विकासन्युज

२ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार (आज) सुन तोलामा २९ सय रुपैयाँले घटी प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलमा १०० रुपैयाँले घटेर ४ हजार ८२० कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । 

चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काठमाडौं । बिहीबार चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ ।  चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ । वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा मनाइने यो दशैँलाई ‘सानो दशैँ’ का रूपमा पनि लिइन्छ ।  असोजको बडादशैँ जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैँको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।        

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका उद्देश्यले गठन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कार्की आयोगको प्रतिवेदनले नै आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि गरेको दाबी गरेका छन् । पोखरेलले आयोगको प्रतिवेदन र निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भनिएको ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट भएको उल्लेख गरेका छन् । सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ । उनका अनुसार निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ । अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको उनले टिप्पणी गरेका छन् । पोखरेलले आगामी राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्रले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था आउने बताएका छन् । यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु तथा जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनले बताएका छन् । यद्यपि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समस्याको समाधान वा विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने उनको धारणा छ ।   

बागलुङ–सिगाना सडक कालोपत्र, उत्पादन बजार लैजान सहज

गलकोट । विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दङ्ग परेका छन् ।  आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ ।  ‘ट्रयाक’ खुलेको २८ वर्षपछि बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत यो सडक स्तरोन्नतिसँगै कालोपत्र गरिएको हो ।    

१७ महिनादेखि चिकित्सकविहीन भेटेरिनरी केन्द्र, बैतडीका पशुपालक मारमा

बैतडी । पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि  चिकित्सकविहीन हुँदा स्थानीय पशुपालक किसानलाई मर्का परेको छ ।    केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावका कारण उपचारमा समस्या भएको  छ । करारमा कार्यरत डाक्टरले त्यागपत्र दिएपछि केन्द्र चिकित्सकविहीन भएको हो ।  केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ भएको हो । गम्भीर प्रकृतिका बिरामी पशुको उपचारका लागि धनगढीबाट चिकित्सक बोलाउनुपर्ने परेको केन्द्रप्रमुख पन्तले बताए ।     

रास्वपाको केन्द्रीय समिति बैठक आज, संसदीय दलको नेतामा बालेन चयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको  छ । बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने पार्टीले जनाएको छ । केन्द्रीय समितिबाट औपचारिक निर्णय गराएपछि संसदीय दलले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको पार्टीका नेताहरूले बताएका छन् । यसअघि आजै नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । शपथ ग्रहणलगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । रास्वपाले संसदीय दलको नेतृत्व टुंग्याएर आगामी सरकार गठन प्रक्रिया तथा संसदीय रणनीति तय गर्ने तयारी गरेको जनाएको छ ।

जीविकोपार्जन सुधारका लागि २ करोड २५ लाखको भैँसीपालन कार्यक्रम

अत्तरिया । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए । उक्त कार्यक्रम सञ्चालनका लागि दुई करोड २५ लाख रुपैयाँ बजेट रहेको उनले जानकारी दिए । भैँसीपालनलाई प्रवद्र्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने, 'भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पु¥याउने कार्यक्रमको उद्देश्य हो । यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुनेछन् ।'  कार्यक्रमअन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापनलगायतमा किसानलाई अनुदान दिइने छ । अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्नेछ ।      

पत्रकार सम्मेलनमार्फत कांग्रेसले बैठकका निर्णय सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकका निर्णय तथा समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टीले जारी गरेको सूचनाअनुसार चैत्र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्वपूर्ण निर्णय, भावी रणनीति तथा वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी दिन उक्त पत्रकार सम्मेलन बोलाइएको हो । सम्मेलन चैत्र १२ गते बिहीबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा आयोजना गरिने तय गरिएको छ ।