतृत्व रोज्ने महत्त्वपूर्ण समय आएको संघले बैठकमा उल्लेख गरेको छ । संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास जस्ता विषयहरू यही निर्णयले निर्धारण गर्ने भएकाले सबै उद्योगी व्यवसायीलाई जिम्मेवार मत प्रयोग गर्न अपिल गरिएको छ । सिरीष पन्तले आफ्नो सेवा र परिणाममा विश्वास राख्ने युवा नेताको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। संघको निष्कर्ष अनुसार उनी व्यक्तिगत स्वार्थमा नझुक्ने, दबाबमा नआउने र सबै पक्षलाई समेटेर अघि बढ्न सक्षम नेतृत्वकर्ता हुन् । निर्माण सामग्री व्यवसायीहरूको साझा आकांक्षा, चितवनको व्यापारिक संरचना सुदृढीकरण, युवा ऊर्जाको प्रतिनिधित्व र आधुनिक संस्थागत रूपान्तरणको यात्रामा सिरीष पन्त नै सबैभन्दा योग्य, सक्षम र विश्वसनीय विकल्प भएको संघले सबैको समक्ष राखेको छ । संघले सबै उद्योगी व्यवसायीलाई निष्पक्ष, निर्भय र जिम्मेवार भएर सिरीष पन्तलाई आफ्नो बहुमूल्य मत दिन अपिल गरेको छ ।  

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  यस अन्तर्गत, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहनेछ र कुल २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।  सम्झौता अनुसार नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरी निकट भविष्यमा आईपीओ सुरु गर्ने योजना तय गरेका छन् । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट विशेषीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड र हेज फण्डको कोष व्यवस्थापकको इजाजत प्राप्त गरेको कम्पनीले बुक बिल्डिङ्ग विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्न स्वीकृति पाएको छ ।  

जेनजी आन्दोलनपछि रास्वपा संकटमा, काठमाडौं सभापति प्रदीप विष्टले पनि छोडे पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको असन्तुष्टि तीव्र बन्दै गएको छ । पछिल्ला केही महिनादेखि नेतृत्व शैलीप्रति प्रश्न उठाउँदै नेताहरूले पार्टी छाड्न थालेका छन् ।  यही क्रमसँगै रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पद तथा पार्टी दुवै त्यागेका छन् । उनले बागमती प्रदेश समितिमा औपचारिक रूपमा लिखित राजीनामा बुझाइसकेका छन् । राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समिति बैठक बोलाएर आफ्नो निर्णयबारे जानकारी गराएका थिए ।  बैठकमा उनले पार्टीभित्र पछिल्लो समय देखिएको निर्णय प्रक्रियाको शैली, नेतृत्वको एकाधिकारवादी प्रवृत्ति र आन्तरिक संवादको अभावले आफू निराश भएको खुलाउँदै राजीनामा दिएको स्रोतले बतायो । विष्ट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार बनेका थिए । पहिलो पटक चुनाव लडेका उनलाई ८ हजार ७३९ मत प्राप्त भएको थियो ।  पार्टीभित्र आधार विस्तार र संगठन सुदृढीकरणमा सक्रिय रहेका उनको अचानकको राजीनामाले काठमाडौं क्षेत्रमा रास्वपाको संरचनामा थप असर पर्ने एक  केन्द्रीय सदस्यले बताए । यद्यपि उनले आगामी राजनीतिक योजनाबारे खुलेर बोलेका छैनन् । कात्तिक २८ गते नेता सन्तोष परियारले रास्वपा परित्याग गरेका थिए । त्यसअघि सांसद सुमना श्रेष्ठले पनि पार्टी छोडेकी थिइन् ।  विष्टको राजीनामा रास्वपाभित्र व्यापक बहसको विषय बनेको ती केन्द्रीय सदस्यले बताए । 

प्रोटोन ईमासको एक्सचेन्ज अफर सोमबारसम्म चल्ने

काठमाडौं । प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर कार्यक्रम सोमबारसम्म सञ्चालन हुने भएको छ ।  जगदम्बा मोटर्सले गत शुक्रबारदेखि काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा जारी एक्सचेन्ज अफर कार्यक्रम थप एक दिन समय थपिएको हो । सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।  एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।  उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईबाट रेमिट्यान्स सेवा सहज

काठमाडौं । माछापुच्छ्रे बैंक र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । विदेशबाट नेपालमा आउने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउनको उद्देश्यका साथ सम्पन्न यस सहकार्यले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन र प्राप्त गर्न थप सुविधा प्रदान गर्नेछ । सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । यस सम्झौताको प्रभावले अब यूएईमा रहेका नेपालीहरुले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रकम पठाएपछि, नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्नेछन् । साथै, जोयालुक्कास एक्सचेन्जबाट पठाइएको रकम अब नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि माछापुच्छ्रे बैंकले मिलाएको छ । यस सम्झौताको माध्यमबाट यूएई–नेपाल रेमिट्यान्स सेवा अझ द्रुत, भरपर्दो र पहुँचयोग्य हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

वालनटमा बिल तिर्दा नौलो अभ्यास सुरू, ६ नम्बर ल्याए २ हजारसम्मको खाना नि:शुल्क

काठमाडौं । वालनट बिस्ट्रो रेष्टुरेण्टमा खाजा वा खाना खाएर बील धेरै उठेको छ? अबदेखि चिन्ता नगर्नुहोस भाग्यमानी बन्न सक्नुभयो भने २ हजार सम्म भारी छुट पाउनु हुनेछ । अझ भनौँ २ हजार मात्र बील उठेको छ भने त सित्तैमा खान पाइनेछ । तर कसरी ? बील तिर्न काउण्टरमा जाँदा लक्की नम्बर छक्का (६) निकाल्नुहोस् । २ हजार रूपैयाँसम्मको भारी छुट पाउनु हुनेछ । पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेण्टले सेवाग्राहीलाई लक्षित गरेर नौलो र रमाइलो खेल सुरूवात गरेको छ । खाना,खाजा तथा विभिन्न परिकारका खाना खाएको बिल तिर्न काउण्टरमा पुग्दा लक्की नम्बर छक्का निकालेमा २ हजारसम्मको छुट पाउने रेष्टुरेण्टका निर्देशक आकाश पौडेलले जानकारी दिए । ‘यो अफर दिउँसो २ बजेदेखि ६ बजेसम्म लागू हुन्छ। सामान्यतया यसलाई शान्त समयको रूपमा लिइन्छ,’ उनले भने,’ त्यसैले बिस्ट्रोले यो अफर ल्याएको हो, ताकि त्यतिखेर पनि ग्राहकको आवागमन बढोस भनेर हो।’ यो अफर २ हजार भन्दा कम बिल उठे पनि लागू हुने उनले जानकारी दिए । डाइस घोल्दा ६ नम्बर निस्केमा २ हजार भन्दा कमको बिल छ भने नि:शूल्क सेवा लिन पाइने उनको भनाइ छ । बिल तिर्दा ग्राहकलाई सम्झनलायक बनाउन, फरक अनुभव दिलाउन तथा रमाइलो खेल बनाउने उद्देश्यले यो नयाँ ट्रेण्ड चलाएको पौडेलले बताए । ‘रोल, इट, रीपीट, लक इज जस्ट अ रोल अवे’ स्लोगनसहित बिस्ट्रोले यो नौलो अभियान सुरू गरेको हो । बिस्ट्रोले आफ्ना ग्राहकहरूलाई जीवन्त बनाउन, रमाइलो र दोहोर्‍याएर आउन मन लागोस भनेर यो व्यवस्था सुरूवात गरेको उनले बताए । विशेष ह्यासट्याग प्रयोग गरेर, बिस्ट्रोले ग्राहकहरूलाई आफ्नो अनुभव सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहनसेत गरेको छ । कसैले डाइस रोल गरेर निःशुल्क भोजन जित्यो भने रोचक अनुभव बन्ने उनले सुनाए । जसले गर्दा सामाजिक सञ्जालमा अनलाइनमा राम्रो चर्चा बटुल्छ र नयाँ ग्राहकहरूलाई पनि आकर्षित गर्ने उनको विश्वास छ । बिस्ट्रोले केहीसमय अघि ‘लिटल फ्री लाइब्रेरी’ अभियान पनि सुरु गरिसकेको छ । स्वादसँगै ज्ञान लिनेदिने नौलो अभ्यास सुरू गरिसकेको छ ।

जसले इन्ड्राइभ चलाएरै लाखौंको कार र बाइक जिते

काठमाडौं । राइड सेयरिङ कम्पनी इनड्राइभले आफ्ना मिहिनेती चालकहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरेको छ । दशैंलाई लक्षित गरी गत भदौ १५ गतेदेखि असोज २६ गतेसम्म (सेप्टेम्बर १ देखि अक्टोबर १३) सञ्चालित यस अभियानमा इनड्राइभका प्ल्याटिनम स्टाटस प्राप्त चालकहरूलाई समावेश गरिएको थियो ।  लगातार तीन सातासम्म हरेकसाता मोटरसाइकल चालकले ४५ वटा र कार चालकले ३५ वटा राइड पूरा गरी प्ल्याटिनम स्टाटस कायम गर्ने चालकहरू ग्राण्ड प्राइजका लागि योग्य भएका थिए । यस अभियानको लक्की ड्र नोभेम्बर ७ मा इनड्राइभको आधिकारिक टिकटक पेजमार्फत सार्वजनिक गरिएको थियो ।  जसमा यसपटकको ‘प्ल्याटिनम ड्राइभर गिभ अवे’ को तेस्रो संस्करण अन्तर्गत काभ्रेपलान्चोकको तेमाल गाउँपालिका वार्ड नम्बर ४ का हरि पाण्डेले टाटा एक्सप्रेस टीआईभी कार जितेका छन् भने दोलखाका आकाश तामाङले टीभीएस रेइडर बाइक हात पारेका छन् ।  इनड्राइभसँग विगत तीन वर्षदेखि आबद्ध हरि पाण्डेले आफू कार जित्न सफल भएकोमा अत्यन्तै हर्षित भएको बताए ।  हरिबहादुर पाण्डे उनले भने, ‘यो सपनाजस्तै लागिराछ, अनपेक्षित भयाे। म निकै खुसी छु । न्यूजमा र टिकटकमा हेरेको त थिएँ, तर डाटा नचलेर हेर्न पाइनँ । पछि कम्पनीबाट फोन आएपछि बल्ल मैले जितेछु भन्ने भयो ।’ ग्रान्ड प्राइज अफरको घोषणा भएपछि उनले अझ बढी मिहिनेतका साथ काम गरेको बताए । ‘मैले त झन् इनड्राइभ त पहिलेदेखि नै गरेको हुँ । ग्रान्ड प्राइज अफर आएपछि त झन् अझ मिहिनेतले लगभग १६/१७ घण्टा, बिहानदेखि बेलुका १२ बजेसम्म ननस्टप इनड्राइभमै काम गरे ।  अरू कम्पनीले पनि बोलाएको थियो, तर इनड्राइभ कम्पनीलाई माया गरिरहेँ,’ पाण्डेले विकासन्युजसँग भने ।  उनी इनड्राइभलाई मन पराउनुको कारणबारे भन्छन्, ‘इनड्राइभमा आफ्नो भाडा (फेयर) आफै तोक्न मिल्छ । कुनै फेयर चित्त नबुझे नलिन पाइन्छ । आफूलाई सुटेबल हुने र राम्रो राइडहरू लिँदै काम गर्न सकिन्छ । लोकेशनहरू पनि चुज गर्न पाइने भएकाले कता जाने हो, त्यो हेरेर आफ्नो गन्तव्यमा मात्र पनि राइड लिन पाइयो । खाना खान जाँदा वा घर जाँदा पनि घरकै लोकेशन हेरेर राइड लिन सकिन्छ ।’ अन्य इनड्राइभ चालकहरूलाई उनले भने, ‘राम्रोसँग मेहनत गरेर इनड्राइभको काम गर्नुस्, तपाईंहरूले पनि जित्न सक्नुहुन्छ । ’ उक्त टाटा एक्सप्रेस कारलाई ३७ लाख रुपैयाँ पर्छ ।  आकाश तामाङले ६ महिनामै बाइक जिते  दोलखाका आकाश तामाङले इनड्राइभमा आबद्ध भएको ६ महिनामै टिभिएस रेइडर (कार्बोरेटर) बाइक जितेका छन् । आफू ‘प्ल्याटिनम’ ड्राइभर वर्गमा परेको र राम्रो राइड गरेकोले यो सफलता हात लागेको उनले बताए ।  तामाङले भने, ‘दुःख अड्चन त धेरै आए । घामपानी नभनिकन काम गरियो । मान्छेको सेवाका लागि हिँडियो । अहिले बाइक उपहार पाएँ । निकै खुसी लागेको छ।’ आकाश तामाङ तामाङ र पाण्डे दुवै कर पनि तिर्न नपर्ने भएपछि झन् धेरै खुसी छन् । यस्तै, ग्राण्ड प्राइजका अतिरिक्त साप्ताहिक लक्की ड्रमार्फत १५ वटा वानप्लस नर्ड सी फोर लाइभ फाइभ जी स्मार्टफोन, ३० वटा अल्टीमा टम् वान नाइन्टी थ्री र ३० वटा अल्टीमा नोभा प्रो स्मार्ट वाच पनि प्रदान गरिएका थिए ।  समारोहमा पाँच जना स्मार्टफोन विजेताहरू- तिलक थापा मगर, विजय बस्नेत, राजेन्द्र महर्जन, श्याम कुमार लिम्बु र कार्तिमान बेगी मगरलाई पुरस्कार हस्तान्तरण गरिएको थियो । चालक कम्पनीको ढुकढुकी इनड्राइभ नेपालकी सिनियर ड्राइभर अप्रेशन स्पेसलिस्ट सुनिता जिमी राईले यो तेस्रो संस्करणको ‘प्ल्याटिनम ड्राइभर गिभ अवे’ कार्यक्रम भएको जानकारी दिइन् । यसअघि मार्चमा पल्सर बाइक, र दोस्रो संस्करणमा टाटा एक्सप्रेस टीआईभी र टिभिएस रेडर बाइक पनि उपहार स्वरूप दिइएको उनले बताइन् ।  उनले भनिन्, ‘प्रत्येक बाइक राइडरले आफ्नो प्ल्याटिनम स्टाटस मेन्टेन गर्दै जति धेरै राइड, त्यति धेरै जित्ने मौका पाउनुहुन्छ । बाइक राइडरहरूलाई ४५ र कार/ट्याक्सी राइडरहरूलाई ३५ राइड क्याम्पेन अवधिभर पूरा गरी प्ल्याटिनम स्टाटस कायम राखेपछि ग्रान्ड प्राइजमा इन्ट्री पाउनुहुन्छ ।’ सुनिता जिमी राई राईले इनड्राइभको लागि ड्राइभर पार्टनरहरू ढुकढुकी भएको बताइन् ।  उनले थपिन्, ‘हाम्रा लागि राइडर दिलको ढुकढुकी हुन् । त्यसैले हामी कुनै पनि अवसर, चाडपर्वलाई कहिल्यै खाली जान दिन्नौं र उहाँहरूको मेहनत र परिश्रमलाई सम्मान गर्नको लागि हरेक अवसरमा गिभ अवे र धेरै अफरहरू ल्याइरहन्छौं ।’  राईले इनड्राइभको विशेषता सबैले रुचाएको पनि बताइन् । नयाँ ग्राहकहरूलाई इनड्राइभमा जोडिन आग्रह गर्दै उनले इनड्राइभमा आफ्नो भाडा प्रस्ताव गर्न सकिने, ड्राइभर चुज गर्न सकिने, २४/७ सेफ्टी फिचरहरू उपलब्ध भएको र ८ लाखसम्मको बीमा कभरेज (मृत्यु वा दुर्घटनामा अपाङ्गता भएमा) र ८० हजारसम्मको मेडिकल खर्चको कभरेज रहेको जानकारी दिइन् ।  उनले भनिन्, ‘ढुक्क भएर इनड्राइभमा राइड लिनुस्, आफूले रोजेको ड्राइभरसँग आफ्नो गन्तव्यमा सुरक्षित साथ इन्स्योर्ड भएर पुग्नुहोस् ।’ इनड्राइभमा आबद्ध हुनका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आईओएस प्रयोगकर्ताले एप स्टोरमा गई इनड्राइभ एप डाउनलोड गर्न सक्नेछन् । एउटै एपबाट ड्राइभर र युजर दुवैको काम गर्न सकिने भएकाले यो निकै सहज रहेको राईले बताइन् ।  राईले कम्पनीले चालक साझेदारहरूको कामलाई सधैं सम्मान गर्ने र उनीहरूको प्रोत्साहनका लागि कुनै पनि अवसर नछोड्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘हामी हाम्रा ड्राइभर पार्टनरहरूलाई उहाँहरूको कामको सम्मान गर्नको लागि कुनै पनि मौका या अवसर छोड्दैनौं । ’ कार्यक्रममा इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेल र कन्टेन्ट मार्केटिङ म्यानेजर अंकिता ज्ञवाली लगायत इनड्राइभका अन्य पदाधिकारीहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।  इनड्राइभले आफ्ना चालक साझेदारहरूको आय वृद्धि र प्रोत्साहनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको र यसबाट नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना भएको दाबी गरेको छ। 

युरो-६ कार्यान्वयन : पुराना मापदण्डका सवारी १५ मंसिरसम्म भन्सार पास गर्न नाडाको आग्रह

काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) सम्बन्धी व्यवस्थाका बारेमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सूचना सार्वजनिक गर्दै तोकिएको समयभित्र भन्सार प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालयले गत असार ९ गतेको नेपाल राजपत्रमार्फत युरो–६ मापदण्ड लागू गरिसकेको छ । सोको अनुगमन गर्दै अर्थ मन्त्रालयले गत असोज १० गते प्रकाशित राजपत्रमार्फत युरो–६ लागू हुनु अघि नै प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमै एसेम्बलरउत्पादन हुने सवारी साधनका लागि मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार सवारी साधन तथा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरिसकेको छ । नाडाका अनुसार उक्त प्रावधानअन्तर्गत तोकिएको म्यादभित्र आयात प्रक्रिया तथा भन्सार जाँचपास पूरा गर्न सबै आयातकर्ता तथा प्रभावित पक्षलाई अनुरोध गरिएको छ । नाडाले यस विषयमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग निरन्तर समन्वय र पत्राचार गर्दै आवश्यक पहल गरेको पनि जानकारी गराएको छ ।